१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

उपत्यकामा मापदण्डविपरित होडिङ बोर्ड

चावहिल चोकमा मापदण्डविपरित राखिएको विज्ञापनको होर्डिङ बोर्ड। तस्बिर : श्याम राई

राजधानीका विभिन्न ठाउँमा मापदण्डविपरित होर्डिङ बोर्डहरू राखिएको पाइएको छ। विभिन्न संघसंस्था र व्यवसायिक कम्पनीले चावहिल चोक, टुसाल, नयाँ बानेश्वर चोक लगायत चोकहरूमा होडिङ बोर्ड राखेका छन्। जसका कारण सहर कुरूप बनेको छ। 

तर, नियमन निकाय काठमाडौं महानगरपालिकाले भने यसलाई हटाउन पहल गरेको छैन। 

चावहिल चोकमा रहेको एक घरमा पूरै घर ढाक्ने गरी कोरण्डो नामक कम्पनीले मापदण्डविपरित कारको होडिङ बोर्ड राखेको छ। सार्वजनिक ठाउँमा ठुल्ठूला विज्ञापन राख्दा पनि महानगरले केही गर्न नसकेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्। चावहिल चोकका स्थानीय सरण राणाले सार्वजनिक ठाउँमा राखिएका विज्ञापनका होर्डिङ बोर्डहरू महानगरपालिकाले हटाउन नसकेको बताए। 

‘चोक–चोकमा यस्ता थुप्रै ठुल्ठूला विज्ञापनका बोर्डहरू छन्। यसले सर्वसाधारणलाई समेत असर गरेको छ,’ उनले भने, ‘यो हटाउनमा महानगरपालिकाले कुनै कदम चालेको छैन।’  

महानगर र विज्ञापनकर्ता बीचको मिलेमतोमा महानगरले मापडदण्ड मिचेर बोर्डहरू राख्न दिएको उनकोे आरोप छ। उनका अनुसार यसरी चोकमा विज्ञापन राख्दा ती बोर्डमा राखिएको तस्बिरमा सवारी चालकको आँखा पर्छ। त्यसैले सवारी दुर्घटना हुने सम्भावना उच्च छ। त्यसैले यसरी ठुल्ठूला विज्ञापनका बोर्डहरू राख्नु हुँदैन। घरका छतमा समेत विभिन्न विज्ञापन र प्रचारप्रसार सामग्रीहरू राखेका छन्।  ‘आफ्नो व्यापार व्यवसायमा नाफा हुन्छ भन्दैमा यसरी त बोर्डहरू राख्नु भएन नि ?। यस्तै हो भने विज्ञापनले सहर को सौन्दर्यता घट्नेछ। मापदण्ड विपरित राखिएको होर्डिङ बोर्डहरू छिट्टै महानगरले हटाउनुपर्छ,’  राणाले थपे। 

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारसामाग्री नियमन नीति २०७० ले जारी गरेको ंनीतिमा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानहरूमा अनाधिकृत ढंगले राखिएका सम्पूर्ण व्यवसायिक होर्डिङ बोर्डहरू तथा प्रचार सामग्रीहरू राख्न पूर्णरूपमा गरिएको, महानगरका सबै प्रकारका निर्मित घर टहराको छत, कौशी, छानामा कुनै प्रकारका प्रचारका समाग्री तथा बोर्डहरू राख्न निषेध गरिएको छ। यस्तै, रोड डिभाइडरमा विज्ञापन गर्न पूर्णरूपमा निषेध गरिएको छ। सरकारी बाहेकका निजी जग्गामा बोर्डहरू राख्दा सधियार तथा सडकतर्फ कम्तिमा १० फिट जमिन छोडेको हुनुपर्ने र उचाईको हकमा जमिन सतहबाट बढीमा ३० फिटमात्र हुनुपर्नेछ र अनिवार्यरूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्ने, यो नीति विपरित राखिएका सार्वजनिक स्थल, पोल र घर भवनको छाना तथा कौशीमा राखिएका बोर्डहरू तत्काल हटाउनुपर्नेछ, नीति जारी भएको ६ महिनामा यस नीति बमोजिमको मापदण्ड कायम गर्नुपर्ने व्यवस्था छ,’ विज्ञापन नीतिमा उल्लेख गरिएको छ। 

मापदण्ड विपरित राखिएका विज्ञापनका होर्डिङ बोर्डहरू तत्कालै हटाउने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन्। ‘विभिन्न व्यवसायिक कम्पनीहरूले मापडण्ड मिचेर होर्डिङ बोर्डहरू राख्दै आएका छन्,’ उनले भने, ‘यसरी राखिएका बोर्डहरू हटाउँदै पनि आएका छौँ र बाँकी छिट्टै हटाउने छौँ। चावहिल चोकमा राखिएको बोर्ड पनि हट्छ।’ 

व्यवसायी कम्पनीहरूले महानगरसँग स्वीकृति नलिई सार्वजनिक ठाउँमा विज्ञापन र प्रचारप्रसार सामग्री राख्ने गरेको महानगरको दाबी छ।

प्रकाशित: २८ मंसिर २०७५ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App