१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

घरका आँखामा गाजल

उहिले र अहिलेको दसैं । पर्व उही, अनुभूति फरक । दसैैंप्रतिको आशक्ति अहिलेका बच्चामा पनि कम त देखिन्न । तर, ऊबेलाको तुलनामा निकै फिक्का र सतही । आफ्नो बच्चाकालीन दसैं र अहिले छोरीको दसैंबीच तुलना गर्दा यही बिम्ब खडा हुन्छ हरेक वर्ष । आफ्नो कालमा दसैंको स्कुल बिदा सुरु हुनुभन्दा अगावै दिमागले भने दसैं रौनक अनुभूत गरिसक्थ्यो । त्यो सुरुवाती रौनक हुन्थ्यो नयाँ लुगाको । जब बुबा अलि प्रशन्न मुद्रामा लुगा पसलको दिशातिर मोडिएको सुइको पाउथ्यौं, खुसीले हाम्रा खुट्टा भुइँमा हुन्थेनन् । नभन्दै लुगाको पोका बोकेर साँझ बुबाको घर फिर्तीले हाम्रो खुसी कता पोखियूँझै गरी सल्बलाउँथ्यो । तर बुबासँग एकदम डर लाग्ने हुनाले सोध्ने आँट कसैसँग पनि नहुने।

दसैं सुरु भएपछि भ्याइनभ्याई हुने भएकाले अलि अगावै शनिबार वा स्कुल बिदाको दिन लुगा सिउने दिन तय गरिन्थ्यो । वार्षिक बाली दिएर वर्षभरि सिउनुपर्ने सबै लुगाको जिम्मा दिलाइएका दमाई दाई पिठ्युँमा कल बोकेर एका बिहानै जब घर आइपुग्नुहुन्थ्यो, त्यो दिन हाम्रो खुसी कुनै सीमाभित्र कैद हुन मान्दैनथ्यो । छोरी जति सबैलाई एउटै थानको कपडा, अझ सर्ट–पाइन्ट सिउनका लागि हो भने छोरीछोरी सबैका लागि एकै थान । बुबाको लुगा किनाइ त्यस्तै हुन्थ्यो सधैँ । यसो गर्दा ‘कपडा खेर नजाने र कसैप्रति भेदभाव पनि नहुने’ पसलेले फुराइदिएको यहि जुक्तिप्रति बुबाको स्वीकारोक्ति हरेक वर्ष दोहोरिन्थ्यो।

सप्तमी सुरु भएपछि घरको दलानमा बुबाले हाम्रो लागि सधैँ पिङ हाल्दिनुहुन्थ्यो । त्यसको भरपुर उपयोग नहुने त होइन । तर, सार्वजनिक स्थलमा हालिने ठूला पिङको महत्व अझ ज्यादा।

लुगाको बनोट अनुसार कि घाँघर सुरुवाल कि सर्ट पाइन्ट । त्योभन्दा अर्को विकल्प हुन्थेन । तैपनि अहिलेको लेहेँगा चोली, अनारकली, वानपिस वा गाउन भन्दा हाम्रा दसैं लुगा कम महत्वका हुने थिएनन्।

घटनास्थापनादेखि १५ दिने दसैं बिदा सुरु हुनासाथ घर रंग्याउन सेतोमाटो (कमेरो) पहेँलोमाटो र रातोमाटो लिन जाने रौनक सुरु भइहाल्ने । सुरुका केही वर्षमा बुबाआमाले ढिकीमै चिउरा कुटेको याद पनि ताजै छ । भिजाएको धान भुट्न सतिवयरको झ्याँक्रा खोजेर थुपार्न बहिनी र मलाई आमा आदेश दिनुहुन्थ्यो । आदेश पाउनसाथ चौर र खोल्साखोल्सी दौडिहाल्ने तदारुकता हामी दुबैबीच थामिनसक्नुको हुने।

स्कुल बिदा भएका बेला छोराछोरीलाई समेत लगाएर खेतवारीको काम सक्ने आमाबुबाको अर्को दाउ । ‘यो यो काम सकेपछि दसैं आइहाल्छ,’ भनेर उत्साहित बनाउँदै हामीबाट काम लिने आमाको खुबी, अनि दसैं छिटो भिœयाउन सबैखाले काममा खरो उत्रिने हाम्रो स्वभाव, दुवै बेजोड लाग्छ अहिले सम्झँदा । ढिकी हुने सबैका घरमा प्रायः राति बज्ने मुसलको दङ्दङ् आवाजसहित मगमग च्यूराको बासनाले सम्पूर्ण गाउँ नै मगमगाउने । दिउँसो अरु कामको चटारोले च्यूरा कुट्ने काम अक्सर राति हुने गथ्र्याे । हेर्दा अलि बाक्ला भए पनि च्यूरा साह्रै स्वादिला । जहीँतहीँ किन्न नपाइने र दसैंका बेला मात्र कुट्ने तत्कालीन गाउँको परिवेशमा च्युराको महत्व कति कति।

दसैंका बेला कमेरो वा रातो माटोले घर रंग्याउने, विभिन्न रंगका माटोले लिपपोत गर्ने, झ्यालढोका टल्काउने आदि कामले पनि त्यत्तिकै व्यस्त बनाउँथ्यो । कमेरो ल्याउन टाढा जानुपर्ने तर यसले दिने सेतो चहकिलो रंग मनमोहक । घरमा दसंै चहकता थप्नकै लागि बुबा कमेरो र पहेंलो माटोको जोहो गर्नुहुन्थ्यो । रातो माटो खोज्ने काम आमा र हामी छोरीहरूको भागमा । गाउँका आमा दिदी भाउजूको लर्कोमा मिसिएर रातोमध्ये पनि गाढा रातो माटो लिन टाढाटाढासम्म पुग्दाको रमाइलो समेत अलौकिक हुन्थ्यो।  

माटोको जोरजाम पहिल्यै गरे पनि घर रंग्याउने काम अलि पछि मात्र हुने गथ्र्यो । पानी पर्ने क्रम रोकिएको पक्का भएपछि मात्र घरको रंगरोगन सुरु । किनकी हाम्रा घरेलु रंगरोगनहरू पानी प्रतिरोधी हुने थिएनन् । परिवारका सवै सदस्य दिनभर खटेर घर सजायो, बेलुका परेको छड्के पानीले घरको हाल बेहाल पारिदिने । यस्तो धेरैपटक भोगिसकिएको थियो । घर सजाउने दिन कामको चाप अत्यधिक हुने भए पनि छिमेकीको तुलनामा आफ्नो घरलाई उत्कृष्ट बनाउने लालसा खुवै जाग्रित हुन्थ्यो । अग्लो भ¥याङको सहायताले घरको माथिल्लो भागमा कमेरो बुबा आफै छ्याप्नुहुन्थ्यो, त्यसपछि मेरी दिदीको जिम्मेवारी पूरै घरलाई पहेलोमाटोको पटुकी लगाई दिने । सीधारेखा बनाउने खुवी भएकाले दिदीलाई अक्सर त्यो अवसर जुट्ने गथ्र्यो । पहेलो पटुकीको मुनिको भाग जति रातो माटोले लिपपोत गर्ने काम आमाको । पेटीको बीचमा गोबरले पनि पोत्ने चलन । घाम चर्किएको दिन रंग छिट्टै सुक्थ्यो, रंगको निखार र टक्टका पनि बेग्लै । त्यसैले घर रंगाउने दिन घाम चर्कियोस् भन्ने हाम्रो कामना तर दिउँसैदेखि छिसछिस पानीले दिने दिक्दारी पनि दशैंसँग जोडिने आयाम थिए । घर रंगिएपछि दाई, म र बहिनी कुद्दै टाढा जान्थ्यौं र त्यहाँबाट आफ्नो घर कस्तो देखियो नियाल्थ्यौं । अरु सबै त उत्कृष्ट लाग्थ्यो । तर, घरको तुलनामा खुइलो रंगको झ्याल, स्निग्ध आकाशको घुर्मैलो बादलझैं प्रतित हुन्थ्यो।

‘लाली, पाउडरले घर त उज्यालियो । तर, घरको आँखामा गाजल भएन’ हाम्रै ठम्याई अनुसारको टिप्पणीले बुबाको असन्तोष पनि झ्यालमै छ भन्ने बुझ्न गाह्रो हुँदैनथ्यो । त्यसैले भोलिपल्टै हामी तीनजना घरको आँखा (झ्याल) सिंगार्नतर्फ कटिबद्ध भएरै छोड्ने । अलकत्रामा मट्टितेल मिसाएर बनाएको लेदो लगाउँदा झ्याल साँच्चै गाजल लगाएको आँखाझैं देखिन्थ्यो । तर, सधैँ अलकत्रा नपाइने । विकल्पमा खयरको बोक्रा पकाएर बनाएको खैरो लेदो गाजल बन्थ्यो । त्यो पनि गर्न नसकेमा सिमीको हरियो पात झ्यालहरूमा रगडेर गाजलको रंग हरियो बनाउन पनि हामी चुक्दैनथ्यौं । कालो मात्र नभएर खैरो र हरियो गाजलमा समेत हाम्रा झ्यालहरू उत्तिकै आकर्षक लाग्थे । गाजलको काम पनि पूरा भएपछि हामी उसैगरी अलिक टाढा गएर घरलाई माथिदेखि तल नियाल्थ्यौं । सेतो चोली, पहेलो पटुकी र रातो सारी लगाएकी गाजले युवती षोडश शृंगारपछि जस्ती देखिन्छिन्, हामीलाई आफ्नो घर त्यस्तै लाग्थ्यो । सहरी कोलाजमा दसैंका दौरान कामको चटारो र घर सिंगारसँग जोडिएको यस्तो अनुभूति अहिलेका बच्चाहरूले कहाँ गर्न पाउनु? 

पिङको प्रसंगबिना गाउँले दसैं सधैं अधुरो हुन्छ । सप्तमी सुरु भएपछि घरको दलानमा बुबाले हाम्रो लागि सधैँ पिङ हाल्दिनुहुन्थ्यो । त्यसको भरपुर उपयोग नहुने त हैन । तर, सार्वजनिक स्थलमा हालिने ठूला पिङको महत्व अझ ज्यादा । तामाङहरूको एकछत्र बसोबास भएको पारीपट्टिको कुटुन्जे गाउँका युवा पिङका लागि बाबियो संकलन गर्न घरघर आउँथे । तिनीहरू नआउँदासम्म यसपाली नहाल्ने हुन् कि भन्ने सधैं त्रास । उनीहरूलाई सबैभन्दा धेरै मुठा बाबियो हाम्रै घरमा दिइन्थ्यो।

बावियो संकलन गरेकै दिन कटुन्जे र हाम्रो गाउँको बीचमा पर्ने कोलचौरमा पिङ हालेपछि दसैंको रौनक नै अर्कै । धेरै मुठा बावियो दिएका कारण भीडभाडका बेलामा पनि हामीलाई ति दाइहरू छिटोछिटो पालो दिइरहन्थे । तर, धित नमरुन्जेल ठूलो पिङ खेल्ने रहर पूरा गर्न रातको समयमा पनि चौर पुग्न हामी छोड्दैनथ्यौं । सप्तमीको दिन एउटै कुराले भने हामीलाई असाध्यै दुःखी बनाउँथ्यो । त्यो थियो– काटमार । दसैंकै बेला कूलदेवताको समेत पूजा पर्ने भएकाले पालो परेको वर्ष मन्दिरमा लगेर बोकाको बलि दिइन्थ्यो । अरु बेला घरमै खसी काट्ने चलन । आफैले हातहातमा नचाउँदै हुर्काएका पाठाहरूको त्यो नियति देख्नुपरेपछि मन छियाछिया हुने । अझ घरमै काटमार हुँदा त बहिनी र म चोटातिर गएर लुक्थ्यौं । सबै किसिमले यति रमाइलो दसैंमा यो नरमाइलो चलन किन चलाको होला है ? हामी एक–अर्काबीचको सोधाई हुन्थ्यो त्यो । तर, जवाफ कहिल्यै पाइएन।

विजया दशमीका दिन नयाँ लुगामा निधारभरि टीका लगाउने रहर, आफूभन्दा सानालाई लगाइदिँदा हुने गौरवानुभूति, आस्था र श्रद्धासहित सबै मान्यजनकहाँ पुग्नुपर्छ भन्ने स्वतःस्फूर्त स्वीकारोक्ति लगायतका पक्ष उतिवेला सानैदेखि आत्मसात हुँदै अघि बढ्ने कुरा थिए । अभिभावकहरूले सिकाए बमोजिमकै संस्कारमा अभ्यस्त हुनुपर्छ भन्नेमा पनि त्यतिबेला द्घिविधा थिएन । दसैंका बेला जे खाने चलन थियो, त्यसैलाई सर्वप्रिय मानिन्थ्यो, जे गरिन्थ्यो, त्यसकै अवलम्वन अपरिहार्य थियो । तर, अहिले समाज फेरिएको छ । अभिभावकले हिँडाएको बाटोमा हिँड्न नयाँ पुस्ता सितिमित्ति तयार देखिन्नन्।

चाडपर्वलाई बुझ्ने पनि उनीहरूका आफ्नै धारणा विकसित भइसकेका छन् । शिक्षा, चेतना र प्रविधिमाथिको सहज पहुँचले पनि उनीहरूका आनीबानी फेर्न भूमिका निर्वाह गरेको देखिन्छ । त्यसैले दसैंको सन्दर्भमा पनि उतिबेला जस्तै अनुभूति गर्ने परिवेश र पात्र दुवै फेरिएकाले अलग महसुस अस्वाभाविक हैन । तर, जे फेरिन्छन्, उतिबेलाको विधि र प्रक्रियामा रहेका खरावी र कमजोरी मात्र फेरियुन्, हाम्रो धार्मिक मान्यताको मूल मर्म, आधारस्तम्भ र धरोहर भने रत्तिभर नफेरियुन्।

प्रकाशित: २० आश्विन २०७५ ०४:५३ शनिबार

गाजल दसैं साहित्य