१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

हराएको समय्बजि परम्परा

ला छकू वयेक समय्बजि
वल वल पुलुकिसि
अर्थात्
छ्वयेला एक टुक्रा आउने गरी समय्बजि
आयोे आयो पुलुकिसि

मदनकृष्ण श्रेष्ठले गाएको यो गीत अहिले पनि उपत्यकाका रैथाने नेवारहरूको मुखमुखमा झुन्डिएको छ । कुनै बेला यो गीतको बोल ‘ला छकू वयेक समय्बजि’ इन्द्रजात्राका विभिन्न रौनक मध्ये एउटा रौनक भएर सुनिन्थ्यो । तर, अहिले यो गीतको बोलमा मात्र सीमित भएको छ, इन्द्रजात्रामा सुनिन छाडेको छ।

इन्द्रजात्राको भोलिपल्ट येँयाः पुन्हि (भाद्रशुक्ल पुर्णिमा)को दिन कुमारी, गणेश, भैरवको रथ काठमाडौंको भित्री शहरको माथिल्लो लागामा तानिन्छ । यही दिन विभिन्न गुथि तथा घरबाट चोक–चोकमा समय्बजि बाँड्छ।

‘पहिला पहिला बालबालिकाहरू चोक चोकमा समय्बजि लिन ‘ला छकू वयेक समय्बजि’ भन्दै लाइन लागेका हुन्थे । एकै स्वरमा ‘ला छकू वयेक समय्बजि’ भन्दै कराइरहेको सुन्दा जात्रा झनै रमाइलो हुन्थ्यो । अहिले त यस्तो चलनै हराइसक्यो,’ इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गतको महिला समूहका संयोजक नानीहेरा महर्जनले भनिन्।

‘पहिला येँयाः पुन्हि (पूर्णिमा)को दिन डालामा समयबजि राखेर घरबाट निस्केको एकछिनमै सबै सकिन्थ्यो । समय्बजि लिन बच्चाहरू ला छकू वयेक समय्बजि भन्दै झोला लिएर कुरेर बसिरहेको हुन्थ्यो, तर अहिले त समय्बजि लिन आउनु भनेर बोलाउन जाँदा पनि लिन आउने हुँदैन,’ टेंगल टोलकै माया महर्जनले भने।

‘अहिले त हामी चोकका सबैले ल्याएको समयबजि एकैठाउँमा जम्मा गर्छौ, अनि सबै मिलेर प्रसाद लिन्छौं,’ उनले भने।

संस्कृति अध्ययता एकाराम सिंका अनुसार पूर्णिमाको दिनमा बाँडिने समय्बजि भैरवको प्रसाद हो । इन्द्र जात्रामा इन्द्रसँगै भैरवको पनि पूजा हुन्छ । विभिन्न गुठीले भैरवको पुजा गरिसकेपछि प्रसादको रूपमा समय्बजि बाँड्छन् । त्यस्तै घरघरबाट पनि समय्बजि बाँड्ने चलन छ।

‘प्रसाद भनेपछि सबैलाई दिइन्छ । ठूला–साना सबैलाई दिनुपर्छ । तर, बच्चाहरू आफूलाई प्रसाद नदेला भनी छ्वयेला आउने गरी समय्बजि दिनु भनेर ‘ला छकू वयेक समय्बजि’ भन्दै कराउँछन् । बच्चाहरू एकै स्वरमा यसरी कराउँदा जात्रामा झनै रौनक थपिन्छ,’ उनले भने।

तर, अहिले यस्तो रमाइलो परम्परा नै लोप हुने अवस्थामा पुगेको उनको दाबी छ । ‘नयाँ पुस्तालाई यो परम्पराबारे जानकारी नै छैन, समय्बजि बाँड्ने गुठीहरू पनि धेरैजसो बन्द भइसकेको छ । यसले गर्दा समय्बजि बाँड्ने पनि कम भयो, लिने आउने त छँदै छैन भन्दा पनि हुन्छ,’ उनले भने।

यो परम्परालाई अझै पुनर्जागरण गर्न सकिन्छ । ‘खास त बालबालिकाहरूलाई जानकारी गराउने भनेकै ठूलाहरूले हो । ठूलाहरू बालबालिकाहरूलाई यस्तो नि परम्परा छ है भन्ने जानकारी दिएर एकपटक जागरुक गरिदिए विस्तारै यो परम्परामा पनि पुनर्जागरण हुनसक्छ,’ संस्कृति अध्ययता सिं भन्छन्।

इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत महिला समूहकी संयोजक महर्जन अहिलेलाई एक–दुई ठाउँमा मात्र समय्बजि कार्यक्रम राख्न सकेको भए पनि यसको संरक्षण हुने बताउँछिन् । ‘यसपाली इन्द्रजात्रामा केही ठाउँमा भए पनि समय्बजि कार्यक्रम राख्नेबारे समितिमा छलफल भएको थियो,’ उनले भनिन्, ‘यसपालि अलि सम्भव भएन, अर्को पल्ट समितिबाटै केही पहल हुने आशा गरेको छु।’

प्रकाशित: १ आश्विन २०७५ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App