१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

‘सहरको विकासमा खेलाँची भयो’

व्याकुल माइला, राष्ट्रगान रचनाकार।तस्बिर : दिनेश गोले

तपाईँलाई मनपर्ने सहर कुन हो ?
मलाई पोखरा मनपर्छ । यो सहर प्राकृतिक छ । हरियालीसँगै सबैतिर स्वच्छता पनि छ । ताल, मन्दिर र पर्यटकीय मार्गले पोखरा आकर्षक सहर बनाएको छ । अर्को कुरा, त्यहाँ मानिसको भीडभाड र होहल्ला छैन । नेपालभित्र शान्त र वातावरणीय हिसाबले पनि घुम्नलायक सहर पोखरा मानिन्छ ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं एउटा जटिल सहर बन्दै गएकोे छ । सबैतिर अराजक मात्रै भइरहेको छ । यद्यपि प्राकृतिक सुन्दरता, हावापानी र मौलिकताको हिसाबले यो सहर उच्च विन्दुमा छ । मौलिक कला संस्कृतिको हिसाबमा त नेपाल विश्वकै उत्कृष्ट सहरभित्र पर्छ होला भन्ने लाग्छ । विकसित मुलुकको सहरमा गयौं भने त्यहाँ कि त जाडो कि त गर्मी हुन्छ । तर, काठमाडौं सहरको मौसम सदावहार छ । यहाँको ढुंगा माटोमा पनि धेरै महत्व बोकेको छ । तर, योजनाबद्ध विकासका काम हुन नसक्दा काठमाडौं बस्न लायक सहर भएन ।

यति धेरै कला–संस्कृति र मौलिकता हुँदाहुँदै पनि सहर कसरी बिग्रियो ?
सहर बिग्रनुको पछाडि धेरै पक्ष छन् । मुख्य कुरो त हामीकहाँ सहरीकरण गर्दा दीर्घकालीन योजना अबलम्बन गरिएन । सहरका योजनामा खेलाँची भयो । सरोकारवाला निकायले भोलिलाई हेरेर विकासका काम गरेनन् । अहिले सहरमा हरेक पक्षमा अस्तव्यस्त भएको छ ।

‘काठमाडौं एउटा जटिल सहर बन्दै गएकोे छ । सबैतिर अराजक मात्रै भइरहेको छ । योजनावद्ध विकासका काम नहुँदा काठमाडौं बस्न लायक सहर भएन।’

यसलाई सुधार्न के गर्नुपर्ला ?
यसलाई सुधार्न नीति–नियम र काम गर्ने तौर तरिका बदल्नुप¥यो । हिजोकै ढर्रामा विकासका काम थाल्नुभएन । सरकारी निकायले अनुगमन गर्ने, सहरी संस्कृतिको मापदण्ड निर्माण गर्ने र नागरिकलाई पनि सभ्य आचरण भएको बनाउनु-यो । सहरप्रति सबै सचेत हुने, सरोकारवाला निकायबीच हरेक विकासका काममा समन्वय गर्नुपर्यो । अहिले सहरभरी बिजुलीका तार झुण्डिएका छन् । ती तारलाई म सर्पजस्तै देख्छु, जसले जनतालाई ठुगिँरहेका छन् । सहरको सबैतिर खाल्डाखुल्डी छ । सहरको कलात्मकता छैन । सडक पेटी पनि अस्तव्यस्त बनाइएको छ । पुरातात्विक पक्ष बचाउन सरोकारवाला निकायको कमै ध्यान पुगेको देखिन्छ ।

पर्यटन विकासको लागि हाम्रा सहरको सम्भावना कस्तो छ ?
यहाँमा सबै ठाउँहरू पर्यटकीय छन् । जता गए पनि पर्यटकलाई लोभ्याउने खालका दृश्यहरू छन् । काठमाडौं उपत्यका एक हिसाबले पर्यटन क्षेत्र नै हो । तर, यहाँको वातावरणीय पक्षको कुरा गर्दा दिक्क लाग्छ । यहाँको वातावरण पर्यटनमैत्री छैन । सबैतिर धुवाँधुलो र मानव स्वास्थ्यमा हानी गर्ने किसिमको प्रदूषण छ । प्राकृतिकरूपले नेपाल हराभरा भएको कुरा विदेशीलाई पनि थाहा छ । उनीहरू नेता र सरकारले सहरलाई बनाउन सकेन भनेर बुझिसकेका छन् ।

नेपालबाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
त्यति धेरै देशका सहर घुम्न पाएको छैन । भारत, हङकङ, बेलायतलगायत देशका सहरमा पुगेको छु ।

त्यहाँको सहरको विषशेता के रहेछ ?
छिमेकी देश भारतकै कुरा गर्दा विकासमा हामीभन्दा धेरै अघि पुगेको छ । बेलायत पनि विकासको उत्कर्षमा पुगेको छ । त्यहाँ १८ औं शताब्दीदेखि नै विकासको अवधारणा अघि बढेको थियो । हाम्रोमा त्यो किसिमबाट विकास गर्ने सोचाईको विकास भएन । सरोकारवाला निकायबीच सहर विकासको सन्दर्भमा कुनै ऐक्यबद्धता नै भएन ।

हामी के पक्षमा अगाडि रहेछौं ?
हामीले गरेका विकास निर्माणका काम बाहेक नेपालका सबै ठाउँहरूमा अद्वितीय सौन्दर्यता छ । यहाँका सहरैपिच्छे फरक विषेशता छन् । हिमाल, पहाड र तराईका ठाउँहरूमा फरकपन भेटिन्छ । यहाँका सहरमा अनुपम कला र संस्कृति लुकेका छन् । संसारमा कहीँ नभएको मौलिकता लुकेको छ । मलाई नेपालभित्र जता गए पनि रमणीय र प्यारो लाग्छ ।

सहरीकरणकोे हिसाबले हामी कुन ‘फेज’मा छौं ?
मिश्रित किसिमको छ । हामीले ‘वेस्टर्न मोडल’बाट पूर्वाधार विकास पनि गरिहरहेका छौं । अन्य मुलुकको विकास ‘मोडल’ पनि अपनाएका छौं । तर, हाम्रो पहिचान यो हो भनेर विकास गरेका छैनौं । यी पक्षलाई हेर्दा पनि हामीकहाँ विकासका काम सन्तोषजनक छैनन् । सबैतिर अस्तव्यस्त मात्रै छ । त्यसैले, विदेशी सहरसँग तुलना गर्दा हामीकहाँ विकासको ‘फेज’ लाजमर्दो किसिमको छ । हामी निकै पछाडि छौं । यो हिसाबका अघि बढ्ने हो भने उनीहरूको तहमा पुग्न हामीलाई वर्षौैैं लाग्छ ।

तपाईँको बुझाईमा सहर भनेको के हो ?
शिक्षा, स्वास्थ्य, बिजुली, यातायात तथा हरेक पक्षको हिसाबले सुविधायुक्त ठाउँ हो, सहर । सुविधासहितको व्यवस्थित मानव बस्ती बनाउन त्यहाँ चरणबद्ध र योजनाबद्ध ढंगले विकासका काम गरिएको हुन्छ ।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म मौलिकता झल्कने एकैनासे संरचना भएको हराभरा सहरको परिकल्पना गर्छु । मेरो विचारमा सहर हरेक पक्षमा सरल र सहज हुनुपर्छ । सहरमा सांस्कृतिक पक्ष झल्किएको हुन्छ । दीर्घकालीन विकास गरिएको हुन्छ । सहरको सुरक्षा पनि चुस्त हुन्छ । अर्को कुरा, सहरको विकास ढाँचा विभिन्न समयमा परिमार्जन भएको हुन्छ । हाम्रोमा यो अभ्यास कमै मात्र गरिएको छ ।

काठमाडौं कहिले छिर्नुभयो ?
म २०४६ सालमा काठमाडौं छिरेको थिएँ । त्यतिबेला भर्खर एसएलसी दिएको थिएँ । त्यसपछिको यात्रा तयको लागि काठमाडौं छिरेको हुँ । काठमाडौं पस्दा सुरुमा निकै फरक लागेको थियो । अहिले जस्तो संरचना थिएनन् । सबैतिर खाली थियो । यातायातका साधन पनि कम थिए । टेम्पो र साइकल बढी प्रयोग हुन्थ्यो । अहिले सोच्नै नसकिने गरी एकाएक अस्तव्यस्त किसिमले विकास भयो ।

यहाँको मनपर्ने पक्ष ?
काठमाडौंको कल्चर कहिँसँग मिल्दो छैन । यतिधेरै सांस्कृतिक विविधता भएको सहर संसारमा सायदै होलान् । यहाँको हावापानी र सबै किसिमको सेवा–सुविधा पाइन्छ । यो हिसाबले काठमाडौं राम्रो लाग्छ।

मन नपर्ने पक्ष ?
हामीले सभ्य र सु–संस्कृत हिसाबले सहरको विकास गर्न सकेका छैनौं ।

तपाईँको विचारमा सहरीकरण हुँदै गर्दा राज्य कहाँनिर चुक्यो ?
अहिलेको सहरी विकास सम्भवतः पूजीवादी अर्थतन्त्रको उपज हो । समाजवादी किसिमबाट हामी अघि बढ्न सकेनौं । समाजवादलाई नारा मात्रै बनायौं । राज्यका संरचनामै बेथिति भएकाले विकासका काम पनि बिग्रिएका हुन् । पछिल्लो विकासले त झन् विनास निम्त्याइरहेको छ । खोला छेउका बस्तीमा बाढी पस्न थालेको छ ।

तपाईँलाई २०७४ सालमा काठमाडौं महानगरभित्र ‘काठमाडौं महानगरपालिका विकास दुत’ को रूपमा नियुक्ति गरेको थियो, के–के काम गर्नुभयो ?
एक वर्षको लागि सम्झौता भएको थियो । तर, मलाई नियुक्ति गरियो मात्रै, काम गर्ने वातावरण दिइएन । त्यतिबेला मलाई सहरलाई स्वच्छ राख्नका लागि जनजागरण ल्याउन मलाई नियुक्ति गरिएको थियो । जनप्रतिनिधि आउनुभन्दा केही महिनाअघि म नियुक्त भएको थिएँ । भर्खर काम सुरु भएको थियो । तर, जनप्रतिनिधि आएपछि मेरो पदलाई बेवास्ता गरियो । त्यसकारणले पनि कुनै काम गर्न पाइनँ ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासीमा यो म बसेको ठाउँ हो । यसको विकास हामीले नै गर्नुपर्छ भन्ने भित्री भावना भएन । सबै आ–आफ्नो स्वार्थपूर्तिमा मात्रै लागे । तर, सबै मिलेर बनाउने हो भने सहर सुन्दर बन्छ । त्यसकारण अब हामीले नै सहरलाई बनाउनुपर्छ । यो हामी सबैको ठाउँ हो । सभ्य, सु–संस्कृत र व्यवस्थित सहरको विकासको लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ ।

सहर नजिकै घुम्न ठाउँ ?
काठमाडौं वरिपरिका डाँडाकाँडा निकै रमणीय छन् । यो काठमाडौंको राम्रो पक्ष हो । शिवपुरी क्षेत्र मलाई रमाइलो लाग्छ । सहरको मिठो लाग्ने खानेकुरा ?
नेवारी र थकाली खाना मिठो लाग्छ ।

पछिल्लो समय घुमेको ठाउँ ?
केही दिनअघि मात्रै खप्तड पुगेको थिएँ । त्यहाँको दृश्य निकै मनमोहक लाग्यो ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई खुम्बु क्षेत्र पुग्ने रहर छ । हेरौं, त्यहाँ पुग्ने अवसर पनि जुर्ला कुनै दिन ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २२ भाद्र २०७५ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App