२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

नागरिक आन्दोलनका अगुवा तुलाधरको भीमरथारोहण

काष्ठमण्डप – नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) विविध कार्यक्रमका आयोजना हुने भएको छ।

नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व रहेकाले सोही अनुसार तुलाधरको भीमरथारोहण कार्यक्रम सुरू गर्न लागिएको हो । भाद्र १७ गते हुने भीमरथारोहणमा उनको योगदानलाई कदर गर्ने अन्य कार्यक्रमहरू पनि राखिएको छ।

व्यवसायी एवम् समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ । उक्त समितिको मूल अंगको रूपमा एउटा संरक्षक समिति पनि गठन गरिएको छ । उक्त संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, जनगायक भृगुराम श्रेष्ठ, नेवाः आन्दोलनका अगुवाहरू मल्ल के. सुन्दर, नरेशवीर शाक्य र कलाकार गणेश साय्मी सदस्यका रुपमा रहेका छन्।

सो अवसरमा ‘नेपालको मानव अधिकार आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठी,  पत्रकारितामा पद्मरत्न विषयक परिचर्चा, नगरका विभिन्न स्थानहरूमा सरसफाई कार्यक्रम, शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको सहजीकरणबारे परिचर्चा, पद्मरत्न तुलाधरको साहित्यिक व्यक्तित्वबारे चर्चा एवं साहित्य वाचन, नेपाल संवत् आन्दोलनमा पद्मरत्न तुलाधरको योगदान विषय विचार गोष्ठी, खुला रक्तदान कार्यक्रमलगायत अन्य कार्यक्रमहरू राखिएको छ। 

 

प्रकाशित: १ भाद्र २०७५ ०५:५१ शुक्रबार

पद्मरत्न_तुलाधर भीमरथारोहण