१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

खप्तडको पदचाप

खप्तडमा गंगा दशहरा मेला । तस्बिर :अभय श्रेष्ठ

साहसिक घोडादौड
खप्तडमा यसपालि गंगा दशहरा मेलाको अघिल्लो दिन उधुमै मन हर्ने घोडादौड प्रतियोगिता भइरहेको थियो । मेलास्थल त्रिवेणीधामबाट उत्तरतिर अलि उकालो चढेर ४५ मिनेट हिँड्दा दिवंगत खप्तड बाबाको आश्रम पुगिँदोरहेछ।

त्यहाँबाट टड्केर पन्ध्र मिनेट उत्तर पश्चिम हिँड्दा घोडा दाउने पाटन । विशाल पाटनको वारि थुम्कोदेखि पारि थुम्को भरिनेगरी राता लुगा लगाएका मानिसहरूका अनेकौँ झुन्ड देखिन्थे । डोटी, बझाङ, बाजुरा र अछामबाट आएका अनेकौँ झुन्ड त्रिवेणीधामतिर ओहोरदोहोर गरिरहेका थिए । दर्शक यति उत्साहित थिए, मानौँ त्यहाँ लिगलिगे दौड जितेर नयाँ राजा छान्ने प्रतिस्पर्धा हुँदै थियो।

घोडा दौडाउनलाई उत्तरदक्षिणतिर कुनै बारबन्देज थिएन । न कुनै चिह्न थियो । केबल पूर्व र पश्चिमतिर चार सय मिटर दूरीमा सेतो खरीको रेखा कोरिएका थिए । आयोजकहरू दर्शकलाई घोडा दौडने क्षेत्रबाट पछाडि हट्न अनुरोध गरिरहेका थिए । सेना पनि आयोजकलाई सहयोग गरिरहेका थिए । तर, दर्शकका हात हातमा भिडियो खिच्न तम्तयार स्मार्टफोन थियो । एउटा अगाडि बढ्दा अर्कालाई छेकिन्थ्यो । पछाडिको मान्छे ऊभन्दा अगाडि बढ्थ्यो । त्यसपछाडि झनै ऊभन्दा अगाडि बढ्थ्यो । यसरी घोडा दौडाउने क्षेत्र झपक्कै ढाकिएको थियो ।
पाटनको पूर्वी दिशामा छ जना किशोर घोडचढीहरू घोडा कुदाउन तम्तयार थिए । २ बजे हुने भनिएको दौड ५ं३० मा सुरु भयो । छ जना किशोरले क्रूरतापूर्वक चुट्दै घोडा दौडाए ।

दर्शकहरू भिडियो खिच्न तिनका पछिपछि दौडिए । रातो टिसर्टवाला ठिटो सुरुदेखि नै अगाडि थियो । अन्तिम घेरो छुनै लाग्दा अर्को केटाले उसलाई उछिन्यो । रातो टिसर्टवाला दोस्रा भयो । प्रथम चरणमा पहिलो, दोस्रो र तेस्रो हुने केटाहरूको नाम घोषणा गरियो । दोस्रो चरणमा फेरि अरु छ जना किशोरले उसैगरी घोडा दौडाए । दर्शकहरू उसैगरी तिनका पछिपछि दौडिए । पछाडि पर्ने घोडा दर्शकको भिड देखेर अलमलियो । ओरोहीले त्यसलाई दरो चुटाइ दियो । आखिर उसले आरोहीलाई नै पिठ्यूबाट फुत्त मिल्काइदियो । उद्घोषकले यस चरणमा पनि पहिला, दोस्रा र तेस्रा हुनेको नाम घोषणा गरे ।

दुई चरणमा प्रथम, दोस्रा  र तेस्रा हुने दुई दुई जनालाई छुट्टा छुट्टै दौडाउने वा दुवै चरणमा पहिलो, दोस्रो र तेस्रा हुने छ जनालाई एकैचोटि दौडाउने भन्नेमा गलफत्ती भयो । यहीबीच दोस्रो चरणमा तेस्रो हुनेको नाममा विवाद भयो । अर्का व्यक्ति र उनका समर्थकले आफू तेस्रो भएको दाबी गरे । आयोजकहरूले दरो निर्णय गर्न सकेनन् । तेस्रोका दाबेदार बझाङ, छान्ना गाउँपालिकाका सुशील रावल र बझाङ, थलाराकै सुनील रोकाया दुवै जनालाई फेरि दौडाइयो । सीमारेखा छोएर फर्कँदा दुवैका घोडा दर्शक दीर्घामा प्रवेश गरेको भनी आयोजकले दुवैलाई ‘आउट’ गरिदिए जब कि दर्शकदीर्घा कहाँसम्म हो भन्ने कुनै चिह्न थिएन । त्यसमाथि दर्शक स्वयं स्मार्टफोन तेस्र्याउँदै घोडा दौडने क्षेत्र मिचेर अगाडि बढिरहेका थिए।

एकै छिन गाइसकेपछि एउटी किशोरीले सोधिन्, ‘डेउडा गाऊँ ?’ हामीले हुन्छ भन्यौँ । पाखुरा गाँस्दै, खुट्टाको चाल मिलाउँदै यो डेउडा त झनै तिनले अत्यन्त मार्मिक र सुन्दर तरिकाले गाए । एकखालको गहिरो विरहमा तिनीहरू हामीलाई डुबाइरहेका थिए । आधा घण्टा भइसक्यो, ती गाएर थाक्ने छाँट देखिएन ।

त्यसपछि पाँच जनालाई दौडाइयो । थलाराका शमशेर नेपाली, बाजुरा, छेडेदहका जगत रावल, बझाङकै साहिल रावल र केशव अनि डोटीका पदमराज उपाध्याय । दौडमा साहिल रावल अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि छाडेर प्रथम भए भने शमशेर नेपाली र जगत रावल दोस्रा र तेस्रा । प्रथम हुने घोडाले बाटो छेकेर उभिएका दुई जनालाई सीमारेखा नाघ्नै लाग्दा भक्लक्कै लडाएर रक्ताम्मे बनाइदियो । कति घोडा मान्छेको भिड देखेर अगाडि बढ्नै मानेनन् । अनि चुटाइको बदलामा तिनले घोडचढीलाई नै लडाइदिए।

घोडादौडको आकर्षक पक्ष के थियो भने प्रतिस्पर्धी १६-१७ वर्षका किशोर थिए । जित्नेले नगद पुरस्कार र प्रमाणपत्र त पाउने नै भए, खप्तड क्षेत्रले छुने चारै जिल्लामा ती प्रख्यात हुने रहेछन् । निश्चित नियम बनाउने र घोडा दौडाउने क्षेत्रमा दर्शक जथाभावी प्रवेश गर्न नपाउने व्यवस्था गर्ने हो भने यही प्रतिस्पर्धा गंगा दशहरा मेलाको सबैभन्दा आकर्षक यो प्रतिस्पर्धा हेर्न र भाग लिने अन्य क्षेत्रबाट पनि मानिसहरू ओइरने अनि त्यसले खप्तडको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने पक्का छ ।

‘विधवाको मर्म’
काठमाडौँ, भरतपुर, हेटौँडा, धरान, पोखरा, दमौली, डँडेल्धुरा र दिपायलका कवि एवं पत्रकार सम्मिलित यस यात्राको जोहो गरेको थियो कन्सेप्ट नेपाल, काठमाडौँले । त्यसको चाँजोपाँचजो मिलाएका थिए पत्रकार अमृत भादगाउँले र कवि हेमन्त विवशले ।

कवि भूपिन, हेमन राई, निमेष निखिल, दीपेन्द्रसिंह थापा, घनश्याम खड्का, चन्द्र काफ्ले, उदय अधिकारी, गनेस पौडेल, आरके अदिप्त गिरी, अमृत सुवेदी, सागर उदास, तारानाथ पहारी, होमनाथ भण्डारी, सुरेन्द्र राना ‘गुुरिल्ला’ अनि साइकलयात्रीहरू सुदीप पौडेल, देवेन्द्र बस्नेत, रञ्जन राजभण्डारी, गोपाल श्रेष्ठ अन्य सहभागी थिए । जेठ ६ गते साँझ ५ बजे काठमाडौँबाट झन्डै १८ घण्टाको बसयात्रा गरेर भोलिपल्ट हामी पुगेका थियौँ कैलालीको अत्तरिया । त्यहाँबाट एक घण्टामा धनगढी । धनगढीमा दिउँसोको खाना, सुन्दर सुदूरपश्चिमाञ्चल अभियानबारे अभियन्ता गोपी हमालको ब्रिफिङ, चर्चित पाइलट वेद उप्रतीको एयरक्राफ्ट म्युजियमको अवलोकनपछि फेरि अत्तरिया।

धनगढीपछि हाम्रो यात्रामा थपिएका थिए गजलकार टोपेन्द्र शाह रसिक र आरजू हमाल । हाम्रो टोलीमा एक जना मात्र महिला यिनै किशोरी आरजू थिइन् । अत्तरियाबाट ४ बजे भात्काँडा, निङलाडी, बुडर बजार हुँदै राति १ बजे दिपायलमा वास ।

हाम्रो यात्रामा दिपायलबाट मिसिएका थिए पत्रकारहरू प्रकाश बम, अरुण बम, पवन महरा, टीआर पौडेल आदि । भोलिपल्ट बिहान झन्डै एक घण्टाको बसयात्रा गरेर सिलगढीको शैलेश्वरीमा मन्दिरमा आयोजक कन्सेप्ट नेपालले तीन जना त्यस्ता व्यक्तिलाई नगद रु. दश हजारसहित खप्तड रत्न सम्मान दियो जसप्रति सामान्यतया हाम्रो समाजको ध्यान पुग्दैन । ती थिए कलाकार एवं पुराना पत्रकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली गायक एवं नृत्यकार पदमसिंह नेपाली।

डेउडा गायक पार्कीबारे लामो लेख लेखेका कवि हेमन्त विवशले एउटा मार्मिक प्रसंग सुनाए । देउडाकै क्रममा एक पल्ट विधवा महिलाले उनको दलित जीवनलाई हियाएर गीत गाइन् । उनले पनि विधवालाई बेस्सरी होच्याएर गाइदिए । अनि विधवाले गीतकै भाकामा ‘श्रीमती मरेपछि तिमीले पनि थाहा पाउला, विधवा हुनुको मर्म’ भन्ने आशय पोखिन् । नभन्दै त्यसको छ महिनापछि पार्कीकी श्रीमती एकाएक छोराछोरीलाई टुहुरो बनाएर बितिन् । विधवाको चित्त दुःखाएकैले आफूले सजाय पाएको ठाने पार्कीले ।

नचिनिएका प्रतिभा
झिंग्रानाबाट ठाडो उकालो पाँच घण्टा हिँडेर बीचपानीमा बास । भोलिपल्ट बिहानै उठेर हिँडेपछि डेढघण्टामा पहिलो पाटन पुगियो ।

पाटनको अन्त्यमा सेना स्मृति विश्रामघर थियो । विश्रामघरपछि ढुंगा छापिएको र अप्ठेरो उकालो बाटो आयो । करिब १५ मिनेट हिँडेपछि सुरु भएको ओरालोमा गोला ढुंगाहरू हुँदा हिँड्न अत्यन्त अप्ठेरो थियो । खुट्टा जोगाउन निकै होसियारी अपनाउनुपथ्र्यो ।

अलि तल खोला देखियो । चौरभरि रंगीचंगी लुगा लगाएका मानिस अनि थुम्कातिर गाईवस्तु र घोडाहरू देखिन्थे । खोला तर्न लाग्दा काठे साँघुमा खोलातिर खुट्टा पसारेर पाँच जना किशोरी बसिरहेका थिए । फोटो खिच्न लाग्दा तिनीहरू लजाएझैँ गरी सतर्क भए ।‘तिमीहरू देउडा गाउने हो ?’ मैले सोधेँ । तिनीहरू बाजुराको खप्तड छेडेदहको मालिका माविका छात्रा रहेछन् । ६ घण्टा हिँडेर पिकनिक आएका ।‘गाऊ, गाऊँ, म खिच्छु’, भिडियो क्यामेरा बोकेका होमनाथ भण्डारीले भने ।‘लौ, ठाडी भाका गाए हुन्छ । तिमीहरूलाई टीभीमा देखाउँछ,’ तिनकै एक शिक्षकले भने।

अनि वरिपरि रहेका १४ जना किशोरीहरू जम्मा भए । तिनीहरूमध्ये ५ जना एकातिर  र ९ जना अर्कोतिर उभिएर त्यहीँको स्थानीय भाषामा गाउन थाले । भण्डारीले क्यामरा सोझ्याए । भाषा केही बुझिएन तर तिनको गायनमा रहेको गहिरो वेदना सजिलै महसुस गर्न सकिन्थ्यो । अहो, यो पो हो कुनै नक्कलझक्कल नगरी भित्रैबाट प्रस्फुटित भएको प्रतिभा । ‘वनपात जाँदा छोरी मान्छेलाई कति दुःख छ भनेर गायाका,’ भैँसी चराइरहेकी एक महिलाले हामीलाई स्पष्ट पारिन् । डेउडाजस्तै यो एक खालको दोहोरी हुने रहेछ । पहिलो समूहले गाउँछ । दोस्रो समूहले त्यही दोहो¥याउँछ । फेरि पहिलो  समूहले त्यही दोहोर्याउँछ ।

यसपछि दोस्रो समूहले जवाफ फर्काउँछ । अनि त्यही जवाफलाई पहिलो समूहले दोहो¥याउँछ । दोस्रो  समूहले फेरि एकपल्ट त्यसलाई दोहो¥याउँछ । अनि पहिलो समूहले त्यसको जवाफ फर्काउँछ । ठाडी भाका मात्र होइन, डेउडा पनि यही तरिकाले चल्ने रहेछ । गाउँदा गाउँदै एउटा भैँसी माथिबाट घण्टी बजाउँदै हुर्रिएर आयो।

वरिपरिका विद्यार्थी तितरबितर भए । हामी पनि पन्छियौँ । तिनीहरू पनि तितरबितर भए । भैँसी तल चौरतिर लागे । फेरि उनीहरू समूहमा विभाजित भएर गाउन थाले ।एकै छिन गाइसकेपछि एउटी किशोरीले सोधिन्, ‘डेउडा गाऊँ ?’ हामीले हुन्छ भन्यौँ । पाखुरा गाँस्दै, खुट्टाको चाल मिलाउँदै यो डेउडा त झनै तिनले अत्यन्त मार्मिक र सुन्दर तरिकाले गाए । एकखालको गहिरो विरहमा तिनीहरू हामीलाई डुबाइरहेका थिए ।

आधा घण्टा भइसक्यो, ती गाएर थाक्ने छाँट देखिएन । पछि परेका हाम्रा साथी हेमन्त विवश, सागर उदासहरू पनि आइपुगे । तिनले पनि मोबाइलको क्यामरा तेस्र्याए । गीत टुंगिने छाँट देखिएन ।‘यो डेउडा यस्तै हो, दिनभरिमा नि सकिन्नँ,’ हेमन्तले भने । अनि एउटी किशोरीको कानमा  केही भने । तिनले अर्कीको, अर्कीले अर्कीको कानमा त्यो सन्देश पुर्याए । त्यसपछि जवाफ फर्काउनुपर्ने समूहले बाई बाई गरेको संकेतमा भने, ‘ओके टाटा बाई बाई, हामीलाई नि बिदा देऊ ।’ फेरि अर्को समूहले त्यही दोहो¥यो । त्यसपछि केटीहरू लाज मानेझैँ साथीहरूको जमातमा बुर्कुसी मार्दै दौडिए ।

हामी पनि त्रिवेणीधामतिर पूर्वको बाटो लाग्यौँ ।दस मिनेट थुम्कोको बाटो उक्लेपछि फेरि अर्को पाटन आइपुग्यो । त्यहाँबाट माथि गौँडामा गंगा दशहरा मेला भर्न आउनेलाई प्रवेशद्वारमा स्वागतको तुल टाँगिएको थियो । भित्र छिेपछि अर्को पाटन सुरु भयो । त्यहाँ भलिबल प्रतियोगिता हुँदैरहेछ । भूपिन, निमेष, अमृत सुवेदीहरू भलिबल हेरिरहेका थिए । तिनका अनुसार राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई डेढ घण्टाअघि हामीले छाडिआएको सैनिक स्मृति विश्रामघरबाटै आयोजकले घोडामा राखेर लगेका रहेछन् । खेल डोटी र अछामबीच भइरहेको थियो । राजधानीको जस्तो कुनै सुविधा नभएका यी ठाउँका खेलाडीको खेल कमजोर थिएन । मात्र तिनीहरूलाई थोरै प्रशिक्षणको जरुरत थियो ।

खप्तडबाबा आश्रम
सेनाको स्वास्थ्य शिविरअगाडि ब्यागप्याक थुपारेर हामी खप्तडबाबा आश्रम र घोडादौड हेर्न उत्तरतिरको सल्लाले घेरिएको पाखो उक्लियौँ । भाद्गाउँले र हेमन्त भने उद्घाटन कार्यक्रममै रोकिनुपर्यो । आधा घण्टा जतिमा वनको गोरेटो नाघेर उत्तरतिर ढुंगा छापिएको बाटो हुँदै आश्रम पुगियो । आश्रम एकतले थियो ।

पिँढी र वातावरण सफा थियो । पिँढीमा बाबाको सेतो प्रस्तर मूर्ति थियो । पूर्वतिर बगैँचा र त्यहीँ हेलिप्याड । भारतको कास्मिरवासी शिवनाथ डोग्रे पछि सचिदानन्द सरस्वती स्वामी भएछन् । तिनै स्वामी खप्तडमा आएपछि खप्तडबाबाका नामले प्रसिद्ध भए । त्यहीँ उनले गोठाला र स्थानीय वासिन्दाको समीपमा ४८ वर्ष बिताएका रहेछन्।आयुर्वेद विज्ञानका प्रकाण्ड ज्ञाता यी बाबा गर्मीका ३ महिना यही कुटीमा बस्थे । बाँकी समय बझाङमा एक खड्का थरका सज्जनको घरमा बस्थे रे । २०५३ मा बाबाको निधन भएपछि आश्रमको रेखदेख सेनाले गर्दै आएको रहेछ । आँगनको पर्खालमा बसेर ढाका टोपीधारी एक जना अद्भैँसे बाबाबारे केही बताइरहेका थिए ।

मैले उनलाई खप्तडबाबाको सबै किताब कहाँ पाइन्छ भनेर सोधेँ । उनले काठमाडौँको बुढानिलकण्ठस्थित खप्तड शिविरमा पाइने बताए । उनी रहेछन् बझाङवासी कृष्णबहादुर खड्का । उनकै घरमा बाबाले उनका हजुरबाको सान्निध्यमा अधिकांश समय बिताएका रहेछन् । उनीसँगै उनकी बहिनी पार्वती पनि थिइन् । खप्तडबाबा र उनीहरूका हजुरबा दौँतरी थिए । सेनाले जिम्मा लिएपछि आफ्ना हजुरबाजस्ता बाबाको आश्रममा उनीहरू स्वयं अपरिचत र विराना हुनपुगेका थिए । बाबाको स्मृतिमा केही दिनअघि मात्र गाउँलेहरूलाई उनीहरूले भोज खुवाएका रहेछन् ।

गंगा दशहरा मेलामा बाबाको आश्रममा चहलपहल हुने भएपछि भावुकतावस यी अद्भैँसे दाजुबहिनी यहाँ आएका थिए ।काठमाडौँबाट आएका पत्रकार भनेपछि सेनाले आश्रमको ढोका खोलेर बाहिरैबाट हामीलाई बाबाको शयन कक्ष र पुस्तकालय हेर्ने अवसर दियो । त्यही बेला पार्वतीले पनि हामीसँगै बाबाको संग्रहालय हेर्न पाइन् । फर्कने बेला कृष्णबहादुरले मलाई फेरि भने, ‘तपाईं बुढानिलकण्ठ गएर बाबाको किताब लिन नभुल्नुस् है !’त्यसपछि हामी जंगलैजंगल उत्तरतिरको बाटो हिँडेर घोडा दाउने पाटन पुग्यौँ जसको चर्चा लेखको पहिलो शीर्षकमै भइसकेको छ।

मेलाको भिड
घोडादौड सकिएपछि खप्तडबाबा आश्रमको बाटो नसमाती त्रिवेणीधाममा मेला भर्न आउने यात्रीसँगै पूर्वतिर ढुंगा ओच्छ्याइएको बाटो लाग्यौँ । हामीसँगै थिए, हिरेन्द्र रावल । ओठमा कलेटी परेर रगत देखिन थालेका पुड्का पुड्का यी बझाङी व्यापारी घोडादौड प्रतियोगिता र त्रिवेणीमा बेलुकी हुनेवाला डेउडा प्रतियोगिताका पनि संयोजक थिए । घोडादौडमा प्रथम हुने साहिल उनकै छोरा रहेछन् । ‘विपक्षीहरूलाई उसले धेरै पछाडि छाडिदिएको थियो’, गर्वसाथ उनले सुनाए जसको साक्षी हामी स्वयम् थियौँ।

१५ मिनेट जति ढुंगा ओच्छ्याएको सामरो बाटो हिँडेपछि सल्लाले घेरिएको वन आयो । अनि अलि उकालो ।त्यसपछि वनको काखैकाख १५ मिनेट हिँडेपछि बाटोको पूर्वतिर उँचो भागमा नारिएर ठडिएका निकुञ्ज मुख्यालय र आर्मी क्याम्प देखिए । त्यहाँबाट दक्षिणतिर ओरालो लागेर हामी फेरि पश्चिमतिर मोडियौँ र खोलाको किनारै किनार त्रिवेणीधामतिर लाग्यौँ । बाटोमा एक जना बझाङी ठकुरी घोडा रोकेर हाम्रा साथीहरूसित गफिरहेका थिए । यी ‘राजासाप’ ले हाल खप्तड क्षेत्रमा आसन जमाएका जोगीहरूलाई उडाउनु उडाए।

नजिकै भारतीय व्यापारीहरू बाँसको टहरा बनाएर जेरी, मिठाइ, आलु पकौडा बेचिरहेका थिए । त्यहाँ हामीले पकौडा, जेरी र आलु खायौँ । नेपालीहरूले श्रम र मेहनतको सम्मान गर्न जानेको भए यी भारतीयबाट सिक्ने धेरै कुरा छन् । त्यहाँबाट अलि तल दक्षिण पश्चिमतिर मानिसहरूको ठूलो भिड थियो । यो मेलाको उद्घाटनस्थल थियो । स्वयंसेवकहरू त्यो दबदबे चौरमा बस्न यात्रुलाई आदेश दिइरहेका थिए । एकैछिन उनीहरू बसेझैँ गर्थे र जुरुक्क उठिहाल्थे । भिड छिचोलेर हेर्दा मञ्चमा राष्ट्रगानका रचनाकार व्याकुल माइला चुपचाप बसिरहेका थिए ।

उद्घाटन हुने कुनै सुरसार थिएन । माइला आजित भइरहेका थिए किनभने उनी मुख्य अतिथि थिए र हामीजस्तो स्वतन्त्र थिएनन् । घनश्यामलाई यस्तो भिडभाड उधुमै रमाइलो लाग्ने । उनी क्यामेरा निकालेर किशोरी र अद्भैँसे महिलाको तस्बिर लिइरहेका थिए । पुरुषको तस्बिर खिच्नमा उनलाई कुनै जाँगर थिएन । हामी ब्यागप्याक राखिएको ठाउँमा पुग्यौँ । भाद्गाउँले र हेमन्त कार्यक्रमको चटारोले यतै अलमलिइरहेका थिए । तर, कार्यक्रम अझै हुन सकिरहेको थिएन । घोडादौडको रोमान्च सुनाउँदा उनीहरू चुकचुकाउन थाले । सिकारी शैलीमा घनश्याम यहाँ पनि किशोरी, बालबालिका र महिलाको तस्बिर लिइरहेका थिए । खैरो कपालवाली आधुनिक युवती र उनका साथीहरू माथिबाट ओर्लिरहेका थिए ।

धनगढीको कुनै टेलिभिजनसँग सम्बद्ध यस टोलीसँग हिजै हाम्रो चिनजान भएको थियो । बाबाको आश्रमबाहिर हामीलाई उत्सुकतापूर्वक हेरिरहेकी खैरो कपालवालीलाई विदेशी ठानेर हामीले अंग्रेजीमा बोलेका थियौँ । तिनले प्रस्ट नेपालीमा जवाफ फर्काउँदा हामी छक्क परेका थियौँ । प्रेरणा पाण्डे नामधारी ती सुन्दरीले हामीसँग परिचय गरेकी थिइन् । घनश्याम तिनीहरू आफूतिर आउने प्रतीक्षा गरेर क्यामेरा सोझ्याइरहेका थिए । तर, ती बाटो छलेर आफ्नै टेन्टतिर तेर्सिए । यति ठूलो पाटनमा पनि मान्छे यति धेरै थिए कि पन्छाउँदै हिँड्नुपर्ने स्थिति थियो ।
    
बिदा खप्तड
भोलिपल्ट हामी ३२ सय मिटरको उचाइमा रहेको सहस्रलिंगेश्वर पुग्यौँ । त्यहाँबाट खप्तड भ्यु टावर । यो पुराणमा वर्णित महादेवको कैलाशजस्तै लाग्थ्यो । त्यसपछि पन्ध्र मिनेटमा फेदी मूलबाटो हुँदै उपल्लो बाजुरालीको भैँसीगोठ, खप्तड दह र खप्तड पाटन पुग्यौँ ।

५२ थुम्का, २२ दह भएको २ सय २५ वर्ग किमिमा फैलिएको खप्तड घुम्न एक महिना पनि काफी हुँदैन भन्छन् स्थानीय । तीन दिन हिँड्दा हामीलाई भने कति न डुलियोझैँ लागिरहेको थियो ।जेठ ११ गते सबेरै हामी निकुञ्जको गेस्टहाउसबाट बिदा भयौँ । वार्डेन चन्द्रबहादुर चन्दले हामीलाई हार्दिकतापूर्वक बिदाइ गरे । निकुञ्ज मुख्यालयबाट पाँच मिनेट ओर्लेर हिजो खाना खाएको होटलको धारामा घनश्याम र मैले हातमुख धोयौँ । बोतलमा पानी थापिरहँदा खैरो कपालवाली प्रेरणा मुस्कुराउँदै आइपुगिन् । उनका साथीहरू खोलापारि उत्तरतिर लठ्ठी टेक्दै दबदबे चौरको उकालो हिँडिरहेका थिए।
‘तपाईंहरू बझाङ भएर फर्कने ?’ मैले सोधेँ ।
‘हजुर !’
‘एक्साइटेड टु मिट यु ।’
‘सो डु आई ।’
‘सम्भव भए धनगढीमा तपाईंलाई भेटौँला ।’
‘स्योर ।’
‘तपाईंको टीभी पनि धनगढीमै हेरौँला ।’
‘ओह, स्योर ।’
युवती खोला तरेर गइन् । हामी बीचपानीको बाटो पछ्याउँदै पश्चिमतिर लाग्यौँ ।
 

 

 

 

 

प्रकाशित: ५ श्रावण २०७५ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App