९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

बेमौसमी झरी

सामान्यतयाः चैत, वैशाख र जेठ महिनामा उखरमाउलो गर्मी हुन्छ । यसअघि यो समयमा तराई मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी हुन्थ्यो । तर, यो वर्ष राजधानीमा खासै गर्मी बढेको छैन । यसको कारण हो– चैतदेखि निरन्तररूपमा भइरहेको वर्षा । सामान्यतयाः अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई ‘प्रि–मनसुन’ मानिने भए पनि यो कहिले ढिलो र कहिले चाडो सुरु हुने गर्छ।

‘प्रि–मनसुन’मा वर्षामा जस्तो पानी नपरे पनि केही मात्रामा वर्षा हुने गर्छ । सामान्यतयाः अंग्रेजी महिना जुनमा सुरु भई सेप्टेम्बरमा समाप्त हुने मनसुनपछि पनि वर्षा हुने गर्छ, जसलाई ‘पोस्ट–मनसुन’ भनिन्छ । अक्टोबर र नोभेम्बर महिनामा हुने वर्षालाई ‘पोस्ट–मनसुन’ भन्ने गरिएको छ ।सामान्यतया हरेक वर्ष वैशाखको अन्त्यसम्म १५० मिलिमिटरको हाराहारीमा वर्षा हुने गर्छ । तर, यो वर्ष झन्डै डेढ गुणा बढी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ।

काठमाडौंमा पनि मध्य चैतसम्म सामान्य वर्षहरूकै हाराहारीमा वर्षा भए पनि त्यसपछि भने पानी पर्ने क्रम ह्वात्तै बढेको विभागले जनाएको छ । यस वर्ष पहाड र तराईका जिल्लामा अत्यधिक वर्षा भए पनि हिमाली र उच्च पहाडी क्षेत्रमा भने कम भएको विभागको प्रतिवेदन छ । विभागका अनुसार विराटनगर, राजविराज, लहान, भैरहवा, नेपालगन्जलगायत तराईका क्षेत्रसँगै धनकुटा, पाल्पा, अर्घाखाँची, जोमसोम, काभ्रे, काठमाडौंलगायत ठाउँमा औसतभन्दा बढी वर्षा भएको छ ।

यो वर्ष नेपालमा ‘प्रि–मनसुन’ चाँडै सुुरु भएको विभागका महानिर्देशक डा. ऋषिराम शर्मा बताउँछन् । ‘पोहोर साल पनि करिबकरिब यस्तै भएको थियो । ग्राफमा हेर्दा पनि इतिहासमा यस्तो भएको देखिन सक्छ,’ उनी भन्छन् । यसको कारण ठ्याक्कै भन्न नसकिए पनि जलवायु परिवर्तन र ग्लोबल वार्निङ हुन सक्ने उनी बताउँछन् । जे भए पनि अहिलेको वर्षा ‘प्रि–मनसुन’ भएको उनको भनाइ छ।

तर, मौसमबारे अध्ययन गर्दै आएका वैज्ञानिक डा. समीरमणि दिक्षित भने अहिलेको मौसम र वर्षालाई ‘प्रि– मनसुन’ भन्न नमिल्ने दाबी गर्छन् । सामान्यतयाः पूर्वको हावाको बहावले ल्याउने बादल र त्यसबाट बर्सिने पानी मनसुन भएको र त्यो मनसुन अगाडि पानी पर्दा त्यसलाई ‘प्रि–मनसुन’ भनिने उनी बताउँछन् । अहिले पश्चिमबाट आएको हावाको बहावका कारण पानी परिरहेकाले यसलाई ‘प्रि–मनसुन’ भन्न नमिल्ने उनको तर्क छ।

‘प्रि–मनसुनमा दिउँसोभरि घामले वातावरण तातिन्छ । एकछिन झरर्र पानी पर्छ । अहिलेजस्तो झरीको बेला पानी पर्दैन । गड्याङगुडुङ गर्छ । तर, अहिलेको मौसम हेर्ने हो भने झरीको जस्तै मौसम छ,’ दिक्षित भन्छन् । उनी पनि अहिले वर्षा हुनुको कारण ठ्याक्कै भन्न त सक्दैनन्।

तर, प्रदूषण, जलवायु परिवर्तन र ग्लोबल वार्निङ यसका प्रमुख कारण हुन सक्ने उनको भनाइ छ । ‘प्रि–मनसुनको खास कुनै परिभाषा हुँदैन । मनसुनमा पूर्वबाट आउने हावाले झरी पर्छ भने त्योभन्दा अगाडि केही समय त्यस्तै बहावमा ‘प्रि–मनसुन’मा पानी पर्छ,’ उनी भन्छन् । अहिले देशका पूर्वदेखि पश्चिमसम्मका क्षेत्रहरूमा बिहान–साँझ झरी परिरहेकाले आफूले यो विगतका वर्षहरूभन्दा फरक महसुस गरिरहेको उनी बताउँछन् ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App