१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

जात्रामय उपत्यका

 उपत्यकाका नेवार समुदाय दोस्रो ठूलो चाडका रूपमा मान्दै आएको पाहाँचःर्‍हे जात्रा गत चैत २ गते सकियो।

७ गतेसम्म चलेको यो जात्रामा व्रतबन्ध र बेलबिवाह नभएकाबालबालिकाहरूलाई ‘मरःजा’ खुवाउने चलन छ । गत चैत १२–१६ गतेसम्म सहकाल र सद्भाव देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मनाइयो।

विभिन्न नगर परिक्रमासँगै मच्छिन्द्रनाथको मूर्तिलाई विभिन्न टोलको परिक्रमा गराई जनःबहालस्थित मन्दिरमा पुर्‍याएपछि जात्रा सकियो। चैत २४ गते धुमघामले काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाइयो । तुन्डी नामक राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि सहरवासीले अनेक उपाय लगाएर राक्षसको नास गरेको खुसीयालीमा यो जात्रा मनाइँदै आएको मान्यता छ।

चैत २७ गतेदेखि भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा सुरु भयो । प्रत्येक वर्षको वैशाख १ गतेको चार दिन अगाडि र चार दिन पछाडिसम्म मनाइने जात्रालाई मसान जात्राका रूपमा लिइन्छ । आउँदो वैशाख ४ गतेदेखि उपत्यकाको मुख्य जात्रा रातो मच्छिन्द्रनाथ जात्रा सुरु हुँदै छ । सहकालका देवताका रूपमा पुज्ने मच्छिन्द्रनाथ जात्राअन्तर्गत राष्ट्र प्रमुखलाई भोटो देखाउने चलन पनि छ।  

यी उपत्यकामा हालै मनाइएका र मनाउँदै गरिएका जात्रा हुन् । चैत सुरु भएयता उपत्यकामा जात्रा सुरु भएका छन् । जात्राको मौसम सुरु भएपछि नेवार समुदायका व्यक्तिलाई भ्याइनभ्याई छ।पहिले नेवार समुदायले मात्रै मनाउँदै आएको जात्रा पर्वहरूमा पछिल्लो समय अन्य समुदायको सहभागिता पनि बढ्दै छ । जात्रा हेर्नका लागि विभिन्न समुदायका व्यक्तिहरू जात्रा स्थलमा पुग्ने गरेका छन्।

संस्कृतिविद् तथा इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ अहिलेको समय नेवार समुदायका लागि जात्रैजात्राको मौसमका रूपमा लिन्छन् । उनका अनुसार चैतदेखि असारसम्म नेवार समुदायको जीवन्तता जोडिएका विभिन्न पर्वहरू मनाइन्छन् । परम्परागत बाजागाजा र नाचको छनकले उपत्यकाका तीनै जिल्लाका दरबार रमणीय बनेका छन्।

‘भक्तपुरमा सुरु हुन लागेको बिस्केट जात्रालाई मसान जात्रा भन्ने चलन पनि छ,’ संस्कृतिविद् श्रेष्ठले भने, ‘यो जात्रा भक्तपुर ऐतिहासिक र मुख्य जात्राभित्र पर्छ ।’ उनका अनुसार यसलगत्तै ललितपुरमा रातो मच्छिन्द्रनाथ र रोपाइँ जात्रा मनाइन्छ।बिस्केट र रातो मच्छिन्द्रनाथ जात्राभित्र विभिन्न जात्राहरू पर्छन् । नौ दिन आठ रात लामो बिस्केट जात्राकै क्रममा नगरभरि विभिन्न जात्रा चल्ने गर्छन् । नेवारी संस्कृतिले जात्रालाई आकर्षण बनाउँछ।

जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवतालाई सगुन चढाइन्छ । सगुन यात्रा सूर्यमढीबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा, दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरीलगायत ठाउँसम्म गरिन्छ।

गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले पनि यो समय उपत्यकामा धेरै जात्रा पर्वहरू चल्ने बताए । उनका अनुसार ललितपुरमा गणेश भैरव बालकुमारी जात्रा पनि सुरु हुँदै छ । जात्राका क्रममा स्थानीयले बिहानैदेखि राति १२ बजेसम्म पूजाआजा गर्छन् । जात्रा सुरु भएको तेस्रो दिन सरकारी पूजा हुने चलन छ । ‘अहिले उपत्यकामा धेरै जात्रा पर्वहरू चलिरहेका छन्,’ उनले भने, ‘एक हिसाबले भन्ने हो भने यो समयलाई जात्राको मौसमका रूपमा लिइन्छ।’

चौथो दिन सिद्धिपुरकै देवनदी टोलमा ल्याएर तीन वटा खटलाई नगर परिक्रमा गराएर जात्रा सकिन्छ । चैत मसान्तमा सुरु भई नयाँ वर्षको वैशाख ४ गते पाँच दिनसम्म मनाइने यो जात्रा दुवाः गुठी, द्यः गुठी, इलां गुठी, स्वां गुठी, हारखां द्यः गुठी, ग्वं सिँ गुठी, पताः मंकाः, बौ गुठी र द्वारे गुठीले सञ्चालन गर्दै आएका छन् । जात्रा सुरु गर्नुअघि बलिको राँगो (थुमय्) खोजी गर्नुपर्छ।

पहिले थुमय् खोज्ने दिनमा पनि भोज खाइन्थ्यो । तर, पछिल्लो समय भोज खाने चलन हराइसकेको गुठियारहरू बताउँछन् । आर्थिक स्थिति कमजोर भएकाले स्थानीयले बाध्य भएर यो चलन छाडेको उनीहरूको भनाइ छ।

प्रकाशित: ३० चैत्र २०७४ ०३:४२ शुक्रबार

जात्रामय उपत्यका