९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मुन्दुम ट्रेल (फोटो फिचर)

हामीलाई प्रकृतिले विछट्टै माया गरेकी छिन्–संसारकै छानो सगरमाथा हाम्रै देशमा दिएर । त्यति मात्र होइन, पृथ्वीमा उभिएका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा हिमाल पनि हाम्रै भुगोलमा छन् । त्यसैले त विदेशीहरु नेपाललाई हिमालयको देश भन्छन् । 

हाम्रो देशमा भएका ती अग्ला हिमाल हुन्–सगरमाथा (८,८४८ मिटर), कञ्चनजंघा (८,५८६मिटर), ल्होत्से (८,५१६मिटर), मकालु (८,४६३ मिटर), चोयु (८,२०१ मिटर), धौलागिरी (८,१६७मिटर), मनास्लु (८, १६३ मिटर) र अन्नपूर्ण (८,०९१ मिटर) ।

मध्य पहाडी थुम्का छिचोल्न नयाँ पदमार्ग ‘मुन्दुम ट्रेल’ एक्सप्लोर गरिएको छ जहाँबाट संसारका ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमालको दर्शन गर्न सकिन्छ । साथमा किराती संस्कृतिको सुवास त पाइन्छ नै ।

टाढैबाट हेर्दा पनि हिमाल सुन्दर देखिन्छन् । मान्छेको मन पनि हिमाल जस्तै सुन्दर भइदिए संसार कति राम्रो हुन्थ्यो होला ! साहसिक मनहरु हिमचुली चुम्छन् । हिमाल चढ्न साहस मात्र भएर पुग्दैन, शारीरिक र मानसिक रूपमा पनि सबल हुनुपर्छ । सबैभन्दा ठूलो कुरा इच्छा शक्ति चाहिन्छ । आत्मसंयम र धैर्य हुनुपर्छ । अनि पैसा त चाहिन्छ नै । बल्ल पर्वतारोहण सम्भव हुन्छ ।

त्यसैले संसारका सबै मान्छे हिमाल आरोहण गर्न सक्दैनन् । तर, हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन भने पक्कै सक्छन् । त्यसका लागि कि पदयात्रा गर्नु पर्छ कि माउन्टेन फ्लाइट ।

हिँड्न सक्नेले पदयात्रामा धेरै कुरा सिक्न सक्छन् । हाम्रो देशमा हिमालको जरासम्म पुग्ने धेरै पदमार्ग छन् जहाँ वर्षेनी लाखौं विदेशी र हजारौं नेपाली डुल्छन् । पदमार्गहरुको त्यही लहरमा भर्खरै एउटा नयाँ पदमार्ग एक्सप्लोर गरिएको छ जहाँ हिँड्दा हामीले ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमालसँग आँखा जुधाउन पाउँछौं । पिरती गाँस्न सक्छौं । त्यो पदमार्गको नाउँ हो–मुन्दुम ट्रेल ।

भोजपुर, खोटाङ र संखुवासभा क्षेत्रमा पर्ने मुन्दुम मार्गबाट सिसापाङ्मा (८,०२७ मिटर), चोयु, सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमाल आँखै सामुन्ने देखिन्छन् । दूधकुण्ड (नुम्बुर) देखि कञ्चनजंघासम्मको लामो फेरो देख्दा आँखामा हर्षका आँसु छचल्किन्छ ।

भोजपुरको चखेवा भञ्ज्याङ (२,३०० मिटर) बाट सुरु हुने पदयात्रा धोत्रे, मैयुङ हाँसपोखरी, रावाधाप, साल्पा भञ्ज्याङ (३,३४८ मिटर) हुँदै सिलिचुङ (४,१५३ मिटर) सम्म पुग्छ । फर्कँदा त्यही बाटो हाँसपोखरी (२,९६२ मिटर) सम्म आएर सुन्तले हुँदै भोजपुर बजारसम्म पदयात्रा गरिन्छ । यसरी पदयात्रा गर्न ८ दिन लाग्छ । अर्को दुई दिन थपे भोजपुरको टक्सार बजार र टेम्के डाँडा (३,००० मिटर) घुम्न भ्याइन्छ । 

चखेवा भञ्ज्याङबाट उकालो लागेपछि डाँडाको थाप्लै थाप्लो हिमाल हेर्दै हिँड्नु पर्छ । डाँडामा बस्ती छैन । कतैकतै गाईभैंसी र भेँडी गोठ भेटिन्छ । त्यसैले मुन्दुम मार्गमा यात्रा गर्दा क्याम्पिङको विकल्प छैन । बन्दोबस्तीका सामान बोक्नै पर्छ । पदमार्ग राम्रोसँग सञ्चालन हुँदै गएपछि यहाँ पनि टि हाउस टे«किङ सम्भव हुनेछ ।

अब प्रश्न उठ्छ–यसलाई किन मुन्दुम ट्रेल भनियो ? मुन्दुम किराती समुदायको वेद हो । मौखिक ग्रन्थका रूपमा पुस्तौनी हस्तान्तरण हुँदै आएको वेदमा किराती जीवन दर्शन समेटिएको हुन्छ । यसले किरातीको इतिहास, दिनचर्या, चाडपर्व आदिको वर्णन गर्छ । किरात समुदाय मुन्दुमबाट निर्देशित हुन्छ । र, यो पदमार्ग क्षेत्रमा किराती समुदाय राईहरुको बसोबास छ । तिनकै संस्कृति र जीवनदर्शन नियाल्दै यात्रा गरिने भएकाले यसलाई ‘मुन्दुम ट्रेल’का रूपमा ब्रान्डिङ गरिएको ।

सबै उमेर समूह हिँड्न सक्ने मध्यम खाले पदमार्ग– ‘मुन्दुम ट्रेल’ । काठमाडौंबाट आउन र जानसमेत गरी १२ दिन छुट्टयाए पदयात्रा पूरा गर्न सकिन्छ ।

यात्रामा पर्ने टेम्के, हाँसपोखरी, सिलिचुङ र साल्पा पोखरी धार्मिक तीर्थ हुन् । त्यहाँ हिन्दु, बौद्धमार्गी र किरातीको आस्था जोडिएको छ । त्यसैले बेलाबेलामा मेला लाग्छ । तिनै तिर्थालु र गोठाला हिँडेको बाटोलाई नै मुन्दुम ट्रेलका रूपमा प्रवद्र्धन गरिएको हो । यो कामको नेतृत्व मैयुङ, टेम्के, साल्पा, सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको छ ।  

केन्द्रका अध्यक्ष रमेश राईको नेतृत्वमा पर्यटन विज्ञहरु पवन शाक्य, सुरेन्द्र राना, मोहन राई, श्याम सामसुहाङ राई, इन्सु राई र पत्रकार अमृत भादगाउँलेको समूहले पुस अन्तिम सातादेखि त्यस क्षेत्र घुमेर मुन्दुम मार्ग एक्सप्लोर गरेको हो ।

केन्द्रले छिट्टै पदमार्गको नक्सा, आइटिनरी सहितको ब्रोसर प्रकाशन एवं भिडियो बनाएर बजारीकरणलाई तिव्रता दिने जनाएको छ ।  

पदयात्राका लागि नेचुरल ट्रेल आफैंमा पर्याप्त छ । तर, लौरी डाँडा र सिलिचुङ डाँडाका केही ठाउँमा गोरेटो सुधार गरिहाल्नु पर्ने देखिन्छ । त्यसबाहेक ठाउँ–ठाउँमा खानेपानी व्यवस्थापन गर्नु पर्नेछ । सामान्य ट्रेल मार्किङ त एक्सप्लोरेसन टिमले नै गरिसकेको छ । अब स्थानीय, गाउँपालिकालगायत सरोकारवालाले पूर्वाधार विकासमा हातेमालो गर्नुपर्छ ।

मुन्दुम पदमार्गका रूपमा मार्किङ गरिएका डाँडामा मोटर बाटो खन्नु हुँदैन । डाँडाको थाप्लोमा बस्ती नभएकाले त्यहाँ मोटर बाटो जरुरी देखिँदैन । प्रकृतिको यो सुन्दर उपहारलाई यत्तिकै छाडौं । विनाश नगरौं । डाँडाको काखमा भएका गाउँसम्म मात्र सडक खनिएमा पदयात्रा पर्यटन जोगिन्छ । साथमा गाउँलेको विकास सपना पनि पूरा हुनेछ । आखिर पर्यटनको ताप बढ्दै जाँदा फाइदा हुने त स्थानीयलाई नै हो ।

मोटर बाटोका कारण अन्नपूर्ण क्षेत्रको पदयात्रा मार्ग छोट्टिँदै गएको अवस्थामा मुन्दुम पदमार्गलाई दिगो रूपमा चम्काउने उपायबारे अहिल्यै विचार विमर्श जरुरी देखिन्छ ।  

मुन्दुम ट्रेल पदयात्रा पर्यटनमा एउटा नयाँ विशिष्ट प्रोडक्ट हो । राम्रो प्रचार गर्न सके माझ किरातका डाँडामा विदेशीको राम्रै चहलपहल गराउन सकिन्छ । त्यसका लागि केही समय लाग्ला । तर, हामी नेपालीले त साइत हेराउनै पर्दैन, झोली तुम्बा बोकेर यात्रामा निस्किहाले हुन्छ ।

पूर्वको यो भर्जिन गन्तव्यले हामीलाई पर्खिरहेको छ । हाम्रो सुन्दर भुगोल, मनै छुने संस्कृति र इतिहास पाठशालामा रमाउने पहिलो हक हामी नेपालीकै हो । आउनुहोस् हामी पनि हिमालसँग कानेखुसी गर्दै मुन्दुम यात्रामा निस्कौं ।   

अँ, साँच्चि फर्किँदा भोजपुर बजारबाट खुकुरी र करुवा कोसेली ल्याउन नबिर्सौं है !  

कसरी पुग्ने:  काठमाडौं–खुर्कोट–दिक्तेल–चखेवा भञ्ज्याङ ३१३ किमी बसमा । चखेवा भञ्ज्याङबाट ८ दिन पदयात्रामा भोजपुर बजार । भोजपुर बजार–काठमाडौं ४५२ किमी बसमा । अथवा भोजपुर–काठमाडौं हवाई यात्रा ३० मिनेट । bhadgaonle@gmail.com 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App