१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘एयरपोर्टमा म्यागसेसे मेडल नै समातियो’

शिरीषचन्द्र रेग्मी 
१९७७ जुलाईको एक अपराह्न, मूलढोकामा कोही अपरिचित मान्छे आयो । म माथिल्लो तलाबाट झरेर आगन्तुकमाझ पुगेँ । ऊ दूरसञ्चार अफिसबाट टेलिग्राम लिएर आएको थियो । टेलिग्राम अंग्रेजीमा लेखिएको थियो । 
अंग्रेजी पढ्न जानेकाले मैले त्यति नै खेर टेलिग्राम हेरिहालेँ । त्यसमा बुवा (महेशचन्द्र रेग्मी)लाई बधाइ दिइएको थियो । बधाइको कारण थियो, उहाँले पाउनुभएको ‘¥यामन म्यागसेसे पुरस्कार’ । टेलिग्राम पुरस्कार दिने संस्थाबाटै आएको थियो ।

म्यागसेसे पुरस्कारको ‘मेडल’ लिएर फर्कंदा उहाँलाई एयरपोर्टमा रोकिएछ । एकजना सुब्बा साहेबले ‘मेडल’लाई सुन ल्याएको भन्दै रोकेछन् । अवैध रूपमा सुन ल्याएको आरोप लगाइएपछि जाँचबुझपश्चात् बुवालाई माथिल्लो दर्जाका कर्मचारीले ससम्मान जान दिएछन् ।

टेलिग्राम लिएर म एक तलामाथि आएँ । त्यहाँ बुवा आफ्नै धुनमा मस्त हुनुहुन्थ्यो । ‘बुवा एउटा गुड न्युज छ, तपाईंलाई सुनाउँछु तर पहिले मलाई के दिने भन्नुपर्छ,’ मैले भनेँ । ‘के हो भन् न, तँलाई के चाहिएको छ, दिउँला नि,’ बुवाले उत्तर फर्काएपछि मैले टेलिग्राम उहाँको हातमा थमाएँ । 

एसियाको नोबल पुरस्कार भनेर चिनिने ¥यामोन म्यागसेसे पाउँदा को पो खुसी हुँदैन र ? उहाँ पनि खुसी नै देखिनुहुन्थ्यो । त्यत्ति धेरै उत्साहित पनि हुनुहुन्थेन । हाम्रो घरमा त्यस्तै साँझको साढे ५ बजेतिर टेलिग्राम आएको थियो । ७ बजे रेडियो नेपालबाट समाचारमा पनि बुवाको नाम पहिलो म्यागसेसे पाउने नेपालीका रूपमा बज्यो । त्यसपछि त हामी सबैलाई पुरस्कार पाएको थप यकिन भयो । 

म्यागसेसे पाएको खबर आएको तीन दिनपछि दिल्लीस्थित फिलिपिन्स दूतावासबाट पत्र आयो । पत्रमा बुवा र आमा दुवैलाई अगस्ट ३१ तारिखमा फिलिपिन्स आउन निम्तो गरिएको थियो । अगस्ट ३१ तारिखमा ¥यामनको जन्मदिन पर्ने भएकाले त्यसै दिन पुरस्कार वितरण गर्ने चलन छ । 

त्यसबेला पुरस्कारको रकम २० हजार डलर थियो । अहिले त रकम धेरै भइसक्यो । पुरस्कार लिन फिलिपिन्स जानुपर्ने भएपछि बुवाले पासपोर्ट बनाउने पहल थाल्नुभयो । त्यसअघि भारतबाहेक अन्य मुलुक नजानु भएकाले उहाँसँग पासपोर्ट थिएन । जब बुवाले पासपोर्ट बनाउन खोज्नुभयो, सरकारी कर्मचारीले पासपोर्ट बनाइदिन मानेनन् । त्यसपछि उहाँले आफ्ना मिल्ने साथी हृषीकेश शाहलाई भन्नुभयो । हृषीकेश शाहले भनिदिएपछि मात्र बुवाको पासपोर्ट बनेको हो । पुरस्कार समारोहका लागि आमाबुवा दुवैलाई बोलाइएको थियो, तर पासपोर्ट बनाउनै समस्या भएपछि बुवा मात्रै जाने हुनुभयो । त्यसैले आमाका लागि पासपोर्ट बनाउन निवेदन नै दिइएन । 

पासपोर्ट बनेपछि डलर दिने बेला पनि समस्या नै भयो । त्यसबेला विदेश जानेका लागि दुई सय डलर मात्र दिने नियम थियो । बुवाले आफूले पुरस्कारबापत डलर नै ल्याउन लागेको जानकारी दिँदै पाँच सय लैजान चाहनुभयो । डलर व्यवस्थापनका लागि मलाई खटाउनुभयो । राष्ट्र बैंकले अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ भन्ने, अर्थले राष्ट्र बैंकको । दुई सरकारी निकायले एक–अर्कालाई देखाउँदै डलर नदिने भएपछि बुवा दुई सय डलर मात्र लिएर फिलिपिन्स उड्नुभयो । 

नेपालको पहिलो म्यागसेसे पुरस्कार विजेता भए पनि उहाँलाई पासपोर्ट बनाउन र डलर लिन समेत समस्या भएको थियो । नेपालभित्रै त उहाँको योगदानलाई कसैले कदर गरेका थिएनन्, विदेशीले गरेको कदरलाई पनि बेवास्ता गरेजस्तो देखिन्थ्यो । 

पासपोर्ट नै नबनेर पुरस्कार लिन जानकै लागि समस्या भएको थियो । पुरस्कार लिएर फर्कंदा थप समस्या भएछ । बुवा आउने दिन एयरपोर्टमा हामी लिन गयौँ । बुवा निर्धारित समयभन्दा निकै ढिलो गरी मात्र बाहिर निस्कनुभयो । किन ढिलो भयो भनेर सोध्दा उहाँले केही भन्नुभएन । 

बेलुका घरमा सबैजना भेला भएपछि मात्र उहाँले एयरपोर्टमा ढिलो भएको कारण खुलाउनुभयो । म्यागसेसे पुरस्कारको ‘मेडल’ लिएर फर्कंदा उहाँलाई एयरपोर्टमा रोकिएछ । एकजना सुब्बा साहेबले ‘मेडल’लाई सुन ल्याएको भन्दै रोकेछन् । अवैध रूपमा सुन ल्याएको आरोप लगाइएपछि जाँचबुझपश्चात् बुवालाई माथिल्लो दर्जाका कर्मचारीले ससम्मान जान दिएछन् । त्यहाँ उहाँले पुरस्कारबापत ‘मेडल’ ल्याएको बताएपछि मात्र छाडिदिएछन् । मलाई अहिले पनि पुरस्कारबापत ल्याएको ‘मेडल’लाई समेत नचिन्ने कस्तो राज्य–संयन्त्र थियो भनेर अचम्म लागिरहन्छ । 

म्यागसेसे पुरस्कारबापत पाएको २० हजार डलर भने पुरस्कार दिने संस्थाले नै बैंकमार्फत पठाइदिएको थियो । त्यसमा पनि के भइदियो भने, नेपाल आइपुग्दा डलर भारतीय रुपैयाँमा परिवर्तन भएर आइपुगेछ । मैले अहिले बैंकको नाम बिर्सिएँ, त्यो कुनै अन्तर्राष्ट्रिय बैंक नै थियो । त्यसको मुम्बई शाखाले नेपालमा पैसा पठाउन डलरलाई भारतीय रुपैयाँ बनाएर पठाइदिएछ । 

हामीले तत्कालै भारतीय दूतावास पुगेर सबै बेलिविस्तार लगायौँ । दूतावासले त्यस्तो नहुनुपर्ने कसरी भयो भन्दै केही दिनमा डलर नै आउने आश्वासन दियो । त्यसको करिब तीन सातापछि मात्र हामीले डलर पायौँ । नेपाल बैंक लिमिटेडलमा २० हजार डलर जम्मा भएको थियो । 

मलाई हाम्रो पुर्खौली थलोबारे त खासै जानकारी छैन । तर, मेरा पिता नक्साल नारायणचौरका सितारवादक रेग्मी खलकमा जन्मनुभएको हो । उहाँ सन् १९२९ डिसेम्बर २९ मा जन्मनुभएको थियो । बुवाले म्यागसेसे पाएपछि ‘विदेशीले परिचित गराएका नेपाली’ भनेर एकजना पत्रकारले लेखिदिएका थिए । एक हिसाबले हेर्दा उहाँलाई विदेशीले नै चिनाएजस्तो लाग्छ । 

हामीले सुनेअनुसार उहाँले १० वर्षको उमेरमै एसएलसी दिनुभएको थियो । त्यसबेला उहाँलाई विषय लाग्यो । त्यसपछि फेरि पढेर उहाँले सन् १९४४ मा एसएलसी दिनुभयो । त्यसबेला उहाँ बोर्डमा सेकेन्ड आउनुभएको थियो । एसएलसी पास गरेपछि बुवाले भारतको पटना विश्वविद्यालयबाट बिए अनर्स गर्नुभयो । 

पढाइ सकेपछि उहाँ काठमाडौं आउनुभयो । काठमाडौं आएपछि फेरि उहाँ कलकत्ता जानुभएछ, व्यापार गर्नलाई । त्यहाँ कपडाको व्यापार गरेको आठ–दश महिनामै नेपाल फर्कनुभयो । संयुक्त परिवारमा जन्मे पनि उहाँ घरबाट एक पैसा लिन्न भनी ज्ञानेश्वर गएर बस्नुभएको थियो । त्यसपछि उहाँले २०१८ सालमा आएर लाजिम्पाटमा घर बनाउनुभएको हो । 
भारतमा व्यापार छाडेर फर्किएपछि उहाँले उद्योग विभागमा निर्देशक भएर जागिर पनि खानुभयो । उहाँलाई उद्योग विभागको निर्देशकबाट दसैँमा अष्टमीका दिन हटाइयो । त्यसको कारण पनि अनौठो रहेछ । पञ्चायत काल थियो, दरबारको हालिमुहाली थियो । भारतको बाटा कम्पनी (जुत्ता–चप्पल निर्माता) नेपाल आउन खोजेको रहेछ । उद्योग विभागको निर्देशकका रूपमा उहाँले स्वदेशी उद्योगलाई घाटा लाग्छ भनेर बाटालाई नेपाल प्रवेशमा रोकिदिनुभएछ । उहाँको मान्यता स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने थियो । तर, त्यसले उल्टो असर ग¥यो । उहाँलाई निर्देशक पदबाटै हटाइयो । त्यसपछि उहाँले ‘सरकारी जागिर खान्नँ’ भन्ने अठोट लिनुभयो । 

सरकारी जागिरपश्चात उहाँले युएसएडमा अनुवादकका रूपमा काम गर्नुभयो । त्यसबेला युएसएडमा लिओई रोज नामक व्यक्ति रहेछन् । उनलाई बुवाले गरेको अनुवाद एकदमै मन परेछ । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनले बुवालाई ‘रिसर्च सेन्टर’ खोले सहयोग जुटाउन सकिने बताएछन् । त्यसपछि ‘रेग्मी रिसर्च सेन्टर’ खोलिएको हो । ‘रेग्मी रिसर्च सेन्टर’ खुलेपछि बुवाले धेरै अनुसन्धानको काम गर्नुभयो । नेपालमा आर्थिक इतिहासबारे खोजबिन नै नभएको अवस्थामा उहाँले धेरै खोज गर्नुभयो । 
‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सटेसन इन नेपाल’को पहिलो भोलुमलाई धेरैले बुवाको पहिलो किताबका रूपमा लिने गरेका छन् । तर, उहाँको पहिलो किताबचाहिँ ‘सम एस्पेक्टस् अफ ल्यान्ड टेन्युर इन नेपाल’ हो । त्यसपछि उहाँका ‘ल्यान्ड ओनरसिप इन नेपाल’, ‘इकोनोमिक हिस्ट्री अफ नेपाल’लगायत पुस्तक छापिए । ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सटेसन इन नेपाल’का चार भोलुम र ‘ल्यान्ड ओनरसिप इन नेपाल’ क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट प्रकाशित गरिएका थिए ।

‘रेग्मी रिसर्च सेन्टर’बाट ‘प्रेस डाइजेस्ट’ र ‘रेग्मी रिसर्च सिरिज’ पनि छापियो । यो सन् १९९२ सम्म नियमित थियो । 
बुवासँग मेरो संगत म वनारसबाट फर्किएपछि बढेको हो । म सानैमा वनारस गएको थिएँ, पढ्नका लागि । म माइला बाजेसँग वनारस बसेको थिएँ । त्यहाँ संस्कृत पढ्न थालेँ । मैले त्यसै क्रममा अंग्रेजी अध्ययन सुरु गरेँ । मैले अंग्रेजी पढ्न थालेपछि मेरो माइलो बाजे मसँग बोल्न छाड्नुभयो । उहाँ ‘गाई खाने भाषा’ पढ्न थाल्यो भनेर मसँग रिसाउनुभएको थियो । त्यसपछि म नेपाल फर्किएँ । 

म २००७ सालमा जन्मेको हुँ । तर, मेरो बुवासँग बढी संगत भने २०२२ सालपछि मात्र भएको हो । हामी २०१८ सालमा लाजिम्पाट सरेका हौँ । अहिलेको होटल ¥याडिसननेर हाम्रो मूल घर थियो, चार रोपनी कम्पाउन्डमा । म पनि २०४० सालसम्म बुवासँग त्यहीँ बसेको हुँ । त्यसपछि भने हामीले अंशबण्डा गरेर स¥यौँ ।
०००
मैले सानैदेखि चिनेअनुसार बुवा केही गरे पनि नरिसाउने हुनुहुन्थ्यो । जोक गर्नुहुन्थ्यो । परिवारका सबैलाई हँसाउनुहुन्थ्यो । हामीले बुवासँग काम गर्ने अवसर पनि पायौँ । बुबाले नेपाल प्रेस डाइजेस्ट र रेग्मी रिसर्ज इन्स्टिच्युट नामक दुई कम्पनी खोल्नुभएको थियो । त्यसमध्ये एक–एकवटा हेर भनेर मलाई र भाइ सुरेशलाई भन्नुभएको थियो । २०३५ सालमा त्रिभुवन विश्वविद्यालयमा मैले काम सुरु गरेँ । त्यही पनि बिहान बिहान म बुबाले डिक्टाफोनमा बोल्नुभएको अखबारको समाचार अंग्रेजीमा लेखेर टाइपिस्टका लागि तयार पारिदिन्थे ।  त्यसपछि भने मैले खासै समय दिन सकिनँ । 

बुवा हरेक दिन बिहान ५ बजे नै उठ्नुहुन्थ्यो । त्यसपछि उहाँ ९ बजेसम्म पढ्नुहुन्थ्यो । बिहान साढे ७ बजेतिर बुवाले अध्ययन गर्ने कोठामा पुगेर आमाले दूध, तरकारीलगायत किन्न पैसा माग्ने गर्नुहुन्थ्यो । बिहान ९ बजे खाना खाएर बगैँचामा घुम्ने बुवाको बानी थियो । १० बजेतिर काम गर्ने स्टाफ आउँथे । त्यसपछि २ बजेसम्म बुवा व्यस्त हुनुहुन्थ्यो । यसबेला उहाँ कसैलाई पनि भेट्नुहुन्थेन । उहाँको भेट्ने समय भनेको २ बजेपछि मात्र थियो । 

यस्तैमा एक दिन एक विदेशी महिला बेलेन एच एभ्रिउ भन्ने आएकी थिइन् । उनले २ बजेअघि नै बुवालाई भेट्न चाहिन् । विदेशी भएकाले उहाँले भेट्नुभयो । कुराकानी गरिन् । हामीले त्यसबेला घरैबाट बुबाका पुस्तक, ‘रेग्मी रिसर्च सिरिज’ र ‘प्रेस डाइजेस्ट’ पनि बिक्री गथ्र्यौं । उनले पनि किताब किनेर गफगाफ गरेर गइन् । त्यसबेला हामीले सामान्य रूपमा लियौँ । पछि थाहा भयो, उनी त म्यागसेसे पुरस्कार दिने संस्थाबाट आएकी रहिछिन् ।

कतिपयले बुवालाई विदेशी पैसामा काम गरेको भनेर आरोप पनि लगाए । तर, त्यसबेला क्यालिफोर्निया विश्वविद्यालय पनि हाम्रा प्रकाशनको ग्राहक मात्र थियो । हामी ‘प्रेस डाइजेस्ट’, ‘रेग्मी रिसर्च सिरिज’ छापेर बिक्री गथ्र्यौं, त्यसैबाट पैसा आउँथ्यो । 
मलाई थाहा भएसम्म त्यसबेला भारतीय दूतावास, लाइब्रेरी अफ कंग्रेस तथा नेपालस्थित विदेशी दूतावास तथा नियोगहरू ग्राहक बनेका थिए । त्यसैबाट खर्च चल्थ्यो । बिस्तारै फोटोकपीले हाम्रा बिक्री कपी घटाउँदै लग्यो । एक कपी लिएर अरू फोटोकपी गर्ने चलन भयो । त्यसैले दुवैलाई लामो समय टिकाउन सकिएन । वार्षिक ग्राहकबापतको आम्दानी नै हाम्रो मुख्य स्रोत थियो । 
त्यसबेला हामी राजपत्रको अनुवाद गरेर पनि राख्ने गथ्र्यौं । नेपालीमा निस्केको राजपत्र अंग्रेजीमा अनुवाद हुन्थ्यो । सन् १९७३ मा सिंहदरबार जल्यो । त्यसबेला त्यहाँ राखिएका राजपत्र समेत जलेर सखाप भएछन् । तत्कालीन श्री ५ को सरकारले राजपत्र गुमाएपछि हाम्रामा आएर अनुवाद गरिएका राजपत्र लगेको थियो । सरकारले नै आग्रह गरेपछि राजपत्र दिइएको थियो । माग्न आएपछि बुवाले पनि नाइँनास्ती नगरी दिनुभएको हो । 

बुवालाई बाहिरको चिन्ता थिएन । प्रचार–प्रसार मन पराउनुहुन्थेन । मृत्युपछि पनि हामीलाई ‘किन खबर नगरेको ?’ भन्नेहरू थिए । उहाँले कहिल्यै प्रचार खोज्नुभएन । म्यागसेसे पाएपछि उहाँलाई तत्कालीन जाँचबुझ केन्द्रले भूमिसुधार सल्लाहकारका रूपमा राख्दा असहजिलो महसुस गर्नुभयो । अरू बेला खासै अप्ठेरो महसुस गरेजस्तो लागेन । उहाँले फरक धारको इतिहास लेख्नुभयो । म्यागसेसेले पनि पुरस्कार दिँदा उहाँलाई ‘गरिब किसानको इतिहास लेख्ने व्यक्ति’ भनेको थियो । 
बुवा एकदमै साधारण व्यक्तित्व हुनुहुन्थ्यो । कुनै पनि दम्भ थिएन । घरायसी काम भने सबै आमाको जिम्मा थियो । उहाँले आफ्ना चारवटै छोरा र एउटी छोरीलाई छुट्टाछुट्टै घर बनाइदिनुभयो । त्यति मात्र होइन, घरमा काम गर्नेलाई समेत छुट्टै घर बनाइदिनुभएको थियो । 

जीवनका अन्तिम वर्षमा उहाँ पार्किन्ससले थलिनुभयो । यो रोगले हरेक दिन शक्ति घटाउँदै लाने रहेछ । उहाँलाई ‘ट्र्याक्सन’ राख्नुप¥यो । त्यसमा राख्दा ओल्टाइपल्टाई गर्नुपर्ने रहेछ । अस्पतालले पनि भनेन, हामीलाई पनि थाहा भएन, त्यसले थप समस्या भयो । त्यसबेला मेरी श्रीमती नै उहाँको मुख्य सहारा बनिन् । अन्तिमका दुई वर्षमा त लेख्न–पढ्न नै नसक्ने बन्नुभएको थियो । उहाँको बोली पनि बन्द भयो । 

बुवासँगका विभिन्न खाले स्मृति कसको पो हुँदैन र ? केही तीता, केही मीठा अनुभूति सबैले सँगालेकै हुन्छन् । मैले चुरोट खाने कुरा बुवाले चाल पाउँदाको क्षण पनि रोचक छ । हामी भारत घुम्न गइरहन्थ्यौँ । एकपल्ट हामी वनारस गएका थियौँ । त्यहीँबाट आगरा र जयपुर जाने योजना बन्यो । हामी आगराबाट जयपुरका लागि रेल चढ्यौँ । बाबुछोराको ‘कम्पार्टमेन्ट’ फरक–फरक प¥यो । 
छुट्टै ‘कम्पार्टमेन्ट’मा परेको मैले चुरोट सल्काएँ । जब चुरोट सल्काएको थिएँ, त्यसैबेला बुवा ‘ठाउँ मिल्यो सँगै बसौँ’ भन्दै आइपुग्नुभयो । हतारहतार चुरोट लुकाएर बुवासँगै गएँ । हामी सँगै बसेर जयपुरतर्फ लाग्यौँ । राति १२ बजेतिर सबै सुते होलान् भनेर मैले चुरोट सल्काएँ । बुवा त निदाउनुभएकै रहेनछ, ‘तैँले चुरोट सल्काइस् कि क्या हो’ भन्नुभयो । मैले ‘हैन हैन’ भन्दै टारेँ । यसपटक पनि उहाँले चुरोट खाएको देख्नुभएन । 

उहाँले पहिलोपटक मैले चुरोट खाएको देख्नुभएको चाहिँ इलाहवादमा हो । त्यसबेला ‘पराया धन’ भन्ने फिल्म चलिरहेको थियो । म फिल्म हेरेर निस्केर ‘पनामा चुरोट’ खान के थालेको थिएँ, मेरोअगाडि नै काका दिनेशचन्द्र रेग्मी र बुवा आइपुग्नुभएछ । अब प¥यो फसाद, न मुखको धुवाँ फाल्नु न लुकाउनु । बाध्य भएर मुखको धुँवा फालेँ । चुरोट खाएको देखेपछि बुवा तीन दिनसम्म बोल्नुभएन । काकाले सम्झाएपछि मात्र उहाँ बोल्नुभयो । ‘चुरोटले ज्यान बिगार्छ, नखानू’ भनेर सम्झाउनुभयो । तर, मैले चुरोट खान छाडिनँ, त्यसैले त मैले दुईपटक ‘हर्ट अट्याक’ भोगिसकेँ । अहिले भने म चुरोट खान्नँ । कहिलेकाहीँ लाग्छ, बुवाले भनेकै बेला चुरोट छाडेको भए सायद ‘हर्ट अट्याट’ हुन्न थियो कि ?

बुवासँग जोडिएको टेलिफोनसम्बन्धी प्रसंग पनि रोचक छ । बुवा टेलिफोन जोड्न मान्नुहुन्थेन । अरूका घरमा टेलिफोन थियो, हाम्रोमा थिएन । उहाँ जहिले पनि ‘अमेरिकीलाई पो पैसाको मतलब छैन, त्यसैले एउटा ¥याकमा गएर खोज्नुपर्ने चिज खोज्न पनि फोन गर्ने चलन छ,’ भन्नुहुन्थ्यो । मलाई ‘डिस्ट्रब’ हुन्छ भनेर उहाँ फोन नै जोड्न नमान्ने ।

हामीलाई भने फोन जोड्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । एक दिन इन्द्रचोकका व्यापारी आनन्द राजभण्डारीले खाना खान हाम्रो परिवारलाई बोलाए । त्यसबेला पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पनि राजभण्डारीकहाँ खाना खान आएका थिए । त्यहीँ हामीले बुवालाई फोन राख्न ‘कन्भिन्स’ गरेका हौँ । खाना खान आएका अरूले पनि उहाँलाई सम्झाएपछि फोन जोड्न तयार हुनुभयो । अनि, हाम्रो घरमा फोन आयो ।

त्रिभुवन विश्वविद्यालयले उहाँलाई बाह्य–विशेषज्ञका रूपमा थेसिस हेरिदिन पठाउँथ्यो । उहाँले जुन थेसिस ‘रिजेक्ट’ गर्नुहुन्थ्यो, त्यही विश्वविद्यालयले भने पास गरिदिन्थ्यो । त्यसैले उहाँले पछिपछि थेसिस हेर्न छाडिदिनुभयो । 

बुवाले गरेको योगदानको कदर राज्यले उचित ढंगले गर्न सकेन । अहिले पनि बुवाका पुस्तक जसले पनि जसरी पनि छापिरहेका छन् । धेरै पुस्तकको कपिराइट अहिले पनि हामीसँग छ । तर, त्यसको रोयल्टी आइरहेको छैन । बुवाका नाममा विभिन्न कार्यक्रम गरिन्छन्, नेपालमा रहेको उत्तराधिकारीका रूपमा मलाई जानकारी हुनुपर्ने हो, तर हुँदैन । 
उदाहरणका लागि ‘सोसल साइन्स बःह’ले बुवाका नाममा हरेक वर्ष ‘महेशचन्द्र रेग्मी स्पिक्स्’ भन्ने कार्यक्रम गर्छ तर मलाई नै थाहा हुँदैन । केही वर्षअघि समाजशास्त्री चैतन्य मिश्रले बोलाएर मात्र थाहा भएको थियो । अरूले भने बोलाउँदैनन् ।

मेरा पिताका नाममा भएको कार्यक्रममा मलाई नै थाहा नदिने ? बुवाले आफ्ना अंग्रेजीमा निस्केका पुस्तकहरू नेपालीमा अनुवाद गरेर बःहलाई दिन मलाई आदेश दिनुभएको थियो । मैले नेपालीमा अनुवाद गरेर बःहकै पदाधिकारीहरूलाई दिँदा करिब दुई वर्षपछि जस्ताको तस्तै फिर्ता गरिदिएका थिए । दुर्भाग्यवश, त्यो काम अधुरै छ । कसैले सहयोग गर्न चाहेमा म बुबाको सपना पूरा गर्न सक्ने थिएँ कि ? 

अहिले पनि मसँग बुवाका कतिपय कुरा छन्, तर तिनलाई कसले संरक्षण गरिदिने भन्ने चिन्ता छ । मैले अहिले कसलाई हस्तान्तरण गरौँ ? मेरा सबै सन्तान विदेशमै छन् । मेरा दाइभाइ पनि सबै उतै छन् । ‘प्रेस डाइजेस्ट’का कपी छन्, तिनको सुरक्षण कसले गरिदिने ? मैले त्रिभुवन विश्वविद्यालयलाई दिएका ‘प्रेस डाइजेस्ट’ पनि भुइँचालोपछि नाश भएछन् । 

बुवाले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘कृष्णचन्द्र पद्मप्रिया पुरस्कार’ अहिले पनि हामी दिँदै आएका छौँ । यो त्रिविविबाट उत्कृष्ट शोधपत्र लेख्नेलाई हरेक वर्ष त्रिविवि दिवसमा प्रदान गरिन्छ । यसैगरी, मैले आफैँले पनि बुवाआमाको नाममा उत्कृष्ट शोध गर्नेका लागि ‘महेशचन्द्र–मनदेवी रेग्मी’ पुस्कार राखेको छु । त्यसको राशि २० हजार एक छ । त्यसबाहेक केही गर्न सकेको छैन । 

मसँग सन् १९५८ देखि १९९० सम्मका ‘प्रेस डाइजेस्ट’का सबै अंक छन् । तिनलाई म कहाँ लगेर राखौँ ? कसलाई दिऊँ ? विश्वविद्यालयलाई दिऊँ भने त्यस्तो हालत छ, सरकारलाई मतलब छैन, अरू कसैले पनि चासो दिएका छैनन् । 
मसँग बुवाले २००४ सालमा लेखेको डायरी सुरक्षित छ । उहाँले अन्तिम समयमा लेखेको भ्रष्टाचारसम्बन्धी किताबको पाण्डुलिपि छ । उहाँले सुरु गरेर पनि त्यसलाई पूरा गर्न सक्नुभएको थिएन ।

५८ पेजसम्म लेख्नुभएको थियो, त्यसैलाई पनि त छाप्न सकिन्थ्यो । यो पुस्तक भ्रष्टाचार र राजाका उत्तराधिकारीसम्बन्धी थियो । मलाई महेशचन्द्रको पुत्रका हिसाबमा केही चाहिएको छैन । तर, कमसेकम मेरा पिताले गरेको योगदानको कदर होस् र उहाँले छाडेर गएका कुराको संरक्षण होस् भन्ने चिन्ता छ । 
(म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली एवं नेपालको आर्थिक इतिहासका अध्येता महेशचन्द्र रेग्मीका पुत्र शिरीषसचन्द्रसँग विमल आचार्य र विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित)

प्रकाशित: १५ पुस २०७४ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App