१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आध्यात्म र राजनीति बीचको सम्बन्ध

रमेश नेपाल
जीवन विकास विशेषज्ञ
आध्यात्म र राजनीतिबीच अन्तरसम्बन्ध हुन्छ । आध्यात्म भनेको व्यक्तिभित्र सुख, शान्ति र समृद्धि खोजिन्छ भने राजनीतिले समग्रमा सुख, शान्ति र समृद्धि खोज्छ । हामीलाई राजनीति मन परोस् अथवा मन नपरोस्, राजनीति जताततै छ । त्यसैले त भन्ने गरिन्छ, राजनीति सुध्रे सबै सुध्रिन्छ, राजनीति बिग्रे सबै बिग्रन्छ । बिग्रँदो राजनीतिलाई आध्यात्मले कसरी सुधार गर्छ ? चुनाव हुँदै गर्दा आगामी नेतृत्व कस्तो हुनुपर्छ ? यस्तो अवस्थामा कस्तो नेतृत्व छान्नु पर्छ त ?
आध्यात्म भनेको आफूभित्रको कला, इच्छा, क्षमता, शक्ति, भाव, विचार, ज्ञान आदि जान्ने कला हो । हामीभित्र अपार सम्भावना रहेका हुन्छन्, ती सम्भावना प्रकट गर्नु आध्यात्म हो । जिन्दगीको राजमार्ग पत्ता लगाउने काम आध्यात्मले गर्छ । त्यस्तै राजनीतिले आम जनसमुदायको कला, इच्छा, क्षमता, शक्ति, भाव, विचार, ज्ञान जान्न खोज्ने काम गर्छ । राजनीतिले आफ्नो इच्छाशक्ति प्रयोग गर्दै भौतिक विकासको राजमार्ग खोल्ने काम गर्छ ।
तसर्थ जो व्यक्तिले आफूबारे बुझ्छ, त्यसले मात्रै अरुबारे बुझ्ने क्षमता राख्छ । जो व्यक्ति आध्यात्मिक छ, उसले राजनीति गर्यो भने सबैलाई समेट्न सक्छ । गैर आध्यात्मिक व्यक्तिले सक्दैन । अहिले हाम्रो देशमा गैर आध्यात्मिक व्यक्ति हावी भएकै कारण राजनीति राजनीतिजस्तो नभएको हो ।
राजनीति भनेको अरु प्रतिको सर्मपण भाव हो । अरुलाई सुख दिन गरिने कार्य हो । राजनीतिबाहेक सायदै सुन्दर कार्य अरु कुनै होला ।

कुनै पनि क्रान्तिपछि देश विकासको पथमा अघि बढ्छ । अरुअरु देशमा पनि त्यस्तै भएका छन् तर हाम्रोमा त्यस्तो किन भएन त ? हामी सबैलाई लाग्ने कुरा हो । जब २०४६ सालको र २०६३ सालको क्रान्ति समापन भयो, त्यसपछि मुलुक विकासको लहरमा जानुपर्ने हो । जनताले सुखको अनुभूति गर्नुपर्ने हो तर त्यसो भएन । त्यसको एउटै कारण छ । राजनीति गर्नेहरुले आन्दोलन गर्न सक्ने शक्ति त निर्माण गरे तर विकास निर्माण गर्ने शक्ति बनाउनबाट चुके ।

क्रान्तिपछि सत्ता प्राप्त हुन्छ । त्यसपछि के गर्ने भनेर विकासको खाका नकोरेकै कारण मुलुक पछाडि परेको हो । हामीकहाँ विषय विशेषज्ञताको आधारमा सत्ताको बागडोर सम्हाल्ने नभई अरु नै आधार बनाइयो । आन्दोलनगर्ने लाई उचित सम्मान दिएर विज्ञलाई सत्ताको साँचो सुम्पिने हो भने पक्कै पनि मुलुकले काचुँली फेर्न सक्छ अन्यथा हामी रुमल्लिरहने छौँ ।  
हामीले कस्तो नेतृत्व चाहेका छौँ त ? नेतृत्वमा हुनुपर्ने गुण के हुन् त ? नेतृत्वमा सबैप्रति समभाव राख्ने निष्पक्ष विचारधारा हुन जरुरी छ । नेतृत्वको आन्तरिक गुण भनेको साहस, आँट, दृढ इच्छाशक्ति, सत्यवान्, विवेकी, इमानदार, पारदर्शी आदि हुन जरुरी छ । जुन कुराहरु आध्यात्मबाट प्राप्त हुन्छ । जो कोहीले पनि आज राजनीति गर्ने उद्देश्य बनाउनुभएको छ, उहाँहरु आध्यात्मिक हुन जरुरी छ । हिजोआज नेपालमा धेरै आध्यात्मिक केन्द्रहरु खुलेका छन् । त्यहाँ गएर सिक्दा राम्रो हुन्छ ।
हामी जीवन विज्ञानमा चक्र विज्ञान भनेर एक हप्ते कार्यक्रम गर्छौं । हाम्रो शरीरमा सात वटा चक्र हुन्छन् । मूलाधार, स्वाधिष्ठान, मणिपुर, हृदय, विशुद्धि, आज्ञा र सहश्रार । यी चक्रहरुलाई नियमित साधनाबाट सक्रिय पार्नुपर्छ । यिनै चक्रहरुले नै आन्तरिक तथा वाह्य गुण निर्धारण हुन्छन् । चक्रहरु सबल भए, हामी सबल हुन्छौँ नत्र दुर्बल ।
राजनीति भनेकै सबल व्यक्तिका लागि हो, दुर्बलका लागि होइन । सबल व्यक्तिमा साहस, आँट ज्यादा हुन्छ । फलस्वरुप उनीहरु भ्रष्टचारमा डुब्दैनन् । उनीहरुमा भोलि पदबाट हटे पनि अरु नै उपाय लागिहाल्छ, गरेरै खान सकिहाल्छु नि भनेर भ्रष्ट हुँदैनन् तर जो व्यक्ति दुर्बल छ ऊ भयग्रस्त हुन्छ, कमजोर हुन्छ । भोलि पदबाट हटेपछि के गरौँला भन्ने सोचले उसले अनावश्यक सम्पत्ति जोड्छ । त्यो पनि गैरकानुनी तवरबाट । जसका कारण भ्रष्टाचार मौलाउँछ । हाम्रोमा दुर्बल व्यक्ति हावी भएको कारण राजनीतिमा भ्रष्टाचार फैलिएको हो ।
अबका युवालाई सद्गुण विकसित पार्न पनि आध्यात्मिक हुन जरुरी छ । संकल्प, इच्छाशक्ति, कल्पनाशीलताका लागि आध्यात्मिक प्रशिक्षण आवश्यक पर्छ ।
अहिले फेरि चुनाव हुँदैछ  । यस्तो बेला कस्ता उम्मेदवार छान्ने त ? मतदाता स्पष्ट हुन जरुरी छ । मतदाताले केका लागि प्रतिनिधि छान्दैछन् ? समाज र राष्ट्रलाई के फाइदा हुँदैछ ? यस्ता कुरामा मतदाताले ध्यान दिनै पर्छ । जसलाई तपाईंले मत दिँदै हुनुहुन्छ, उसैलाई भोट दिनुपर्ने कारण के ? तपाईंले सोच्नुभएको जस्तो उसका कार्ययोजना छन् त ? यस्ता कैयौँ प्रश्नसँग मेल खाने व्यक्तिलाई नै आफ्नो मत दान गर्नुपर्छ ।
तसर्थ जो व्यक्ति आफू, समाज र राष्ट्रप्रति बफादार छ, उद्देश्य स्पष्ट छन्, तिनै आध्यात्मिक व्यक्ति हुन् । तिनैलाई हामीले अवसर दिनुपर्छ ।

प्रकाशित: १० मंसिर २०७४ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App