९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मौलिकता हराएको देउसी-भैलो

वरिष्ठ साहित्यकार कृष्ण पनेरू ‘वञ्चित’लाई अहिलेको देउसी–भैलोे पटक्कै मन परेको छैन । उनलाई अहिलेको देउसी–भैलो मन नपर्नुको कारण हो– परम्परागत मौलिकता नहुनु ।

‘देउसी–भैलोमा मौलिकता केही रहेन,’ कैलाली, अत्तरियाका ७६ वर्षीय पनेरूले चिन्ता प्रकट गरे, ‘अहिले भैलोमा मौलिकता छाडेर डिस्को र भाङ्ग्रा नाचिन थालिएको छ ।’ देउसी–भैलोको मौलिकता हराउन थालेपछि उनी चिन्तित छन् ।
भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती मदिरा सेवन गरेर अश्लिल गीतमा नाचेको देख्दा उनको मन खिन्न हुन्छ । ‘देउसी–भैलोेमा आशिष दिएर पो गक्ष अनुसार दिएको दान लिनुपर्छ,’ उनले भने, ‘तर, अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।’
कैलाली, गौरीगंगा नगरपालिका–७, कैलाशपुरका ६७ वर्षीय गणेशबहादुर बुचामगरलाई पनि अहिलेको भैलोे खल्लो लाग्न थालेको छ । भैलोेमा भाङ्ग्रा, डिस्को नाचभन्दा उनलाई पुरानै परम्परागत भैलो नै मन पर्छ । तिहार आउँदा उनलाई बाल्यकालका स्मरण ताजा बन्दै मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली याद आउँछन् । उनले भने, ‘उहिलेका भैलो रमाइला हुन्थे । तर, अहिले डिजे, साउण्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन पर्दैन ।’
उनीहरू मात्र होइन, पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको ६४ वर्षीय हर्कबहादुर बुढामगर बताउँछन् । युवापुस्ताले आधुनिकताका नाममा विदेशी संस्कृति भिœयाउँदै भैलोलाई पैसा कमाउने बाटो बनाएको उनको टिप्पणी छ । ‘आशिष दिँदै घरबेटीले गक्ष अनुसार दिएको दान लिनु पो संस्कृति जोगाउनु हो,’ उनी भन्छन् ।
उनी भैलोजस्तै मगर समुदायको मारुनी, सोरठी, पैसेरी, टप्पा नृत्य लोप भएकोमा चिन्तित छन् । ‘द्वन्द्वकालअघि गाउँमा मारुनी नृत्यको आकर्षण थियो । तर, त्यसपछि भने परम्परागत संस्कृति लोप हुँदै गयो ।’
पहाडमा छँदा भैलो आउनु महिनौंअघि मारुनीका लागि चाहिने शृङ्गारका सामान तयार पारेको उनी सम्झन्छन् । ‘अहिले त संस्कृतिका नाममा विकृति पो भित्रिए जस्तो छ,’ उनी भन्छन्, ‘पहिले भैलोमा जे जति भए पनि दान दक्षिणा लिइन्थ्यो । तर, अहिले भने ् भैलेरु तोकेरै पैसा असुल्ने गरेका छन् ।’
कात्तिके दान दिनु र लिनु अवसर भएको बताउँदै उनले भने, ‘कात्तिके दानका रूपमा रहेको भैलेरुलाई दिइने दान पुण्य पनि हो । तर, यसलाई कमाऊ धन्दा बनेकोमा पुरानो पुस्ता चिन्तित छ ।’
मारुनी नृत्य लक्ष्मीपूजादेखि भाइटीकासम्म लगातार मगर समुदायको गाउँमा नाचिन्छ । यसका अलावा विवाह, जन्मोत्सव, छैटीलगायतको हर्ष तथा शुभकार्यमा पनि मारुनी नृत्य लगाइने गरिएको स्थानीय शिक्षक नरेन्द्रबहादुर थापा बताउँछन् । गोलाकार घेरामा वरिपरि उभिएर रामायण, कृष्ण चरित्र, बलिराजा र भृग्रुराजाको गाथा गाउँदै बीचमा रहेका महिलाका रूपमा शृङ्गार गरिएका पुरुष एकजना मारुनी, एकजना पुरसिंगे, दुईजना मादलेले मारुनी नृत्य नाच्छन् । मारुनी नृत्यसँगै पैसेरी, टप्पा, सोरठी पनि नाच्ने गरिएको बताउँदै शिक्षक थापाले भने, ‘अहिलेको उत्ताउलो संस्कृतिभन्दा परम्परागत संस्कृति नै ठीक थियो, त्यही भएर गाउँमा युवाले मारुनी नृत्य जोगाउने भन्दै सिक्न थालेका छन् ।’ पछिल्लो समयमा आफ्नो संस्कृति हराउन थालेको भन्दै युवाहरू गाउँमा मारुनी, सोरठी, टप्पा, पैसेरी सिक्न थालेको उनी बताउँछन् । खोलावारि र खोलापारि मारुनी, सोरठी, टप्पा र पैसेरी नाच्दा राति होस् या दिउँसो हेर्नका लागि पुग्ने गरेको स्मरण गर्दै ६६ वर्षीय नन्दराम बुढामगरले भने, ‘त्यो बेलाको रमाइलो नै बेग्लै हुन्थ्यो ।’ परम्परागत संस्कृतिलाई भुलेर आधुनिकता अपनाउने नाममा विकृति भिœयाउनु मगर समुदायको हितमा नरेको बताउँदै उनी भन्छन्, ‘आधुनिकताका नाममा मगर समुदायको परम्परागत संस्कृतिमा हरायो ।’  
पहिले सञ्चारका साधन कम हुँदा गाउँलेपनका साथै आफ्नो गाउँघर र संस्कृतिका कुरा भैलोमा बढी हुन्थ्यो । २०७२ सालको मदन पुरस्कार विजेता रामलाल जोशी भन्छन्, ‘सञ्चार साधनको विकासले भैलोमा बनावटी बढी बनेको छ ।’ पहिले पूर्व र पश्चिममा खेलिने भैलोमा फरकपन रहेको बताउँदै उनी भन्छन्, ‘भैलोमा आ–आफ्ना गाउँका फरक–फरक संस्कृति प्रकट हुन्थे । तर, पछिल्लो समय सञ्चार साधनको विकासले भैलोलाई संस्कृति, संस्कारभन्दा पनि आनन्द र मनोरञ्जनका रूपमा खेलिन थालिएको छ ।’ भैलोेमा पुराना कुराभन्दा आधुनिक विकृति विसंगतिलाई बढी प्राथमिकता दिएको भन्दै संस्कृतिविद्् चिन्तित छन् । ‘त्यतिबेलाको देउसी–भैलोे शालिन, सभ्य र संस्कृतिका लागि खेलिन्थ्यो भने आधुनिक भैलोे समूह बनाएर पैसा कमाउने माध्यमका रूपमा खेलिन थालिएको छ,’ संस्कृतिविद् डा. बद्री विनाडी भन्छन्, ‘यो संस्कृतिका नाममा विसंगति हो ।’ गक्षअनुसार दिइएको दक्षिणा भन्दा पनि ठूला समूह बनाएर घरघरबाट बढी पैसा माग्ने प्रवृत्तिले कमजोर आर्थिक अवस्था भएका मान्छे अपहेलित भएको भान हुने गरेको उनी बताउँछन् । उनी भैलोेलाई संस्कार र संस्कृतिकै रूपमा मनाउनु पर्ने आवश्यकता रहेको बताउँछन् ।
ज्योतिष मनिराज जोशी देउसी–भैलोेलाई अँध्यारोलाई उज्यालो पार्ने पर्वका रूपमा अथ्र्याउँछन् । सांसारिक अँध्यारो मात्रै नभई पवित्र भावनाले आफूभित्र भएको कुरीति, कुसंस्कारको अँध्यारो हटाउँदै एकअर्काबीच सहयोग गर्ने भावना ल्याई मन उजिल्याउने र सामाजिक सद्भावको पर्वका रूपमा भैलोेलाई लिइएको उनले बताए । ‘छरछिमेकबीच वर्षभर भएका झैँझगडा, वैमनस्यता, मनमुटाव बिर्सेर सबैको घरमा गई आशिष दिँदै दान थाप्नु नै सामाजिक सद्भाव हो,’ उनी भन्छन् । भैलोेमा गक्षअनुसार दिएको दान नै लिनुपर्छ भन्ने पहिलेदेखिकै मान्यता रहेको बताउँदै उनले भने, ‘अहिले भैलोमा तोकेरै पैसा असुल्ने परिपार्टीले गलत संस्कार जन्माएको छ ।’ शास्त्रमा पनि भैलोे मर्यादित संस्कारका रूपमा रहेको उनले बताए । भैलोे पैसा असुल्नका लागि नभई सम्मान र आशीर्वाद दिनका खेलिनुपर्ने उनी बताउँछन् । देउसी–भैलोबाट संकलित रकम वनभोज, जाँडरक्सीमा नभई सामाजिक कार्यमा लगाउनुपर्ने उनी सुझाउँछन् । 

प्रकाशित: २८ आश्विन २०७४ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App