३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पारुदिदी

पूरा नाम– पार्वती बस्नेत
मैले भन्ने– पारुदी, सजिलो र छिटो बोलाउँदा पार्दी ।
हामी कक्षा ९ देखिका सहपाठी ।
मेरो उमेर १३ वर्ष, पार्दी भने १८ कटिसकेकी थिइन् । मैले सावला अक्षर छिटो चिनेकाले कक्षा एकमा चारै वर्षमा भर्ना हुन पाइहालेको थिएँ । 
त्यसबखत ८ कक्षा उत्तीर्ण गरेपछि नर्स बन्न पाइन्थ्यो । पार्दी ८ कक्षा सकिँदासाथ नर्सिङमा भर्ना भएकी थिइन् । त्यो गाउँमा नर्स पढ्न जानु भनेको ठूलो युद्ध जित्नुजस्तै थियो । परिवारलाई मात्र होइन, इष्टमित्रलाई पनि चित्त बुझाउनु पर्ने बाध्यता थियो, नर्स पढ्न । ‘छोरी बिगार्नु परे नर्स बनाउनू’ भन्ने उखान चलेको थियो त्यहाँ । कतिपय नर्सको बिहा भएका थिएन । नर्स बिहा गर्न हत्तपत्त कोही पनि तयार हुँदैनथ्यो । 
पार्दीले नर्सिङ पढिसिध्याएर केही वर्ष जागिर पनि खाएकी थिइन् । पछि उनलाई पुनः पढ्ने इच्छा जागेकाले जागिर छाडेर ९ कक्षामा भर्ना भएकी थिइन् । त्यसपछि नै उनी मेरी सहपाठी बन्न पुगेकी हुन् । 
उमेरले ढल्कनबाट उनलाई मात्र छुट कहाँ दिन्थ्यो र !
पार्दीको घर स्कुलको ठीकअघिल्तिर थियो । स्कुलको मूलगेटको दक्षिणमा रहेको उनको घरको कोठाबाट बाटोमा हिँड्ने मान्छे सजिलै देखिन्थ्यो । 
सहर पनि हुन नसकेको र गाउँ पनि हुन नचाहने संक्रमणकालीन क्षेत्र थियो त्यो । अर्थात् पूर्ण काँठबाट विस्तारै सहरोन्मुख अवस्था । स्थानीयको जनजीवन भीरको चिन्डोजस्तै– न माथि जान सक्ने न त तल ओर्लनै । बदलिँदो जीवनशैलीप्रतिको आकर्षण पनि थियो र पुरानोलाई चटक्कै छाड्ने हिम्मत पनि थिएन । पार्दीले केही समय जागिर खाइसकेकाले उनी भिन्न थिइन् । उनलाई गाउँलेको खासै मतलब हुँदैनथ्यो । अरुको टिप्पणीप्रति उनी कुनै सरोकार राख्दैनथिन् । आधुनिक शैली अपनाउने त्यस क्षेत्रका थोरै महिलामध्ये पारु एक थिइन् । स्कुल जाँदा पनि उनी सजिएरै जान्थिन् । स्कुलका छिप्पिएका केटा उनीमाथि नजर लगाउँथे । 
पार्दीको एकमात्र प्रिय पात्र थिएँ म । म पारस । उनको असल साथी । मलाई ‘पारु’ भनेर बोलाउने केवल उनी एक । घरमा पनि मलाई कसैले स्नेहले ‘पारु’ भन्दैनथे, बरु ‘पारे’ भन्थे । गाउँका साथीभाइ पनि पारे नै भन्थे । नयाँ चिनजान भएका साथीले मात्र पारस भन्थे । मलाई परिवारमा कसैले प्रेम वा स्नेह गरेको अनुभूति नै हुन पाएन । 
पार्दीले त्यस दिन ममाथि ज्यादति नै गरिन् । उनको व्यवहार र आग्रहले म कालोनिलो भएको थिएँ । मलाई विपरीत लिङ्गीसँग एकप्रकारले डर लाग्थ्यो । जब मेराअघिल्तिर कुनै केटी पर्थे, म तिनलाई छल्ने उपाय सोच्थेँ । सायद मेरो अति लजालु स्वभावले यस्तो भएको थियो । त्यसमाथि पार्दी सुन्दर थिइन् । उनको शरीर मिलेको त थियो नै साथमा बोलीवचन पनि शिष्ट र मायालु थियो ।  
केही दिनअघि उनले मेरो सर्टमा इस्त्री लगाइदिएकी थिइन् । घरमा बोलाएर जबर्जस्ती ढंगमा खुम्चिएको मेरो सर्ट फुकाल्न लगाएर इस्त्री लगाएर उनले चिटक्क पारिदिएकी थिइन् । दाउराको गोल हालेर तताउने पर्ने इस्त्री उनले एक्कैछिनमा तातो पारेकी थिइन् । 
मेरो शरीरमा इस्त्री लगाएको सर्ट देखेर स्कुलमा सबैको आकर्षण बन्न पुगेको थिएँ । सधैँ खुम्चिएको सर्ट लगाउने साथीले त्यस दिन अकस्मात इस्त्री दलेको सर्ट लगाएको देखेपछि सहपाठीहरु आश्चर्यचकित हुनु अनौठो थिएन । स्कुलमा प्रायः कोही पनि इस्त्री लगाएको डेस लगाउँदैनथे, एक–दुई जना थिए जो इस्त्री लगाउँथे तर तिनको कपडा पनि राम्ररी मिलाइएको हुँदैनथ्यो । पार्दीले मन लगाएर मेरो सर्टमा इस्त्री लगाइदिएकी थिइन् । 
केही दिनपछि उनले घरको झ्यालबाट मलाई माथि उनको कोठामा बोलाइन् । सुरुमा सर्ट आइरन गर्न मागिन् । त्यसपछि पाइन्ट पनि देऊ भनिन् । म कालोनिलो भइहालेँ । हातगोडा काम्न थाले । शरीर पूरै लुलो भए । उनका अघिल्तिर सर्ट फुकाल्नै पनि मलाई सकस परेको थियो । 
कसरी फुकाल्नु पाइन्ट ! मैले भित्रपट्टि कट्टु लगाएको थिइनँ । ममात्र होइन, त्यसबखत पाइन्टभित्र कट्टु लगाउने चलनै थिएन । छात्र–छात्रा कोही पनि कट्टु लगाउँदैनथे । मसँग पाइन्ट माग्दै गर्दा पार्दीको आवाज केही लर्बरिएको जस्तो सुनिएको थियो । उनले मलाई अर्कै नामले सम्बोधन गरेकी थिइन् । तर, त्यो कुन नाम थियो मैले बुझ्न सकिनँ । 
हामी केही महिनाअघि स्कुलबाट पिकनिक गएका थियौँ, सुन्दरीजल । सर, मिससहित हामी ९ कक्षाका विद्यार्थी सम्मिलित पिकनिक । किशोरवय, छुकछुक र नयाँ काम गर्न मन लागिहाल्ने । हामी सुन्दरीजलको डाँडो उक्लिन थाल्यौँ । एकले अर्काको हात समातेर तानातान गर्दै हामी डाँडो उक्लँदै थियौँ । त्यही समय भिरालो डाँडाबाट चिप्लिएर अधिकांश तल गुल्टियौँ । स्कर्ट लगाएका छात्रा, साडीमा रहेका मिस र विद्यार्थीको कम्मरमुनिको अङ्ग छर्लंग भइहाल्यो लड्दा । मैले त्यही समय थाहा पाएको गाउँका मात्र होइन सहरका मान्छे पनि कट्टु लगाउँदा रहेनछन् । हाम्रा केही मिस सहरका थिए, ती आधुनिक देखिन्थे । तिनले पनि भित्र कट्टु लगाएका थिएनन् । हुन सक्छ, कसैकसैले कट्टु लगाएका पनि थिए कि, तर त्यसको चर्चा भएन । केही विद्यार्थी अलि परको सहरबाट पनि त्यस स्कुलमा पढ्न आउँथे । भीरबाट तल गुल्टिनेहरु लाजले भुतुक्क भएका थिए भने देख्नेहरुका आँखा तिखा भएका थिए । भीरबाट चिप्लिएको विषय लामो समयसम्म गफको विषय बनिरह्यो । 
पार्दीले मलाई पाइन्ट खोल्ने निर्देशन दिँदै भनिन्– यस्तो खुम्चिएको पाइन्ट लगाएर पनि कोही स्कुल जान्छ पारु ! खुरुक्क फुकाल त ।
पार्दीको अनुरोध वा निर्देशन जे भने पनि त्यसले मेरो सातोपुत्लो उडिसकेको थियो । उनी मेरो पाइन्टमा समाउन थालिसकेकी थिइन् । म उनको हात छुटाएर त्यहाँबाट भागेँ । काठको भ¥याङ एकै स्वासमा ओर्लिएको थिएँ । पार्दीको घरको बाहिरपट्टि कुनामा पुगेर लामो स्वास तानेँ र स्कुलतिर लागेँ । 
त्यस दिन कक्षामा मैले पार्दीको अनुहार हेर्नै सकिनँ । उनी भने घरिघरि मलाई हेर्दै रहन्थिन् । मचाहिँ बेन्चमुन्तिर हेरिरहन्थेँ । 
मैले त्यस दिनपछि स्कुल जाने बाटो नै मोडिदिएँ । १५ मिनेटजति लामो बाटो पक्रन थालेँ । स्कुलमा त पार्दीसँग सधैँ भेट भइहाल्थ्यो, उनी मतिर हेरिरहन्थिन्, म परपर भाग्थेँ । मलाई कसोकसो सङ्कोच लाग्थ्यो । 
पार्दीलाई हामीसँग पढ्ने शिवभक्त खड्का खुबै मन पराउँथ्यो । ऊ खुलेरै भन्थ्यो– आई लभ यु पार्वती, पारु । तिमी पार्वती म शिव ! पार्वतीलाई शिवसँग छुटाउन कसले सक्ने ? पार्वतीलाई पाउनु शिवको हक हो । स्वस्थानीको किताबमै यही लेख्या छ । यही वाक्य ऊ बारम्बार दोहो¥याउँथ्यो । शिवको कुरालाई पार्दी वास्ता नगरी उडाइदिन्थिन् । कक्षामा पार्वतीलाई सबैले पार्दी भन्थे, शिवभक्तबाहेक । ऊ भने ‘डियर पार्वती’ भन्थ्यो, जिस्काउँथ्यो । 


शिवभक्त बदमास थियो । पढाइमा पनि निकै कमजोर । ऊ सानै उमेरदेखि कुलतमा परेको थियो । चुरोट खानु त उसका लागि सामान्य काम थियो । होमवर्क ऊ कहिले पनि बुझाउँदैनथ्यो ।

सर, मिसले जति पिटे पनि ऊ सुध्रिएको थिएन । पटकपटक फेल भएर ९ कक्षामा पुग्दा झन्डै २० वर्षको भइसकेको थियो । पार्दी भने उसलाई पटक्कै मन पराउँदिनथिन् । 

हामी घडीको सुई निरन्तर घुमिरहेको र क्यालेन्डरका पाना पल्टिएको हेरिरहेका थियौँ । त्यो हेर्न अरु मान्छेजस्तै हामी पनि विवश थियौँ । युगौँदेखि समयले हामीलाई यसरी नै दास बनाइरहेको थियो । समयको दासत्वबाट कोही पनि मुक्त हुन सकेको थिएन । यो कुनै नयाँ कुरो थिएन नै !  
त्यही घडी र क्यालेन्डर हेर्दाहेर्दै एसएलसी पनि आयो । एसएलसीको फाराम भर्दा उमेर बढाएर मैले १६ पु¥याएको थिएँ । १६ वर्ष नपुगी उक्त परीक्षा दिन नपाउने नियम थियो । पार्दी त त्यसबेला २० पुग्न आँटिसकेकी थिइन् ।  
एसएलसी परीक्षामा पार्दी र म एउटै बेन्चमा प¥यौँ । पार्दीको पढाइ उतिसारो राम्रो थिएन । परीक्षा पाससम्म गर्न सक्ने स्तरको थियो । 
‘पाइन्टमा आइरन गर्न नदिए पनि तिम्ले कापीमा लेखेको सार्नचाहिँ देऊ है पारु,’ गार्डले परीक्षाको कापी वितरण गरिसकेपछि पार्दीले मसँग भनिन् । मैले स्वीकारको टाउको हल्लाइदिएँ । पार्दीलाई आफूले सक्दो मद्दत गर्न वा गुन लगाउन पाए हुन्थ्यो भन्ने भावना मेरो अन्तरमनमा थियो । 
मेरो एसएलसी सहजताका साथ सम्पन्न भयो । प्रश्नहरु निकै सरल र सहज किसिमका थिए । म समयभन्दा अगावै परीक्षामा प्रश्नका उत्तर लेखिसक्थेँ । केहीबेर बेन्चमा बसिदिन्थेँ र पार्दीलाई सार्ने वातावरण मिलाइदिन्थेँ, गार्डको आँखा छलेर । 
म विशिष्ट श्रेणीमा उत्तीर्ण भएँ, सिम्बल नम्बर सँगै भएकाले पार्दीको दोस्रो श्रेणी आएको पनि मैले थाहा पाएँ । परीक्षा सकिने दिन पार्दीसँग मेरो अन्तिम भेट भएको थियो । दुई घन्टाजति चिया खाएर बसेका थियौँ हामी । त्यसबखत पनि मलाई पार्दीसँगै बस्न कताकता संकोच नै लागिरहेको थियो । 
पार्दी निकै चिन्तित थिइन्, उनले आफ्ना असफलता र कुण्ठामात्र पोखेकी थिइन् त्यस दिन । 
मलाई भने डाक्टर बन्नु थियो, म आफ्नो उद्देश्यमा केही बाधा–व्यवधान आउला भन्ने चिन्तामा थिएँ । मैले सकेसम्म सान्त्वना दिँदै पार्दीसँग छुट्ने अनुमति मागेको थिएँ । पार्दीले त्यस दिन मेरो हात साह्रै कडासँग समातेकी थिइन् । मेरो गाला सुम्सुम्याएकी थिइन् । तर, यी कुनै पनि क्रियाकलापले मलाई प्रभाव पारिरहेका थिएनन् । मेरा आँखाअघिल्तिर आफ्नो छातीमा स्टेथिस्कोप झुण्डिएको दृश्यबाहेक अरु केही पनि आइरहेका थिएनन् ।   


मलाई प्रेम, माया, स्नेह, धनदौलत, रमाइलो, मोजमज्जा आदि केहीले पनि छुँदैनथ्यो । म कहिले आईएस्सी सकेर एमबीबीएस पढ्न पाउँला भन्ने सोचमै हराउँथेँ । मेरो मनोरञ्जन भने पनि प्रेम, माया जे भने पनि त्यही थियो । म किताबी कीरो बनेको थिएँ ।  

उसैगरी फेरि पनि घडीका सुई र क्यालेन्डरका पानाहरुले हामीलाई पर कतै छाड्दै फटाफट हिँडिरहेका थिए । 
मैले बंगलादेशमा एमबीबीएस पढ्ने अवसर पाएँ । त्यहीँबाट अन्कोलोजी रोगबारे एमडी पनि गर्ने मौका पाएँ । झण्डै १० वर्षपछि म घर फर्किएको थिएँ । यसको अर्थ समयसमयमा घर नआएको भन्ने होइन, त्यसरी घर आउँदा पनि म कतै निस्कँदैनथेँ, घरमै पढेर बस्थेँ । मेरो साथीभाइ, नातागोता, इष्टमित्र सबै छुटिसकेका थिए । मलाई चिन्नेहरुले मेरो नामका अघिल्तिर ‘घमण्डी’ विशेषण झुण्ड्याइदिन थालिसकेका थिए । 
एमबीबीएस सकेर केही महिना घर बस्दा पार्दीबारे निकै नरमाइलो कुरा सुनेको थिएँ । उनले त्यही बदमास केटो शिवभक्तसँग बिहा गरिछन् । पढ्न र काम गर्न पनि छाडिछन् । त्यो कुरोले मलाई अलिकति चिमोटेको थियो । अरुसँग गरेको भए भइहाल्थ्यो नि, बदमास छ भन्ने थाहा पाउँदापाउँदै किन शिवेसँग बिहा गर्नु परेको होला पार्दीले ? भन्ने प्रश्न मैले आफैसँग गरेको थिएँ ।
पार्दीको विषयमा म धेरै समय खर्च गर्ने मुडमा थिइनँ । मलाई कसरी थप अध्ययन गर्ने र चिकित्सा पेसामा ख्याति कमाउने भन्ने चिन्ता थियो । मेरो चिन्ता समन गर्ने एउटै उपाय भनेको मेहनत नै थियो । मैले त्यही गरेँ ।  
समयक्रमसँगै मलाई व्यस्तताले गाँज्न थालिसकेको थियो । एमडी सकेर नेपाल फर्केपछि मलाई राष्ट्रियस्तरको सरकारी अस्पतालले जागिरका निम्ति आग्रह गरेकाले मैले दैनिक करिब ८ घन्टा त्यहाँ काम गर्न थालेको थिएँ । अतिरिक्त काम अर्को ठूलो निजी अस्पतालमा गर्थें, बिहान र साँझ दुई समय, दुई–दुई घन्टा । देशमा क्यान्सरका विरामी बढेको देख्दा म आफैँ छक्क थिएँ । दिनप्रतिदिन मेरो बजार बढिरहेको थियो ।  
रोग, बिरामी, औषधि र अस्पताल मेरा दैनिकी बनेका थिए । पैसा चाहेजति कमाउने भएको थिएँ । जिन्दगी एकल बितिरहेको थियो । बिहा गर्ने, प्रेम गर्ने वा रोमान्सका आकर्षणले मलाई पटक्कै छुँदैनथ्यो । म एक प्रकारले मन र मुटुहीन मान्छे बनेको थिएँ । तर पनि मलाई कुनै पछुतो वा अब यसो गर्न पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन । कमाएको पैसाको केही भाग क्यान्सर ट्रस्टमा हालिदिन्थेँ । गरिब नागरिकबाट स्याबासी पाउँथेँ, त्यसैमा रमाउँथेँ । कोहीकोही त मलाई ‘भगवान्’ पनि भन्थे, म दंगदास हुन्थेँ ।  
सरकारी अस्पतालमा क्यान्सरका विरामीको भीड थियो । भर्ना गरेर उपचार गर्न बेडदेखि जनशक्तिसम्मकै अभाव थियो । विरामीको अवस्था हेरेर म भर्नाका लागि लेखिदिन्थेँ । 
मेरो जीवन तालिकाबद्ध थियो । बिहान ६ बजे उठ्थेँ । ७ देखि ९ बजेसम्म निजी अस्पताल जान्थेँ । १० बजे सरकारी अस्पताल पुग्थेँ । धेरै समय भर्ना भएका विरामी हेर्थें । 
त्यस दिन पनि मेरो तालिका यथावत् चलिरहेको थियो । म त्यहाँको ड्युटी सकेर निस्कने सोचाइमा थिएँ । ५ बज्नै लागेको थियो । जाडो याम भएकाले बाहिर हल्का अँध्यारो देखिन थालेको थियो । बेड नम्बर १० मा रहेकी महिला विरामीमा मेरो ध्यान अचानक गयो । ध्यान जानुको प्रमुख कारण उनी यो संसारमा बढीमा दुई हप्ताको पाहुना थिइन् । उनी स्तन क्यान्सरबाट पीडित थिइन् । एक पटक उनको अवस्था बुझुँ न त भन्ने मनमा आयो । भर्ना भएको दिनदेखि नै उनलाई मैले हेर्दै आएको थिएँ । सधैँ मुख छोपेर सुतिरहेकी हुन्थिन् । मेरा सहयोगी नर्सले पनि उनलाई नै हेर्न मलाई अनुरोध गर्थे । 
म उनको नजिक पुगेँ । उनको अवस्था अन्तिम स्टेजमा पुगेको मैले नै डायग्नोसिस गरेको थिएँ । अघिपछि मलाई उनको नाम, थर तथा ठेगानाबारे केही वास्ता हुँदैनथ्यो । कुन्नि किन हो, त्यस दिन मलाई उनका बारेमा केही जान्ने उत्सुकता पैदा भयो । मैले नर्सलाई उनका बारेमा सबै कुरा बताउन भनेँ । नर्सले कागज पल्टाउँदै मलाई सबथोक बताउँदै गइन् । 
नाम– पार्वती खड्का
पतिको नाम– शिवभक्त खड्का
ठेगाना– काठमाडौँ, गोठाटार गाविस वडा नं ३
मेरा हातगोडा एकाएक चिसा र लुला भए । ओड्नेले छोपिएको उनको अनुहार हेर्ने हिम्मत पनि आएन । नर्सलाई अन्तै पठाइदिएर म पार्दीको छोपिएको शरीर बाहिरबाटै हेर्न थालेँ । १२ वर्षअघिका दिन मेरो मानसपटलमा चलचित्रको रिल घुमेझैँ घुम्न थाले । उनले मेरो पाइन्टमा इस्त्री गरिदिन खोज्दा भागेको सम्झेँ । उसैगरी मुटु फुलेर आयो । एसएलसीको अन्तिम दिन मेरा हात समात्ने उनको हात विस्तारै ओड्नेबाट झिकेँ । उनले थाहा नपाउने गरी त्यसलाई सुम्सुम्याएँ । पार्दीको त्यही हात जसले मेरो गाला सुम्सुम्याएको थियो, चिया खाँदै गर्दा । त्यसलाई पनि बाहिर निकालेँ । पार्दी सुतिरहेकी थिइन् । मैले उनका दुवै हात विस्तारै स्पर्श गरेँ । मुख छोपेको ओड्ने पनि हटाइदिएँ, उनले थाहा नपाउने गरी । थुप्रै पटक किमोथेरापी गरेको उनको अनुहारमा चाउरी देखिएको थियो, त्यो निख्खर नीलो भइसकेको थियो । उनको कपाल झरेर केही पनि बाँकी थिएन । आँखीभौँ पनि रित्तिसकेका थिए । 
म स्कुले दिनकी पार्दीको आकर्षक अनुहार झल्झली सम्झन थालेँ । उनको लामो र बाक्लो कपाल, गोरो मुहार । हँसमुख पार्दीको पुक्क परेका गाला । हाँस्दा खोपिल्टा पर्ने गाला । त्यसपछि मेरो छाती फुट्लाझैँ भएको थियो, आँखाबाट भेल बग्न हतार गरिरहेको थियो । त्यसलाई बल्लतल्ल रोकेँ । 
‘पार्दी...’ मैले आफ्नो आवाजलाई नियन्त्रण गर्न सकिनँ । पार्दीको हात बेस्सरी समात्न पुगेछु म र त्यही बखत आवाज फुस्किएछ । 
पार्दीले आँखा खोलिन् । मेरो आँखामा केही सेकेन्ड हेरिन् । जुरुक्कै उठेर उनी चिच्याइन्– ‘पारु’ । उनी मेरो नाम लिएर अस्पताल थर्काउने गरी कराइन् । 
नर्सहरु दौडँदै मेरोछेऊ आए । विरामीको मानसिक अवस्था बिग्रिएको आशंकामा तिनले डाइजेपाम दिउँ भनी सोधे मसँग । मैले ‘पदैन’ भनेँ । ‘तिमीहरु जाऊ म हेर्छु’ भनेँ । नर्सहरु अन्तै लागे ।  
पार्दीले त्यसपछि एक शब्द पनि बोलिनन् । मसँग पनि बोल्नका निम्ति शब्द सबै सकिएका थिए । म उनका आँखामा हेरिरहेँ । उनी पनि मेरो आँखामा एकटकले हेरिरहेकी थिइन् । 
बाहिर झमक्क साँझ परेको थियो । पार्दीका विस्फारित आँखाबाट निस्केको चमक देखेर म छक्क परिरहेको थिएँ । क्यान्सरले ग्रस्त उनको अनुहारमा एकाएक चमत्कारिक चमक आएको थियो । पार्दी उही स्कुले जीवनकी चुलबुले केटीमा रुपान्तरित भएकी थिइन् । सुन्दर र शिष्ट पार्दी । 
उनलाई पछ्याउँदै निकै नजिक आइसकेको मृत्यु र १२–१३ वर्षअघिकी पार्दीबीच तुलना गर्न थालेँ म ।  

(नागरिक परिवारबाट साभार)
 

प्रकाशित: २१ आश्विन २०७४ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App