१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

कथा : आत्मनिर्णय

मीरा प्रसाईं
तन-मन दुवै थकित छ आज । निदाउने हरसम्भव प्रयास गरे पनि निदाउन सकिरहेकी छैन । निद्रादेवीले उनको न्यानो काखमा नबोलाएरै होला निद्रा नपरेको ! मन विचलित छ । तन छटपटिँदै छ । दाइसँग कुरा भयो कि उहाँ सधैँ उही कुरा दोहोर्याउनु हुन्छ- नानू, विवाह गर्नुपर्यो ।
अचानक गत शनिबार पनि दाइले फोनमा भन्नुभएको कुरा सम्झिन पुगेँ र विगत फेरि एकपल्ट वर्तमानमा ताजा भएर आयो ।
मानिस स्वभावैले सुन्दरताको भोको हुन्छ । मलाई पुरुषको बाहिरी सुन्दरताले कहिल्यै आकर्षण गरेन । मैले उसको शारीरिक आकर्षणलाई भन्दा पनि बौद्धिकतालाई मनपराएँ । पुरुषको आवरणले मात्रै मलाई कहिल्यै आकर्षित गरेन ।
गेस्ट लेक्चररका रूपमा हाम्रो कलेजमा आएको पहिलो दिन उसले दिएको प्रेमको परिभाषा अझै मेरो मनमा ताजै छ ।
‘प्रेम शारीरिक अवयवद्वारा उत्पन्न हुने वासनात्मक भावना होइन, प्रेम त मीठो, चोखो र न्यानोपनको महसुस हो । प्रेमको न कुनै तौल हुन्छ न त कुनै उचाइ र गहिराइ । प्रेमको भौतिक अस्तित्व छैन, त्यसैले प्रेम दृश्ययोग्य छैन, स्पर्शयोग्य छैन ।’
उसको यही भनाइले प्रभावित गरेको थियो मलाई । उसले पनि मलाई अन्य विद्यार्थीको तुलनामा केही बढी ध्यान दिएको आभास हुन्थ्यो ।
भानुचोकनजिकै डेरा गरेर बस्ने ऊ, साँझ सधैँ भानुचोकमा भेटिन्थ्यो । उसका तार्किक कुरा सुन्न मलाई साह्रै मज्जा लाग्थ्यो । प्रायः सधैँ इभिनिङ वाक गर्ने बहानाले भानुचोकसम्म पुग्थेँ म । पोलेको मकै खाँदै घन्टौँ गफ गथ्र्यौं हामी । पढेका कुरालाई नबिर्सने मनोवैज्ञानिक तरिकाबारे उसले मलाई सिकाउँथ्यो, उसले सिकाएका तरिकालाई पछ्याउँदै जाँदा स्मरण शक्ति तेज भएको पनि महसुस भएको थियो मलाई । एकचोटि पढेपछि दोस्रोचोटि पढ्नैनपर्ने सम्झन सक्ने भएकी थिएँ । मानविकी संकायको प्लस टुको परीक्षामा मैले कलेज टप गरेँ ।
कलेजमा उसलाई सबैले ‘रमेश सर’ भनेर सम्बोधन गर्थे । अन्जानमै म ‘रमेश सर’सँग नजिकिएँ । सबैको रमेश सर, मेरा लागि रमेश मात्रै हुन थाल्यो । अन्ततः प्रेमी–प्रेमिका हुँदै श्रीमान् श्रीमतीका रूपमा हाम्रो साइनोको जुइनो बाटियो ।
भालुबाँसमा नाम खोप्दा, बूढासुब्बामा सात फन्को लगाउँदा सात जुनीसम्म एक–अर्काको हुने वाचा गरेका थियौँ तर भनाइ, गराइ र भोगाइ जिन्दगीका फरक–फरक पाटा रहेछन् । भनाइ गराइसँग मिल्दो रहेनछ । भोगाइ भनाइसँग मिल्दो रहेनछ ।
हरेक मान्छे आशा र अनुमानमै जिएको हुन्छ । मैले पनि आफ्नो कर्तव्य, कोसिस, आशा, अनुमान र भरोसा डगमगाउन दिइनँ ।
सम्बन्धमा आउने शंका र भ्रमले मानिसको जिन्दगीमा डढेलो लगाउने रहेछ । भ्रम, शंका र पुरुष दम्भले मेरो जिन्दगीमा डढेलो लगायो । सायद त्यो प्रेमदिवसको दिन भएको वास्तविकता रमेशले बुझ्ने कोसिस गरेको भए यो सबै हुने थिएन ।
त्यो दिन रमेशलाई सरप्राइज दिन सपिङ गरेर फर्कंदै थिएँ, बाटोमा कसैले मेरो हात समायो । फर्किएर हेर्दा प्रदीप रहेछ । मेरो बाल्यकालको साथी । अमेरिका बसेर आएको उसले मलाई देख्नेबित्तिकै बाटोमै अँगालो मा¥यो र मेरो हात समातेरै कुरा ग¥यो ।
छेवैको हिमालयन जाभामा कफी पियौँ हामीले । छुट्टिने बेला उसले रातो फुलाफ किनेर दिँदै भन्यो, ‘ह्याप्पी भ्यालेन्टाइन डे सरिता ।’
प्रदीपले उसकी अमेरिकन श्रीमतीलाई पनि नेपाल ल्याएको रहेछ । दाजुभाउजुलाई भेट्न श्रीमतीलाई पनि लिएर घर आउँछु भन्दै ऊ बिदा भयो ।
प्रेम दिवसका दिन रमेशलाई मैले सरप्राइज दिँदा पनि उसको मुहारमा खुसी झल्किएको थिएन । हेर्दाहेर्दै ऊ मसँग बोल्न छोड्यो । किन रिसाएको भनेर धेरै सोधेँ, अन्ततः उसले मलाई परपुरुष संगतको दोष लगायो ।
त्यो दिन म कसरी भुल्न सक्छु र ? रमेशद्वारा मेरो चरित्रको मनमौजी हत्या भएको दिन । सासू–ससुरा, नन्द, अमाजू, फुपाजू, भिनाजु सबैका अगाडि मेरो चरित्रलाई मकैको घोँगा नंग्याएझैँ नंग्याएको थियो उसले ।
प्रदीप र मबीच पुरानो सम्बन्ध छ भनेर कसैले रमेशलाई झूट कुरा सुनाएको रहेछ  । मैले साँचो बताएँ । उसले पत्याएन, भन्यो, ‘तेरो प्रेमी होइन त्यो ? अब फेरि हिँड्न थालिस् ऊसँग ?’
मेरो चरित्र र विश्वासको हत्या गर्नुको कारण थियो– रमेशकी पूर्वप्रेमिका ममताको पुनरागमन । ममतासँग सम्बन्धमा खटपट भएपछि रमेशले बिहे गरेको रहेछ, ममतालाई नै देखाउन । यो घीनलाग्दो रहस्य पनि त्यहीबेला थाहा पाएँ मैले । अन्ततः रमेशले मलाई लŒयायो र ममतासँग बिहे गरेर क्यानडा गयो ।
आफ्नो दोष ढाक्न मान्छेहरू अरुलाई मनमौजी दोषी बनाउन सहजै सक्दा रहेछन् । हुँदै नभएको आरोप लगाएर मलाई ‘ओसिडी’ अर्थात् अब्सिसिभ कम्पल्सिभ डिसअर्डरको अवस्थासम्म पु¥यायो उसले ।
मानसिक तनाव सहन नसकेर आत्महत्या प्रयास गरेकी मैले यो दोस्रो जीवन पाएकी हुँ । नन्द नभएकी भए यो संसारमा मेरो अस्तित्व कहाँ रहन्थ्यो र ?
०००
मोबाइलले संकेत दियो । हेरेँ, दाइको म्यासेज रहेछ ।
नानू,
हामी सबैलाई आराम छ । तिम्रो विवाह एक वर्ष पनि टिकेन, त्यस्तो विवाहलाई के विवाह भनौँ र ? तिम्रो पुनर्विवाहका लागि धेरै समय अघिदेखि भन्दै आएको हो मैले, तिमीलाई थाहै छ । दाजु र पिता दुवैको कर्तव्य पूरा गर्नु छ मैले । तसर्थ, मेरो भावनालाई बुझिदेऊ । मेरो साथीको छोरा प्रवेश बेलायतको अक्सफोर्ड भन्ने ठाउँबाट नेपाल घुम्न आएको छ । तिम्रो फोटो देखेर तिमीलाई मनपराएको कुरा उसले तिम्री भाउजूलाई भनेको रहेछ । बेलायत फर्किएपछि तिमीलाई हेर्न आउँछ रे । अब तिमी एक्लै नबस । मामाको छोराको घरमा जाऊ म कुरा गरिदिन्छु । नानू, मिल्छ भने तिमीले घाँटीमा बनाएको चराको ट्याटु मेट्नु । उसलाई साधारण केटी मनपर्ने रहेछ ।
तिम्रो दाजु
०००
दाजुको इमेल पढेपछि मन उद्वेलित भइरह्यो । नारीवादी अर्थात् नारी अधिकारबारे वकालत गर्ने मेरो दाजुले त यस्ता कुरा गर्नुहुन्छ ? आमपुरुषको सोच झन् कस्तो होला ?
विद्यार्थी भिसामा बेलायत आएँ । संघर्ष गरेँ । साइकोथेरापी पढेँ । अहिले साइकोथेरापिस्टको जागिर छ । सानदार अपार्टमेन्टमा बस्छु । लक्जरियस गाडी चढ्छु । लोग्ने मान्छेको सहाराविना पनि म सुखी छु, खुसी छु ।
विगत आँखामा झलझली आयो र धेरैपछि आज रित्तो–रित्तो महसुस भएको छ । बेचैनीले छोएको छ । कहिलेकाहीँ मनको भँडास ओकल्न शब्दले पनि साथ दिँदा रहेनछन्, शब्द नै नभेटिने । टोलाएर, मनमा कुरा खेलाएर बसेँ । आँखामा बादल लागेछ, झरी प¥यो । झरीले पीडाको अस्तु बगाएपछि मात्र मन केही शान्त भयो ।
आँसुको कुनै नाप तौल हुँदैन तर त्यही आँसु बग्दा भारी भएको मन हलुका भयो । आखिर के सम्बन्ध छ आँसु र दुःखपीडाको, आँसु र विचारको ?
सोचाइको गहिराइमा धेरैपटक विचारले डुबुल्की मारेपछि दाइलाई जवाफ लेखेँ–
‘दाजु, म कोही कसैसँग किन डराउने ? म नारी हुँ त्यसैले ? लोग्ने मान्छेद्वारा स्वास्नी मान्छे कसरी प्रताडीत छन् भनेर मलाई राम्रोसँग थाहा छ ।
दाजु, तपाईं आफैँ भन्नुस त ! के म बजारमा बेच्न राखेको सामान हुँ ? मलाई किन हेर्न आउने उसले ? केटा पक्षले नै केटीलाई हेर्न आउनुपर्ने किन ? कुनै शारीरिक अशक्तता वा अपांगता छ कि भनेर ? हजुरलाई डर छ होइन, म एक्लै बसेको देखेर ? त्यो केटाले मलाई तिरष्कार गर्छ कि भन्ने ? एउटी छोरी मान्छे एक्लै बस्दा यो समाजले किन शंकाको दृष्टिले हेर्छ ? म तपाईंको मनोविज्ञान बुझ्छु, तपाईं मात्रै होइन, समाजले पनि मलाई यही भन्छ, छोरी मान्छे बेलायतजस्तो स्वतन्त्र देशमा एक्लै बसेकी छे, के गतिली होली र ?
स्वतन्त्रताको अर्थ सहअस्तित्वसँग जोडिएको हुन्छ । यो कुरा समाजलाई बुझाउन गाह्रो छ, आजको समयमा पनि स्वास्नीको कुमारित्व नभेटिँदा यातना दिने समाजलाई ?
दाजु, बेलायती स्वतन्त्रताको अर्थ संस्कारहीन हुनु होइन । नेपाल छोडेर पश्चिमी देशमा गएकी नारी अपवित्र हुन्छे, कुमारी रहन्न भन्ने भ्रम र शंका पुरुषको विकृत मनोविज्ञान र पुरातन सोचको उपज मात्रै हो । शंका, उपशंका र भ्रमको पिरामिडले उठ्नै नसकिने गरी थिचिएका छन् पुरुषहरू । जसरी आमपुरुषले एक्ली नारीलाई शंकाको दृष्टिकोणले हेर्छन् हजुर पनि त्यही शंका, उपशंका र भ्रमको पिरामिडले थिचिनुभएको रहेछ । नारी हक र अधिकारबारे आवाज उठाउने हजुरले के यस्तो कुरा गर्न सुहाउँछ दाजु ? हजुर जे सोच्नुस् । मेराबारे सोच्न स्वतन्त्र हुनुहुन्छ ।
तर दाजु, म म नै हुँ । कसैले पवित्र ठान्दा पवित्र हुने र अपवित्र ठान्दा अपवित्र हुने होइन । पँलासलाई पनि त मानिसहरू मन्दिरमा चढाउँदैनन् । पँलास मन्दिरमा चढाउनु हुँदैन भन्ने मानिसको दृष्टिकोण मात्र न हो । गलत बुझाइ न हो । भगवानले ‘पँलास मलाई चढाऊ’ भने पनि मानिसले पँलास मन्दिरमा चढाउँदैन किनकि त्यहाँ विश्वासको अभाव हुन्छ ।
 म कसैलाई मेरो चारित्रिक प्रमाणपत्र देखाइरहन सक्दिनँ । मैले मेरो आत्मसम्मान, अस्मिता र इज्जतलाई धमिल्याएकी छैन । यिनै चिज मेरा स्वाभिमान र अभिमान हुन्, म दृढ छु । मैले लेखेका स्वतन्त्रताका कुराका आधारमा मेरो चारित्रिक विशेषताको मापन बिन्ती नगर्नु होला दाजु, तपाईंले जे सोचेर मेरो नाम सरिता राखिदिनु भयो म अझै त्यही सरिता हुँ जसलाई रमेशबाहेक अन्य कुनै पुरुषले अहिलेसम्म स्पर्श गरेको छैन ।
यो कुरा म बाहिरी दुनियाँलाई बताउँदै हिँड्न सक्दिनँ । स्कुल जान भनेर घरबाट हिँडेकी म साथीहरूको लहैलहैमा लागेर आफू पढ्ने स्कुल नगई अलि परको वरबोटे स्कुल गएकी थिएँ नि, याद छ हजुरलाई ? हेडसरले मलाई वरबोटे स्कुलबाट फर्कंदै गरेको देखेपछि हजुरलाई पोल लगाउँदा मैले म गएको होइन भनेर झुट बोलेकी थिएँ नि, हजुरसँग । त्यो बेला हजुरले भन्नुभएको थियो, ‘झूट बोल्नु हुँदैन नानी । झूट बोल्नु भनेको ठग्नु हो, आफैँलाई छल्नु हो । ‘अब भन्नुस् दादा, कसैकी श्रीमती भइसकेकी म कुमारी केटी हुँ भनेर कसरी भनौँ ? त्यो केटासँग झूट बोल्न गाह्रो नहोला मलाई तर कमसेकम आफैँलाई छल्न त सक्दिनँ म । आफ्नै आत्म सम्मानसँग हारेर म कतिञ्जेल शान्तिको श्वास फेर्न सक्छु र ? कुमारी हुनुको प्रमाण देखाएर आफैँलाई बेच्न सक्दिनँ, किनकि म कसैले बेच्न राखेको सामान होइन ! मेरो चारित्रिक प्रमाणपत्र देखाएर आफू आफ्नै आत्मसम्मानसँग हारेर आफैँलाई अरुसँग बिकाउनु छैन मलाई । म कसैको बन्धनभित्र आफूलाई बन्धक बनाउन चाहन्नँ । कसैको शारीरिक र मानसिक शोषणमा फस्न चाहन्नँ ।
अस्ति भर्खर साथीको दाइले जापानबाट फोन गरेर भन्नुभयो ‘भान्जी, सुजा शर्माबारे यसो बुझ्नुप¥यो । युकेमा कोसँग बसेकी हुन्, केटा साथीहरू के–कस्ता छन्, विशेष सुजा कस्ती खाल्की केटी हो ? एउटा भाइले मनपराएको छ । आजकाल एक्लै बस्ने केटी, अलिअलि त बुझ्नुप¥यो नि भान्जी !’
नारी र पुरुषप्रतिको सामाजिक दृष्टिकोण अनि दायराको समानता कति विभेदपूर्ण छ यहाँ । मामाले भन्नुभएको केटो जापानमा छ, सुजा शर्मा बेलायतमा । मलाई थाहा छ, त्यो केटाले सुजा शर्माको पवित्रताको मापन गर्न खोजेको हो । के त्यो केटा चाहिँ पवित्र होला र ?
त्यो केटाले पनि मलाई हेर्न आउनुको कुनै तुक छैन । यदि कुनै पुरुषले कसैको कुमारित्वमाथि प्रश्न उठाउँछ भने उसले पनि आफू कुमार छु कि छुइनँ भन्ने कुराको हेक्का राखोस् । माफ गर्नु होला दाजु ! मेरो पनि आफ्नो आत्मसम्मान छ । आफ्नो स्वतन्त्र विचार छ । वैवाहिक साइनोको साँघुरो बाटोमा म आफ्नो जिन्दगीको गाडी हाँक्न सक्दिनँ । एकपल्ट जिन्दगीमा ब्रेक लागिसकेको छ, बडो मुस्किलले मैले गति लिएकी छु, अब मेरो जिन्दगीको गति लिने गियर कुनै पुरुषको हातमा सुम्पिन सक्दिनँ । म धर्म र संस्कारको विरोधी कदापि होइन । धर्मका नाममा कुसंस्कारलाई अँगाल्न पनि सक्दिनँ । बेलायती संस्कारले छोएर मेरो सोच नारी प्रधान भएको नठान्नु होला । समयले आधुनिक बनाएका दीक्षित पुरुषको मस्तिष्क पनि नारीप्रति श्वेत छैन भने त्यस्तो पुरुषलाई म फेरि कसरी अँगाल्नु दाजु ? पुरुषको विकृत मनोविज्ञान बुझ्दाबुझ्दै थाकेकी छु म । अब कुनै पुरुषकी स्वास्नी बन्न सक्दिनँ र अर्को पुरुषलाई जन्म दिन चाहन्न । समाजमा विद्यमान पुरुषवादी सोच र चिन्तन मैले अनुभव गरेकी छु ।
माफी चाहन्छु दाजु ! धेरैचोटि भन्ने कोसिस गरेँ । साहस जुटाउन सकेकी थिइनँ मैले । अन्ततः आज साहस बटुलेर यो म्यासेज लेख्दै छु । अन्त्यसम्म पढी दिनुहोला है ।
नारीको त्याग, तपस्या र बलिदानलाई कुनै पुरुषले किन बुझ्दैन दाजु ? नारी नै धर्ती हो । नारी नै आमा हो । नारी नै दिदी बहिनी हो । नारी नै श्रीमती हो भन्ने सत्यतालाई बुझेर पनि किन नकार्छन पुरुषहरू ? स्वास्नी हुँदाहुँदै परस्त्रीगामी हुन्छन् पुरुषहरू किन ? के कामाग्नि र सुन्दरताकै लागि हो त ? पल्लाघरे भाउजूले तीन सन्तान जन्माएपछि दुर्गानाथ दाइले दोस्रो बिहे गरेका ?
सुत्केरी हुन नसकेर मृत्युवरण गरेकी मन्दिराको लोग्नेले स्वास्नी मरेको १३ दिनकै दिन फूलमाला गरेको ? धर्मकला काकी माइत गएका बेला गणेश काकाले बिरामी बुहारीलाई बलात्कार गरेका ? हरिशरणले छोरी बलात्कार गरेको ? संसार पुरुषविना चल्दैन तर दाजु यो संसारमा पुरुषकै माझमा भए पनि पुरुष जातलाई घृणा गर्छु म । दाजु, हजुरले नै भन्नुभएको हो, उसले मेरो फोटो देखेर बिहेको प्रस्ताव राखेको भनेर, अनि फेरि किन मलाई हेर्न आउनू ? म कस्ती छु भनेर त उसले देखिसक्यो । मलाई थाहा छ, म कोसँग र कसरी बसेकी छु, ऊ त्यही हेर्न चाहन्छ र मेरो चरित्रको मापन गर्न चाहन्छ । विवाह अघि शारीरिक सम्पर्कबाट अछुतो रहेका पुरुष अपवाद मात्रै होलान् । त्यो केटाले अहिलेसम्म आफूलाई कतिचोटि नांगो बनाएको छ वा छैन, आत्मा साक्षी राखेर भनोस् । र मात्र कुनै नारीसँग विवाह गर्नुपूर्व उसको चरित्रको अड्कल काटोस् ।
पुरुषहरू किन बुझ्दैनन्, जसरी पुरुषहरू कुमारी श्रीमती चाहन्छन्, त्यस्तै श्रीमतीहरू पनि हुनेवाला श्रीमान् कुमार नै चाहन्छन । दाइ, यदि त्यो केटाले आफू कुमार हुनुको प्रमाणपत्र लिएर आउँछ भने म पनि आफू कुमारी हुनुको मेडिकल परीक्षणसहितको प्रमाणपत्र देखाउँछु । कस्तो आधुनिक खोल ओडेको पुरुष हो ऊ, अमेरिकामा बस्दै आएको उसले आफू चाहिँ कुमार छु कि छैन भन्ने कुराको हेक्का राख्यो कि राखेन होला ?
तपाईंलाई थाहा छ दाइ ? हाम्रो देशमा नारी हिंसा किन हुन्छ ? नारी पाइतालाको धुलो हो भन्ने सोचले, नारीप्रतिको पुरातन सोचले, दाइजो प्रथाले र कतिपय संस्कारका आडम्बरी कथनहरूले !
विवेकी छन्, पुरुषहरू तर विवेकको सही उपयोग गर्न जानेका छैनन् उनीहरूले । पुरातन सोचले दम्भ र अहंकारी भएका छन् उनीहरू र त आधुनिक समाजमै रहेर पनि पुरुषसँग नजिक रहेका नारी सबै बिटुला हुन्छन् भन्ने भ्रमले आक्रान्त हुन्छन् । मनको भँडास निकाल्न नारी शोषण गर्छन् । नारी शब्द र नारी शरीरलाई किन विकृत मनोविज्ञानले हेर्छन्, बुझ्छन् पुरुषहरू ! नारी कोख नै हरेक पुरुषको पहिलो घर हो भन्ने सत्यतालाई किन भुल्छन् पुरुषहरू ?
मेरो चाहनाको कदर गर्नुहुन्छ भने अझै पनि म भन्छु, ‘म विवाह गर्न चाहान्न दाजु ।’ तर तपार्इंहरूको चाहनाविरुद्ध जान सक्ने हिम्मत पनि छैन मसँग । तपाईंका लागि म मेरो आत्मनिर्णयको अवज्ञा गर्न तयार छु । मलाई पुरातन लोग्ने होइन, लोग्नेका रूपमा साथी र अभिभावकको अपेक्षा छ । यदि उसले पनि आफू कुमार हुनुको प्रमाण दिन सक्छ भने म ऊसँग विवाह गर्न तयार छु । होइन भने मलाई लोग्ने मान्छेको सहारा चाहिँदैन ।
दाजु, आशा छ तपाईं र भाउजूले मेरो आत्मनिर्णयको कदर गर्नुहुनेछ ।’
म्यासेज लामो भएछ । एकैपटक गएन । पटक–पटक गरेर पठाएँ । हप्ता दिनसम्म पनि दाजुको  फोन, म्यासेज केही आएन । भाउजूसँग कुरा हुँदा थाहा पाएँ, दाजुलाइ त हृदयघात भएर अस्पताल लगिएको रहेछ ।
धेरै दिनपछि आज लन्च ब्रेकमा इमेल खोलेँ, भर्खरै दाजुको इमेल आएको रहेछ । लेखिएको थियो–
‘सरिता, म सन्चो हुँदै छु । तिम्रो इमेलले मलाई सोच्न बाध्य बनायो । यदि हरेक पुरुषले नारीले जस्तै गहन ढंगले सोच्ने भएको भए सायद कुनै नारीको आत्मसम्मानमा चोट पुग्दैनथ्यो । तिमीले सही भनेकी छौ– यो समाजलाई रतन्धो लागेको छ । रतन्धो लागेका मेरा आँखाको उपचार तिम्रो दिव्य सोचले भयो । नानू,  पुरुषलाई तिमी घृणा गछ्र्यौ र विवाहले तिम्रो आत्म–सम्मानमा चोट पु¥याउँछ जस्तो लाग्छ भने विवाहको निर्णय म तिम्रै जिम्मामा छोड्छु र तिम्रो आत्मनिर्णयको सम्मान गर्छु ।  तर नानू,  सबै पुरुष तिमीले सोचे र बुझेजस्ता विकृत नहुन पनि सक्छन् । फेरि पनि एकपल्ट विचार गर । तिम्रो विचारको उच्च कदर हुनेछ ।’
तिम्रो दाजु ।

प्रकाशित: ७ आश्विन २०७४ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App