२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

मुकुन्डोका एक्ला सारथि

मुकुन्डो बनाउँदै पूर्ण चित्रकार तथा उनका छोरा राजेश । अमूर्त सम्पदा जोगाउन छलफल गर्दै विदेशीसहित सरोकारवाला ।

७१ वर्षे कलाकार पूर्ण चित्रकार भने साना कुची रङमा चोपल्दै मुकुन्डोलाई आकार दिन व्यस्त भेटिन्छन् । कसैले बोलाए टाउको उठाएर जवाफ दिने फुर्सद उनलाई छैन । उनी टाउको निहुराएरै निरन्तर देवीका मुकुन्डोमा रङ भरिरहन्छन् ।

‘यो एउटा अमूर्त सम्पदा हो भन्ने सरकारले बुझेकै छैन,’ उनले भने, ‘स्थानीयको पहिचान मात्र होइन, देशको एउटा सम्पत्ति हो, दुर्गानाच भनेर सरकारले बुझ्नुप¥यो ।’

देवताको मुकुन्डो बनाउन उनले आफ्ना हजुरबा शिवलालबाट सिकेका हुन् । ‘हजुरबाले काम गर्दा हेरिहेरी सिक्थेँ,’ उनी भन्छन्, ‘पछि बुवाले त्यो काम नगरेपछि भने सिकाइ रोकियो ।’
मुकुन्डो बनाउने कला सिक्ने उनको हुटहुटीलाई उनकै बैनीका ससुरा विष्णुबहादुरले पूरा गरिदिए । सिकिसकेपछि उनले १५–१६ वर्षकै उमेरमा देवीनाचको मुकुन्डो बनाउने जिम्मा पाए, स्थानीय गुठीबाट ।
०२० सालदेखि अहिलेसम्म निरन्तर मुकुन्डो बनाउन उनी लागिपरेका छन् । उनका तीन छोरामध्ये दुईले मुकुन्डो बनाउने काममा कुनै चासो नै दिएनन् । तर माइला छोरा राजेश भने कक्षा दश पढेपछि बुबालाई सघाउन जुटे ।
‘यो पेसा धर्म र संस्कार जोगाउन म निरन्तर लागेँ,’ पूर्ण भन्छन्, ‘पारिश्रमिक नै नभएपछि कसरी काम गर्ने ?’
नेवारी संस्कारको एउटा अभिन्न अंग हो, मुकुन्डो । ठ्याक्कै देवीदेवताझैँ स्वरूप, प्राण प्रतिष्ठा गरेपछि त त्यसमा देवताको बास नै हुन्छ । कुनै उडन्ते रङको सिँगार पनि होइन । प्रकृतिका निख्खर रङले सजाएर बनाइने मुकुन्डो विशेषगरी नेवार समुदायका हरेक धार्मिक संस्कारमा नभई हुँदैन ।
विभिन्न खालका मुकुन्डोमध्ये नवदुर्गा नाचलाई चाहिने नौ दुर्गासहित तेह्र मुकुन्डो उनले नै बनाउने गर्छन् । यी मुकुन्डो बनाउन तीन महिना लाग्छ । जसका लागि सरकारले मात्र १५ हजार रुपैयाँ दिन्छ । स्थानीय गुठीले केवल ५० हजार सहयोग गर्छ । आफ्नो जिम्मामा परेको काम र धर्म संस्कार धान्ने कडी भएकाले उनी आफ्नै खर्चमा यो पेसा धानिरहेका छन् । ‘मुकुन्डो बनाएर बजारमा व्यापार नै गरेको भए ठूलै धन कमाउँथे होला,’ उनी भन्छन्, ‘यसमा धन होइन, धर्म र संस्कृतिजस्तो अमूर्त सम्पदा छ, छाड्न सक्दिनँ ।’
उनका अनुसार नवदुर्गा नाचको मुकुन्डो बनाउन चार लाख रुपैयाँ खर्च लाग्छ । जति हामीले पाउँछौँ, त्यो त माटो किन्न र माटो मसिनो बनाउँदा कर्मीलाई दिने बेला नै सकिन्छ,’ छोरा राजेश चित्रकार थप्छन्, ‘थोरबहुत अर्डरका अन्य मुकुन्डो बनाएको पैसा यतै खर्च हुन्छ । भक्तपुरमा रहेका उनीजस्ता चित्रकार समुदायले भने भगवान्का चित्र बनाउने, बुट्टा कुँद्ने काम गर्छन्, जसमा दुर्गानाचको मुकुन्डो बनाउनेजति खर्च हुँदैन । जसबापत् नाचकै बखत बिमिरो प्रसाद पाउँछन् । तर, पूर्णले त्यो प्रसाद पनि पाउँदैनन् । पूर्ण चित्रकार बाँचुन्जेल दुर्गा नाचको मुकुन्डो बनाउन नछाड्ने अडानमै छन् । छोरा राजेश भने अन्योलमा छन् । ‘बुबाकै लागि सहेका छौँ, अब मैले के गर्छु थाहा छैन,’ उनी सुनाउँछन्, ‘पूरै खर्च धान्ने मेसो भए निरन्तरता दिन्छु, नत्र अरु नै व्यवसायको काम गर्छु ।’
पूर्ण चित्रकारले मुकुन्डो बनाउन छाडे भने धार्मिक परम्परा नै रोकिने अवस्था आउने स्थानीय संस्कृतिविद् ओमप्रसाद धौभडेल बताउँछन् । ‘यो एउटा अमूर्त सम्पदा हो भन्ने सरकारले बुझेकै छैन,’ उनले भने, ‘स्थानीयको पहिचान मात्र होइन, देशको एउटा सम्पत्ति हो, दुर्गानाच भनेर सरकारले बुझ्नुप¥यो ।’ नत्र चित्रकारको मृत्युपछि यो सम्पत्ति नै विलुप्त हुने अवस्थामा पुग्ने उनले सुनाए । दुर्गानाचको धेरै खर्च स्थानीयस्तरमै जुटाए पनि सबै खर्च व्यहोर्न नसक्ने अवस्थामा रहेको उनले बताए ।
 

यसरी बन्छ मुकुन्डो
मुकुन्डो बनाउने आफ्नै विधि छ । ज्योतिषले सुरुवातमा देवता बन्ने वनमाला तोक्छन् । वनमाला समुदायका छोरा मान्छे नवदुर्गासहित सूर्य, गणेश, महादेव र भैरव देवताको भूमिकाका लागि चयन हुन्छन् । त्यसपछि माटो ल्याउने गाउँबाट कुश्ले समुदायले बाजागाजासहित तेह्र देवताको मुकुन्डोमा प्रयोग हुने माटो लिएर आउँछन् । जुन पूर्ण चित्रकारको घरमा महादेवको पूजा गरी प्रतिस्थापन गरिन्छ । माटोसँगै वनमालाहरूलाई घरमा पूजा गरी बिदा गरिन्छ ।
चित्रकारका अनुसार माटोलाई पहिलो घाममा हल्का हुने गरी सुकाइन्छ र काठको हम्बरले कुटेर मसिनो पारिन्छ । त्यसमा कपास र सुतीका कपडा मिसाएर पानी हाल्दै कुटेर लेसाइलो बनाइन्छ ।
‘अनि बाँसको लौरीले रोटी बेलेर गोलाकार रूपमा ढालिन्छ,’ चित्रकार भन्छन्, ‘त्यसलाई मुकुन्डो बनाउने साँचोमा राखेर आकार दिइन्छ ।’ हरेक देवताको फरक–फरक साँचो हुन्छ । बाहिर सेतो कपडाले छोपेर रङ लगाएर घाममा सुकाइन्छ । सुकेपछि त्यसमा देवताको प्रकृतिअनुसार रङ भरिन्छ । अष्टधातुमा सुनचाँदीको जलपसँगै विभिन्न खनिज पदार्थ तथा प्राकृतिक रङको लेप मुकुन्डो सजाउन प्रयोग गरिन्छ । मुकुन्डो बनाएको काम कसैलाई नदेखाई गोप्य रूपमा चित्रकारले गर्नुपर्ने हुन्छ । जात्राअघि मुकुन्डो हेर्न हुन्न भन्ने मान्यता रही आएको छ ।
यसरी हुन्छ दुर्गा नाच
दसैँदेखि नौ महिना चल्ने दुर्गानाचको मुकुन्डो दशमीका दिन तलेजु भवानीले सिद्ध गरेपछि त्यसमा भगवतीको प्राण–प्रतिष्ठा भएको मानिन्छ । दशमीको बिहान देवता बन्ने वनमाला बाजागाजासहित मुकुन्डो लिन आइपुग्छन् । लगत्तै ब्राह्मणी मन्दिरमा जात्रा चल्छ । साँझपख भने वनमाला तलेजु भवानी मन्दिरमा त्यही मुकुन्डो लगाएर पुग्छन् । त्यो रात तलेजुबाट निस्केको सेतो घोडासँगै पछि–पछि वनमाला दगुर्छन् । नगर परिक्रमा गरेपछि फेरि तलेजुमै फर्केर समापन गरिन्छ । त्यो दिनको पूजा सके पनि नौ महिनासम्म विभिन्न देवी प्रतिष्ठान भएका क्षेत्रमा दुर्गानाच गरिन्छ । दुर्गानाचमा देशकै प्रमुख पुगेर अवलोकन गरी पूजा गरेर शक्ति अनुष्ठान गरिने चलन छ । हरियो रङको वैष्णवी, हरियो रातो मिसिएको भद्रकाली, रातो महाकाली, सुन्तला रङको इन्द्रायणी लगायत नौ दुर्गाको फरक–फरक मुकुन्डो हुन्छन् । त्यसमा विशेष प्रकृतिको जुँगा भएको महादेव, कालभैरव, गणेश र सूर्य भगवान्को मुकुन्डोले शक्ति सन्तुलन गर्छन् । लिच्छविकालमा नेपाल मण्डलको राजधानी भक्तपुर थियो । त्यस समय राजा कमलदेवले नेपाल मण्डलको चारैतिर सुरक्षाका लागि अष्मात्रिकाको स्थापना गरेको किंवदन्ती छ । पछि मल्ल राजा सिद्धिनरसिंह मल्लले जात्रा जनताका लागि पनि खुला गरेका थिए । ‘दसैँका बेला नवदुर्गा नाच गरेर चारैतिरको शक्ति जगाउँदै नेपाल मण्डलको सुरक्षा गर्ने चलन बसेको हो,’ संस्कृतिविद् ओमप्रसाद धौभडेलले थपे ।
नवदुर्गानाचकै क्रममा हुने नाचमध्ये नवदुर्गा नाच धार्मिक महŒवको हुन्छ । भैरवनाच, लाखेनाच लगायत भने मनोरञ्जनका लागि नाचिन्छ । नवदुर्गा नाच अवधिमा टोलटोलमा भोज गर्ने, पूजा गर्ने अनि जात्रा मनाउने चलन छ । जसका क्रममै माछा मार्ने जात्रा लगायत मनोरञ्जनात्मक जात्राले स्थानीयमा फरक खुसी भर्छ । सुन्दरीजल, टोखा, ठिमी, पनौती, देवपाटन, गोरखा लगायत स्थानमा पुगेर नवदुर्गा नाच गरिन्छ । नवदुर्गा नाचको महŒव धार्मिक मात्र नभई, राजनीतिक पनि रहेको इतिहासका चलनले बताएको संस्कृतिविद् धौभडेल सुनाउँछन् । आफ्नो राज्यमा शक्तिशाली जिउँदा देवी–देवताले सुरक्षा गर्छन् भनेर छिमेकी राज्यलाई त्रासमा बाँधेर राख्ने काम नवदुर्गा नाचले गरेको उनी बताउँछन् ।
यो नाचको मुटुका रूपमा रहेको मुकुन्डो बनाउने काम नै संकटमा पुग्न थालेकाले जगाउने अभियान थालिएको युनेस्को आबद्ध विभिन्न देशका क्लब महासंघका वरिष्ठ उपाध्यक्ष दीपक सरकारले बताए । उनीसहित फिजी, नेदरल्यान्ड, चीन लगायतका संरक्षणकर्मीले बिहीबार पूर्ण चित्रकारको मुकुन्डो बनाउने स्थलको अवलोकन गरे । यसको संरक्षणमा गर्नुपर्ने पहलका लागि छलफल र अन्तक्र्रिया समेत गरिएको थियो । अमूर्त सम्पदा संरक्षणको उपाय सिक्न राजधानीमा जम्मा भएका २५ सहभागीले पनि मुकुन्डोको सांस्कृतिक महŒवबारे जानकारी लिएका थिए ।

प्रकाशित: २४ भाद्र २०७४ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App