१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सुरु भएन निर्माण, सकिनै लाग्यो समय

तस्बिर : दिपेन्द्र रोक्का

विश्वसम्पदामा सूचीकृत सम्पदाको पुनर्निर्माण सुरु गर्न युनेस्कोले दिएको समयसीमा नजिकिए पनि सरकारले निर्माण अघि बढाएको छैन। 

युनेस्कोले तोकेको समयमा सम्पदा पुनर्निर्माण सुरु नहुँदा उपत्यका सम्पदा खतराको सूचीमा पर्ने सम्भावना बढ्दै गएको छ। 

संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनर्निर्माण सुरु गर्न समयसीमा तोकेको छ । युनेस्कोले दिएको समय दुई साता मात्र बाँकी रहँदा पनि सरकारले सम्पदाको पुनर्निर्माण सुरु गरेको छैन। 

करिब डेढ महिनाअघि पोल्यान्डमा भएको विश्वसम्पदा सम्मेलनमा युनेस्कोले सेप्टेम्बरसम्म उपत्यकाका सबै सम्पदाको पुनर्निर्माण सुरु नगरे खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । सम्मेलनअघि नेपाल आएको युनेस्को टोलीले सम्मेलनबाटै उपत्यकाका सम्पदालाई खतराको सूचीमा राख्न सिफारिस गरेको थियो । सम्मेलनमा नेपालले समयमै पुनर्निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएपछि खतराको सूचीमा पर्नबाट नेपाली सम्पदा जोगिएका थिए। 

सम्मेलनमा नेपालले अनुरोध गरेर सम्पदा खतराको सूचीमा नपरे पनि अब भने रोक्न गाह्रो हुने देखिएको छ । दुई वर्षअघिको भूकम्पले क्षति पुगेका अधिकांश सम्पदा पुनर्निर्माण सुरु नहुँदा पछिल्लोपल्ट नेपाल आएको युनेस्को टोली तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको छ। 

संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनर्निर्माण सुरु गर्न समयसीमा तोकेको छ । सेप्टेम्बर सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा पनि सरकारले विश्वसम्पदामा सूचीकृत सम्पदाको पुनर्निर्माण सुरु गरेको छैन। 

पुरातत्त्व विभागले भने पुनर्निर्माणमा खासै सक्रियता देखाएको छैन । अधिकांश सम्पदाको पुनर्निर्माण सुरु भएको छैन भने भएकाको पनि गति सुस्त छ। 

भूकम्पको दुई वर्षपछि पनि पाटन, ललितपुर र भक्तपुर दरबार क्षेत्रका धेरैजसो सम्पदा टेकोकै भरमा छन् । पाटनको भीमसेन मन्दिर, मणिमण्डपका दुईवटा पाटी, पाटन दरबार भवन पुनर्निर्माण अघि बढेको छैन। 

‘अबको १५ दिनसम्म यहाँका सम्पदा पुनर्निर्माण थालिएन भने युनेस्कोले खतराको सूचीमा पार्ने देखिन्छ,’ पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखेले भने, ‘हामीले यहाँका सम्पदा पुनर्निर्माण थाल्न पुरातत्त्वलाई धेरैपटक हारगुहार गरिसक्यौँ, अहिलेसम्म काम भएन।’

वसन्तरपुर दरबार क्षेत्रका काष्ठमण्डप, माजुदेग मन्दिर, लक्ष्मीनारायण मन्दिर, दश अवतार मन्दिरलगायत सम्पदा पुनर्निर्माण पनि अलपत्र छ । विभागले यी सम्पदाको कसरी पुनर्निर्माण गर्ने भन्नेबारे खाका समेत तयार गर्न नसकेको वसन्तपुरका स्थानीय सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए। 

उनले अहिले उपत्यकाका धेरैजसो सम्पदा ठेक्कामा दिएका कारण पुनर्निर्माणमा गल्ती देखिएको जानकारी दिए । ‘ठेक्का प्रथाले सम्पदाको मौलिकता हराउँदै गएको छ,’ उनले भने, ‘ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्न सकेसम्म ठेक्कामा नदिँदा राम्रो हुन्छ।’ 

सम्पदा संरक्षणमा सरकारी लापरबाहीका कारण यसअघि पनि उपत्यकाका सम्पदा खतराको सूचीमा परिसकेका छन् । सन् १९९३ र सन् १९९५ मा युनेस्कोले सम्पदा क्षेत्रमा अनियन्त्रित भवन निर्माण गरेको भन्दै सूचीबाट हटाउने चेतावनी दिएको थियो । त्यसपछि पनि युनेस्कोले पटकपटक चेतावनी दिएको थियो । सन् २००४ देखि २००७ सम्म युनेस्कोले उपत्यकाका सम्पदालाई खतराको सूचीमै राखेको थियो।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषराज आचार्यले युनेस्कोले खतराको सूचीमा राख्दा विश्वभर नेपालबारे नकारात्मक सूचना जाने बताए । ‘युनेस्कोले दिएको मापदण्ड पालना गर्न खासै कठिन छैन,’ उनले भने, ‘अहिलेसम्म काम थालेको भए कम्तीमा नेपालबारे गलत सूचना त जाने थिएन ।’ उनले अझै पनि १५ दिन समय भएकाले खतराको सूचीबाट जोगाउन सकिने बताए।

पुरातŒव विभागका प्रवक्ता रामबहादुर कुँवरले स्थानीयको विवादले सम्पदा पुनर्निर्माण अल्झिएको बताए । ‘धेरैजसो सम्पदा पुनर्निर्माणको काम सुरु भइसकेको छ,’ उनले भने, ‘काण्ठमण्डप र वसन्तपुरका केही सम्पदा पुनर्निर्माणमा स्थनीयले अवरोध गरेका छन् ।’ उनले सेप्टेम्बरसम्म सबै सम्पदाको काम थाल्ने बताए । ‘युनेस्कोले दिएको चेतावनीलाई ख्याल गरेर काम भइरहेको छ,’ कुँवरले भने, ‘कुनै पनि हालतमा खतराको सूचीमा पर्न दिन्नौँ।’ 

 

प्रकाशित: १६ भाद्र २०७४ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App