१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कोखप्रति अन्याय

नेपाल परिवार नियोजन संघले वर्षाैंदेखि ‘हामी दुई हाम्रा दुई’ र ‘छोरा हुन् वा छोरी सन्तान बराबरी’ नारालाई रेडियो/टिभीमा धन्काइरहेको वर्षौं भयो । यी नाराले नेपाली समाजमा कस्तो प्रभाव पार्यो ? कस्तो सन्देश दियो ? यसको लेखाजोखा हुँदै गर्ला । अहिलेसम्म परिवार नियोजनको उद्देश्य धेरैभन्दा धेरै बच्चा जन्माउनु हुँदैन, धेरै जन्माउँदा तिनको उचित लालनपालन र शिक्षादीक्षा दिन सकिँदैन भन्ने हो । र, नेपालले त्यही मान्यतामा काम गर्दैआएको छ । यसबाहेक नेपालमा पुरुषको भन्दा महिलाको संख्या धेरै छ, महिलाहरू धेरै छन् भन्ने बुझाइ पनि छ तर हामी जनसंख्या असन्तुलनको ठूलो संकटको संघारमा छौँ भन्ने धरातलीय यथार्थमा चिन्ता देखिँदैन ।
पितृसत्तात्मक समाजमा वैतरणी तर्न छोरा चाहिन्छ भन्ने धार्मिक–सामाजिक मान्यताका कारण पछिल्लो दुई दसक यता गर्भमै छोरा र छोरी पत्ता लगाउने अनि छोरी भए फाल्ने प्रवृत्तिले आकार लिएको देखिन्छ । २०५७ सालमा आमाको स्वास्थ्यमा असर गर्ने, आमाले पाउन नचाहेका गर्भ तुहाउन सकिने लगायतका सर्तहरूमा रहेर १२ हप्तासम्मको गर्भ तुहाउन सक्ने कानुनी व्यवस्था अस्तित्वमा आएपछि लिङ्ग छुट्याएर भ्रूण हत्या गर्ने चलन बढेको व्यवहारमा देखिएको छ र यस तथ्यलाई तथ्याङ्कले पनि पुष्टि गरेको छ । ‘नागरिक परिवार’ले यस पटक यही मुद्दामाथि केन्द्रित रही ० देखि १४ वर्ष उमेर समूहमा देखिएको केटा र केटीको फराकिलो अन्तरलाई मसिनोसँग केलाएर पस्कने प्रयास गरेको छ । परिवारले अध्ययन गरेका ३२ जिल्ला र ४९ नगरपालिकाहरूको जनसंख्याको तुलना गर्दा हामी नेपाली छिमेकी भारत र चीनको जस्तो महिला–पुरुषको ठूलो भिन्नताको खाडलमा फँस्दै गएको देखाउँछ । परिवारले तयार पारेको तथ्याङ्कका आधारमा  समाजशास्त्री प्राडा कृष्ण भट्टचन, जनसंख्याविद् डा. रुद्र सुवाल, जनसंख्याविद् प्राडा रामशरण पाठक र प्राडा योगेन्द्र गुरुङले विश्लेषण गरेका छन् । विज्ञहरूले यस विकराल समस्याको बेलैमा सम्बोधन नभए त्यसले समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक समस्या निम्तने खतरा औँल्याएका छन् ।
जनसंख्यामा देखिएको यस्तो अन्तरका पछाडि छोरा प्रतिको चाह बढी जिम्मेवार छ र त्यसलाई मलजल गरेको छ, अल्ट्रासाउन्ड गरेर लिङ्ग छुट्याउने र छोरी भए एबोर्सन गरिदिने चिकित्सकले । कानुनले १२ साता पछिको गर्भ तुहाउन नमिल्ने भनेको छ तर यहाँ प्रविधि प्रयोग गरेर प्राविधिकहरूले १२ हप्तापछिको गर्भमा के भनेर छुट्याइदिने धन्दा चल्दो छ । त्यसैले गर्भमा रहेको लिङ्ग छुट्याउने र त्यसलाई राख्ने कि फाल्ने जुन प्रथा चलिरहेको छ, त्यसको अन्त्य हुन आवश्यक छ । दम्पतीलाई यस्तो अधिकार दिनु हुँदैन । कानुनले अब त्यस्तो अधिकारलाई नियन्त्रण गर्नुपर्छ ।
१२ हप्तामाथि पनि कानुन छलेर कालो धन्दा चलाइरहेका कैयौँ उदाहरणहरु छन् । उनीहरुमाथि सशक्त कारबाही भएको पाइँदैन । गर्भपतन गराउन पाउने अधिकारको कुन हदसम्म प्रयोग र कति दुरुपयोग भएको छ, त्यसको लेखाजोखा र कारबाहीको जिम्मेवारी सरकारको हो । जहाँ प्रविधि छ, प्राविधिक छन्, त्यहाँको केटा र केटीको संख्यामा ठूलो भिन्नता हुनुको अर्थ हो– प्रविधिको दुरुपयोग भइरहेको छ । यस्ता धन्दा अहिले सहरमा केन्द्रित छन्, यो क्रम बिस्तारै ग्रामीण क्षेत्रमा फैलन समय लाग्ने छैन । त्यसैले समाजमा छोरा वा छोरी दुवै बराबरी हुन् भन्ने भावनाको विकास गराउनुपर्ने आवश्यकता छ । यसलाई अभियानका रुपमा अघि बढाउन ढिला भइसकेको देखिन्छ । गर्भमा छोरा भए राख्ने छोरी भए फाल्ने प्रचलनबाट छोराहरूको संख्या बढ्नेछ । यस्तो अवस्थामा बुहारी पाउन कठिन हुनेछ । हाम्रो समाज अहिले त्यही दिशामा उन्मुख छ । त्यसैले तत्काल हरेक दम्पती, परिवार, समाज र समग्रमा राष्ट्रिय सोचमै सुधार आवश्यक छ ।
विकराल सामाजिक समस्याबाहेक हामीले परिवारको यस अंकमा खानपान, रहनसहन, घुमफिर, फेसन, स्वास्थ्य लगायतका नियमित समसामयिक सामग्री प्रस्तुत गरेका छौँ । यसै अंकदेखि हामीले नयाँ स्तम्भ फेसन टक सुरु गरेका छौँ । यसलाई पाठकहरुले रुचाउनु नै हुनेछ ।
 

प्रकाशित: ११ भाद्र २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App