१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

वीरमा सावरकरको सञ्जीवनी

घाँटीसम्म सेतो कपाल। हँसिलो मुहार।  मध्यम कद। कालो सर्टमा सजिएका ५५ वर्षीय सावी सावरकर गत साता गोकर्ण फरेस्ट रिसोर्टको हरियालीलाई क्यानभासमा उतारिरहेका थिए। रिसोर्टको शान्त हरियालीमा उनी समानताको सन्देश दिने चित्र कोर्न व्यस्त थिए।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले आयोजना गरेको सार्क कला सम्मेलनमा नेपाल आएका सावरकर अलग पहिचान बोकेका भारतीय कलाकार हुन्। दलित समुदायमा जन्मिएका उनले बहुसंख्यक हिन्दू धर्मावलम्बी रहेको भारतमा सानैदेखि विभेद भोगे।

सानैदेखि रङ मन पराउने उनले रङमा समेत विभेद भेटे। क्यानभास र कुची चलाउनेहरूले कथित उपल्लो जातिलाई उत्कृष्ट र कथित तल्लो जातिलाई निकृष्ट रूपमा प्रस्तुत गरेको भेटे।

सामाजिक विभेदको छायामा बाल्यकाल बिताएका उनलाई हजुरआमाले विद्रोहको भाषा बोल्ने प्रेरणा दिइन्। ‘सानामा हजुरआमाले हाम्रो समुदायमाथि हुने अन्याय र अत्याचारबारे सुनाउनुहुन्थ्यो,’ सावरकर भन्छन्, ‘कसैको हेपाईलाई कसरी प्रतिक्रिया दिने भनेर पनि सिकाउनुभयो।’ हजुरआमामार्फत विभेदविरुद्ध लड्ने प्रेरणा पाएका उनले आफ्नो पालामा भने पहिलेभन्दा फरक खालका विभेद मौलाएको पाए। आफैँले धेरैखाले विभेदको सामना गरे।

छरछिमेकदेखि स्कुलमा समेत विभेदको सामना गर्दा उनीभित्र विद्रोहको ज्वाला दन्कन्थ्यो। तर, सावरकरले त्यसलाई व्यक्त गर्ने माध्यम पाइरहेका थिएनन्। हिन्दू धर्मको वर्णाश्रम व्यवस्थाविरूद्ध विद्रोह गर्दै भारतीय संविधान निर्माता एवं समाज सुधारक भीमराव अम्बेडकरले बौद्ध धर्म अपनाएका थिए।

सामाजिक विभेदविरुद्ध विद्रोह गर्नकै लागि उनले पनि अम्बेडकरलाई पछ्याए। हिन्दू धर्म छाडेर बौद्धमार्गी बने। नागपुरमा कला विषयको अध्ययन गर्दा सामाजिक विभेदको अर्को पाटो बुझ्ने मौका पाए उनले। सानैदेखि रङ मन पराउने उनले रङमा समेत विभेद भेटे। क्यानभास र कुची चलाउनेहरूले कथित उपल्लो जातिलाई उत्कृष्ट र कथित तल्लो जातिलाई निकृष्ट रूपमा प्रस्तुत गरेको भेटे। 'मलाई कला क्षेत्रमा समेत बहिष्कार गरियो,' सावरकर सम्झन्छन्, 'कतिपयले दलितले यस्तो काम गर्नुहुँदैन पनि भने।'

इतिहासका धेरै कालखण्डमा समाज हल्लाउने क्रान्ति गरेको कला क्षेत्रमा समेत भएको विभेदले उनलाई विचलित बनाएन। 'एक न एक दिन त मेरो पनि पालो आउँछ भन्ने सोचेर एक्लै लडिरहेँ,' उनी भन्छन्, 'कतिपय स्थानमा मेरा चित्र प्रदर्शनी नै रोक्नेसम्मका अवरोध भए।'

अवरोधलाई छिचोल्दै उनले चित्रमार्फत विद्रोह बोल्न थाले। 'मनुस्मृतिको कथा पढेपछि कसरी मनुले हिन्दू धर्मका कथित उच्च जातिलाई संरक्षण गरेका छन् भन्ने बुझेँ,' उनी भन्छन्, 'त्यसविरुद्ध मैले मनुकै विकराल चित्र कोरेँ।'

उनले बनाएको मनुको यो चित्रले भारतमा तहल्का मच्चायो। कथित उच्च जातिलाई माथि उचालेर दलितलाई पाउले दबाएको चित्रको सर्वत्र चर्चा भयो। कतिपय धर्मभिरुले उनको आलोचना समेत गरे। ‘मनुले नै दलित र गैरदलितमा विभेदको विष घोलेका हुन्,’ सावरकर भन्छन्, ‘दलितलाई मान्छे होइन, कीरा जस्तो गरेका छन्।’

पेशवा काल (१८औँ शताब्दीको भारत)मा दलितमाथि हुने विभेदविरुद्ध पनि उनले क्रान्तिकारी चित्र कोरे। उनले बनाएको त्यसबेलाका दलितको प्रतिनिधित्व गराउने अगाडि हाँडी र पछाडि कुचो भिरेको चित्र पनि भारतमा निकै प्रख्यात छ।

दलित समुदायले समाजमा मात्र होइन, सरकारी निकायबाट समेत विभेद भोग्ने गरेका छन्। भारतजस्तो रुढीवादी समाजमा त यो अझ व्यापक रहेको उनको अनुभव छ।

मनुस्मृतिकै आडमा महिलालाई देवदासी बनाएर यौनशोषण गरेको विषयमा पनि उनले चित्र कोरे। त्यसले पनि भारतीय समाजमा तरंग ल्याइदियो। दलित समुदायलाई सिनो बोकाइने कुसंस्कारदेखि ब्राह्मण पुरुषले दलित महिलासँग लुकिछिपी गर्ने यौन सम्बन्धजस्ता विषयलाई समेत उनले आफ्नो क्यानभासमा उतारे।  

धर्मभिरुविरुद्ध उनले एउटा आन्दोलन नै चलाए। निश्चय नै उनको आन्दोलनमा झन्डा र ब्यानर बोक्नेहरू थिएनन्, पर्चा र पम्प्लेट थिएनन्। थिए त कुची, क्यानभास र त्यसमा पोतिने विद्रोहका रङहरू। त्यही आन्दोलनलाई उनले नाम दिए– ब्लु रिभोलुसन अर्थात् नीलो क्रान्ति।

‘नीलो भनेको शान्ति, मानवीयता र सम्मानको प्रतीक हो,’ उनी भन्छन्, ‘त्यसैले यो रंग प्रायः चित्रमा म प्रयोग गर्छु।’ धर्म परिवर्तन गरे पनि उनी आस्तिक भने होइनन्। नास्तिक हुँदाहुँदै पनि उनी ओम र स्वस्तिक जस्ता विम्बलाई आफ्ना कलामा प्रयोग गर्छन्।

०००

कलामार्फत दलित अधिकारको वकालत गर्ने सावरकरको नेपालसँग साइनो पनि कलाबाटै जोडिएको हो। नेपालको सबैभन्दा पुरानो अस्पताल वीरको भवन भारत सरकारले बनाइदिएपछि उनी नेपालसँग कलामार्फत जोडिएका हुन्। वीर अस्पतालको भवन बनाइदिएपछि भारतले नेपाललाई भवन हस्तान्तरण गर्ने भयो। भवन हस्तान्तरण सँगसँगै त्यसको अग्रभागमा कलात्मक चित्रको उपहार दिन चाहन्थ्यो भारत।

सन् १९८९ मा भारत सरकारले वीर अस्पतालको भित्तामा चित्र कोर्ने जिम्मा दियो, कलाकारद्वय नरिनाथ र सावरकरलाई। उनीहरूलाई आदेश थियो, परैबाट देखिने चित्र कोर्ने। वीर अस्पतालमा म्युरल (भित्तामा कोरिने चित्र) आर्ट गर्ने अवसर पाएका उनीहरूले कस्तो चित्र बनाउने भनेर छलफल गरे। केही दिनको छलफल र मननपछि उनीहरूले  सञ्जीवनी बुटी बोकेका हनुमानको चित्र कोर्ने निधो गरे।

नास्तिक हुँदाहुँदै उनले हनुमानको चित्र कोर्न सहमति दिए। त्यसबेला नेपाल विश्वकै एक मात्र घोषित हिन्दू राष्ट्र भएकाले उनीहरूले हनुमानको चित्र बनाउने निर्णय गरेका थिए। 'एक राष्ट्रले अर्को राष्ट्रलाई दिने उपहार भएकाले मैले हिन्दू धर्मका विभेद बिर्सिएर त्यो चित्र कोरेँ,' उनी भन्छन्, 'मेरो विरोध धर्मभन्दा प्रवृत्तिप्रति हो।'

रामायणमा लक्ष्मणलाई बचाउन हनुमानले सञ्जीवनी बुटीसहित पहाड नै बोकेको प्रंसग छ। यो कथा मात्र नभएर स्वास्थ्य सेवाका लागि सन्देश समेत बन्ने भएकाले वीर अस्पतालको भित्तामा हनुमान कोरिएका हुन्। वीर अस्पतालमा उनीहरूले कोरेको चित्रसँगै धन्वान्तरी पनि अंकित छन्।

भित्तामा चित्र कोर्न सजिलो थिएन। भर्‍याङ र खटमा बसेर डेढ महिना लगाई चित्र कोरेको उनको अनुभव छ। ‘हरेक दिन हामी टायलका रंगिचंगी टुक्रा लिएर चढ्थ्यौँ,’ उनले स्मरण गरे, ‘पहिले हनुमानको रेखाचित्र कोर्‍यौँ, त्यसपछि त्यही रंगअनुसार टायलका रंगिचंगी टुक्रा जोड्दै गयौँ।’  भित्तामा हनुमान बनाउन उनीहरूलाई हनुमानले पहाड बोकेजतिकै कठिन भयोे।

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल हो। सन् १९८९ मा वीरशमशेर राणाले यो अस्पताल बनाएका थिए। अहिले यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालित छ।

सडकबाट अस्पतालको अग्लो भवनतिर आँखा लगाउने जसको नजर पनि त्यही हनुमानको चित्रमा ठोक्किन्छ। नेपालका धेरै कलाकार उनको त्यो कला हेर्न आइपुगेका थिए। किरण मानन्धर, वीरेन्द्र सिंहलगायत नेपाली कलाकारसँग त्यतबेला नै उनको चिनजान भयो।

नेपाली कलाकारको सालिनतादेखि उनी मुग्ध छन्। त्यसैले पनि अर्कोपल्ट मेक्सिकन साथीलाई घुमाउन उनले नेपाललाई रोजे। त्यसबेला पोखरा लगेर त्यहाँको हिमालको नजिकबाट दर्शन गरेको मीठो सम्झना छ उनीसँग।

‘उनी राम्रा कलाकार हुन्,’ त्यतिबेला उनको कला हेर्न पुगेका नेपाली कलाकार किरण मानन्धरले भने, ‘नेपालमा अरु थरी कलाकै राम्रो विकास नभएको समयमा म्युरल हाम्रा लागि नयाँ थियो।’

प्रकाशित: २१ श्रावण २०७४ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App