१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

बच्चाबच्चीको स्याहार सरकारको दायित्व

–वन्दना ढकाल

दृश्य–१
सरकारले स्थानीय तह निर्वाचन–२०७४ मा हप्ता दिनभन्दा बढी शैक्षिक संस्था बिदा गर्यो । स्कुलमै मतदान केन्द्र बनाइने भएकाले पठनपाठन बन्द गर्नु अनिवार्य थियो । त्यस अवधिभर विद्यालय जाने बालबालिका घरमै रहे । ‘बीस वर्षपछि हुन लागेको निर्वाचन’ भनेर सरकारले चुनावको जोडतोडका साथ प्रचार पनि गर्यो । साथै, उत्साहजनक ढंगले महिला–पुरुष सबैलाई निर्वाचनको तयारी एवं भाग लिन राज्यले आह्वान गर्यो । निर्वाचनकै लागि भनेर म्यादी प्रहरी हजारौँको संख्यामा खटाइयो, कर्मचारीलाई दोब्बर ड्युटीको व्यवस्था गरियो भने कतिपय निजी क्षेत्रमा काम गर्ने समय पनि दोब्बर बन्यो । यसबीचमा पत्रकार रातको निद न दिनको भोक गरेर न्युजको स्कुप मार्न खटेको खट्यै गर्नुपर्यो । यस्तो बेला आमा–बा, प्रहरी, सरकारी कर्मचारी, पत्रकार, जसका छोराछोरी भर्खर नर्सरी–केजी (वा १/२ कक्षा) पढ्ने उमेरका छन्, तिनको दैनिकी कति प्रभावित भयो होला ?
दृश्य –२
एउटा रिक्साको पाइडलपट्टि चार–पाँच वर्षको बच्चा सुताएकी आमाको फोटो केही समय अगाडि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो । दिनभरको चर्को घाममा तराईको कुनै ठाउँमा रिक्सा मजदुरी गर्ने महिलाको बारेमा सञ्जालमा विभिन्न टिप्पणी भए । ‘महान् आमा’, ‘संघर्षशील आमा’, ‘आमाको ममता’जस्ता संज्ञा फोटो हेर्नेले दिए । त्यसैगरी बेलाबेलामा छेउमा बच्चा राखेर गिट्टी कुटिरहेका, मकै पोलिरहेका, ज्यामी काम गरिरहेका मजदुर महिलाहरुको फोटो पनि पाठकको संवेदना तान्न सञ्चार माध्यममा आउने गरेका छन् । यस्तो दृश्यमा देखिने आमाहरु तिनै बच्चाको पालनपोषण र परिवारको समेत साँझबिहानको गुजारा चलाउन दिनभरि शारीरिक श्रममा खटिन बाध्य हुन्छन् । यसै पूर्वानुमान गर्न सकिन्छ, तिनका बच्चाको भविष्य कस्तो होला ?
०००
यी दुई सन्दर्भ दुई भिन्न परिस्थितिका छन् । पहिलोमा सरकारले स्कुले विद्यार्थीलाई बिदा दियो तर सरकारी र निजी कार्यालयहरु (जहाँ आमाबाउ काम गर्छन्) बिदाको घोषणा नगर्दा साना बच्चाहरुको रेखदेख कसरी गर्ने भन्ने समस्या देखियो । हिजोआज सहरमा कति आमाहरु नाबालक सन्तानलाई दिउँसो स्कुल पठाएर कारखाना, कम्पनी, सरकारी कार्यालयमा काम गर्छन् । उनीहरु नपर्नु अप्ठेरोमा परे । अर्कोतिर शारीरिक परिश्रम तथा ज्याला मजदुरी गर्ने क्षेत्रमा भने सरकारी बिदाले कमै मात्र छुने गर्छ । त्यस्तो अवस्थामा पनि बच्चालाई आमाबाबुले साथै लिएर हिँडे । साथ लैजान नसक्दा आफन्तलाई हारगुहार गर्न पुगे । निजी कार्यालयमा त बिदाको प्रावधान नै कम छ, सरकारी कार्यालयका कर्मचारी त झन् चुनाव सम्पन्न गराउन पनि आफ्नो कार्यक्षेत्रमा खट्नेमा परिहाले । यस्तो अवस्थामा जसका साना बालबालिका छन्, उनीहरुको भने बिचल्ली नै भयो ।
सरकार र निजी व्यवसायीले सूचना जारी गरिदिए पुग्छ तर कर्मचारी, कामदार वा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरका बच्चाको हेरविचारबारे सरकार वा कम्पनीले विचार भने गर्दैनन् । सरकार र कम्पनीका मालिक सोच्छन्ः कर्मचारी वा कामदार भनेको कामदार मात्रै हो, उसका बच्चाबच्ची छन्/छैनन् वा तिनको स्याहार हुनुपर्छ÷पर्दैन, त्यसको के मतलब ? अझ निर्वाचनको बेलामा खटिनुपर्ने दायित्व भएका निकायले रातभर र जुनसुकै समयको ड्युटीमा खट्नुपर्ने निर्देशन दिन्छन्, किनभने यो ‘विशेष परिस्थिति’ हो ।
सामान्य परिस्थितिमा बच्चाको स्याहारसुसार त सबै परिवारका निम्ति महŒवपूर्ण कुरा हो । हरेक परिवारका लागि बच्चाको उचित पालनपोषणको विषय जटिल बन्दै गइरहेको छ । कृषिमुखी नेपाली समाजमा दिनभर बच्चा खेतबारीमा आमाबाबुसँगै जान्थ्यो । बेलुका घर फर्कन्थ्यो । संयुक्त परिवार भएको खण्डमा हजुरआमा, हजुरबासँग रहन्थ्यो । आमाबाबु वा हजुरबा–आमासँग बच्चा रहने भएपछि बच्चा अभिभावककै सिको गर्दै आफ्नो दैनिकी गुजाथ्र्यो । आम रुपमा बच्चालाई बाजेबज्यैले हुर्काउने भन्ने चलन नेपालमा रहिआएको छ । अहिले पनि त्यो कायमै छ । केही वर्षअघिसम्म नेपाली महिला घरभित्रैका काममा मात्र सीमित थिए । अहिले कैयौँ महिलाहरु नयाँ सम्भावनाको खोजी एवं घरबाहिर आर्थिक उपार्जनको काममा तीव्रतर ढंगले घरको संघार नाघिरहेका छन् ।
निम्न वर्गीय परिवारमा त कि बच्चा आमाबाबुसँगै मजदुरी क्षेत्रमा जान्छ, त्यहीँको धुलोमाटो वा कारखानाको कर्कश वातावरणमा दैनिकी बिताउँछ । उसको शिक्षा, स्वास्थ्यजस्ता विषय आमाबाबुको रोजगारीको स्तर र अवधिमा निर्धारण हुन्छ ।
नेपाली समाज तीव्रतर ढंगले पुँजीवादी अर्थसम्बन्धतिर दगुरिरहेको छ । उपभोगको संस्कार अत्यधिक बढ्दा खर्च पनि बढ्दै गइरहेको छ । श्रमको मूल्य घटिरहेको छ । त्यसैले महिला होस् या पुरुष दुवै परिवार पाल्नका लागि घरका सबै सदस्य श्रममा होमिनै पर्छ । चाहे त्यो श्रम औपचारिक होस् या अनौपचारिक । आमाबाबु काममा खटिँदा बच्चा पेलानमा परेको छ । घरका सबै परिवार काममा व्यस्त हुनुपर्ने र आफ्नो–आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्नुपर्ने तनावमा हुन्छन् । बच्चालाई हेरेर बस्ने कि आफ्नो व्यावसायिक धर्म पालना गर्ने ?
नेपालका अधिकांश शिक्षित महिलाको जीवनको ऊर्जा पनि केवल सन्तान हुर्काउन लगानी भइरहेको हुन्छ । राम्रा अवसर आउँदा पनि महिलाहरु बच्चा हेरिदिने कोही नहुँदा राम्रा अवसर छोड्न बाध्य छन् । बच्चा र करियर दुवैलाई उत्तिकै माया गर्ने महिला बच्चाको स्याहारसुसार मात्रै गरिरहनुपर्ने निराशपूर्ण जीवन पनि बिताइरहेका छन् । बच्चा र करियरमध्ये एक रोजाइमा बच्चा हुर्काएर करियरमा फर्कने भन्दाभन्दै करियर नै महिलालाई छोडेर दगुरेको स्थिति पनि छ । जसले गर्दा आफ्नो करियरबाट हात धोएर निस्क्रिय र दुःखी जीवन बिताइरहेका आमाहरु नेपाली समाजमा भेटिन्छन् । आफ्नो शैक्षिक योग्यता, क्षमतालाई थन्क्याएर पाठेघर मात्र हुनुको सामाजिक नियतिमा जीवन बिताउन बाध्य पनि छन् कैयौँ महिलाहरु ।
बच्चाबच्चीको लालनपालन र स्याहारसुसारको दायित्व अब केवल नागरिकलाई छाड्न मिल्दैन । कमजोर बन्दै गएको पारिवारिक संरचनाले मात्रै बच्चाको जिम्मा लिन सक्दैन पनि । यसको बारेमा सरकारले नै जिम्मेवारीपूर्वक सोच्नुपर्छ । राज्यले भविष्यका लागि असल नागरिक उत्पादन गर्ने हो भने राज्यले बच्चाका लागि विशेष व्यवस्था गर्नुपर्छ । राज्यले बच्चा स्याहारसुसारको आधारभूत जिम्मेवारी वहन गर्ने र सुविधाजनक नीतिहरु ल्याउने हो भने आमाबाबु निस्फ्रिकी भएर काममा खट्न सक्छन् र त्यसको प्रतिफल पनि राम्रो आउँछ ।
जसरी वृद्धवृद्धाका लागि वृद्धाभत्ता वा वृद्धाश्रमको अवधारणा विकास भएको छ, त्यसरी नै राज्यस्तरबाटै शिशु स्याहार केन्द्र, शिशु स्याहार भत्ता, सरकारी शिशु होस्टलको व्यवस्था गर्नुपर्छ, जसले बच्चाहरु राज्यको पनि दायित्वमा पर्छन् भन्ने मान्यता स्थापित गर्छ । त्यस्ता स्याहार केन्द्र वा होस्टल होऊन्, जहाँ बच्चालाई हजुरबा आमाले जस्तो माया गरियोस्, असल कुरा सिक्ने मायालु वातावरण होस् र जीवन जीउने संस्कार सिकोस् ।
त्यसैले राज्यले बच्चाको स्याहार सुसारका बारेमा सोच्न ढिलो भइसकेको छ । मुलुकका लागि सक्षम जनशक्ति र नागरिक उत्पादन गर्ने हो भने राज्यले यतातिर गम्भीर हुनु आवश्यक छ ।  

 

प्रकाशित: ९ श्रावण २०७४ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App