१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘मेरो पहिलो तलब एक रुपैयाँ’

रेखा थापा, अभिनेत्री

१७ वर्षअघि फिल्म ‘हिरो’बाट अभिनय थालेकी रेखा थापा हाल नयाँ फिल्म ‘रुद्रपिया’को छायाँङ्कनमा व्यस्त छन् । उनी अभिनित ‘हामी तीन भाइ’, ‘कसले चोर्यो मेरो मन’, ‘हिफाजत’, ‘अन्दाज’ आदि फिल्म सफल मानिन्छन् ।  

तपार्इं अभिनेत्री नभएको भए के बन्नुहुन्थ्यो ?
म विकल्प लिएर हिड्ने मान्छे त होइन । तैपनि म पढ्नमा सानैदेखि अब्बल थिए । सायद अभिनेत्री नभएको भए डाक्टर बन्थे होला ।  

हिरोइन भइसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
स्वतन्त्रता नै हो । कलाकार भइसकेपछि बढी जिम्मेवार हुनुपर्छ । सानो गल्तीले पनि समाजमा प्रभाव पार्न सक्छ । त्यसैले  सजग हुनुपर्छ । आममान्छे जसरी जीउन सकिँदैन ।

तपाईंको पहिलो जागिर र तलब कति थियो ?
१६ वर्षको उमेरमै अभिनेत्री भएँ । जागिर नै अभिनय भयो । पहिलो फिल्म ‘हिरो’ खेल्दा एक रुपैयाँको चाँदीको डलर पाएको थिएँ । त्यसलाई नै पहिलो तलब मान्नुपर्ला ।

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
मेरो पहिलो फिल्म ‘हिरो’ रिलिज हुँदा म र मेरो बुबासँगै बसेर हेरेका थियौं । उहाँले मलाई पर्दामा देख्दा निकै खुशी हुनुभयो । म अहिलेको रेखा थापा भएर त्यो दिन फेरि जिउन चाहन्छु ।

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
अनुशासन । मेरो क्षेत्र अनुशासित छ । यहाँ जो अनुशासित हुँदैन ऊ आफै सकिन्छ, कसैले केही गर्नुपर्दैन ।

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
यो क्षेत्रलाई बदनाम गराइँदा र गराउनेहरूदेखि चित्त दुख्छ ।

तपाईंको अगाडि साँच्चिकै भुत प्रकट भयो भने के गर्नुहुन्छ ?
सायद ‘अबुई’ भन्छु होला । त्यतिवेलाको रियाक्सन म अहिले कल्पना गर्न सक्दिन ।

राजनितिमा लाग्नुभएको छ, कुनै दिन देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
यो विषयमा अर्कै वाता गरौंला । अहिले म केही भन्दिन ।  

कस्तो कुराले तपाईंलाई बढी खुशी बनाउँछ ?
जब मान्छेहरू सफल भएको देख्छु, खुशी लाग्छ । मलाई सकरात्मक कुराले खुशी बनाउँछ । ससानो खुशीमा रमाइरहेको हुन्छु ।  

के देख्दा दुःख लाग्छ ?
मान्छेहरूले आफूलाई सहि मूल्यांकन नगरी प्रस्तुत भएको देख्दा दुःख लाग्छ ।

केटाहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
साँच्ची होला मलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेकै छैन । खोइ किन हो थाहा छैन ।

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
म खुला किताब हो । मलाई कसैले हेर्छन् मात्रै, कसैले पढ्छन् तर बुझ्दैनन् । जसलाई पढ्न आउँछ उसले राम्रोसँग बुझ्छ ।  

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
अहिलेसम्म त सबै कुरा पुरा भएको छ । यो प्रश्न ६० वर्षको भइसकेपछि सोध्दा अझ उचित होला । अहिले त अझै धेरै गर्नु छ ।

तपार्इंको कमजोरी के हो ?
म कोमल मन भएको मान्छे हुँ । अरुलाई छिट्टो विश्वास गर्नु मेरो कमजोरी हो ।

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
म भित्रको आत्मविश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

आफूलाई नै मन पर्ने आफ्नो बानी ?
सबैलाई माया गर्छु, अर्काको दुःखमा छिट्टै पग्लिन्छु । मेरो यो स्वभाव म आफैंलाई मनपर्छ ।  

आफ्नो मन नपर्ने बानी ?
चाँडै अरुलाई विश्वास गर्नु नै हो ।  

बिहे कहिले गर्ने ?
पाँचवर्ष पछि गर्ने प्लान छ । पाँच वर्षसम्म चाँही मेरो चाहाना अनुसार जिन्दगी जीउने चाहना छ ।

हुनेवाला श्रीमान् कस्तो होस् भन्ने चाहना छ ?
अग्लो होस्, डार्क ह्यान्डसम होस् । अनि मलाईं माया गरोस्, मलाई बुझोस् र मेरो क्षेत्रलाई सम्मान गरोस् ।
प्रस्तुतिः अनिल

प्रकाशित: ३ श्रावण २०७४ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App