१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विद्रोही धन

–सृजना
उमेरले ७१ वर्षकी भइन्, धन लामा । तर, उनमा अहिले पनि १७ वर्षे युवतीको जस्तो जोशजाँगर छ । श्रीमान्को सहयोगविना नै घर धान्नेहरू मध्येमा उनी पनि एक हुन् । भन्छिन्, ‘१५ वर्षकै उमेरमा बिहे भयो । त्यतिबेला बिहे भनेको के हो ? भन्ने पनि थाहा थिएन । बिहे गरेपछि राम्रा–राम्रा लुगा लाउन पाइन्छ भनेर बिहे गरियो ।’
धन पूर्वसञ्चारकर्मी हुन् । ‘२०२६ सालमा रेडियो नेपालमा आबद्ध भएँ । त्यो बेला अहिले जस्तो कहाँ थियो र ? छोरीमान्छे घरबाहिर निस्कनै गाह्रो थियो,’ उनी भन्छिन्, ‘रेडियो नेपाललाई त्यतिखेर ‘रेडियो नेपाल नाचघर एकेडेमी’ भन्ने चलन थियो । ‘नाच्ने÷गाउने र बिग्रेका मान्छे मात्रै त्यो ठाउँमा काम गर्छन्’ भन्ने गरिन्थ्यो । दरखास्त खुलेका बेला मैले कसैलाई नसोधी फारम बुझाएँ, नाम निस्कियो ।’ ‘बुहारीले जागिर खान हुँदैन’ भन्ने मानसिकता चिर्नका लागि आफूले परिवारको सहमतिविना नै जागिर खाएर विद्रोह गरेको धन बताउँछिन् । ‘मैले अबला नारी हुन स्वीकार गरिनँ,’ उनी भन्छिन्, ‘विद्रोह गर्ने हिम्मतले मलाई मेरै मर्जीको नयाँ जिन्दगी दियो ।’
अहिले उनी बालुवाटारमा बस्छिन् । उनका चार सन्तान छन् । जेठो छोरा आर्मीमा कर्नेल छ । माइलो छोरा बिरामी भएकाले घरै बस्छ । सानो छोरा व्यापार गर्छ भने छोरी शिक्षिका छिन् । उनीहरुलाई हुर्काउँदा र बढाउँदाका दिन सम्झदा अहिले पनि आफूलाई अत्यास लाग्ने उनी बताउँछिन् ।
रेडियो नेपालमा जागिर खाएपछि उनी परिवारसँग छुटिएर बसिन् । ‘घरकाले बुहारीले जागिर खानुहुन्न र छोराले चाहिँ घरको काम गर्नुहुन्न भन्ने सोच राख्थे । छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञानसमेत थिएन उनीहरूमा,’ उनी भन्छिन्, ‘छोराछोरीलाई जबर्जस्ती स्कुल पठाउन थालेँ । बानी नपरेकाले स्कुुल जानै मान्दैनथे । कुटेर स्कुल पठाउँथेँ ।’
‘श्रीमान्को साथीसंगत राम्रो थिएन । छोराछोरीलाई खासै वास्ता गर्नुहुँदैनथ्यो,’ आफू एक्लैले घर धान्नुको पछाडिको कारण खुलाउँदै धनले भनिन्, ‘श्रीमानले आर्थिक र व्यावहारिक रूपमा सहयोग नगरेपछि छोराछोरीका सबै जिम्मेवारी मैले लिएँ ।’
जस्तोसुकै दुःखलाई पनि उनले एक्लै सहिन् । न ससुराली पक्षसँग सहयोग मागिन् न माइती पक्षसँग । ‘फलानो ठाउँमा भर्ना खुल्यो भन्ने थाहा पाउनेबित्तिकै छोराछोरीलाई बोकेर आफैँ कुद्थेँ,’ उनी भन्छिन् ।
उनीसँग भएको दुईचार पैसा पनि श्रीमान्ले लिइदिन्थे । घरखर्च उनी आफैँ मिलाउँथिन् । ‘रेडियो नेपालमा जागिर खाँदा मेरो तलब २ सय ५० रुपैयाँ थियो । त्यो पैसाले घरखर्च टार्थें,’ धन भन्छिन्, ‘बिहानै रेडियोमा जान्थेँ । नौ बजे छोराछोरीलाई स्कुल पु¥याउन आउथेँ ।’
रेडियो नेपालमा काम गर्दागर्दै २०३२ सालमा उनले एउटा बैँकमा जागिर गर्न थालिन् । त्यो बेला रेडियो नेपाल बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा चल्थ्यो । ‘दिउँसो बैँकमा काम गर्थें,  बेलुका रेडियोमा,’ उनी भन्छिन्, ‘रेडियोमा राति नौ बजेदेखि ११ बजेसम्म विज्ञापनसेवा भन्ने पनि हुन्थ्यो । त्यसमा पनि काम गर्थें । त्यसको छुट्टै पैसा पाइन्थ्यो । घर पुग्दा ११/१२ बज्थ्यो ।’
सबैजना मस्त सुतिरहँदा आफूले आधा रातमा कामबाट फर्केर भात खाएको धन अहिले पनि सम्झिन्छिन् । ‘कहिलेकाहीँ साह्रै दिक्क लाग्थ्यो । रुन मन लाग्थ्यो । तैपनि, छोराछोरीको मुख हेरेर अर्को दिन त्यही काम रमाउँदै जान्थेँ,’ उनी भन्छिन् । छोराछोरीको लागि आमा र बुबा दुवै आफैँ बनेको उनी बताउँछिन् ।
रेडियो नेपालमा ३५ वर्ष काम गरेपछि ५८ वर्षको उमेरमा उनले त्यहाँबाट अवकाश पाइन् । अहिले उनी ‘वुमन एक्ट’ नामक महिलाहरूका लागि काम गर्ने गैरसरकारी संस्थामा आबद्ध छिन् । भन्छिन्, ‘छोराछोरी आ–आफ्नो खुट्टामा उभिइसके, अब जिम्मेवारीबाट मुक्त छु, त्यसैले सामाजिक कार्यमा दिन बिताउँदैछु,’ उनी भन्छिन् । सकारात्मक सोचले आफूलाई परिवार धान्न सक्ने बनाएको धनको अनुभव छ । ‘गर्न सक्छु भन्ने विश्वास र सकारात्मक सोचका कारण मैले परिवार धान्न सकेँ,’ उनी भन्छिन् ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App