१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

नेपाली लेखनमा भाषागत शुद्धता

डा. हीराकाजी मानन्धर

म नेवार, मेरो मातृभाषा नेपालभाषा। घरपरिवारमा नेपालभाषा बोलिन्छ। बाह्रखरीदेखि स्कुलसम्म नेपाली भाषामा पढियो। प्रवीणता प्रमाणपत्र तहमा विज्ञान(आईएस्सी) को विद्यार्थी, तर ऐच्छिक विषयचाहिँ नेपाली साहित्य लिन पुगेँ। नेपाली साहित्य पढ्दा रमाइलो लाग्थ्योे। मेरा गुरुहरू हुनुहुन्थ्यो– टंकमणि, राममणि रिसाल। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'वनकुसुम' महाकाव्य, अनि नाट्यसम्राट बालकृष्ण समको 'मुकुन्द इन्दिरा' नाटकका पुस्तकको अहिले पनि सम्झना छ। कलेजमा पढ्दा कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'राम्रो रचना मीठो नेपाली' पुस्तक सरल र बु‰न सजिलो लाग्थ्यो।

नेपाली बोल्दा अशुद्धै भए पनि लेख्दाचाहिँ सकेसम्म जानीनजानी शुद्धै लेख्न प्रयास गर्थें। यो बानी विद्यार्थीकालदेखि नोकरीकाल र अहिले सेवानिवृत्त हुँदासम्म कायमै छ। तर, अहिलेसम्म खासै शुद्ध लेख्न सक्दिनँ, शुद्ध बोल्न त धेरै कठिन छ। किनकि, नेपाली भाषा शुद्ध बोल्न र लेख्न गाह्रो छ। यो समस्या मलाई मात्र होइन, धेरैलाई छ। त्यसैले त गएको एसएसली परीक्षामा साढे १२ हजारले अंग्रेजीमा 'ए प्लस' ल्याउँदा ६३ जनाले मात्र नेपालीमा 'ए प्लस' र ४० हजार ८५ जनाले अंग्रेजीमा 'ए' गे्रड ल्याउँदा जम्मा ७ हजार ५ सय ८३ जनाले नेपालीमा 'ए' गे्रड ल्याए। यो टे्रन्ड अहिलेको मात्र होइन, धेरै पहिलेदेखिकै हो। यसमा सुधार हुन सकेको छैन। यो नेपाली भाषाकै समस्या हो वा हाम्रो हेलचेक्राइँ?

लेखाइमा भाषागत शुद्धाशुद्धि आवश्यक छ र यसमा ध्यान दिने हो भने प्रत्येक कार्यालयका कर्मचारीलाई नेपाली भाषा शुद्धाशुद्धि लेखनसम्बन्धी सामान्य तालिम दिनुपर्छ। प्रत्येक मन्त्रालय र विभागमा नेपाली भाषाविज्ञको व्यवस्था गर्नुपर्छ। सार्वजनिक महत्वका र सार्वजनिकरूपमा प्रयोग हुने सरकारी दस्तावेजहरू भाषाविद्द्वारा सम्पादन गरेको हुनैपर्ने व्यवस्था हुनुपर्छ।

नेपालको कामकाजको राष्ट्रभाषा– नेपाली अनि अन्तर्राष्ट्रिय भाषा– अंग्रेजी। मेरो कार्यालय प्राविधिक भएकोले नेपाली र अंग्रेजी दुवै चल्थ्यो। बोलाइ(गोष्ठीका बेला कार्यपत्र प्रस्तुत गर्ने बेलाबाहेक) नेपालीमा र लेखाइ–पढाइचाहिँ प्रायः अंग्रेजीमै हुन्थ्यो। किनकि, विषयसम्बन्धी सबै पुस्तकलगायतका सामग्री अंग्रेजीमै हुन्थे र कार्यपत्र तथा प्रतिवेदन पनि अंग्रेजीमै लेख्नुपर्थ्यो। त्यसैले जानीनजानी अंग्रेजी सकेसम्म शुद्ध लेख्ने प्रयास हुन्थ्यो। अंग्रेजी जान्नेबाट सच्याउन पनि लगाइन्थ्यो। अंग्रेजी शुद्ध लेखिएन भने लाज हुन्थ्यो। हामीलाई अंग्रेजी भाषा अशुद्ध लेख्दा जति लाज लाग्छ, नेपाली भाषा अशुद्ध लेख्दा लाग्दैन। हुनुपर्नेभन्दा ठीक उल्टो। हाम्रो मान्यता नै छ, अंग्रेजी खरर लेख्न र बोल्न जान्ने मेधावी(इन्टेलिजेन्ट), जहाँ पनि बिक्ने!

अहिले वर्णविन्यासबारे ठूलै बहस चलिरहेको छ। पत्रपत्रिकामा विज्ञहरूको लेख एकपछि अर्को छापिनेक्रम बढ्दो छ। यतिसम्म कि सर्वोच्च अदालतमा रिट नै परेको भन्ने समाचार पनि पढेँ। केही दिनअघि नेपाल प्रज्ञा–प्रतिष्ठानले वर्णविन्यासबारे निर्णय लिएको समाचार पनि आयो। यो लेखको उद्देश्य हाल चलिरहेको बहसमा प्रवेश गर्नु होइन। त्यसबारे मेरो ज्ञान लगभग शून्य नै छ। तथापि, अहिलेसम्मको प्रयोगात्मक अभ्यासले नेपाली लेखनमा प्रचलित केही सामान्य गल्तीबारे कोट्याउनु आवश्यक लागेको छ मलाई।

शुद्ध लेखाइको लागि व्याकरणसम्बन्धी ज्ञान आवश्यक पर्छ। मलाई गाह्रो लाग्ने विषयहरूमध्येमा नेपाली व्याकरण पनि एउटा हो। त्यसैले व्याकरणको सैद्धान्तिक ज्ञान ममा खासै छैन। जेजति थाहा छ, अभ्यासबाटै जानेको हो। यो सामग्री तयार गर्दा केही विषयवस्तुमा प्रवेश गर्नुपर्ने भएकोले मेरो संकलनमा भएको महादेव अवस्थी र ऋषिराम शर्माद्वारा लिखित 'नेपाली व्यावहारिक व्याकरण र अभिव्यक्ति' पुस्तकका केही परिच्छेदको हल्का अध्ययन गरेको छु र पुस्तकका केही अंश उदाहरणमा लिएको पनि छु।

मेरो अनुभवमा सबैभन्दा बढी गल्ती लेखिने अक्षर 'व' र 'ब' हुन्। यो उच्चार्य र लेख्य रूप फरक हुनाले भएको हो। जस्तै, उच्चारणमा 'ब' आउने बिचित्र, बैदिक, बैकल्पिक, बिज्ञान, बैज्ञानिक, बर्ष, बार्षिक, बिभाग, बिषय, बिचार, बिन्दु, बृक्ष, मान्यबर, कर्तब्य, ब्यबहार, ब्यक्ति, ब्याकरण, कबि, भगबती, संबत्, संबेग, बिद्युत् आदि शब्दको लेख्य रूप विचित्र, वैदिक, वैकल्पिक, विज्ञान, वैज्ञानिक, वर्ष, वार्षिक, विभाग, विषय, विचार, विन्दु, वृक्ष, मान्यवर, कर्तव्य, व्यवहार, व्यक्ति, व्याकरण, कवि, भगवती, संवत् र संवेग, विद्युत् हुन्छ। तर, धेरैले उच्चार्य रूप नै लेख्छन्, जुन गलत हो। 'द्व' र 'द्ध'को प्रयोगमा पनि धेरै झुक्किन्छन्। जस्तै, 'उनीद्वारा' हुनुपर्नेमा 'उनीद्धारा' लेख्छन्। अरु इकार/उकार, ह्रस्व/दीर्घ, शिरविन्दु/चन्द्रविन्दु आदिका प्रयोगमा गल्ती हुनु त सामान्य भैगयो।

शब्दहरूमा धेरैले 'स्रोत'लाई 'श्रोत' र 'सामग्री'लाई 'सामाग्री' लेख्छन्। मैले पनि सामाग्री होइन सामग्री हो भनेर जानेको धेरै वर्ष भएको छैन। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत ललितपुरको खुमलटारमा 'जिन बैंक' स्थापना भयो। त्यसको खास नाम 'राष्ट्रिय कृषि आनुवांशिक तथा स्रोत केन्द्र' हो। तर, 'स्रोत'लाई 'श्रोत' लेखे। पछि सबै कार्यालयको साइनबोर्ड फेर्नुपर्ने भएकोले गल्ती नामसमेत सच्याएर सोहीअनुरूप गर्न औपचारिक निर्देशन पठाइयो। तर, 'श्रोत'लाई सच्याइएन। पछि सम्पर्क गर्दा कहाँ हुनु, श्रोत नै सही हो भनियो। 'श्रोत भनेको कान हो, श्रोता भनेका सुन्नेहरू हुन्' भनेर बुझाएपछि बल्ल गल्ती भएछ, सच्याउँछौ भने। म सेवानिवृत्त भइहालेँ। सच्याए–नसच्याएको थाहा छैन। यस्ता अरु पनि धेरै शब्द होलान्– जुन सुन्दा र लेख्दा उस्तै लाग्ने अनि ह्रस्व र दीर्घले समेत अर्थ बिलकुल फरक पार्ने। बच्चामा पढेको थिएँ, 'दिन'ले रोज, बार, समयमावधि जनाउँछ भने 'दीन'ले दुःख जनाउँछ। 'आदि'ले सुरु, प्रारम्भ, यस्तै अरुअरु बुझाउँछ भने 'आदी'ले आदत बसेको बुझाउँछ। त्यस्तै, 'क्षेत्रीय'ले क्षेत्रविशेष वा स्थानीय, 'क्षेत्रिय'ले निको नहुने कडा खालको रोग, परस्त्रीमा लग्गू हुने मान्छे(संक्षिप्त नेपाली शब्दसागर, वसन्तकुमार शर्म्मा), र 'क्षत्रिय'ले जातिविशेषलाई जनाउँछ। पंछीलाई पक्षी पनि भनिन्छ/लेखिन्छ, तर पक्षीमा शिरविन्दु (अर्थात् पंक्षी) हुँदैन। जस्तै, पशुपंछी वा पशुपक्षी। धेरैले यसमा गल्ती गर्छन्।

नेपाली लेख्दाखेरी विभक्ति र नामयोगी पदहरू गल्तीले छुट्याएर लेख्छन्। वाक्यमा क्रियापदबाहेकका अन्य पदमा लागेर ती पदलाई छुट्याउने वा विभक्त गर्ने विभक्ति जस्तै– ले, लाई, बाट, द्वारा, देखि, मा, मै, को आदि पदको दायाँतिर जोडिन्छन्। जस्तै '७ वर्षदेखि'। तर, लेख्छन् '७ वर्ष देखि', जुन गलत हो। त्यस्तै नाम, सर्वनाम र विशेषणका दायाँतिर जोडिने नामयोगी पदहरू हुन्– अघि, पछि, पहिले, पश्चात्, उपरान्त, पर्यन्त, माथि, मुनि, भित्र, बाहिर, नजिक, निर/नेर, तिर, झैँ, जस्तै, समान, अनुसार, बमोजिम, जति, निमित्त/निम्ति, लागि, खातिर, कारण, सम्म, मात्र, केबल, मध्ये, तर्फ, पट्टि, सित, सँग, समेत, सहित, बाहेक, सट्टा, विना, भन्दा, कहाँ, बारे, सम्बन्धी आदि। यी जोडिनुपर्ने नामयोगी पद लेख्दाखेरी गल्तीवश छुट्याएर लेख्छन्। जस्तै 'राम बाहेक अरु सबैजना गए'। हुनुपर्ने 'रामबाहेक अरु सबैजना गए'। यी सामान्य कुराको हेक्का राखिन्न। हुन पनि, नेपाली व्याकरणको नियम र तिनको प्रयोग धेरै गहन र कठिन छ। उल्लिखित नामयोगीहरूमध्ये 'अघि, पछि, पहिले, माथि, मुनि, भित्र, बाहिर' छुट्टै आउँदा क्रियाविशेषणका रूपमा आउँछन्। जस्तै– तिमीअघि म जान्छु(नामयोगी) र तिमी अघि जाऊ (क्रियाविशेषण)।

मुलुकको कामकाजको भाषा कुनै पनि निकाय र तहमा(सायद नेपाली भाषासम्बन्धी निकायबाहेक) शुद्ध लेख्ने गरेको पाइन्न। यो मेरो ३० वर्षभन्दा बढी अवधिको प्रत्यक्ष अनुभव हो। शुद्ध नलेख्नेमात्र होइन शुद्ध लेख्ने ज्ञान र चासो नै राख्दैनन्। कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका महŒवपूर्ण दस्तावेजदेखि ऐन, नियम, नीति, योजना, कार्यक्रम आदिमा समेत थुप्रै गल्ती छन् र हुने गर्छन्। सरकारीलगायतका कार्यालयहरूले गर्ने पत्राचार र तिनका दैनिक लेखनमा त गल्ती अनगिन्ती नै हुन्छन्।

धेरैजसो राष्ट्रिय दैनिक, केही अनलाइनलगायतका पत्रपत्रिकामा भाषागत शुद्धाशुद्धि सन्तोषजनक छ। तर, सबैको स्तर समान छैन। यद्यपि, पत्रकारजगत्को कतिपय आफ्नै ढिपी पनि छन्। एउटा उदाहरण, जुन यसअघि पनि उठाइएका थिए र मलाई पनि चित्त नबुझेको– '१०० बढी मानिसले सहभागिता जनाए'। यहाँ भन्न खोजिएको '१०० भन्दा बढी मानिसले सहभागिता जनाए' भन्ने हो। तर, सरसर्ती बु‰दा, अपेक्षा गरिएको भन्दा १०० जना बढी सहभागी भए भन्ने अर्थ लाग्छ। यसरी '१००' र 'बढी'को बीचमा 'भन्दा' भन्ने एउटा शब्द किफायत गर्नको लागि किन अर्थलाई अनर्थ लगाउने? त्यस्तै, सबैजसो पत्रिकाले 'प्रधान' र 'सम्पादक' छुट्टाछुट्टै लेख्छन्, जहाँ सोसरहका शब्द प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानपञ्च, प्रधानाध्यापक (प्रधान±अध्यापक) जोडिएर लेखिएका हुन्छन्। अर्को एउटा पुरानै प्रसंग, जुन सायद वर्णविन्याससँग पनि सम्बन्धित छ त्यो हो 'कानून' शब्द, पत्रिकाले जसलाई बलजफ्ती 'कानुन' बनाएका छन्। त्यस्तै 'शहर'लाई पछि आएर 'सहर' पनि लेख्न थालियो।   

मैले केही अग्रणी राष्ट्रिय दैनिकहरूको सम्पादकीयमा क्रियापदहरू खोजेँ। सम्पादकीय नै रोज्नुको कारण त्यसमा भाषागत शुद्धाशुद्धितर्फ पनि विशेष ध्यान दिइएको हुन्छ भन्ने हो। केही क्रियापद कुनैले छुट्याएका छन् त कुनैले जोडेका छन्– जस्तै, हुन सक्छ, हुनसक्छ, बन्न सक्छ, बन्नसक्छ, बढाउनुपर्छ, बनाउनु पर्छ, बनाइनुपर्छ, हुनुहुन्न, हुनु हुन्न, हुन सक्ने, गर्नसक्ने, पुर्‍याइनेछ, पुर्‍याउने छ, आउनेछ, रहिरहने छ, पुग्ने गर्छन्, पुग्नेगर्छन् आदि। प्रयोगमा एकरूपता छैन। व्याकरणको नियमअनुसार 'नु', 'ने' र 'इ' कृदन्त प्रत्ययमा संयुक्त क्रिया (खानुपर्छ, खानेगर्छ, खाइसक्छ) हुन्छ भने 'न' र 'नु±छ' कृदन्तमा मिलित क्रिया (खान सक्छ, खानु छ) हुन्छ। अर्को नियमले यो पनि भन्छ– आवश्यकताबोधक क्रियापदहरूमा मिलित क्रिया(जस्तै, मैले गृहकार्य गर्नु छ) र अत्यन्त आवश्यकताबोधकमा संयुक्त क्रिया हुन्छ (जस्तै, मैले गृहकार्य गर्नुपर्छ)।                   

पत्रपत्रिकाकै एउटा अर्को प्रसंग– पत्रपत्रिकामा थरिथरिका विज्ञापन छापिन्छन्। ती तिनका आम्दानीका मुख्य स्रोत हुन्। तर, अधिकांश विज्ञापन अशुद्ध लेखिएका हुन्छन्, अर्थात् विज्ञापन एजेन्टमार्फत् जे प्राप्त हुन्छ त्यही छाप्छन्। नाम चलेका र सर्वाधिक बिक्री–वितरण हुने दैनिक पत्रपत्रिकालगायतको स्थिति यही छ। यी विज्ञापनहरू शुद्ध छापिने हुन् भने यसबाट पनि धेरैले सिक्न सक्छन्। किनकि, धेरै पाठकको आँखा विज्ञापनमा जान्छ र त्यही सिको गर्छन्। भाषागत शुद्धाशुद्धिको लागि छापा र अनलाइन पत्रपत्रिकाले ठूलो भूमिका खेल्न सक्छ। तसर्थ, प्रत्येक पत्रिकाले चलनचल्तीमा हुने गरेका अशुद्ध लेखनको शुद्ध स्वरूप उदाहरणको रूपमा नियमित प्रकाशित गर्ने हो भने धेरैले त्यसबाट सिक्नेछन् र व्यवहारमा उतार्ने छन्। किनकि, पत्रपत्रिका दैनिक खुराक हुन् र तिनमा धेरैभन्दा धेरैको पहुँच हुन्छ।

मैले सुरुमै भनेँ, नेपाली भाषाको सैद्धान्तिक ज्ञान खासै नभए पनि म सक्दो शुद्ध लेख्ने प्रयास गर्छु। मेरो नोकरीको कार्यकालमा कार्यालयबाट पत्राचार हुने प्रत्येक पत्रमा हस्ताक्षर गर्नुअघि आफूले जाने जति भाषागत शुद्धता हेर्थें। यो मसँग काम गरेका मेरा सहकर्मी सबैले अनुभव गरेको हुनुपर्छ। मैले ३/४ हरफका एउटै पत्र २/३ पटकसम्म फर्काएको छु, गल्ती सुधार्न। तर, अर्को पटक नयाँ मस्यौदा वा पत्रमा फेरि पनि तिनै गल्ती आउँछन्। खासै सुधार्न सकिएन। तर, यो प्रयास सेवानिवृत्त हुनुअघिसम्म जारी नै राखेँ। लेखनको कुरा गर्दा एउटा तर्क के छ भने, भन्न खोजेको कुरा बुझे पुग्छ। शुद्धाशुद्धिमा धेरै अल्भि्कनुपर्दैन। मलाई एक मित्रले एउटा प्राविधिक पुस्तिकाको ड्राफ्ट दिए, सच्याउनका लागि। मैले दुई/तीन दिन लगाएर जाने जति सच्याइदिएँ। पे्रसको कम्युटर टाइपिस्टले यो त सच्याउन सकिन्न, फेरि टाइप गर्नुपर्छ भनेछन्। मेरा मित्रले भनेछन्, खोइ 'हिरो' बन्न खोजेका हुन् कि, लेखेको कुरा बुझे त भैगो नि!

लेखाइमा भाषागत शुद्धाशुद्धि आवश्यक छ र यसमा ध्यान दिने हो भने प्रत्येक कार्यालयका कर्मचारीलाई नेपाली भाषा शुद्धाशुद्धि लेखनसम्बन्धी सामान्य तालिम दिनुपर्छ। प्रत्येक मन्त्रालय र विभागमा नेपाली भाषाविज्ञको व्यवस्था गर्नुपर्छ। सार्वजनिक महŒवका र सार्वजनिकरूपमा प्रयोग हुने सरकारी दस्तावेजहरू भाषाविद्द्वारा सम्पादन गरेको हुनैपर्ने व्यवस्था हुनुपर्छ। त्यसको अभावमा भाषागत गल्तीहरूमा सुधार आउनुको सट्टा गल्तीहरू थपिँदै गइरहेका छन्। शुद्ध लेख्ने वातावरण र बाध्यकारी अवस्था बनेकै छैन।

प्रकाशित: १५ माघ २०७३ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App