१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

दोस्रो पुस्ताको चिन्ता

मुलुकका तथाकथित राजनीतिक दलहरूको महाधिवेशन र नयाँ नेतृत्व चयनको मौसम सुरु हुन लागेको छ। दलगत वा गुटगत नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि विभाजित मनस्थितिका विभिन्न गुट राजनीतिक दलका रूपमा झन झन भासिँदै गएको प्रतीत हुन्छ।

यस क्रममा सबै राजनीतिक दलभित्र नेतृत्व हस्तान्तरण र दोस्रो पुस्ता भन्ने चर्चा पनि केही समयका लागि व्यापकरूपमा हुने गर्छ। प्रत्येक दलभित्र रहेका यस्ता ६० वर्ष भन्दा माथिका कथित दोस्रो पुस्ता र ५० वर्षमाथिका कथित युवा पुस्ता बार्गेनिङका आधारमा आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ कि भनेर खुबै सल्बलाउनेसमेत गर्छन्। प्रत्येक पटक क्षमतावानले महत्वपूर्ण स्थान पाएको वा पाइहाले पनि देश, जनता र दलका लागि सुधारात्मक कार्य गरेकै देखिँदैन। तसर्थ यस्ता कथित दोस्रो र युवा पुस्ताले पहिलो अर्थात बूढा पुस्ताको लाचार छायाँका रूपमा बाहेक केही गरेका देखिँदैन।  

अब कुरा गरौँ दोस्रो र युवा पुस्ताको वास्तविक चिन्ताचाहिँ के हो त ? झर्ला र खाउँला भन्ने नै हो कि, बाजे पुस्ताको नेतृत्वको टिमले गरेको भ्रष्टाचार, विकृति र विसंगतिको चारो खाएर दलगत दलदलमा चुर्लुम्मै डुब्न पाइएन भन्ने हो कि, सरकार वा दलगत नेतृत्वका गलत नीतिगत र वैचारिक क्रियाकलापको सशक्त संगठित विरोध गर्ने क्षमता प्रदर्शन गर्दै, त्यसबाट मुलुक र जनताले बेहोर्नुपर्ने दुष्परिणामहरूप्रति जनतालाई सजग पार्दै भरपर्दो नेतृत्व विकास गर्ने हो ?

यस्ता थुप्रै विषय र आकांक्षा हुन सक्छन् जो पहिलो र नयाँ पुस्ताबाट जनताले अपेक्षा गरिरहेका हुन्छन्। तर दुर्भाग्य नै भन्नुपर्छ, आपराधिक र दलाली मनोवृत्तिको स्कुलिङ र प्रशिक्षणबाट प्रशिक्षित यस्ता नेतृत्वबाट जनताका त्यस्ता अपेक्षा पूरा हुने सम्भावना दूरदूरसम्म पनि देखिएको छैन। (स्मरण रहोस्, हाल नेपालमा स्थापित प्रत्येक प्रमुख राजनीतिक दलहरू आपराधिक पृष्ठभूमिबाटै स्थापित भएकाहरूको बाहुल्यता छ।)  

विगतका कुरा कोट्याउँदा निकै धेरै गलत प्रवृत्तिको चर्चा हुन जान्छ तर निकट दुई–चार वर्षयताका आर्थिक र राजनीतिक भ्रष्टाचार एवं विसंगतिका विषयमा मात्र कुरा गर्ने हो भने पनि कुनै दलका युवा तथा दोस्रो पुस्ताका नेताहरूले आफ्नो दलगत एवं सरकारको नेतृत्वले गरेका यस्ता मानवीय संवेदनाहीन भ्रष्टाचारजन्य गतिविधिबारे सशक्त आवाज उठायो त ? कोरोना महामारीको सन्त्रासबीच पनि जनताको जीवनमाथि खेलवाड गरी ‘कात्रोको व्यापारमा कमिसन खाने’ जघन्य अपराधीहरू आज पनि खुलेयाम भाषण गर्दै अर्ती उपदेश दिँदै हिँडिरहेका छन्।  

सेक्युरिटी प्रेस खरिद काण्डमा अडियो–भिडियो रेकर्ड बाहिर आयो तर अनुसन्धान नगर्दै तत्कालीन प्रधानमन्त्रीले त्यो होइन–त्यो पर्दैन भनिदिए। ललिता निवास जग्गा प्रकरण उजागर भयो, त्यसमा संलग्न आफ्ना र आफन्तहरूले झुक्याएर किनाएछन्, फिर्ता गरिदिए मुद्दा नचल्ने निर्णय सुनाइदिए। ओम्नी र भानुभक्त ढकाललाई उन्मुक्ति दिए। सत्तापक्ष होस् वा प्रतिपक्ष, सबै हाइड्रो माफिया, मेडिकल माफिया, व्यापारीहरूको अर्बौँको भ्याट छली प्रकरणका माफिया नाइके भएर मुलुक लुटिरहेको विद्यमान परिस्थितमा यी कथित दोस्रो र युवा पुस्ताले उल्लिखित सबै तीलगायतका भ्रष्टाचारजन्य प्रकरणमा के आफ्नो भागमात्रै खोजिरहेका हुन त ? यस्तो या त्यस्तो होइन भने मुलुकमा यस्ता बेथिति विरुध्द सशक्त आवाज उठेको कहाँ छ ? कुनै पनि नेताले यस्ता भ्रष्टाचारीलाई आजन्म सशस्त्र कारावासको आवाज बुलन्द गरेको खै त ?

युवा पिँढीका नेताका सहभागिता र सक्रियताले अधिनायकवादी शासन ढाल्न, शान्तिपूर्ण समाज निर्माण तथा विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ। इतिहास साक्षी छ। विडम्बना, देशका तथाकथित ठूला दलका दोस्रो तेस्रो पुस्ताका अनुहारबाट समेत भविष्यका आशा जगाउने कुनै भरपर्दो सैद्धान्तिक, वैचारिक गतिविधिको छनक प्रदर्शन हुन सकेका छैनन्। यिनीहरूमा फराकिलो क्षितिजका वैचारिक न्यूनता, गुटगत नेता भक्ति केन्द्र प्रवृत्ति जस्ता नकारात्मक पक्ष प्रबल भएको पाइन्छ। यतिमात्र होइन, दलगत र गुटगत विवाद कलहमा समेत एकताका लागि मध्यस्थकर्ताको भूमिका हुन सकेन। देशका नागरिक नेता, व्यावसायिक वा प्राज्ञ आदि हुनु भन्दा पहिले राष्ट्रवादी देशभक्त हुन जरुरी छ। दलगत तथा गुटगत लालसा भन्दा माथि उठेर आमूल परिवर्तनका लागि अग्रसर हुन सकेमा मात्र दोस्रो तेस्रो पुस्ताका सार्थकता प्रमाणित हुनेछ।

पार्टी नेतृत्वका भ्रष्टाचारजन्य क्रियाकलापबाट चुहिएको दुर्गन्धमै रमाउने र आइएनजिओ तथा लैनचौरतिरकै हुण्डीको स्वाद चाख्ने बानी परेका यी कथित नामधारी पुस्ताहरूबाट मुलुक र जनताले कुनै अपेक्षा नराख्नु नै वेश हो कि ? केही समयपहिले ब्राजिलका राष्ट्रपतिले कोराना महामारी नियन्त्रणमा देखाएको उदासीनता र लापरबाही तथा पीडाबाट आक्रान्त जनताका लागि आवश्यक भ्याक्सिन आपूर्तिमा ठोस कदम नचालेको भन्दै विरोध प्रदर्शन भइरहेका थिए। संसारका अन्य देशमा पनि कोरोनाविरुध्द सरकारको संवेदनशीलता तथा प्रभावकारितालाई लिएर विरोध प्रदर्शन भइरहेका खबर पनि सुन्न र देख्न पाइएकै छन्।  

तर विरोध प्रदर्शन त हाम्रो देशमा पनि भइरहेको छ, त्यो पनि युवा पुस्ताका नेताहरूबाट ? कांग्रेस, माओवादीलगायत पाँच दलीय युवा पुस्ताले आन्दोलन गरे तर आफ्ना नेतालाई प्रधानमन्त्रीको कुर्सी दिलाइदेउ भनेर। सत्ता र प्रतिपक्षीय युवा संघले आन्दोलन गर्‍यो आफ्नो गुटको राष्ट्रपतिको विरोध गर्न पाउँदैनौ भनेर। स्वयम् तत्कालीन प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई मेरो स्वार्थ अनुकूल चल्नुपर्‍यो, अरूको सेटिङमा चल्नुभएन भन्दै विरोध गर्दै धम्क्याउने कार्य जारी राख्नुभएकै हो। 

पाँच–पाँच जना पूर्वप्रधानमन्त्री, पाँच–पाँच जना पूर्वप्रधानन्यायाधीश, पाँच–पाँच जना पूर्वसभामुखलगायत सबैले सरकारको विरोध गरेकै छन। तत्कालीन प्रधानमन्त्रीले पनि आफ्नो र राष्ट्रपतिका तर्फबाट भाका हाली–हाली विरोध गरेको गर्‍यै थिए। कहाँको स्यालले कहाँको कुखुरा चोर्‍यो भन्ने कुरा पनि क्षण भरमै ज्ञात भएर ‘हिजो धादिङमा कराएको स्यालले नै काठमाडौँमा हराएको कुखुरा लगेको हो’ भन्दै घोषणा गरेका गर्‍यै थिए। यी टुक्काप्रसादहरूले कति जानेको, कति तल झर्न सकेको, कति र कस–कसको विरोध कवसम्म गरिरहन्छौ ?

यसरी सम्पूर्ण मुलुकभर नै विरोधका स्वर गुञ्जिरहँदा, मुलुक र जनताका हितका स्वर, आवाज कहाँ छन् ? त्यो कथित दोस्रो तथा युवा पुस्ताले कुन जनता र मुलुकका लागि के आवाज उठाउँदैछन् ? पार्टी र सरकारका भ्रष्ट नेतृत्वका विरुध्द तथा जनता र मुलुकका पक्षमा सशक्त आवाज बुलन्द गरी आफ्नो नेतृत्व स्थापित गर्न छाडेर अझै पनि तिनै भ्रष्टहरूको दुर्गन्धित आहाल वरपर नै रमाइरहने हो भने तिम्रो पुस्ता र सोचलाई पनि मातृभूमिले सराप्ने दिन टाढा छैन। इतिहासले दण्ड दिनेछ। होसियार!(राष्ट्रिय संयोजक: नेपाल नागरिक अभियान तथा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)

प्रकाशित: २ भाद्र २०७८ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App