४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

शासकले इतिहासबाट सिक्ने कुरा

जनपदहितकर्ता त्यज्यते पार्थिवेन्दै्रः।

नरपति हितकर्ता त्यज्यते सर्वलोकैः।।

'देश र जनताको हित गर्ने मान्छे राजाबाट फालिन्छ। राजाको हित गर्ने जनताबाट फालिन्छ।' यो पुरानो सुक्ति हो। यो सर्वकालिक छ। हुन पनि हो, राजाको नजिक हुने राजाकै हितैषी चाकरीवाज कहिल्यै पनि जनताको भलो गर्ने र जनपक्षको हुदै हुँदैन। जनपक्षको जनताको भलाइ गर्न खोज्ने मान्छे राजाको मनपर्दो हुनै सक्दैन। इतिहासले यही कुरा देखाइरहेको छ। देशको, जनताको भलो चाहने मान्छे जतिसुकै योग्य भए पनि जहिले पनि दण्डितै भएको इतिहास छ। राजाको नजिकको व्यक्ति जतिसुकै अयोग्य, अक्षम भए पनि निगाह पाएकै हुन्छ। पद प्रतिष्ठा भेटेकै हुन्छ, औलाधौला भइराखेकै हुन्छ। त्यस्तैका हातमा शासनसत्ता रहिरहन्छ, त्यस्तैका हालीमुहाली हुन्छ, हालहुकुम चलिरहन्छ।
यही इतिहासमा देखिएको यथार्थ हो। यही कटु सत्य पनि हो। नेपालको इतिहासतिर फर्केर हेरौँ। चाहे पहिले मल्लकालको घटना लिऊँ, चाहे शाहकालका। जसमा जनपद (देश) को हित गर्ने जनपक्षका धेरै धेरै सपुत शहीद भएर गएका छन् र तिनीहरू सत्तापक्षका विरोधी वा राज्यले गरेका अन्याय नसहने भएबाटै तिरस्कृत भएर तिरोहित भएका हुन् भने एकतन्त्री हुकुमी शासन चलाउने राजा वा शासकका भक्तहरूकै फलिफाप हालीमुहाली भएकै देखिन्छ। तिनै पूजित छन्। महिमामण्डित बनाएर देशमा प्रस्तुत गरिएका छन्।
विक्रमको सत्रौं शताब्दीको अन्त्यतिर बाबु लक्ष्मीनरसिंहलाई थुनेर प्रताप मल्ल सर्वेसर्वा बने। आफ्नो पुरुषार्थ प्रकट गर्ने ध्येयले लिच्छवीकालदेखि व्यापारी आयस्रोत बनेको भोटमा राजा प्रताप मल्लले आक्रमण गरी कुती खासा केरुङ्ग आफ्नो अधीन पारे। उनलाई सर्वतोभावले भरमद्दत गर्ने नजिककै भाइ नाता पर्ने काजी भीम मल्ल थिए। भोट अभियानमा सर्वाधिकार पाएका भीम मल्ल खटिएर सजधजसँग गएर भोटसँग आफ्नो अनुकूलका ८ धाराको सन्धि सम्झौता गर्न सफल भए। त्यसअनुसार कुती केरुङ्गको आय आधा आधा हुने भो। नेपाली बत्तीसकोठीका महाजनले विनामहसुल व्यापारमा एकाधिकार पाउने, भोटमा नेपाली टकमात्र चल्ने र चाँदी, नून र सुन निर्धारित भाउमा निर्वाध ल्याउन पाउने तथा नेपाली नाइकेले नेपालीको न्यायनिसाफ हेर्ने आदि नियम बाँधी नून, सुन र ऊन आदि सम्पत्ति र भारीका भारी सामान लिएर विजयोत्सव मनाउदै भीम मल्ल आउँदै थिए। उनको यस्तो उत्कर्ष बढोत्तरी देखेर डाहाले छटपटिएका छिमेकीका छुल्याहा र दरबारिया पोलाहाहरूले 'अब भीम मल्लले केही राख्दैनन्, आफंै राजा हुन सक्छन्' भन्ने जस्ता चुक्ली लगाएर राजाका कान भरिदिए। अनि के थियो, उनका यस्ता राज्यको भलाइ बढाइ हुने योगदानको मूल्याङ्कनै नगरी उद्दण्ड राजाले उनलाई दरबारभित्रै पस्न नदिई सफाइ पेश गर्नसमेत नदिई निर्दयतासाथ काटेर मारिदिए। उनकी पत्नीले यस ढुङ्ग (राज्य) को राजाको हुँदो गर्ने कसैको पनि भलो हुने छैन, यस्तै गति हुनेछ भन्ने सराप दिएर सती गइन् भनिन्छ। हुन पनि अहिलेसम्म भइरहेछ त्यस्तै।
पछिल्लो शाहकालीन उदाहरण हेरौं- पृथ्वीनारायणको अवसानपछि उनका उत्तराधिकारी मोजमस्ती गर्न रुचाउने विलासी भएकाले र भाइबन्धुको कलहले पनि तीव्र गतिमा चलिरहेको एकीकरणको अभियानले गति लिन सकेन। १०-११ वर्षपछि नाबालक राजाका काका बहादुर शाह नायव बनेर राज्यको बागडोर सम्हालेपछि उनले सबै भाइ भारदारलाई एकगठ गरी पुनः विजय अभियान चलाउँदा ७-८ वर्षभित्रै पश्चिमका बाइसी चौबीसी र कुमाउ गढवाल आदि राज्य वश बनाई नेपालको सीमा टिष्टादेखि पश्चिम यमुनासम्म पुर्याौए। यस बेला नेपाल देशको छवि देश/विदेश सर्वत्र फैलिएको थियो। आर्थिक, राजनीतिक, धार्मिक, सामाजिक स्थिति सुधि्रदै थियो, उत्तराखण्डका चार धाम नेपालभित्र परेकाले धर्मपरायण जनतामा चारैतिर उल्लासको वातावरण छाएको थियो।
यस्तै अवस्थामा देशभित्र स्वयं राजाबाट गृहकलहको वीजारोपण भयो। साबालक बनेका राजाले राज्यभार सम्हालेर देशको बढोत्तरी विकास गर्न लागेका नायव बहादुर शाहलाई जमिनकै नापी नक्सा गराएर वसुन्धराको अन्त्य लिए, ढुकुटी रित्याए भन्ने जस्ता बेतुकका अप्टिक लगाएर बर्खास्त गरी राज्यको हालीमुहाली चलाएर मनपरी मोजमस्ती गर्न लागे। अत्यन्त सुन्दरी एउटी मैथिली विधवा बाहुनी भित्र्याएपछि तिनलाई पटरानी मात्र बनाएनन्, तिनबाट जन्मेका सन्तानलाई राज्यको उत्तराधिकारी बनाउने घोषणासमेत गरे। यसको घोर विरोध उठ्यो, विरोध गर्नेमा बाहुन, चौतारिया र प्रमुख बहादुर शाह नै थिए। तिनलाई डाम्ने, हात्ती लाएर खेद्ने कुल्चाउने आदि सख्त सजाय दिँदै बहादुर शाहलाई जेल हालियो, अरु सयौँ भारदारलाई नवशिशु राजाको सत्य धाउँछु भन्ने कबोल गराई धर्मपत्रको लालमोहरमा सही गराए। म कायलनामाको सो मोहरमा सही गर्दिन, बरु जेलमै बस्छु भन्दा पनि एउटा राष्ट्रवादी राष्ट्रनिर्माता वीर सपुतले धर पाएन र ऊ जेलमै मारियो। यता देशभित्र पृथ्वीको अन्त्य लिएको पापले आफंै आत्महत्या गरे भनियो, उता विदेशमा पहिले थुन्दा राजद्रोह आदि दर्जनौ अपराध देखाइयो भने मरेपछि ओखतमूलो गर्दा गर्दा केही सीप लागेन र कालगतिले बिते भनियो। यसरी एक वीर सपुतको अकालमै अकार्थमै ज्यान गयो।
यसको छ सात वर्षपछि पुनः यस्तै अर्का वीर सपुतको ज्यान लिइयो। जसले राष्ट्र निर्माणको अभियानमा दिलो ज्यान दिएर लागिपरेर काम गर्योत। कुनै युद्धमा पनि पछि नहटी देशका लागि आत्मसमर्पण गरेर लड्यो। पृथ्वीनारायणकै नीतिअनुसार विरोधीलाई पनि ज्यान सजाय दिनुपर्छ भन्ने आज्ञा आउँदा पनि थामेर क्षमा दिई राख्यो, त्यस्तो राष्ट्रभक्त वीर सपुत दामोदर पाँडे जोगी राजाको सनकमा परेर आफंै थुनियो। 'नबिराउनू नडराउनू' भनी नभागी बस्ता निर्ममतापूर्वक मारियो।
यी त केही प्रमुख उदाहरण हुन्। यस्ता कति हो कति राष्ट्रभक्त सपुत अकार्थमै मारिए। तिनको गन्ती भएन। ज-जसलाई विदेशीले प्रशंसा गरे, राज्यपक्षले काखी च्याप्यो। ती ती व्यक्ति प्रशंसित भए, सपुत भए, विभूति बने। जो जो निन्दा गरिए, तीचाहिँ निन्दित भए, राज्यमा देशद्रोही ठहरिए, राजद्रोही मानिए। विदेशी चस्माले हेर्ने स्वदेशी इतिहासकार पनि यस्तै कुरा प्रचार गरिहिँड्छन्।
अरु त के राष्ट्र निर्माता पृथ्वीनारायण शाह पनि अहिले त देश बनाउने विभूति होइनन्, देश बिगार्ने/भाँड्ने सावित हँुदैछन्। हुन पनि हो, विदेशी धर्म संस्कृति अंगालेका उतैबाट पालितपोषित व्यक्तिले उनकै अनुशरण गर्नु, उनकै मान्यतालाई मान्नु स्वाभाविक हो। यस्तै उहिलेदेखि अहिलेसम्म नेपालका राष्ट्रवादी शक्ति तिरोहित हुँदै आएका छन्। विदेशी शक्तिलाई प्रभु मान्ने सत्तासीन स्वदेशी शक्तिले यही परम्परा धानिराखेको छ। राणाकालमा नेपाली भाषामा पढाइ हुनुपर्छ, जापानमा जस्तै शासन प्रक्रिया चालु हुनुपर्छ भन्ने मानव अधिकारवादी जयपुथ्वीबहादुर सिंह निर्वासित भए। जनतालाई सचेत, साक्षर बनाउनुपर्छ भनेर पाठशाला खोल्न, पत्रिका प्रकाशन गराउन चाहने, कमाराकमारी अमलेख गर्न लागेका स्वयं सत्तासीन देवशमशेर पनि चौखुर्या,एर चार भञ्ज्याङ कटाइए। अनि भने 'म जनताको सेवक हुँ' भन्दै जनतालाई मामुली मावन अधिकार दिन खोज्ने पद्मशमशेर पनि राणा गणको च्यापोमा परेर रुँदै डाँडो काटेर गए। अरु राणा विरोधी दण्डित (शहीद) बनाइएका पाटा बेग्लै छन्।
७ सालमा प्रजातन्त्र आयो, राणाको सत्ता शाहमा सर्यो । संविधान सभाको चुनाव भएर संविधान बन्ने कुरा व्यापकरूपले चले पनि राजाबाट सो हुन दिइएन्। बल्लबल्ल संसद चुनाव भयो। अत्याधिक बहुमतले जितेका विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा जनप्रतिनिधिमूलक प्रजातन्त्री शासन चल्यो। देश विकासको ठूलो लहरै आयो। जनताका छोराको राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि चम्किएको देख्दा छिमेकीका आँखाले, राजालाई असह्य भयो र उनले डेढ वर्षमै सैनिक लगाएर प्रधानमन्त्री, मन्त्रीलगायत् जनप्रतिनिधिमूलक संस्था भङ्ग गरे। आफंै पञ्चगणद्वारा शासन चलाए। जनप्रतिनिधिले जेलनेल निर्वासन पाए। यसरी जनपक्ष फालियो, राजपक्ष पञ्चगण उदायो।
तीस वर्षपछि जनआन्दोलनद्वारा पञ्चायत फालियो, प्रजातन्त्र पुनर्बहाली भयो, संविधान पनि बन्यो। तर देशी/विदेशी शक्तिको सहयोगले चलेको हिंसात्मक आन्दोलनले देशै तहसनहस भएको अवस्थामा नारायणहिटी पर्वमा परी सपरिवार वीरेन्द्र राजाको हत्या भयो। पछि भएका नयाँ राजा पुनः पञ्चायत फर्काउँछु भनेर लाग्दा विरोधमा उठेको जनलहरले आफंै विस्थापित भए। लोकतान्त्रिक गणतन्त्र आयो। तर अहिले यो गणको तन्त्र सावित भयो। सन्ताउन्न वर्षदेखि जनताले चाहेको संविधान सभाको चुनाव भयो। यत्रो रस्साकस्सी गर्दा पनि संविधान बनेन। अब अहिले सत्तासीन माओवादीकै एक पक्षको एकाधिकारवादी सोचले नै संविधान नबनाई संविधान सभा भङ्ग गरियो। जनप्रतिनिधिविहीन बनेर गणको एक पक्षको हातमा राजसत्ता अवलम्बित भएको छ। अब फेरि चुनावविना देशले गति लिन सकेको छैन। सक्दैन पनि। चुनाव नभई इनेगिने दलका नेता बसेर निर्मित संविधान जनसम्मत पनि हुन सक्दैन। चुनाव हुने स्थिति सिर्जना नगरी अथवा गर्ने वातावरण बन्न दिई २५ वर्ष शासन गछर्ौं भनेर हाँक दिनु पञ्चायतले ५० वर्ष शासन गर्छ भनेजस्तै हो। सहमतिविनाको एकपक्षीय सरकारले देशमा सुशासनका कुनै स्थिति बसाल्न सकेको पनि छैन। अहिले सुशासनका कुनै गुण छैनन्। राष्ट्र रक्षाका सट्टा असुरक्षा र अशान्ति व्याप्त छ। दण्डविहीनता पराकाष्ठामा पुगेको छ। अपराधी पुरस्कृत भइरहेछन्। सुजन पूजाको सट्टा स्वजनपूजा भइरहेछ। सत्ता पक्षकाले सबै लाभ लिइरहेछन्। 'भजनमै भोजन' भनेजस्तै छ। कोश वृद्धिको सट्टा स्वपक्ष पोषणमा कोष रित्याइँदैछ। विकासको गति मन्द छ। भ्रष्टाचार, कमिसन र महँगीले देश ग्रस्त छ। निर्धालाई ऐन, सक्नेलाई चैन छ। यसरी सत्ता पक्ष पालिने र जनता पक्ष फालिने परम्परा देशमा अहिलेसम्म कायम छ। अहिलेको यो गणको तन्त्र पञ्चतन्त्रमा परिणत हुने लक्षण आएको देखिँदैछ तर पनि राज्यसत्ता पक्ष स्वर्ण युग ल्याउने सपना देखाइरहेछ। जहिले पनि इतिहास बङ्गाएर आफ्नो पक्षको अनुकूल पारिरहने एकाधिकारवादी शासकको, सत्तापक्षको चरित्र उस्तै हुन्छ, मनोवृत्ति एकैनासको हुन्छ।

प्रकाशित: २२ मंसिर २०६९ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App