पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुध्रेको कुरा केही तथ्याङ्कहरूले देखाएका छन् । वार्षिक औषत मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको, आर्थिक वृद्धिदर थोरै बढेर ३.८७ प्रतिशत पुगेको र विप्रेषण आप्रवाह भई रु.१४४५ अर्ब ३२ करोड (१६.५ प्रतिशतले वृद्धि) ले बढेको देखिएको छ । विप्रेषण आय बढेकै कारण आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले बचतमा रहेको छ भने कूलविदेशी विनिमय संचिति रु.१५ खर्ब ३९ अर्ब ३६ करोडले बचतमा छ । यस्तो बचतले मुलुकमा १५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ । यिनै तथ्याङ्कहरू देखाएर मुलुकको अर्थतन्त्र तङ्ग्रिएको कुरा सार्वजनिक हुन थालेका छन् ।
तर, मुलुकको आर्थिक अवस्था चिन्ता मुक्त भने छैन । कुल वस्तु व्यापार घाटा हेर्ने हो भने रु.१४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ । सरकारको कूल राजस्वले चालू खर्च धान्नसक्ने अवस्था छैन । यहि कारणले सार्वजनिक ऋण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कले सार्वजनिक ऋण बढेर २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख पुगेको छ । कूल सार्वजनिक ऋणलाई जनसङ्ख्याले भाग गर्ने हो भने प्रत्येक नेपालीको भागमा ८३ हजार ४ सय ३१ रुपैयाँ सार्वजनिक ऋण पर्न जान्छ । मुलुकको सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादनको करिव ४४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋणको उचित ढङ्गले प्रयोग गर्न नसक्दा मुलुकको आर्थिक भार बढ्दै गएको छ । देशमा रोजगारीकाअवसरहरू कम छन् । भएपनि ज्यालादर न्यून हुँदा जीवन निर्वाह गर्न नसक्ने भएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्दै गएको छ ।
नेपाली अर्थतन्त्रलाई बचाउने हो भने अब बैकल्पिक अर्थतन्त्रको खोजी गर्नु आवश्यक छ । नेपालको सन्दर्भमा सम्भावनाका क्षेत्रहरू भनेको पर्यटन, जलविद्युत र कृषिहुन् । सरकारले पनि आर्थिक वर्ष २०८१/८२ को संघीय बजेटमा कृषि, उर्जा, सूचना प्रवर्धन, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई पाँच रुपान्तरणकारी क्षेत्र मानेको छ । यसबाट पनि पर्यटन क्षेत्रको महत्व स्पष्ट हुन जान्छ ।
पर्यटनले आयात निर्यातको झमेलाबाट दुई कदम अगाडि बढ्दै विदेशी मुद्रा आर्जनको सहज माध्यमको रुपमा काम गर्न सक्दछ । नेपालका अन्य क्षेत्रहरू सुस्ताउँदै गइरहेको सन्दर्भमा पर्यटनको विकास गर्नसकेमा विप्रेषणमा आधारित अर्थतन्त्रलाई पर्यटनले टेवा दिन सक्छ । यस सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षित गर्ने केन्द्रका रुपमा स्थापना गर्नसके नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्न सक्दछ ।
पछिल्लो तथ्याङ्कअनुसार विश्वको कूल जनसङ्ख्याको ६.६ प्रतिशत मानिसहरू बौद्ध धर्म मान्दछन् । यस हिसाबले बौद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या करिब ५१ करोड हुन आउँछ । यो त बौद्ध धर्म मान्नेहरूको सङ्ख्या हो । सन् २०१९ मा अमेरिकामा रहेको पेव रिसर्च सेन्टरले गरेको एक अध्ययनमा एसियाली क्षेत्रमा बौद्ध धर्म नमाने पनि बुद्धका शिक्षा र संस्कार आदि अगाल्नेहरू प्रसस्त छन् । बुद्ध शिक्षाले ईश्वरलाई नमान्ने र अनित्य, अनात्म र दुःखजस्ता जस्ता विषयलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने भएकाले आधुनिक मानिसका बीच पनि बौद्ध धर्मको लोकप्रियता बढ्दै गएको छ ।
कर्ममा विश्वांस गर्ने र प्रतीत्यसमुत्पाद सिद्धान्तलाई अगाल्ने भएकाले पनि बौद्ध धर्म अन्धविश्वासभन्दा पर छ । त्यसैले पनि पछिल्लो पुस्ता यस धर्मप्रति आकर्षित छ । यतिमात्र नभएर बौद्ध ध्यान विपश्यनाको लोकप्रियताका कारण पनि जिज्ञासुहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । यही सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी हुनुले नेपालमा बौद्ध पर्यटनको प्रसस्त सम्भावना रहेको देखिन्छ । यतिमात्र नभएर गौतम बुद्धभन्दा पहिलेका बुद्धहरू कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा र क्रकुछन्द बुद्धको जन्मस्थल निग्लिहवा पनि नेपालमा रहेको पवित्र बौद्ध तीर्थस्थलहरू हुन् ।
लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ । यस सन्दर्भमा लुम्बिनी धार्मिक एवम् ऐतिहांसिक स्थलको रुपमा पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । लुम्बिनी पुरातात्विक वस्तुहरू मात्र नभएर ध्यान, ज्ञान र शान्तिको त्रिवेणी पनि हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनासँगै यो क्षेत्र बौद्ध इतिहास, संस्कृति, साहित्य र दर्शन अध्ययनको केन्द्र पनि बनेको छ । लुम्बिनीलाई तिलौराकोट, देवदह र रामग्रामसँगै जोडेर बौद्ध तीर्थस्थल एवम् वृहत्तर लुम्बिनीको रुपमा प्रचार प्रसार गर्नु आवश्यक छ । बौद्ध पर्यटनका लागि यी क्षेत्रलाई उच्चप्राथमिकता दिई पर्यटकको आगमनका साथै बसाइ अवधि लम्ब्याउने प्रयास गर्नु बौद्ध पर्यटन विकासका निम्ति नगरी नहुने काम हुन् ।
रामग्राम बुद्धको अस्तिधातु रहेको स्तूप रहेको पवित्र स्थान हो । सम्राट अशोकको पालामा बुद्धका अस्तिधातु रहेका स्तुपहरूबाट अस्तिधातु झिकी ८४००० स्तुपहरू निर्माण गरिएको भएपनि रामग्राममा रहेको स्तुप भने सुरक्षित रहको भन्ने कुरा बौद्ध साहित्यहरूमा पाइन्छ । अर्काेतिर देवदह शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र पत्नी यशोधराको माइती गाउँ हो । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय यहाँ रहेको उनको मामाघरमा बिताएको मान्यता छ । बुद्धले आफ्नो ज्ञान प्राप्तिको सातौंँ वर्षमा आफ्ना सहयोगीका साथ देवदहको भ्रमण गरेको विभिन्नबौद्ध ग्रान्थमा उल्लेख गरेको पाइन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षसमेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीभित्र रहेको मायादेविको मन्दिर, अशोक स्तम्भ र पुष्करिणी पोखरी पूरातात्विक एवम् धार्मिक दुबै दृष्टिले महत्वपूर्ण छन् । लुम्बिनीको वृहत्तर विकासका लागि जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको योजना नै लुम्बिनी गुरुयोजना हो । यसले तीन वर्ग माइल क्षेत्र ओगटेको छ । योजनाको क्षेत्रलाई पवित्र वगैँचा, स्तूप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रूपमा विभाजन गरिएको छ । यहाँ विभिन्न देशले स्तूप एवम् विहारहरू निर्माण गरेका छन् । जुनपर्यटकका लागि मुख्य आकर्षणको विषय हो ।
लिच्छविकालमै चिनियाँ यात्रीहरू नेपालकै बाटो भएर लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित विभिन्न ठाउँमा भ्रमण गर्थे । चौथो शताब्दीमा फासियान, सातौं शताब्दीमा इचिङ जस्ता बौद्ध भिक्षुहरूले नेपालकै बाटो गरी यस्तो तीर्थ यात्रा गरेका थिए । फा–सियानभन्दा २०० वर्षअघि नै लि ताओ युङ र त्यसपछि सेङ–साई र वाई–यु–चिनले लुम्बिनीको भ्रमण गरेका थिए । यसरी नेपाल प्राचीन समयदेखि नै बौद्ध पर्यटनका लागि प्रसिद्ध स्थल हो । खासमा बुद्धको जन्मस्थल लुम्बिनी रहेको र हाल सरकारले बजेट मार्फत् लुम्बिनीमा बर्थ सेन्टर बनाउने योजनाले पनि यस क्षेत्रको पर्यटनलाई थप टेवा दिन सक्दछ ।
५१ करोड बौद्ध धर्मावलम्बीहरूका साथै बौद्ध आस्था जागृत भएका एवम् यससँग अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि नेपाल बौद्ध पर्यटनका निम्ति उर्बर भूमि हुन सक्दछ । त्यसैले अबका दिनहरूमा नेपालले पर्यटनको विकासका निम्ति पर्यटन पूर्वाधारको विकास गर्दै पर्यटन शिक्षा, बजारीकरण र कुटनैतिक पहललाई समेत ध्यान दिनु पर्दछ । स्थलमार्ग हुँदै भारतबाट आउने पर्यटकहरू प्राय एक रात पनि नबसी दिनभरी लुम्बिनी घुमेर फर्किने गरेको अभ्यास छ । यसलाई रोक्न र कम्तिमा पनि एक रात पर्यटकलाई यहाँ रोक्न लुम्बिनीसँगै कपिलवस्तु, रामग्राम र देवदहको महत्व र गरिमाबारे प्रचारप्रसार गर्नु आवश्यक छ ।
लुम्बिनीमा गर्नुपर्ने धेरै कामहरू छन् । सरसफाईको कामदेखि लिएर पर्यटक गाइडको उचित व्यवस्था र लुम्बिनीभित्र प्रदूषणमुक्त यातायातका साधनहरूको जोहो गर्नु आवश्यक छ । विपश्यनाध्यानको थप प्रचारप्रसार गरी नियमित रुपमा विपश्यनाध्यान शिविरहरू चलाउन सक्ने हो भने लुम्बिनीमा पर्यटकको आगमन वृद्धि गराउन सकिने थियो । यसका साथै लुम्बिनी वौद्धविश्वविद्यालयको प्रचार प्रसार र क्षमता वृद्धि गरी अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा स्थापित गर्नु पनि उत्तिकै जरुरी छ ।
पर्यटकहरूले लुम्बिनीबाट फर्किदा यहाँको केही चिनो पनि लिएर जाऊन् भन्ने उद्धेश्यले बौद्ध संस्कृति झल्काउने उपहारहरू किन्न सकिने ‘कोशेली घर’को स्थापना गर्न सकिन्छ । खासगरी पर्यटकलाई सहजता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूतिदिने खालको आध्यात्मिक वातावरण निर्माण गर्न जरुरी छ । यति गर्न सके लुम्बिनीमा पर्यटक आगमन बढाउन सहज हुन सक्नेछ । अर्काे महत्वपूर्ण कुरा भनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालनका निम्ति पनि पहल गर्नु जरुरी छ ।
सरकारको चालू बजेटले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने सन् २०२३ देखि २०३३ लाई पर्यटक दशकका रूपमा मनाउने घोषणा पनि गरेको थियो । यस अवधिमा ३५ लाखपर्यटक भित्र्याउने सरकारको योजना छ । सरकारको यस्तो महत्वकांक्षी योजनालाई लुम्बिनीको प्रवर्धन र प्रचार प्रसार गर्ने हो भने सहजै भेट्न सकिन्छ । त्यसैले लुम्बिनीको पर्यटन पर्वधनका निम्ति नेपाल सरकार, प्रदेश सरकार, स्थानीय नियकाय तथा लुम्बिनी विकास कोषले आपसमा समन्वयगर्दे विशेष पहल गर्नु जरुरी छ । यसका साथै लुम्बिनीका स्थानीय जनतालाई बुद्ध शिक्षाबारे ज्ञान दिलाउने र उनीहरूलाई लुम्बिनीप्रति अपनत्वभाव वृद्धि गर्ने हो भने लुम्बिनी, नेपालको पर्यटन विकासको प्रस्थानविन्दु बन्न सक्दछ, जसले गर्दा विप्रेषण आयमा निर्भर नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरको बाटो हुँदै आर्थिक समृद्धिको गनतब्यसम्म पु¥याउन सकिनेछ ।
प्रकाशित: १६ आश्विन २०८१ १४:२७ बुधबार