१२ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल

गत साता श्रीलंकामा भएको राष्ट्रपति चुनावमा जनता विमुक्ति पेरामुना वा जनमुक्ति मोर्चा (जेभिपी) सहित २१ वामपन्थी राजनीतिक पार्टी र संगठन आबद्ध भएको नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धन विजयी भएको छ। ५५ वर्षीय जुझारु युवा वामपन्थी नेता अनुराकुमारा दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा पदको शपथ लिएका छन्। जेभिपी दिसानायके नेतृत्वको पार्टी हो। राष्ट्रपतिले श्रीलंकाली संसद् भंग गरेर हरिनी अमरसुरियालाई प्रधानमन्त्री र विदेश मन्त्रीमा विजिथा हेरातलाई नियुक्त गर्नुका साथै संसद्को चुनाव कात्तिक २९ मा हुने घोषणा गरेका छन्।

दक्षिण एशियाली मुलुक श्रीलंका, आफ्नो अद्वितीय प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छ। श्रीलंकालाई उसको आकारका कारण हिन्द महासागरको ‘मोती’ पनि भनिन्छ। भारत जस्तै श्रीलंका पनि सन् १९४८ भन्दा अघि बेलायती उपनिवेश थियो। त्यतिबेलाको श्रीलंका सिलोन भनेर चिनिन्थ्यो। ४ फेब्रुअरी १९४८ मा सिलोन बेलायती उपनिवेशबाट मुक्त भएको हुनाले श्रीलंकाले आफ्नो स्वतन्त्रता दिवस ४ फ्रेब्रुअरीमा मनाउने गर्छ र सन् १९७२ मा सिलोनको संसद्ले जारी गरेको नयाँ संविधानमा सिलोनको नाम परिवर्तन गरेर प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका भएको घोषणा गर्‍यो। सन् १९६० मा श्रीलंकाली जनताले विश्वको पहिलो प्रधानमन्त्रीका रूपमा सिरिमाओ बन्दारानायकेलाई निर्वाचित गरे।

श्रीलंकाका राष्ट्रपति चुनावको मतदान प्रक्रियामा मतदाताले आफ्नो प्राथमिकताअनुसार पहिलो, दोस्रो र तेस्रो उम्मेदवारलाई मतदान गर्नुपर्छ। मतगणनाको पहिलो चरणमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गनिन्छ, यस गणनामा ५० प्रतिशत मत प्राप्त गरेमा ऊ निर्वाचित घोषित हुन्छ। त्यसो हुन नसकेको खण्डमा दोस्रो र तेस्रो प्राथमिकताको मत गनिन्छ र जसले सबभन्दा बढी मत प्राप्त गरेको हुन्छ ऊ राष्ट्रपति घोषित हुन्छ। श्रीलंकामा १९८२ देखि भएको आठवटा राष्ट्रपति चुनावमा मतगणनाको पहिलो चरणमै विजेता घोषित भएका थिए तर यसपालि भएको चुनावको पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेको हुनाले दोस्रो चरणको मतगणना गर्नुपरेको थियो।

यस चुनावमा श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये लगभग ७६ प्रतिशतले मतदानमा भाग लिएका थिए। दिसानायकेले दोस्रो चरणको मतगणनामा ४२.३१ प्रतिशत मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी साजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दिसानायकेको पार्टी जनता विमुक्ति पेरामुना (जेभिपी) श्रीलंकाको कट्टर कम्युनिष्ट पार्टी हो। जेभिपीले सन् १९७१ र १९८८–८९ सरकारविरुद्ध असफल विद्रोह गरेको थियो जसमा हजारौँ नागरिकको मृत्यु भएको थियो। १९८८–८९ भएको विद्रोह दिसानायके नेतृत्वमा भएको थियो।

योभन्दा पहिले सन् २०१९ मा भएको राष्ट्रपति चुनावमा जेभिपीलाई मात्र तीन प्रतिशत मत प्राप्त भएको थियो तर चरम आर्थिक संकट, महँगी र भ्रष्टाचारको कारणले जनतामा व्याप्त असन्तोषले गर्दा श्रीलंकाली जनताले दिसानायकेलाई मुलुकलाई यो संकटबाट पार लगाउन सक्छन् भन्ने आशा र भरोसाका साथ राष्ट्रपतिमा निर्वाचित गरेका हुन्। राष्ट्रपति दिसानायकेले चुनाव परिणामपछि भनेका छन्– शताब्दियौँदेखि हामिले देखेको सपना अहिले आएर साकार हुँदैछ। यो जीत हामी सबैको जीत हो। लाखौँ आँखा अपेक्षा र आशाले भरिएको छ, हामी सबै मिलेर श्रीलंकाको नयाँ इतिहास लेख्न तयार भएका छौँ। शपथ ग्रहणपछि देशवासीलाई गरेको सम्बोधनमा उनले भने–‘नेताको आचरणप्रति जनतामा शंका उत्पन्न भएको छ। लोकतन्त्रको रक्षा गर्न र जनतामाझ उनीहरूको सम्मान पुनः स्थापित गर्नका लागि सक्दो प्रयास गर्नेछु।

अन्तर्राष्ट्रिय परिदृश्यमा श्रीलङ्का एक्लो रहन नसक्ने र मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ। उनले आफू जादुगर नभएको तर आर्थिक संकटमा फसेको देशलाई माथि उकास्न सामूहिक जिम्मेवारीमा सहभागी हुने आफ्नो उद्देश्य रहेको बताए। म जादुगर होइन, म यो देशमा जन्मेको एक सामान्य नागरिक मात्र हुँ। मसँग क्षमता र अक्षमता दुवै छ। मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन। मेरो पहिलो काम भनेको व्यक्तिको प्रतिभा प्रयोग गर्नु र यस देशको नेतृत्व गर्न राम्रो निर्णय लिनु हो। म सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु।

राष्ट्रपति दिसानायकेका लागि मुलुकको जर्जर अर्थव्यवस्थालाई पुनः पूर्ववतः अवस्थामा फर्काउनु, महँगी कम गर्नु र विदेशी ऋण तिर्नका लागी ठोस नीति ल्याएर जनतालाई विश्वास दिलाउनु प्रमुख चुनौती हुनेछ। ज्ञातव्य छ, आर्थिक संकट आउनुअघि श्रीलंका, दक्षिण एशियामा आर्थिक दृष्टिले अत्यन्त समृद्ध र सबैभन्दा बढी शिक्षित मुलुकमा दरिन्थ्यो। नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि। यसमा श्रीलंका र म्यानमार दुई मात्रै यस्ता मुलुक हुन् जसलाई शाक्यमुनि भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै द्विविधा छैन। अन्य बौद्धधर्मावलम्बी मुलुक या स्वयं भ्रमित छन् वा उनीहरूमाझ भ्रम छर्ने काम भएको छ।

नेपाल सरकारले विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगका माध्यमबाट यो भ्रम चिरेर मुलुकमा बढीभन्दा बढी श्रीलंकासहित अन्य मुलुकका बौद्ध धर्मावलम्बी मुलुकका पर्यटक भित्र्याइ मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्छ। तर अहिलेसम्म न नेपालका प्रधानमन्त्री न विदेश मन्त्रीले दक्षिण एशियाको नेपालको महŒवपूर्ण मित्रराष्ट्रका आफ्ना समकक्षीलाई बधाई सन्देश पठाएका छैनन् जबकि श्रीलंकाका सबै छिमेकी र अन्य मित्रराष्ट्रले बधाई ज्ञापन गरिसकेका छन्।

कूटनीतिमा यसले नेपालको कमजोर कूटनीतिलाई उजागर गर्दछ। तसर्थ वामपन्थी प्रधानमन्त्री केपी ओलीले यसलाई सुधार गरेर मित्रराष्ट्र श्रीलंकाका नवनिर्वाचित वामपन्थी राष्ट्रपति दिसानायकेलाई अनुरोध गरेर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अविलम्ब कोलम्बो उडानको व्यवस्था गर्नुपर्छ। जसले गर्दा खर्बौं रूपैयाँ लगानी भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र चलायमान हुन सकोस्। यसका लागि नेपाल सरकाले आफ्नो परराष्ट्र नीतिमा श्रीलंकालाई प्राथमिकतामा राखी सोहीअनुसार कदम चाल्नु आवश्यक छ।

@rmshghimire

प्रकाशित: ११ आश्विन २०८१ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App