२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

सम्मानजनक सुत्केरी

पीडा हुँदा आमा, खुसी हुँदा आमा, अचम्मित हुँदा आमा। जुनसुकै अवस्थामा पनि अनायासै जसको मुखबाट पनि निस्कने शब्द हो-आमा। आमा बन्नु संसारकै सबैभन्दा ठूलो सौभाग्य हो। आजभोलि आमा बन्ने नयाँ नयाँ प्रविधि आइसकेको छ। प्राकृतिक रूपमा आमा बन्नेहरूको संख्या बिस्तारै घट्दैछ। सहज रूपमा बच्चा जन्माउनु भन्दा शल्यक्रियाद्वारा बच्चा जन्माउन थालेका छन्।

शल्यक्रियाद्वारा बच्चा जन्माउनु रहर हो या बाध्यता? यसबारे केही जानकारी पाउन मैले मिडवाइफ्री सोसाइटी अफ नेपालकी सचिव प्रशंसा लामा बूढासँग प्रश्न राखेँ-शल्यक्रियाद्वारा बच्चा जन्माउनु राम्रो हो कि प्राकृतिक रूपमा? जवाफमा प्रशंसाले भनिन्-आजभोलि महिना पुगेपछि साइत देखाएर ज्योतिषको सल्लाहअनुसार बच्चा जन्माउने चलन बढ्दो छ, प्रसव पीडाको अनुभवबिना नै शल्यक्रियाद्वारा बच्चा जन्माउने गर्छन्।

हुन पनि सहरतिर सुत्केरी हुनेमध्ये धेरैजनाको शल्यक्रियाद्वारा बच्चा जन्मिएको हामीले दैनिकजसो सुनिरहेका हुन्छौँ। र, कतिले डाक्टरको सल्लाहअनुसार त कतिले आफ्नो इच्छाले शल्यक्रिया गराउँछन्। पक्कै पनि शल्यक्रिया एउटा सजिलो तर खर्चिलो माध्यम हो।

यसै कुरालाई अघि बढाउँदै साढे दुई वर्ष प्रसूति गृह थापाथलीमा मिडवाइफ भएर काम गरिसकेकी प्रशंसा शल्यक्रियाबारे भन्छिन्– फिल्म, टेलिफिल्म र नाटकहरूमा आमा बन्नुअघि लाग्ने सुत्केरी बेथालाई निकै नाटकीय ढंगमा प्रस्तुत गरिन्छ जुन हामीले देखिआएकै कुरा हो। कहिलेकाहीँ त कि आमा कि बच्चामध्ये एकजनाको मात्र ज्यान जोगिन्छ भन्ने कुरा देखाइन्छ तर असल जिन्दगीमा यस्तो हुँदैन। यस्तो हेरेका र देखेका महिला प्राकृतिक रूपमा सुत्केरी हुन हिच्किचाउँछन् र शल्यक्रिया नै रोज्छन्।

हुन पनि वास्तविक रूपमा कुरा गर्ने हो भने गाउँघरमा काम गर्दागर्दै, घाँस काट्दाकाट्दै, गोठ सोर्दासोर्दै पनि स्वस्थ बच्चा जन्मन्छ। त्यति पीडा पनि हँुदैन किनकि गाउँघरमा गर्भवती महिलाहरू गर्भ बसेदेखि सुत्केरी हुन्जेलसम्म पनि घर, गोठ, खेतका काम गरिरहन्छन्। र, उनीहरूको शारीरिक परिश्रमले गर्दा सुत्केरी हुन त्यति गाह्रो हुँदैन।

यही क्रममा सन् २०२० मा फ्लोरेन्स नाइटिंगेलको सय वर्षको जन्मोत्सवका उपलक्ष्यमा डब्लुएचओ, युएनएफपिए/आइसिएमले संसारकै प्रतिभाशाली सयजना मिडवाइफको लिस्टमा चौथोमा पर्न सफल भएकी प्रशंसा भन्छिन्– गर्भावस्थामा परिवारका सदस्यहरूको साथ, माया र सहयोगको निकै खाँचो पर्छ। अझ भनौँ भने श्रीमान्को साथ र सहयोग अति जरुरी हुन्छ। प्रसूति हुनु भनेको कुनै रोग हैन, यो कुरा बुझेर शब्द, व्यवहार, सबै कुरा सकारात्मक हुनु जरुरी छ।

यद्यपि प्रसूति गराउँदा ल्याबर रुममा एकजना मिडवाइफ हुुनु जरुरी छ। नेपालमा सन् २०१७ मा पहिलो मिडवाइफ ब्याच तयार भएको थियो। यसरी तयार भएका मिडवाइफलाई दक्ष प्रसूतिकर्मीका रूपमा लिन सकिन्छ। स्टाफ नर्स पास गरेर एक वर्ष कोर्स गरेपछि बल्ल मिडवाइफ भएर काम गर्न र लाइसेन्स लिन पाइन्छ।

नेपालमा नौ हजार मिडवाइफ आवश्यक छ तर सयजना पनि नभएको अवस्था छ भने प्रत्येक हस्पिटल, नर्सिङ होम, हेल्थपोस्ट जहाँ पनि मिडवाइफ राख्नैपर्ने नियम ल्याउनुपर्ने देखिन्छ। जसले गर्दा मातृ मृत्यु दर घट्ने संभावना धेरै हुन्छ।

यही क्रममा नेपालमा सुत्केरी हुनेबेला श्रीमान् अगाडि राखी सुत्केरी गराउने चलन आइसकेको र श्रीमान् अगाडि राखेर सुत्केरी गराउँदा र नगराउँदा के फरक हुन्छ भन्ने प्रश्नमा प्रशंसा भन्छिन्–सुत्केरी बेथा लागेकी महिलालाई श्रीमान् अगाडि हुनेबित्तिकै अक्सिटोसिन नामक हार्मोन रिलिज हुन्छ जसले गर्दा पीडा निकै कम हुन जान्छ। यता श्रीमान्को पनि माया र सम्मान बढ्न जान्छ। झन् आजभोलि त श्रीमान्लाई साल काट्न लगाउने चलन पनि आएको छ जसले गर्दा श्रीमती सुत्केरी भएका बेला बढी ध्यान पुर्‍याउँछन्।

आजभोलि प्रसूति हिंसा भन्ने शब्द पनि धेरै सुनिन थालेको छ। यसबारे प्रशंसा भन्छिन्– गर्भवती अवस्थादेखि सुत्केरी अवस्थासम्म कुनै पनि महिलाको इच्छाविपरित कुनै क्रियाकलाप भएको अवस्थालाई सुत्केरी हिंसा भनिन्छ। जस्तो कि गर्भवती महिलाले एक्लो अनुभव गरेमा, सुत्केरी हुने बेलामा चाहेको व्यक्तिलाई साथमा राख्न नपाएमा, शारीरिक शोषण भएमा, सुत्केरी व्यथा लाग्दा स्वास्थ्यकर्मीले चिमोट्ने, गाली गर्ने गरेमा, गोपनीयता भंग भएको अवस्थाहरूलाई प्रसूति हिंसा भनिन्छ।

गर्भवती महिलालाई यस्तो कुनै पनि अवस्थाको सामना गर्नुपरेमा उनले कानुनको सहारा लिन सक्छिन्। तर यो अवस्था हिंसा हो र यस्तो भएमा कानुन लाग्छ र उजुरी गर्न मिल्छ भन्ने कुराको ज्ञान महिलामा छैन।

कुनै पनि महिलालाई आमा बन्नु ठूलो गर्व अनि सौभाग्यको कुरा हो। २५ देखि ३५ वर्षको उमेरमा आमा बन्नु उपयुक्त हुन्छ। सचेतना र जानकारीको अभावमा आजभोलि सर्जरी गर्ने चलन बढ्दै गइरहेको छ। शल्यक्रियाको फाइदा नर्सिङ होमलाई पक्कै हुन्छ होला तर प्राकृतिक रूपमा बच्चा जन्माउनु आमा र बच्चाका लागि धेरै राम्रो हुन्छ। आमा र बच्चाको सम्बन्ध बढी प्रगाढ हुन्छ। घर, परिवारको सकारात्मक सहयोग, श्रीमान्को माया, स्वास्थ्यकर्मीको सकारात्मक व्यवहार भएमा, सुत्केरी व्यथा कम लाग्ने गर्छ। गर्भावस्थालाई उत्सवका रूपमा मनाउनुपर्छ यो कुनै किसिमको रोग होइन  भन्ने बुझ्नुपर्छ।

गर्भवतीले गर्भावस्थामा सकारात्मक सोच राख्ने, समय मिलाएर पौष्टिक आहार खाने, समयमा सुत्ने र आराम गर्ने र खुसी भएर बस्ने गरेमा गर्भको बच्चा पनि खुसी हुने गर्छ। यो कुरा जिन्दगीभरलाई लागु हुन्छ। सम्मानजनक प्रसूति सेवा सबै गर्भवतीको अधिकार हो। बच्चा जन्मिसकेपछि पनि कमसेकम ४५ दिन सुत्केरीले आराम गर्नुपर्छ। गह्रुँगा कुरा बोक्नु हुँदैन। सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ नत्र संक्रमणको डर हुन्छ। रगत राम्रोसँग सञ्चालन होस् भनी शरीरको मसाज गराउनुपर्छ। झोल तथा सन्तुलित आहार खानुपर्छ। प्रोटिन भएको खानेकुरा र ज्वानोको झोल पिउनु राम्रो हुन्छ।

मिडवाइफ बन्न स्टाफ नर्सपछि कम्तीमा एक वर्षको अनुभव र तीन वर्षको ब्याचलर इन मिडवाइफरी साइन्स पढ्नुपर्छ। यसका साथै नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त गर्नुपर्छ। शल्यक्रिया भनेको एउटा आकस्मिक प्रक्रिया हो। विश्व स्वस्थ संगठनले आमा वा बच्चाको ज्यान जोखिममा परेको खण्डमा १० देखि १५ प्रतिशत महिलाको शल्यक्रियाद्वारा प्रसूति गराउन र अन्यमा ८० देखि ८५ प्रतिशत महिला लाई प्राकृतिक प्रसूति गराउन सकिन्छ भनेको छ।

प्रकाशित: २४ श्रावण २०८१ ०५:१५ बिहीबार

#A dignified delivery #Blessed to be a mother