१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

खुलै राखौं खुलामञ्च

२०४८ मंसिर २७ गते। काठमाडौँ टेकेको मेरो पहिलो दिन। सहिद गेट, टुँडिखेल र रत्नपार्कको घुमाइ। त्यो शान्त र सफा शहर। सधैँ खुला रहने त्यो खुलामञ्च। म काठमाडौँ आउनुभन्दा दुई वर्षअघि पञ्चायत अन्त्य भएर बहुदलीय व्यवस्था पुनस्र्थापनापछि राजनीतिक मञ्चका रूपमा यसको पहिचान बनेको थियो। नागरिकसँगै त्यो बेलादेखि खुलामञ्च पनि स्वतन्त्र थियो।

राजनीतिक परिवर्तनसँगै विकास निर्माणको क्रम बढ्दै गयो। र, सँगै विनास पनि बढ्दै गयो। सडकलगायत विभिन्न संरचना निर्माणले धेरै प्राकृतिक स्रोत मासिए। केही साँघुरिए। त्यस्तै विकासपछिको विनासको चपेटामा खुलामञ्च पनि पर्‍यो।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः १९९० मा ३३ प्रतिशतमा झर्‍यो। अतिक्रमण बढ्दै जाँदा २००० मा २५ प्रतिशत र २०१७ मा आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुग्यो। अझै अतिक्रमण बढ्दो छ। र, यसलाई एकादेशको खुलामञ्च बनाइँदैछ।

राजनीतिक र प्रशासनिक शक्तिको आडमा केही वर्षअघि खुलामञ्चलाई कमाइखाने भाँडोका रूपमा कब्जा गरे। नागरिकले ‘खुलामञ्च कहाँ छ, खुला। हामी खुला स्थान चाहन्छौँ’ भन्ने जनअभियानपश्चात खुलामञ्च पुनः खुला भयो।

करिब दुई हजार वर्ष पुरानो इतिहास बोकेको पुरातात्त्विक, कला, संस्कृति, सम्पदा, स्थानीय वस्तुकला आदिको धनी शहर हो काठमाडौँ। र, त्यसको छाती हो खुलामञ्च। सदियौँदेखि खुलामञ्चलगायत सम्पूर्ण टुँडिखेल रैथाने नेवाः समुदायका बालबालिका खेल्ने र हुर्कने ठाउँ हो। तर आज तिनै नागरिकले उपयोग गर्ने खुलामञ्चलाई जन्जिरले बाँधिएको घेराबाट चियाउन बाध्य पारिँदैछ।

खुलामञ्च काठमाडौँको फोक्सो हो। भूमिगत जलभण्डार र पुनर्भरणको स्रोत हो। त्यो बेलाको स्वच्छ काठमाडौँ मानवकै कारण कङ्क्रिटले भरिएको डंगुर भएको छ। तीव्र शहरीकरणको असरले ऐतिहासिक सम्पदाहरू अतिक्रमणको चपेटमा परेका छन्।

खुलामञ्चलाई यसरी अतिक्रमण गर्नु भनेको मानव र प्रकृति दुवैमाथि अन्याय गर्नु हो। यसरी प्रकृतिलाई दोहन गर्ने हो भने कुनै दिन काठमाडौँबासी मुखमा अक्सिजन जोडेर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न।

काठमाडौँ महानगरपालिका ऐतिहासिक खुलामञ्चमा दुईवटा फुटबल मैदान बनाउन लागिपरेको छ। नागरिकहरू त्यसलाई खुला राख्नुपर्छ भनेर आवाज उठाइरहेका छन्। नागरिक फुटबल मैदान बनाउनु हुन्न भन्ने विरोधमा छैनन्। उनीहरूको आवाज खुलामञ्चलाई खुला स्थानकै रूपमा देख्न चाहन्छौँ भन्ने छ।

रंगशाला वा खेलमैदान अन्य कुनै सरकारी जग्गामा बनाउन सकिएला। त्यस्ता जग्गा पहिचान गर्न नगरपालिका लाग्नुपर्ने हो। फुटबल मैदानका लागि एक मात्र विकल्प खुलामञ्च हुँदै हैन।

खुला क्षेत्र किन आवश्यक छ भन्ने कुरा २०७२ को भूकम्पबाट पाठ सिक्नुपर्ने हो। त्यसबखत काठमाडौँका नागरिकले खुलामञ्चलाई सुरक्षित बास बस्ने अस्थायी थलो बनाएका थिए। काठमाडौँमा विपद् आउँदा नागरिकले आफ्नो ज्यान जोगाउने ठाउँ हो खुलामञ्च।

काठमाडौँ महानगरले खुलामञ्च सीमित व्यक्तिलाई मात्र उपयोग गर्न दिन खोज्नु भनेको काठमाडौँका नागरिकमात्र हैन, देशका कुनाकाप्चाबाट आफ्ना अधिकारका लागि आवाज उठाउन खुलामञ्च उपयोग गर्ने भुइँमान्छेहरूमाथि पनि अन्याय हो। त्यसैले खुलामञ्च संरक्षण गरौँ। खेल मैदानका नाममा नागरिकको उपयोग गर्न पाउने अधिकार कुण्ठित गर्न पाइँदैन।

काठमाडौँमा विभिन्न क्षेत्र र समुदायको बसोबास छ। उनीहरूले आफ्ना पहिचान, संस्कार र संस्कृति प्रदर्शन गर्ने थलो हो खुलामञ्च। त्यसैले विभिन्न जात, जाति, धर्मसहित विभिन्न भूगोलमा बसोबास गर्ने नागरिकले उपयोग गर्ने खुलामञ्च समावेशी खुला क्षेत्र पनि हो।

 खुलामञ्च देशभरका नागरिकको जमघट गर्ने केन्द्रविन्दु हो। महानगरको विकास गर्दा सीमित वर्गका लागि मात्र लाभ हुने गरी गरिने विकास मानव र प्रकृतिविरोधी विकास हो। त्यसैले महानगरले खुलामञ्चमा बनाउन लागेको फुटबल मैदान कुविकासको गतितिर लम्केको संकेत हो।

विगत खोतल्दा लैनचौर, जावलाखेल लगायत अन्य स्थानमा सार्वजनिक खुलामञ्च खेलकुदका नाममा कमाइखाने मेलो बनाए। अब खुलामञ्च पनि जालसाँजी गरेर हडप्ने र पैसा कमाउने षड्यन्त्र भइरहेको स्पष्ट देखिन्छ।

यसरी विभिन्न बहानामा सार्वजनिक सम्पत्ति मासेर विकास भयो भन्नुको पनि कुनै अर्थ छैन। र, प्रकृतिभन्दा माथि कोही छैन। शासक हो भन्दैमा प्रकृतिको नियम विपरित कार्य गर्ने छूट कसैलाई छैन। भएको स्थानको संरक्षण गर्ने हो। विकासको नाममा विनास हैन।

जीवन्त लोकतन्त्र संसद् मात्र हैन। सडक र जनताले दबाब प्रदर्शन गर्ने स्थान पनि हो। त्यस्तै खुलामञ्च पनि दबिएका आवाज सुनाउने थलो हो। जहाँ पञ्चायत कालदेखि त्यस्ता आवाज सोही थलोमा बसेर नागरिकले बुलन्द पारेका थिए। तर त्यो इतिहास बोकेको खुलामञ्च आज राज्यको एक अंगले नागरिक अधिकारलाई कुण्ठित गरी खेल मैदानका रूपमा विकास गर्न खोज्दैछ। यो शहरी विकासका लागि सुहाउने विषय होइन। त्यसैले प्रकृतिको नियममा रहेर सार्वजनिक स्थानमा नागरिकलाई पस्न र उपयोग गर्न कुनै रोकतोक गर्नु हुँदैन।

संसारभरका प्रजातान्त्रिक मुलुकका शहरहरूमा सभा सम्मेलन गरेर वाक्् तथा अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न मिल्ने पार्क तथा खुला स्थानहरू निर्माण गरिएका हुन्छन्। काठमाडौँ शहरको जनसंख्या वृद्धि र तीव्र शहरीकरणको अवस्था हेर्दा खुला ठाउँ बढाउनुपर्ने हो। तर भएकै खुला स्थानलाई पनि मास्न खोज्नु किमार्थ सही होइन।

खुलामञ्च, पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिविम्ब पनि हो। यो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिकरूपमा पनि अत्यन्तै महत्त्वपूर्ण छ। त्यसकारण खुलामञ्चलाई सबैखाले अतिक्रमणबाट बचाउन आवश्यक छ। 

प्रकाशित: २६ माघ २०८० ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App