१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

महेन्द्र राजमार्गको यात्रा

प्रमुख प्रतिपक्षी एमाले लामो यात्रामा निस्केको छ। देशको पूर्वबाट सुरु गरेर पश्चिममा टुंग्याउने लामो यात्रा उसले सुरु गरिसकेको छ। वास्तवमा स्थानीय निकायको चुनाव जसरी नि घोषणा गर्नैपर्ने अडान एमालेले किन लिएको रहेछ, त्यो त अहिले पो थाहा भयो। पूर्व–पश्चिम यात्राकै क्रममा चुनावको पनि अलिअलि प्रचार होस् भन्ने एमालेको चाहना रहेछ। जे होस्, एमालेको चाहनाअनुरूप स्थानीय चुनावको मिति घोषणा भएको छ। अब यो पूर्व–पश्चिम यात्रामा यही चुनावको मिति प्रचार गर्ने काम पनि हुन्छ होला। यसले अरुलाई नभए पनि निर्वाचन आयोगलाई चाहिँ सजिलो हुने भयो। एक पैसा खर्च नगरी चुनावको प्रचार जो हुँदैछ।

एमालेको यो यात्रामा चुनावको प्रचार भए पनि यो चुनावी यात्रा भने होइन। यो मूलतः राष्ट्रवादी यात्रा हो। एमालेका नेताहरू भनिरहेका छन्, यो मूलतः देशलाई जोड्ने यात्रा हो। देशलाई छुट्टिनबाट बचाउन यो यात्रा गर्न लागिएको हो। तथापि यो कुनै फेबिकोल कम्पनीको प्रायोजनमा हुन लागेको यात्रा भने होइन। यो एमालेको आफ्नै मौलिक यात्रा हो। विशुद्ध मौलिक!

यो मूलतः पूर्वबाट सुरु भयो। किनभने एमालेका अध्यक्ष कमरेड केपी ओली पनि पूर्वकै हुनुहुन्छ। पूर्वको झापा उहाँको गृहजिल्ला हो। साथै उहाँ यो देशको पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ। पूर्वी जिल्लाबाट आउनुभएका पूर्वप्रधानमन्त्री। त्यसो त उहाँमात्र होइन, पूर्वकै अर्का नेता झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल पनि पूर्वप्रधानमन्त्री नै हुनुहुन्छ। एमालेमा यस्ता पूर्वहरूको समूह नै छ भन्दा फरक नपर्ला। त्यसैले यात्रा पनि पूर्वबाटै सुरु गरिएको हुनुपर्छ।

पूर्वबाट सुरु भएर यो पश्चिमतिर लाग्छ। दायाँ–बायाँ कतै लाग्दैन। न उत्तर लाग्छ, न दक्षिण। न माथि लाग्छ, न तल। सिधै पश्चिम। यसरी सिधा यात्रा गर्न पूर्वदेखि पश्चिमसम्म एउटा राजमार्ग पनि बनाइएको छ। यो राजमार्गलाई चलनचल्तीमा पूर्व–पश्चिम राजमार्ग पनि भनिन्छ। तर पूर्व–पश्चिम राजमार्ग भनिए पनि यो राजमार्गको न्वारानवाला नामचाहिँ महेन्द्र राजमार्ग हो। सरकारी किताबहरूमा पनि महेन्द्र राजमार्ग नै लेखिएको छ। अतः एमालेको यो यात्रा महेन्द्र राजमार्ग हुँदै अगाडि बढ्नेछ। वा भनौं, महेन्द्र राजमार्गबाटै यो यात्रा क्रमशः बढ्दै जानेछ। महेन्द्र राजमार्ग जताजता जान्छ यो यात्रा पनि त्यता त्यतै लाग्छ। महेन्द्र राजमार्गलाई पछ्याउँदै यो यात्रा पूर्वबाट बढ्दै पश्चिम जाने हो।

यात्रा भनेपछि फेरि मनलागी हिँड्न पाइँदैन। जताजता बाटोले लान्छ, यात्रामा त्यतात्यता मात्रै हिँड्ने हो। जता मन लाग्यो त्यतै जाने हो भने त त्यो यात्रा हुँदैन, नियात्रा हुन्छ। एमालेले अहिले गर्न लागेको यात्रा हो, नियात्रा होइन। त्यसैले यो यात्रामा महेन्द्र राजमार्गलाई छाडेर अर्को मार्ग पक्रन मिल्दैन। हुन त नेपालमा अरु  पनि राजमार्ग र राजपथ नभएका होइनन्। जस्तो कि सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, लोक राजमार्ग, बिपी राजमार्ग, त्रिभुवन राजपथ, गणेशमान राजपथ, मदन भण्डारी मार्ग आदि आदि। तर एमालेले अहिले यात्राका लागि चुनेको राजमार्गचाहिँ महेन्द्र राजमार्ग हो। एमालेले अहिले जहाँबाट यात्रा सुरु गरेर जहाँ पुग्न खोजेको हो, त्यो महेन्द्र राजमार्गबाट जाँदा मात्रै पुग्न सकिन्छ। अरु राजमार्गबाट गएर त्यहाँ पुगिँदैन। काठमाडौंबाट दोलखा पुग्नु छ भने थानकोटको बाटो गएर हुन्न। त्यसका लागि त बनेपाकै बाटो समाउनुपर्छ। यो पनि यस्तै हो। पुग्नु छ झापाबाट सुर्खेत। अनि अरु राजमार्ग समाएर कसरी पुग्नु? मदन भण्डारी मार्गबाट गएर त झापाबाट सुर्खेत पुगिँदैन।

राजा महेन्द्रले महेन्द्र राजमार्ग बनाइदिएको पनि ठीकै भयो। त्यो राजमार्गमा अहिले एमालेले लामो यात्रा गर्न पायो नि। राजमार्गै नभएको भए कसरी यात्रा गर्नु? राजमार्ग भएर त यात्रा गर्न मिल्यो।

नेपालमा राजमार्गहरूका फेरि आफ्नै समस्या छन्। बेला न कुबेला राजमार्गहरू बन्द हुन सक्छन्। यस्तो बन्द मानवीय र प्राकृतिक दुवै किसिमले हुने सम्भावना छ। मानवीय भनेको ठाउँठाउँमा चक्काजाम हुनु, टायर बाल्नु, गाडीमा ढुंगामुढा गर्नु आदि आदि हुन्। प्राकृतिक भनेको पहिरो जानु, ढुंगा खस्नु, बाटो बगाउनु आदि आदि हुन्। यी समस्याले गर्दा यात्रामा अवरोध आउन सक्छन्। एमालेको यात्रामा पनि यस्ता अवरोध आउने सम्भावना छ। संकेत देखापरेका छन्। तर कस्तो अवरोध हुन्, त्यो त यात्राका क्रममा मात्रै थाहा होला।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App