२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १७:१ अपराह्न
विचार

अबाेध नागरिकमाथि अपराध

राष्ट्रमा एकपछि अर्काे घटनाक्रमहरू क्रमिक रूपमा दोहोरिइरहेछन्। सुखदभन्दा दुःखद घटनाले राष्ट्रलाई क्षत–विक्षत गरेको छ। लोकतन्त्रको यो सुन्दर फूलबारीमा यस्ता क्रियाकलाप दिन/प्रतिदिन किन भइरहेछन्? अस्थिर राजनीति, आर्थिक अवस्था वा अरू सामाजिक परिवेशका कारण, प्रश्न आफैँमा अनुत्तरित छ। केही दिनपहिले नेपाली क्रिकेट जगत्ले देखाएको सुखद समाचार सेलाउन नपाउँदै मानव बेचविखन र ठगी प्रकरण जस्तो जघन्य अपराधका अशुभ खबर सुन्दा आश्चार्य लागिरहेछ। हाम्रा अभिभावकहरू ग्रामीण समुदायमा बसेर पैतृक थलोको सुरक्षा गर्न जानेका छन्। उनीहरू ४ वर्षमा आउने चुनावमा लोकतन्त्रको रक्षार्थ उम्मेदवारलाई जिताउँछन्, संसद्मा पठाउँछन् गाउँ विकासका लागि गरिमामय संसद्मा। कति निष्कलंक विचारका छन् नेपाली जनता।

ती गौरवमय इतिहास बोकेका जनता, जसले २०४६ सालको २०६२/०६३ सालको जनक्रान्तिमा विश्राम नलिइ भाग लिए, दुःख पाए, आधा पेट खाएर लोकतन्त्र ल्याए, आफू भोंको बसेर लोकतन्त्रको रक्षा गरे। देशमा खेत बाँझो राखेर पटकपटक मलको माग गरिरहेछन्। मल नपाएर देशमा काम पनि नपाएर त्यही बाझो खेत साहूको नाममा बिक्री गरेर छोराछोरीलाई विदेश पठाइरहेछन्। जनप्रतिनिधिहरूबाट राम्रा कामको प्रतिफल प्राप्तिका लागि प्रतीक्षा गरिरहेछन्। तर “आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो” भनेझै जनताका अगाडि अनैतिक र कुकृत्य जति नराम्रा काम गर्दिन भनेर कसम खाएर संसद्मा छिरेका जनप्रतिनिधिबाट नै भ्रष्टाचारको कालो टीको लगाएको खबर सुन्न पाउँदा जनसमुदाय कति दुःखित होलान्!

मल नपाएर देशमा काम पनि नपाएर त्यही बाझो खेत साहूको नाममा बिक्री गरेर छोराछोरीलाई विदेश पठाइरहेछन्।

गत पुस माघको कठ्याँग्रिदो जाडोमा सप्तरी, सिरहालगायतका जिल्लाबाट साहूको चर्काे ऋण तिर्न नसकी ११ दिन खाली खुट्टा पैदल हिँडेर राजधानी छिरेका गरिब र असहाय जनताको पीडामाथि होली खेले हाम्रा जनप्रतिनिधिहरूले। आँसुको दहमा डुबेका ती अनाथ नागरिकको पीडा बल्ल संसद्मा पुग्यो। मिटर ब्याजी लिन नपाउने र लिएमा ७ वर्षसम्म कारागार चलान गर्न सकिने कानुन बन्यो। जुन कार्य ढिला भए पनि सबैथरी गरिब नागरिकका लागि स्वागतयोग्य बनेको छ। एकातिर जनता गरिबीको अन्तिम विन्दुमा जीवन बिताउन बाध्य छन्।

अर्काेतिर ५० डिग्रीसम्मको खाडीको तापक्रममा काम गर्न नसकेर मृत्यु वरण रोज्न बाध्य छन्, सँगसँगै बैंकको ब्याज र कर्जा तिर्न नसकेर आत्महत्या गरिरहेछन्, गरिब जनता। यस्तो विषम परिस्थितिको सामना गरिरहेको नेपाली समाजका अगाडि देशको नेतृत्व पटकपटक सम्हालिसकेका पुराना पार्टीका भरोषा मानिएका नेता, तिनका छोराछोरी र प्रशासनको उच्च पदमा बसेर जिम्मेवारी पूरा गरिसकेका व्यक्तित्वबाट मानव बेचबिखन (निश्चित रकम असुली प्रलोभनका आधारमा विदेश पठाइदिन्छु भनी ठगी गर्नु पनि मानव अधिकारको परिभाषामा मानव तस्करी, बेचबिखन र जघन्य अपराध मानिन्छ) को कार्य होला भनी कसैले कल्पनासम्म पनि गर्न सक्दैनन्। तर विडम्बना, भयो त्यस्तै।

मानौँ, नेपाल आमा दुहुनो गाई हुन्, नेपाली जनता गोठाला हुन्, यिनीमाथि जे गरे पनि हुन्छ भन्ने कुभावना बोकेका केही व्यक्ति र जनप्रतिनिधिबाट भोलिका दिनमा समाजले के आशा राख्ने? गम्भीर प्रश्न अगाडि छ। चोर बाटो समातेर छिटै धनी हुने मनस्थिति पालेर हाम्रा केही जनप्रतिनिधि, संसद् प्रवेश गरेको प्रतीत भैरहेछ अहिले। जनताले तिरेका करबाट भ्रष्टाचारीहरू मनग्य फाइदा लुटिरहेछन्।

अर्काेतिर ५० डिग्रीसम्मको खाडीको तापक्रममा काम गर्न नसकेर मृत्यु वरण रोज्न बाध्य छन्, सँगसँगै बैंकको ब्याज र कर्जा तिर्न नसकेर आत्महत्या गरिरहेछन्, गरिब जनता।

अब सेवा सुविधा र सांसदको संख्या पनि कटौती गरिनुपर्छ भन्ने माग एकातिर उठिरहेछ भने संघीयता नेपालका लागि महँगो शासन प्रणाली भयो, आर्थिक अवस्थाले अब धान्न गाह्रो भयो भन्ने तर्क पनि अर्काेतिर विज्ञहरूले हरेक गोष्ठीमा उठाइरहेछन्। हरेक कठिनाइको गरूङ्गो भारी नेपाली गरिब जनताले बोकिरहेका बेला नक्कली भुटानी शरणार्थी बनाएर नेपाली गरिब परिवारका छोराछोरीबाट लाखौँ रुपियाँ उठाइ ठगी धन्दामा लागिपर्नु जस्तो कलंक अरू के हुन सक्छ? ८७५ जना नेपाली जनताबाट प्रतिव्यक्ति १० देखि ५० लाख रकम उठाएर अमेरिकाको सपना देखाउने भ्रष्टाचारी समूहलाई हदैसम्मको कारबाही गरिनुपर्छ भन्ने माग चारैतिरबाट उठिरहेछ।

वर्तमान सरकारका अगाडि २ विकल्प देखापरेका छन्। एउटा हो, कसैको डर, त्रास, धम्की स्वीकार नगरी दोषीलाई टुँडिखेलमा उभ्याउने, राजनीतिलगायतका सामाजिक कार्यमा संलग्न नगराउने र जीन्दगीभर माफी नपाउने गरी कारागार चलान गर्ने। यस कार्यमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सम्बन्धित निकाय कति सक्षम छन्? अग्निपरीक्षा बाँकी छ। अर्काे हो बालुवाटार जग्गा प्रकरण जस्तै यो काण्डमा मुछिएका भ्रष्टाचारी घरानाका चिल्ला अनुहारलाई राजनीतिक लेनदेनका आधारमा उन्मुक्ति दिने।

यस्तो गरियो भने प्रचण्डले पनि नेपाली जनताको अदालतबाट मुक्ति पाउने छैनन्। त्यसैले वर्तमान ५ दलीय गठबन्धन हालको भ्रष्टाचार मुद्दामा मुछिएका जोकोहीलाई कडा भन्दा कडा कारबाही गर्न पछाडि हट्न हुँदैन, जनता सरकारका पक्षमा रहनेछन्।

२०५२ सालमा झापाको खुदुनाबारीलगायतका ठाउँमा रहेका भुटानी शरणार्थीबारे त्यसबेला भुटानबाट धपाइएका नेपाली मूलका भुटानी शरणार्थीबारे अगुवा टेकनाथ रिजालले भनेको कुरा सम्झना आउँछ, अहिले। उनले भनेका थिए–भुटानी शरणार्थीको नाममा पनि नजानिँदो राजनीति हुन सक्छ, कसैका लागि हामीहरू कमाउधन्दाको पात्र पनि बन्न सक्छौँ। रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारमा कार्यरत रहँदा टेकनाथ रिजालसँग प्रस्तोताले पटकपटक यसबारे वार्ता गरेको थियो। त्यसबेला उनले बोलेका कुरा अहिले देखा परिरहेछन्।

यस्तो गरियो भने प्रचण्डले पनि नेपाली जनताको अदालतबाट मुक्ति पाउने छैनन्। त्यसैले वर्तमान ५ दलीय गठबन्धन हालको भ्रष्टाचार मुद्दामा मुछिएका जोकोहीलाई कडा भन्दा कडा कारबाही गर्न पछाडि हट्न हुँदैन, जनता सरकारका पक्षमा रहनेछन्।

त्यसैगरी ४ वर्षपहिले देउडा गीत गाउनका लागि अमेरिकाको कोलोराडो राज्यमा पुगेको थिएँ। सो राज्यमा नायक कृष्ण मल्ल, शिव श्रेष्ठ र सामाजिक अभियन्ता साथी मुकुन्द ढुङ्गाना र पंक्तिकार घुुम्न भनी एउटा पसलमा पुग्यौँ। नेपाली अनुहार थाहा भएर पनि पसलमा काम गर्ने अधवैंशे महिला हामीसँग नेपाली भाषामा बोल्न चाहिनन्। किन त भनेर विस्तारै कुराहरू खोतल्दै जाँदा भुटानबाट अमेरिका छिरेकी ती महिलाले भनिन्–“भुटानी शरणार्थी हो भन्ने थाहा पाए नेपालीले नेपालीलाई नै ठगिदिन्छन्।” उनको यो कुरा साथीहरूले पत्याए पनि मैले पत्याउनै सकिन। आखिर यो कुरा सत्य रहेछ।

एक नेपालीले अर्काे नेपालीलाई दिलोज्यान दिएर मृत्युदण्डबाट जोगाएका घटनाहरू पनि हामीले नसुनेका होइनौँ। अत्यन्त दयालु, इमानदार, नैतिक आचरणयुक्त भएका नेपाली जाति भनेर नाम कहलिएका हामीहरूको परिचय विश्व रंगमञ्चमा वर्तमानको यो घटना कसरी फैलिने हो चिन्ताको विषय छ। यो भ्रष्टाचारको मुद्दा केवल नेपालमा मात्र सीमित रहने पक्षमा छैन। यसमा अमेरिका जस्तो शक्ति सम्पन्न राष्ट्रको नाम पनि जोडिएको छ।

नेपालका लागि असल कूटनीतिक र दातृ राष्ट्र पनि हो अमेरिका। यसैगरी दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) को नेपाल जस्तै भुटान पनि संस्थापक राष्ट्र हो। जहाँ नेपाली मूलका नागरिकहरूको बसोबास बाक्लो छ। यी कुराले कूटनीतिक क्षेत्रमा प्रवेश नपाउलान् र भुटानमा नेपालीलाई असर नपर्ला भन्न सकिन्न।

विगत १० दिनका बीचमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै २ पटक भेटवार्ता भयो। दुई नेताबीच देशको राजनीतिका पछिल्ला घटनाक्रमबारे भेट हुनु स्वभाविक मान्नुपर्छ। प्रधानन्यायाधीश नियुक्त हुन नसकेको यसबेला राजनीतिक भेट हुनु सान्दर्भिक विषय हो। उपनिर्वाचनपछिको भेटघाट हुनुलाई पनि सान्दर्भिक ठानिनेछ। तर आफ्नो पार्टीका जिम्मेवार पदाधिकारी र अन्य आफन्त पर्ने कसुर ठहरिएका व्यक्तिलाई उम्काउन, विन्ती बिसाउ गर्न पूर्वप्रधानमन्त्री समेत रहेका ओली बालुवाटार छिरेका हुन् भने जनताले यसलाई अर्थपूर्ण रूपमा हेर्नेछन्।

लोकतन्त्रको पक्षमा र मानव अधिकारको पक्षमा आवाज उठाइरहने उनलाई तत्कालीन पञ्चायती व्यवस्थाको विरोधका कारण १४ वर्षसम्म कारागारमा राखेको थियो। यस्तो विशिष्ट व्यक्तित्वबाट भ्रष्टाचारीलाई उम्काउन कदम चालिएला भन्ने कल्पना पनि गर्न सकिँदैन। यतिखेर पंक्तिकार सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुला र बझाङका ती गरिब दाजुभाइको अनुहार सम्झिरहेछ। जो उदरपूर्तिका लागि ज्यान जोखिममा राखी १ महिनाका लागि हिमाली भेगका पाटन (चौर) मा केही दिनपहिले यार्सागुम्बा टिप्न गएका थिए। भारी हिमातमा परी ५ जना दार्चुला र २ जना बझाङका मानिसको दुःखद निधन भयो।

यसैगरी जुम्लाका ३ जना बासिन्दाको पनि मुगु जिल्लाको पाटनमा यार्सा टिप्न भनी यात्रा गर्दा हिउँमा चिप्लेर मृत्यु भयो। यी जिल्लाका केही मानिस यतिबेला बालबालिकाको विद्यालयको पढाइ छोडाएर भए पनि उच्च हिमाली क्षेत्रमा यार्सा टिप्न भनी आफूसँगै लैजाने गर्छन्। हिमाली कीरा यार्सा शक्तिबद्र्धक भएकाले यसको माग बढ्दो छ। त्यस भेगका मानिस वर्षभर यसैबाट आय आम्दानी गर्ने गर्छन्। यसैबाट नून, तेलको जोहो गर्दछन्, गुजारा चलाउने गर्दछन्।

विगत १० दिनका बीचमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै २ पटक भेटवार्ता भयो।

बर्सेनि उच्च हिमाली भेगमा उनीहरू यार्सागुम्बा टिप्न गैरहन्छन्। प्रान्त, सरकार र केन्द्रीय सरकारको सिंहदरबारसँग उनीहरूको त्यतिसारो साइनो जोडिएको पनि हुँदैन। निर्वाचनका बेला जनप्रतिनिधिलाई मत खसालेका ती सीमान्तकृत वर्गले भ्रष्टाचारका यी कर्तुत सुन्दा कति नमीठो मानेका होलान्? के सम्बन्धित पक्षले सोचेका छन्? नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकी मुलुकमा पठाइदिने भनी प्रलोभन देखाउने ठगहरूको समूहलाई के गरिब जनताको पीडाबोध भएको छ?  

प्रकाशित: २७ वैशाख २०८० २३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App