हजारौँ वर्ष पहिलेदेखि “हाटबजार” आवश्यक सरसामानका लागि अनिवार्य जस्तै रहेको अर्थशास्त्रीहरूले लेखेका छन्। चार वेद (अथर्ववेद, ऋग्वेद, सामवेद र यजुर्वेद) मध्ये अथर्ववेदमा नेपाल ऊनका लागि प्रसिद्ध बजार रहेको उल्लेख छ। रूपैयाँ पैसाको प्रचलन न्यून थियो तर सरसामान साटासाट गरेर काम चलाइन्थ्यो।
पन्ध्र वर्षअघि मुस्ताङका एकजना धनीको घरमा चाँदीका थाल, कचौरा, आम्खोरा, गिलास आदि प्रशस्तै देखेको थिएँ। टुकुचे, थाकखोला सबैतिर उनको धेरै खेतीयोग्य जमिन रहेछ। त्यहाँको अन्न लिन तिब्बतको सीमान्त क्षेत्रका मानिस चाँदी लिएर आउँथे। चाँदी लिएर अन्न दिने काम चार पाँच पुस्ताअघिदेखि चलिरहँदा पचासौँं किलोग्राम चाँदी जम्मा भयो। विनिमय प्रथा अहिले पनि छ।
राजनीतिक स्वार्थले विश्व राजनीति अहिले सपना बेच्ने बजार भएको छ। कूटनीतिमा त्यसको छायाँ पर्ने नै भयो। खाडी राष्ट्रको तेल, अफ्रिकी राष्ट्रका अमूल्य रत्न, ब्राजिलको कफी र चीनका लुगाफाटो (गार्मेन्ट्स) सबैका धन जोडिएको छ। भारतबाट नेपालमा एक वर्षमा मात्र ४८ अर्ब रूपैयाँको चामल र तरकारी आएको सरकारको तथ्यांकमा उल्लेख छ।
झन्डै तीन करोड नेपालीमध्ये पचास लाखभन्दा धेरै युवक/युवती परिवारका सदस्य पाल्न विदेश गएको तथ्यांकलाई मिथ्यांक भन्न मिल्दैन। पन्ध्र वर्षअघि वैदेशिक रोजगारीमा जानेहरू एघार लाख थिए भने त्यो संख्या झण्डै ५१ लाख पुगेछ। यति हुँदा पनि समस्या विकराल हुने देखिन्छ। महँगीको गति ओरालोमा ‘ब्रेकफेल’ भएको गाडी जस्तो छ। अघिल्लो दिन तीन सय रूपैयाँमा बेचेको उपभोग्य वस्तु भोलिपल्ट पाँच सय मा किन बेचियो भनेर प्रश्न गर्ने कुनै निकाय छैन।
मेरा एकजना मित्र ‘नापतौल र गुणस्तर’ कार्यालयका हाकिमका घरमा डेरा गरेर बस्थे। एकदिन आँगनमा तीन चार बोरा चामलसहित दाल, चिनी, बिस्कुट, साबुन, मरमसला, काजु आदि अनेक सामान ‘अनलोड’ गरेर ट्रक फर्कियो। हाकिमनीले सगर्व भनिन्–हामी तरकारीबाहेक केही पनि किन्दैनौँ। सरलाई माया गरेर ठुल्ठूला डिपार्टमेन्टल स्टोर र होलसेलर (थोक बिक्रेता) ले घरैमा निःशुल्क पठाउने गर्छन्।
उपहारस्वरूप सित्तैको खाएर होला, हाकिम्नी सुँगुरझैँ पुष्ट थिइन्। यतिकैमा एकजना प्राध्यापकले भनेको सम्झिएँ–मित्र, कसैले पाँचतारे होटलमा कुनै भोजमा बोलाए भने त्यो दिन मज्जाले खान पाइन्छ। नत्र त छोटो सिरक जस्तो तलबले यता तान्यो, उता नांगै। कमिज किन्दा जुत्ता फाटिसकेको हुन्छ। केटाकेटीको स्कुल–कलेजको शुल्क तिर्न चौलानी जस्तो दाल र खस्रो चामल खानुपर्छ।
“राजनीतिमा लागेको” भन्नेहरू प्रायः ढिँडो वा ‘मोटा’ चामलको भात निलेर हुर्किए। उच्च तहमा पुगेपछि पुनर्जन्म भयो। २०४४ सालमा रत्नपार्कमा पुरानो कोट किन्दै गरेका एकजना राजनीतिकर्मीले एक सय रूपैयाँमा पाइने कोट किन्न नसकेपछि मैले दश रूपैयाँ थपिदिएँ। गोरखापत्रमा ऊबेला मासिक ‘उन्नाइस सय पन्ध्र’ पारिश्रमिक र केही भत्ता पाउँथे म, सातौँ तहको वरिष्ठ अधिकृत (उपसम्पादक) छँदा। त्यति नै आय हुने नेपाल टेलिभिजनमा समाचार सम्पादकको पार्टटाइम जागिर दिनुभएको थियो, महाप्रबन्धक नीरविक्रम शाहले।
रत्नपार्कमा कोट किन्ने महामहिम २०४६ सालपछि प्रधानमन्त्री हुनुभयो। करोडौँ रूपैयाँ कमाउनुभयो। प्रज्ञा भवनमा आयोजित एउटा साहित्यिक कार्यक्रममा उहाँ प्रमुख पाहुना भएर आउनुभयो (तिथि तोकेर बोलाइएका व्यक्तिलाई म ‘अतिथि’ भन्दिनँ)। म उदघोषक थिएँ। उहाँ उच्च तहमा पुगेपछि यो प्रथम भेट थियो। मञ्चमा तीन मिनेट जति कुराकानी भयो। त्यहाँ पनि उहाँले केही सुन्दर सपना बेच्नुभयो। सत्य–असत्य छुट्याउन नसक्नेहरूले थप्पडी बजाए। धेरैले उहाँका कुरा पत्याएनन्। उहाँ सपना बेच्ने होलसलेरका रूपमा चर्चित हुनुभयो। आफ्ना सीमित भक्तहरूबाहेक पसल (पार्टी) बाट धेरैलाई लखेट्नुभयो। तीस चालीस वर्ष पुराना साथीहरू टाढा भए। पसलमा ठग, कुरौटे र चाप्लुसहरू बिक्रेता बनेर आए। सपना बेच्ने बजारको विश्वसनीयतामा ह्रास आयो। पहिले पहिलेका पृथ्वीनारायणका उपासकहरू पनि नगद नारायणका पुजारी भए।
झुटो आश्वासन दिनुभन्दा कठोर, कटु तर सत्य ‘अस्वीकृति’ हितकर मानिन्छ। उदाहरणका लागि इलामका एकजना सांसदले तीस वर्षअघिदेखि कर्णप्रिय गुलियो झुटो बोलेर पटक–पटक चुनाव जित्नुभयो। गोलाखर्क भञ्ज्याङबाट पुवाखोला जाने सुन्दर बाटो बन्छ भन्ने उहाँको वचन पत्याएर भोट दिने जस्ता बीस वर्षे युवक/युवती अब हजुरबा–हजुरआमा भइसके।
अहिले चर्को जनदबाबका कारण केही कच्ची सडकका छेउकुना मिलाउन थालिएको छ। जनतालाई सपना बेच्ने फौबन्जारहरू हरेक दलमा छन्। हरेक जिल्लामा छन्। उनीहरू राजस्वजीवी भएर करोडौँ रूपैयाँ कमाउँछन् र रमाउँछन्। तीन वर्ष मात्रै कार्यकाल भएको एउटा महत्वपूर्ण पदका बारेमा टिप्पणी गर्दै एकजनाले हँसाए–त्यहाँ पुगेर पहिलो वर्ष रमाउँछन्। दोस्रो वर्ष सकेसम्म मस्तले कमाउँछन् र अन्तिम वर्षमा परैबाट ठुस्स गनाउँछन्।
आफ्ना कमजोरी, विकार, दुष्प्रवृत्ति र परावलम्वी चरित्र सुधार्नुको सट्टा आलोचकहरूलाई मण्डले, प्रतिगामी, दरवारपरस्त भन्दै गाली गर्नेहरूले बुझ्नुपर्छ, उनीहरू पनि दरवारपरस्त हुन्। दरवार मात्र अलग छ। कोही दिल्ली, बेइजिङ र वासिङ्टन दरवारका खेताला हुन भने कोही युरोपियन युनियनका। नेपाल सदैव नेपालीको इच्छा र निर्णयमा चल्नुपर्छ, सर्वाधिकार काठमाडौँमै रहनुपर्छ भन्नेहरूलाई अनुदार, लोकतन्त्र विरोधी र षडयन्त्रकारी देख्नेहरू मात्र मानव अधिकारवादी, प्रजातन्त्रवादी र उदारवादी हुन भन्ने तर्क कति जायज छ ? कति न्यायपूर्ण छ?
राष्ट्रलाई माया गर्नेहरू निस्वार्थ, ऐक्यबद्ध, साहसी र इमानदार हुने हो भने राष्ट्रघातीहरू यसरी नांगै नाच्ने थिएनन्। ठुल्ठूला कुर्सीमा ढलीमली गर्नेमध्ये धेरैजसो विदेशका दास थिएनन् भने राष्ट्रघातीको बिउ मासिन्थ्यो।
प्रतिज्ञा वा वाचाको सम्मान रहुन्जेल त्यो सजीव रहन्छ, जब वाचा तोडिन्छ, त्यो निर्जीव हुन्छ। विश्वास र सम्बन्ध लास बन्छ। राजनीतिमा सफल हुन असल हुनु आवश्यक छैन। लुटपाट, चोरी वा ठगी गरेर वा अनेकौँ तवरले करोडौँ रूपैयाँ जम्मा गरेर दलका ठूला साहूलाई बीस/तीस प्रतिशत रकम बुझाएपछि उनीहरूको निगाहले मन्त्री हुन सकिन्छ। सपना बेच्न पाइन्छ। अर्बपति हुन पाइन्छ। छानबिन गर्ने कोही छैन। राज्य संयन्त्रका हरेक पुर्जामा ‘दलको भागबन्डा’ वैधानिक भइसक्यो। कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाले नै विश्वास गुमाएका कारण ‘प्रेरक व्यक्ति’ मानेर एउटा असल जीवित नेताको तस्बिर राख्न सक्ने अवस्था छैन। लोकले घृणा गरिरहेको लोकतन्त्रको तस्बिर भ्रष्ट, चरित्रहीन र पराधीन नेताहरूको जस्तै कुरूप छ। तर जनताको मुख थुनेर सत्यको वध गर्न सकिँदैन।
केही शिक्षित र जान्नेसुन्नेहरू भन्छन्–“नकारात्मक कुरा मात्र कति लेख्ने? सकारात्मक भएर किन नसोचेको?” कहाँबाट सुरु गरौँ सकारात्मक चिन्तन? ७५३ वटा स्थानीय तहमा हजारौँ पदमा बस्नेले राम्रो तलवभत्ता पाएर अभावबाट मुक्ति मिलेको छ भनुँ? २०७२ सालमा ल्याइएको संविधानको धारा ५६ ले संघीयता ल्याएपछि हरेक साल अर्बौँ रूपैयाँ बचत भएको छ भनुँ कि? २०६२/६३ सालपछि पटकपटक सरकार बन्दै र ढल्दै गर्दा सयौँले मन्त्री हुने सौभाग्य पाएका छन् भनेर हर्ष मानुँ कि! के भन्दा ‘सकारात्मक’ भइन्छ?
भ्याट, अन्तःशुल्क, भन्सार, रेमिट्यान्स, जडीबुटी, कवाडी, पार्किङ शुल्क, चारखुट्टे र दुई खुट्टे जीवजन्तुमा समेत कर, आदि मात्र होइन, विदेशीको दानले सबै सुखी, प्रशन्न र सन्तुष्ट छन् भनुँ? आर्थिक वर्ष २०७६/७७ मा मात्र २ खर्ब, ९० अर्ब, ४० करोड रूपैयाँ तलवभत्ता दिएर नयाँ राजाहरू पाल्न सक्षम भएछ, राष्ट्र। पन्ध्र वर्ष पहिलेको बजारभाउ खोजेर हुँदैन अब। संघीयता र गणतन्त्र पाल्न प्रतिकेजी पाँच सय रूपैयाँको चामल किन्न र थोरै तलबमा रमाउन पनि तयार हुनुपर्छ भन्दा पो ‘सकारात्मक’ भइन्छ कि? सत्तालाई खिर, जनतालाई पिर मात्र भन्न कहाँ पाइन्छ?
सपनाहरू किनबेच भइरहन्छन्। जबसम्म लाखौँ जनता एकै ठाउँमा उभिएर दुःस्वप्नहरूको किनबेचको प्रतिवाद गर्दैनन् तबसम्म जनताको अवस्था बदलिँदैन। राष्ट्रको मुहार फेरिँदैन। ‘सकारात्मक’ भएको कृत्रिम भलाद्मीपनले एकदिन राष्ट्र टाट पल्टिन्छ र त्यो दिन ब्युँझिनेछन् जनता।
कम्बोडियामा बौद्धमार्गी राजतन्त्र मास्न विदेशीले कम्युनिस्टलाई प्रयोग गरेर पोलपोट नामका कपुतलाई सपनाको होलसेलर बनाए। इरानमा पच्चीस सय वर्ष पुरानो राजतन्त्र फ्याँकेर मुसलमानलाई विभाजित गर्न कट्टरपन्थी आयातोल्ला रोहल्ला खोमेनीलाई उक्साउने काम गरे पश्चिमी राष्ट्रले। अगस्टो पिनोसे नामका जर्नेललाई उकासेर चिलीमा सन् १९७४ देखि १६ वर्ष सैनिक शासन चलाइयो। त्यहाँ साल्भाडोर अलेन्दे नामका मार्क्सवादी राष्ट्रपतिलाई अपदस्थ गराउँदै आफ्नो स्वार्थपूर्ति गरियो। रसिया र क्युबासँग नजिक भएका अलेन्दे वासिङ्टनका लागि अप्रिय थिए। तसर्थ, कम्युनिस्ट प्रभाव रोक्न सेनालाई उकासियो।
स्टेफन किन्जरको पुस्तामा होन्डुरस, निकारागुवा, इराक, साउथ भियतनाम, ग्वाटेमाला, अफगानिस्तानलगायतका राष्ट्रमा भएको सत्ता परिवर्तनको रहस्योद्घाटन गरिएको छ। सन् २००७ मा प्रकाशित सो ग्रन्थको निचोड वा निष्कर्ष छ–“साम्राज्यवाद जीवित छ।”
राज्यसत्ता परिवर्तनका चारवटा मोडल सतहमा देखिएका छन्। ती हुन–(१) सन् १९९० पछि मुसलमान राष्ट्रमा भित्र्याइएको धर्म निरपेक्ष (सेक्युलर) (२) साम्यवादविरुद्ध पश्चिमी शैलीको उदारवाद। (३) राजतन्त्रविरुद्ध गणतन्त्र फैलाएर आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति। (४) इसाई धर्मका प्रमुख हाँगाहरू प्रोटेस्टेन्ट र क्याथोलिकबीच द्वन्द्व। सिरिया, साइप्रस, इजरायल र भूमध्य सागरबीचको राष्ट्र लेवनानमा त पदको भागबन्डा गर्दा धर्म र जातका आधारमा गर्नुपर्ने संवैधानिक व्यवस्था नै छ। ९५ प्रतिशत जनसंख्या अरब भए पनि सिया र सुन्नी मुसलमान लगभग उनान्तीस/उनान्तीस प्रतिशत छ। मेरोनाइट इसाई २२ प्रतिशत छन्। पाँच प्रतिशत भन्दा धेरै रैथाने द्रुज छन्।
राष्ट्रिय सुरक्षा र कूटनीतिका बारेमा गहिरो अध्ययन गरेका विद्वान्हरू भन्छन्–“सन् १७७६ मा ब्रिटेनबाट स्वतन्त्र भएपछि अमेरिकाले सन् २०१९ सम्म चार सय पल्ट सैनिक हस्तक्षेप गरेर आफ्नो प्रभाव बढायो। आर्थिक, सैनिक र राजनीतिक अभीष्ट पूरा गर्न मनोवैज्ञानिक युद्ध चर्काउने युरोप र अमेरिकाले सफलता पाएपछि पछिल्ला वर्षमा नवोदित शक्तिराष्ट्रहरूले त्यही जुक्ति निकालेका छन्।
भूराजनीतिक कारण, कच्चा कूटनीति, अस्थिर राजनीति, राज्यप्रणालीप्रति बढेको वितृष्णा र युवा वर्गले देखाइरहेको ‘आस्थाहीन’ चरित्रले नेपाललाई भयाबह मोडमा उभ्याएको छ। कठोर तानाशाह, बाह्य हस्तक्षेप, अभूतपूर्व विद्रोह तथा चरम पतन हुँदै असफल राष्ट्रको बाटोमा हिँड्नुपर्ने बाध्य ‘वैकल्पिक’ मार्ग देखिएका छन् तर ती कुनै पनि प्रीतिकर छैनन्। तसर्थ, आफ्ना कमजोरी र अभिमान त्याग्न सकेनन् भने आज जो सर्वशक्तिमान देखिएका छन्, ती खरानी बनेर हावामा उड्नेछन्।
प्रकाशित: १७ चैत्र २०७९ ००:५३ शुक्रबार