१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

आशाको एउटा पथ

सम्भावनाहरु हरेक चुनौतीभित्र पनि भेटिँदोरहेछ भन्ने एउटा आशाको संचार मभित्र पनि पलाएको छ। केवल सोच र कर्मको सामञ्जस्यताको आवश्यकता पर्दोरहेछ। जीवनलाई पछाडि फर्केर हेर्दा ज–जसले मलाई आशाको एउटा सुनौलो किरण दिन सके, त्यही किरणको पथिक भएर बाटो हिँड्दै गर्दा मबाट पनि आशाको संचार अरुलाई हुन थाल्दो रहेछ।

मलाई त्यो स्मृति अझै ताजा छ, संस्थागत विद्यालय अथवा प्राइभेट बोर्डिङ स्कुलको कक्षा ४ मा अध्ययन गर्दै गर्दा हामीले सरकारी विद्यालयको कक्षा ५ को पुस्तक पनि सँगसँगै पढ्नुपर्थ्यो। हुन त मेरो पढाई राम्रै थियो। त्यसमाथि गणित अझै राम्रो थियो। तर नेपाली माध्यमको कक्षा ५ गणित पुस्तक मेरा लागि फलामको चिउरा चपाउनुसरह थियो। कारण थियो– त्यसमा भएका शब्दावली नै म बु‰िदन थिएँ। जोर, विजोर, ल.स, म.स, रुढ संख्या, संयुक्त संख्या जस्ता शब्द मेरो दिमागभित्र पस्नै सकेनन्। मेरो मस्तिष्क अङ्ग्रेजी शब्दसँग परिचित भइसकेको थियो। मेरो गणित यति कमजोर भयो कि कक्षाकार्य गर्न नसकेर साथीको सार्नु र गृहकार्य गर्न नसकेर मास्टरको पिटाइ खानुबाहेक अर्को विकल्प थिएन। त्यसै त म आफ्नो कुरा अरुलाई भन्न नसक्ने बालक झन् त्यसमाथि आफ्नो कमजोरीको कुरा कसरी गरुँ, कसलाई गरुँ?

हेर्दाहेर्दै म शिक्षक बन्छु भन्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको पाइयो। सन्तुष्ट शिक्षक देखेपछि विद्यार्थी पनि शिक्षक बन्न खोज्दारहेछन् भन्ने ज्वलन्त उदाहरण हो यो।

तर यो क्रम सधैँ रहेन। एक दिन गृहकार्य जाँच गर्दा गणित पढाउने मेरो शिक्षकले दिक्क मानेर भन्नुभयो– 'तँलाई म एक महिना टयुसन पढाउँछु, पैसा तिर्नुपर्दैन, घर गएर सोधेर पढ्न आ।'  मैले त्यसै गरें। आमाले हुन्छ पढ् भन्नुभयो। मैले सरसँग एक महिना जति गणितको ट्युसन पढें। मेरो गणितले अब पुरानो धार पक्डिँदै गयो, निखार आउँदै गयो। अब मैले पछाडि फर्केर हेर्नुपर्ने दिन आएन।

 यस्तै अर्को प्रसङ्ग कक्षा १० मा अध्ययन गर्दै गर्दाको। एक शिक्षक जोसँग हामी ट्युसन पढ्थ्यौं। सरसँग कुनै समस्या लिएर जाँदा मैले अरु शिक्षकभन्दा फरक तरिका पाएँ। आफैँ समस्या समाधानमा हाम्रा तर्क खोज्नुहुन्थ्यो। कहिलेकाहीँ सर आफैँ प्रयास गर्नुहुन्थ्यो अनि हामी आफैँ प्रयासमा तल्लीन हुन्थ्यौं, खुसी र आश्चर्यको सीमा पर्दैनथ्यो जब उहाँले भन्दा पहिले हामी उत्तर मिलाउँथ्यौं। अनि हामी उहाँलाई आफ्ना तरिका बताउँथ्यौं। उहाँ पनि खुसी हुनुहुन्थ्यो। मलाई उहाँको यो तरिका असाध्यै नौलो अनि असाध्यै मन पर्थ्यो। मलाई त समाधान गर्ने तरिका चाहिएको थियो, समाधान  होइन। त्यसैले मन पर्‍यो। यी दुई शिक्षक जसलाई म आफ्नो प्रेरणाको स्रोत पनि मान्छु, जसले मलाई आशाको पथ देखाएका थिए। नयाँपन र नयाँ शैली!

ट्युसन पढाएर पैसा कमाउने धन्दा चलाउने शिक्षकहरु भन्दा फरक उभिएर होस् वा आफ्नो दख्खल प्रमाणित गर्नभन्दा पनि विद्यार्थीलाई बुझाउनमा आफ्नो बढी समय खर्चने यी शिक्षकहरुले देखाएको आशाको एउटा पथमा पनि मैले पाइला चालेको छु। टिच फर नेपालको शिक्षकका रूपमा गाउँमा सामुदायिक विद्यालयमा दुई वर्षसम पढाउनका निम्ति। जीवनमा जब चुनौतीप्ाूर्ण अवसर आउँछन् त्यसले मानिसको जीवनको मूल्य खोज्दोरहेछ। उसभित्र के छ भनेर खोतल्दो रहेछ। मलाई पनि यस्तै भयो। जब गाउँको सामुदायिक विद्यालयमा दुई वर्षसम्म गाउँमै बसेर पढाउने अवसर वा चुनौती जे भन्नुस् मलाई पनि टिच फर नेपालले दियो मैले आफ्नो जीवनलाई भित्री आँखाबाट हेरेँ, तब मैले आफ्ना ती दुई धरोहर शिक्षकलाई सम्झेँ जसप्रति कृतज्ञता अर्पित गर्न भने पनि मैले यो चुनौती स्वीकार्नै पर्छ।

 आज एक वर्ष पूरा गरेर पनि केही महिना बितिसकेको छ। हरेक दिन एउटा नयाँ योजना, नयाँ उत्साह, नयाँ सम्भावना रगतमा दौडिरहन्छन्। विगत एक वर्षमा के परिर्वतन भयो भनेर फर्केर हेर्दा केही हप्ता अघिमात्र टिच फर नेपालले लिएको एउटा सूचनागत तथ्यमा एउटा झल्को पाएँ। कक्षा १० का विद्यार्थीलाई भविष्यमा के बन्ने योजना छ भनेर सोधिएको प्रश्नमा कक्षाका आधाजस्तो केटाहरुले शिक्षक बन्ने लक्ष्य भएको लेखे त्यो पनि गणित शिक्षक। अनि अरु केटाहरुले अंगे्रजी शिक्षक बन्छु भनी लेखे। (म र मेरो साथी गणित र अङ्ग्रेजी विषय अध्यापन गराइरहेका छौँ।) ती केटाहरुले वर्षौँदेखि गणितलगायत अन्य विषय पढिरहेका थिए। तर कहिल्यै त्यस विषयलाई आफ्नो लक्ष्य बनाएनन्। हामीले पनि म र मेरो साथी सुरुमा यस विद्यलायमा आउनेबित्तिकै विद्यार्थीको रुचि तथा भविष्यको लक्ष्यबारे एउटा रिपोर्ट लिएका थियौँ जसमा एक जना विद्यार्थीले पनि शिक्षक बन्छु भन्ने लक्ष्य लिएका थिएनन्। जतिले शिक्षक पेशा अपनाउँछु भन्थे ती दुवै जना छात्रा थिए।

 विद्यार्थीमा एक वर्र्षैमा यत्तिको परिवर्तन कसरी त? किन उनीहरु अन्य पेशाको दाँजोमा निश्चितरूपमा शिक्षक नै बन्छु भनेर आज उभिएका छन्? तथ्याङ्क केलाउँदै जाँदा हामी के निष्कर्षमा पुग्यौँ भने 'उनीहरुले जीवनमा पहिलो पल्ट एउटा स्पष्ट उदाहरण देखेका छन्, जो आफ्नो पेशाप्रति सन्तुष्ट छन् (हामी) जसमा कामप्रतिको समर्पण र उत्साह छ, विद्यलाय, विद्यार्थी र समाजको अगाडि सम्मानित छन्, जसलाई आफ्नो काम बोझ लाग्दैन। हाम्रा विद्यार्थीले पहिलो पटक देखेको र अनुभव गरेको यो प्रेरणादायी कर्तव्यले नै होला नै उनीहरुमा पनि यसको वृक्षरोपण भएको छ। म पनि शिक्षक बन्छु, एउटा असल शिक्षक हृदयमा आशा पलाएको छ।

टिच फर नेपाल फेलोका रूपमा ललितपुरको चौघरेस्थित बाघ भैरव माविमा अध्यापनरत्

प्रकाशित: १६ आश्विन २०७३ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App