१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकार सर्वसत्तावादी र जनविरोधी ’

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको शुक्रबार हैटौंमा भएको समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला २१ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार हेटौंडामा सकिएको छ। मंगलबारदेखि सुरु भएको भेलाले राष्ट्रियसभादेखि स्थानीय तहमा कम्युनिस्ट सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृत्ति देखिएको भन्दै नेपाली कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिएको छ।

मूल्यवृद्धिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति गैरजिम्मेवार भएको ठहर गर्दै भेलाले मूल्यवृद्धिको विरोधमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र उदाङ्गो भएको निष्कर्ष निकालेको छ। सुर्खेत कांग्रेसको कार्यालयमा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै भेलाले यस्ता घटना दोहोरिए सरकारविरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएको छ। भेलाले बहुमतको आडमा संविधानका मूलभूत संरचना भत्काउने तथा लामो संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न उद्यत तत्वको खतरातर्फ समेत पार्टीको केन्द्रीय नेतृत्वलाई सचेत गराएको छ।

घोषणापत्रमा तत्कालीन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको ठोकुवा गरिएको छ। घोषणापत्रमा विभिन्न क्षेत्रमा भएको हस्तक्षेप, मूल्यवृद्धि, प्रदेश तथा संघीय संसद्को नीति तथा कार्यक्रम र कांग्रेस सरकारले गरेको निर्णय उल्ट्याइएकोमा कम्युनिष्ट सरकारको तीव्र्र आलोचना गरिएको छ। कम्युनिस्ट सरकारबाट सञ्चार क्षेत्रमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पत्तिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपञ्चको निन्दा गरिएको घोषणापत्रमा भनिएको छ, ‘पेसागत सामाजिक एवम् गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रवैया मौलाउँदै गएको र दण्डहीनता आदिबाट वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको प्रस्ट भएको छ।’

कांग्रेस नेतृत्वको सरकारले भूकम्पपीडितलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्जुरीलगायत गम्भीर प्रकृतिका रोगीलाई जीविकोपार्जन भत्तास्वरूप मासिक ५ हजार उपलब्ध गराउने, ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिनेजस्ता जनहितकारी निर्णयलाई वर्तमान सरकारले उल्ट्याएकोमा आपत्ति जनाइएको घोषणापत्रमा ती कार्यक्रमलाई तत्काल निरन्तरता दिन माग गरिएको छ।

कम्युनिस्ट सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेटले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउँदै लगेको निष्कर्ष निकाल्दै कांग्रेस जिल्ला सभापति भेलाले वर्तमान सरकार संघीयता र संविधानविरोधी कार्यमा लागेको आरोप लगाएको छ। सरकारले योजना छनोट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको उल्लेख गर्दै भेलाले पूर्वाग्राहीपूर्ण ढंगले क्रमागत बहुवर्षीय विकास निर्माणका योजनासमेत कार्यक्रमबाट हटाइएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। सरकारी संरक्षणमा देशभर भौतिक आक्रमण र अलग विचार राख्ने नेताकार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउनेजस्ता आतंक फैलाइएको आरोप लगाउँदै भेलाले द्वन्द्वकालमा कब्जा गरिएका जग्गा सम्बन्धित पक्षले नै प्राप्त गर्ने विगतको सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि सरकारलाई स्मरण गराएको छ।

घोषणापत्रमा विगतको निर्वाचन परिणामबारे कांग्रेस गम्भीर रहेको उल्लेख छ। आगामी चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प पनि घोाषणापत्रमा गरिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकले ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्ने निर्णय गरेअनुरूप आवश्यक कार्यक्रम तर्जुमा गरी अविलम्ब राष्ट्रव्यापी रूपमा अभियान सञ्चालन गर्न तथा प्रशिक्षण वर्षका रूपमा कार्यक्रम गर्न पार्टीलाई भेलाले आग्रह गरेको छ।

भदौमा गर्ने भनिएको पार्टी महासमिति बैठकको स्थान र मिति अविलम्ब तोक्न माग गर्दै भेलाले प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्नुपर्ने माग गरेको छ। पार्टीभित्र आन्तरिक संवाद घनीभूत गर्दै पारस्परिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रक्रियालाई अक्षरशः कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन भेलाले घोषणापत्रमार्फत सुझाव दिएको छ।

७७ वटै जिल्लाका सभापतिको सहभागितामा चलेको भेलाले जारी गरेको घोषणापत्रमा पार्टीको विधान संशोधन र त्यसका लागि जिल्ला सभापतिहरूको समेत सहभागितामा विधान मस्यौदा समिति बनाउनुपर्ने सुझाव दिइएको छ। अधिवेशन समयमा नगरिएका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको अन्योल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिवेशन गर्न पनि पार्टी केन्द्रीय समितिसँग भेलाले आग्रह गरेको छ। त्यस्तै संविधानसम्मत हुने गरी सबै तहको संरचना निर्माण गर्न आवश्यक कार्यविधि बनाउन पनि जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यसमितिको ध्यानाकृष्ट गराएका छन्। भेलाले जारी गरेको हेटौंडा घोषणापत्र काभ्रे कांग्रेसका सभापति मधु आचार्यले वाचन गरी सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए।

पार्टी हारको प्रमुख कारण कम्युनिस्ट पार्टी गठबन्धनः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टी हारको मुख्य कारण दुई ठूला कम्युनिस्ट पार्टीको गठबन्धन भए पनि नेतागणले यस कुरालाई स्वीकार नगरेको गुनासो गरे। पार्टीका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाको समापन कार्यक्रममा उनले पार्टीभित्र तहगत रूपमा अधिकार प्रत्यायोजन गरी चुनावमा टिकट वितरण गरेको दाबी गरे। उनले भने, ‘नेताहरू पार्टी कार्यालय धाएर जित्छु, जित्छु भन्दै जिद्दी गरेर टिकट लिए तर धेरैले जित्दै जितेनन्।’

कांग्रेसका कार्यकर्ताले आफ्नै साथीलाई भोट नहाली विपक्षीलाई जिताएको बताउँदै सभापति देउवाले पार्टीलाई अन्तरघातमुक्त बनाए मात्र चुनाव जितिने बताए। ‘चुनावमा हारको कारण प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षक प्रकरण पनि हो भनेर केहीले आरोप लगाउँछन्,’ उनले भने, ‘मैले त्यसबेला प्रधानमन्त्रीको नाताले विधि र कानुनअनुसार नै कदम चालेको थिएँ।’ तत्कालीन नेकपा माओवादी केन्द्रले कांग्रेससँग सहकार्य गरेर पनि गम्भीर धोका दिएको दाबी गर्दै देउवाले जिल्ला सभापतिहरूको सुझावका आधारमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।

पार्टी एकताको पक्षमा सधैं उभिएको पौडेलको दाबी
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र गुट नचलाएको दाबी गर्दै आफू एकताको पक्षमा सधैं उभिएको बताए। विगतमा आफूमाथि पार्टीमा विभेद भए पनि नेताभन्दा पार्टी ठूलो भएकाले मुख नखोलेको बताए। ‘३० जना महाधिवेशन प्रतिनिधिलाई भोट हाल्न नदिँदा मैले चुनाव हारेँ,’ उनले भने, ‘तर, मैले किचलो नगरी सभापतिलाई सहयोग गरे र निस्वार्थ भएर सुझाव दिइरहे।’

प्रजातान्त्रिक पार्टीमा सभापतिले जितहारको जिम्मा लिनुपर्ने तर्क गर्दै उनले चुनाव जितेर आएका सबैलाई सभापतिले आफ्नै देख्नुपर्ने जिकिर गरे। पार्टीलाई नयाँ जीवन दिन राष्ट्रव्यापी मेचीमहाकाली अभियानलाई सफल र उपलब्धिमूलक बनाउन आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। पार्टीको विधान मस्यौदा समितिले जिल्ला सभापतिहरूको सुझावलाई विशेष आधार बनाएर विधान संशोधन मस्यौदा तयारी गरी महासमितिको आगामी बैठकमा प्रस्तुत गराउन पहल गर्ने पनि उनले बताए।

‘विधानको दफादफा हेरेर विधानसम्मत ढंगले एकता र सहमतिका आधारमा पार्टी चलाउन प्रयास गर्छौं,’ उनले भने, ‘आगामी दिनमा विधिअनुसार मात्र पार्टीका सबै काम हुनेछन्।’

मस्यौदा समिति र अनुशासन समितिलाई चाँडै पूरा गर्ने बताउँदै वरिष्ठ नेता पौडेलले पार्टीमा निर्वाचन समिति पनि गठन गर्न पहल गरिने बताए।

संघीयताअनुसार महाधिवेशन प्रतिनिधिमार्फत प्रदेश समिति निर्माण गर्न केन्द्रीय समितिबाट चाँडै प्रयास थाल्ने बताउँदै उनले पार्टी सदृढीकरणका लागि सबै नेताकार्यकर्ता लाग्नुपर्ने बताए। कम्युनिस्ट सरकारले स्वतन्त्रता, निष्पक्षता र समानताको कुरा गरे पनि पक्षपातको शासन लागू गर्दै आएको उनले दाबी गरे। कम्युनिस्ट सरकारको चरम पक्षपातपूर्ण व्यवहारविरुद्ध कांग्रेसले जेहाद(आन्दोलन) छेड्नुपर्ने उनले बताए।

कार्यक्रममा पार्टीकी कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वप्रवक्ता मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ ले नेतृत्वबीचको अन्तर्विरोध अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै कम्युनिस्ट सरकारको सर्वसत्तावादविरुद्ध एकजुट हुन ढिलाइ गर्न नहुने बताए।

भेला उद्घाटनक्रममा मञ्चमा बस्न नमानेका केन्द्रीय सदस्य कृष्ण सिटौलालगायत भने समापन कार्यक्रममा सहभागी भएनन्।

प्रकाशित: ९ असार २०७५ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App