१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई महिनामै भत्किए ग्रामीण सडक

बनिनसक्दै भत्किएको विपी राजमार्गस्थित पिपलभज्याङबाट नेत्रकाली जाने सडक। तस्बिर अनिल/नागरिक

सिन्धुली - हतारमा काम गर्दा यहाँका ग्रामीण सडक बनिनसक्दै भत्किन थालेका छन्। यहाँको विपी राजमार्गस्थित पिपलभन्जयाङबाट बस्तीपुर हायुटार जाने सडक निर्माणाधीन अवस्थामै भत्किएको छ।

ठेकेदारको लापरबाहीका कारण गुणस्तरीय काम नहुँदा सडक बनिनसक्दै भत्किएको स्थानिय बासिन्दाले बताएका छन्। ग्रामीण क्षेत्रमा बनाइएका अधिकांश सडक दुई महिनामै भत्किएका छन्। वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका सडक बन्द भएका हुन्। गत चैत अन्तिमसम्म लाखाैं रकम लगानी गरी मर्मतसम्भार गरिएका अधिकांश ग्रामीण सडक दुई महिना पनि टिक्न नसकेको हो। झन्डै ४३ करोड रुपैयाँ लगानीमा मर्मतसम्भार भइरहेको पिपलभन्ज्याङ–नेत्रकाली सडक बनीनसक्दै भत्किएको घ्याङलेक गाँउपालिका वडा न. १ का अध्यक्ष रामकाजी वाइवाले बताए। ठाँउठाँउमा भत्किएर सडक अवरुद्ध छ । स्थानीयले ठूलो सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘ठेकेदार र प्राविधिक कार्यालयकै बेवास्ताका कारण सडकको अवस्था नाजुक बनेको हो।’

थोरै मात्रै खनेर तारजाली भरिएकाले सडक भत्किएको उनको भनाइ छ। ‘एकातिर सडक बन्दै छ, अर्कातिर भत्कँदै गएको छ,’ उनले थपे, ‘कमसल काम गर्दा ग्रामीण सडकमा गरिएको ठूलो लगानी बालुवामा पानी भएको छ।’

पछिल्लो समय सिन्धुलीका गाँउगाँउमा मोटरबाटो बनाइएका छन्। ‘हामीले पटक–पटक पिपलभन्ज्याङदेखि नेत्रकाली सडक गुणस्तहीन काम भयो, यसलाई सुधाराैं भनेका हौं,’ स्थानीय प्रकाश कार्कीले भने, ‘कमजोर काम गरेर बजेट स्वाहा पार्ने काम भएको छ। यस्तो कामलाई सम्बन्धित निकायले अनुगमन–मूल्यांकन नगरी भुक्तानी दिन मिल्दैन।’

लाखौं लगानी गरेर बनाइएका बाटो काम नसकिँदै धमाधम भत्किएर रकम खेर गएको स्थानीय बासिन्दाको गुनासो छ। यहाँको जलकन्या सिमानादेखि नागीसम्म पनि सडक मर्मतकै शीर्षकमा दश लाख रुपैयाँभन्दा बढी बजेट दुई महिना अगाडि मात्रै खर्च गरिएको थियो। तर त्यो सडक पनि हाल बन्द भएको छ। त्यस्तै नागी मझुवामा पनि दशै लाख खर्च गरेर सडक मर्मत गरिएको थियो। तर सडकमा नाला तथा ग्राभेल नहुँदा वर्षाले सडक तहसनहस भएको छ। जिल्लाका दर्जनभन्दा बढी ग्रामीण सडकमा बर्सेनि करोडाैं बजेट खर्च हुँदै आएको छ। दिगो विकासको अवधारणाविपरीत काम हुँदा ग्रामीण सडकको अवस्था बेहाल भएको हो।

वर्षाले अधिकांश ग्रामीण सडक बन्द हुँदै
केही दिनदेखि दैनिक भइरहेको अविरल वर्षाका कारण सिन्धुलीका अधिकांश ग्रामीण सडक बिग्रिएर बन्द हुन थालेका छन्। दैनिक दर्जनाैं ठूला तथा साना गाडी आवातजावत गर्ने दुधौली मरिण लगायतका सडक ग्रामीण सडक वर्षा र बाढीले क्षतविक्षत भएका हुन्। ठाँउठाँउमा पहिरो गएपछि अधिकांश ग्रामीण सडक बन्द भएको स्थानीय बासिन्दाले बताएका छन्।

सडक अवरुद्ध भएपछि सदरमुकामबाट चल्ने धेरैजसो बस तथा साना गाडी चल्न छाडेका छन्। जसले सर्वसाधारण समस्यामा परेका छन्। सिन्धुलीबाट विपी राजमार्गलाई आधार बनाएर झन्डै दुई दर्जन सडक निर्माण भएका छन्। यी सडक हाल सबै अवरुद्ध भएका छन्। यस्तै चतरा–सिन्धुली–हेटौडा सडकलाई आधार बनाएर पनि थुप्रै कच्ची सडक निर्माण भएका छन्। हिउँदयाममा प्राविधिक बिनै स्काभेटरले ठूल्ठूला भत्काएर बनाइएका कारण वर्षा सुरु भएसँगै भत्किएर बन्द भएका हुन्।

प्रकाशित: ६ असार २०७५ ०१:४२ बुधबार

दुई महिनामै भत्किए ग्रामीण सडक