१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

काठमाडौंं – काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन्।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन्। यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउछन्। ‘दुर्घटनामा ज्यान गुमाएका अधिकाशं यात्रु मोटरसाइकल चलाउने छन्,’ उनी भन्छन्।

गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ। सवारी दुर्घटनाबाट आव २०७२/७३ मा मृत्यु भएका १६६ मध्ये ९२ र आव ०७३/७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहका व्यक्ति रहेका छन्।

महाशाखाका प्रमुख पन्तले उपत्यकामा हुने सवारी दुर्घटना दिउँसोको भन्दा रातिको समयमा बढी हुने गरेको बताए।

सवारी साधन धेरै र सडक साघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ।

हाल काठमाडौं उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन रहेका छन्।

काठमाडौं उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी इकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ। ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्त बताछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउछन्। ‘उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ,’ उनी भन्छन्।

उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको छ। महाशाखाका अनुसार आव २०७२/७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३/७४ मा १२१ पुरुष र ६१ महिला तथा चालु आर्थिक वर्षमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ।

महाशाखाले चालु आवमा ऐन कानुन विपरित सवारी साधन चलाउने तीन लाख ७८ हजार ९२७ जनालाई कारबाही गरेको छ। तीमध्ये लेन अनुशासनमा ३८ हजार ८१४, मापसेमा २६ हजार १९७, ट्याक्सी कारबाहीमा छ हजार ६८०, जेब्राक्रसिङ कारबाहीमा सात हजार ३९७, हर्न कारबाहीमा १३ हजार १९, सिसिटिभीमा एक हजार ९६३, बढी वान क्यामरामा छ हजार ५६३, बुलेट मोटरसाइकलमा छ हजार ८०२ र अन्य कारबाहीमा गरी दुई लाख ७१ हजार ४९२ जना छन्।

उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ। महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारीसाधन व्यवस्थापन गर्दै आएका छन्। (अच्युत रेग्मी/रासस)

प्रकाशित: ५ असार २०७५ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App