१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अरुण तेस्रोको सुरुङमा पुरिए बाँचेकाहरुले यसरी सुनाए त्यो क्षण

संखुवासभा- शुक्रबार राति अरुण तेस्रोको सुरुङमा पहिरो खस्यो। सुरुङ भित्र काम गरिरहेका ४ जना पुरिएपछि उनीहरुको सुरुङ भित्रै मृत्यु भएको भन्दै केहि सञ्चार माध्यममा समाचार आयो। केही अनलाइनले ३ जनाको शव समेत देखाए। समाचार आएसँगै परिवारसम्म त्यो खबर पुग्यो । छोराको मृत्युको झुटो खबर सुनेकी सिउना गाउँपालिका ४ कालिकोटका प्रदिप शाहीकी आमा अझै बेहोस् छन्। माङ्ली शाही छोराको मृत्यु सुनेपछी वेहोस् भएको खबरले आफू झनै दु:खी भएको प्रदिपले बताए। ३९ घण्टा पछी आइतबार बिहान ११ बजे सुरुङबाट हामी चारै जना सकुशल बाहिर निस्कदा प्रतिक्षामा बसेकाहरु र उद्धार कर्ताहरु अत्यन्तै खुशी थिए। तर केही छिनमा थाहा भयो, हामी त मरिसकेका रहेछौं। केही बेरमा घरमा फोन गरेर बोल्दा परिवार र आफन्त अचम्मैमा परे । एकछिन त पत्याएनन्। अनि मेरो मृत्युको खबरले आमा बेहोस् भएको भन्ने सुनेपछी फेरी अर्को पटक म मरें। उनले सञ्चार माध्यमको यस्तो गलत प्रचारले जीउँदै मारेकोमा दुख व्यक्त गरे। आमा भेट्न मंगलबार घर जाने शाहीले बताए।

सुरुङ भित्र शाही सहित चन्दननाथ नगरपालिका १ जुम्लाका प्रेम परियार, भारत बिहारका इलेक्ट्रिकल मेकानिक नन्द किशोर, भारत झारखण्डका बुमर चालक बुधन मुन्डा फँसेका थिए।

शाहीले भने, 'हामी रातभर भगवानको प्रार्थनामा बस्यौं।' सुरुङ भित्र काम गरिरहेको बेला अचानक पहिरोले प्रवेश मार्ग बन्द भएपछि सुरुङमा उनीहरु निक्कै आत्तिएको बताए। सुरुसुरुमा बाहिर निस्कन सकिने सम्भावनाको निक्कै खोजी गरियो । शाहीले सानो प्वालबाट आफु बाहिर निस्कने सोच बनाएका थिए, तर साथीहरुले त्यसो गर्दा माथीबाट ढुंगा झरेर किच्न सक्ने भने पछि त्यो योजना पनि असफल भयो । विकल्पहरु असम्भव भएपछि उद्धारको पर्खाईमा बस्नुको बिकल्प नरहेको उनीहरुले बताए। शाहीका अनुसार शनिबार बिहान ६ बजे हामी जीवित छौं भन्न र उद्धारमा सहज होस् भनेर प्वाल मार्फत रडको टुप्पोमा ज्याकेट राखेर बाहिर हल्लायौं। तर बाहिरबाट सो इसारा नदेख्दा उनीहरु ३९ घण्टासम्म सुरुङ भित्र बस्नु पर्‍यो। उनीहरुले इसारालाई बाहिर देखिने निर्णय गरे, तर केही बेरपछि इसाराका लागि प्रयोग गरिएको ज्याकेट सहित रडलार्ई पनि माथिबाट आएको ढुंगाले थिच्यो। बाहिरको आवाज सबै भित्र सुनिएका कारण आफुहरुको उद्धार कार्य जारी रहेको संकेत उनीहरुले पाएका थिए। तर भित्रको आवाज बाहिर आउन नसक्दा उद्धारमा समेत ढिलाई भयो । उनीहरु घडि र बाहिरको आवजको आधारमा दिन रातको समय छुट्याउने गर्थे।

शनिबार दिनभर उद्धारको प्रयास जारी रह्यो। शाहीले भने 'वेलुकी पाँच बजे पछि बाहिर भारी वर्षा आएको संकेत प्राप्त भयो। त्यसपछी उद्धारको क्रम रोकीएको थाहा भयो। फेरी अर्को रात बस्नु पर्ने अवस्थाले त्रास बढ्यो । पुनः रातभर पानीकै भरमा बसे । भोकलाई कम गर्न उनीहरुले सामान प्याक गरेको गद्दा (फर्म) खाएर बस्ने योजना समेत बनाए। बुमर(सुरुङ खन्न प्रयोग गरिने मेसिन) को लाईटको भरमा दिन र रात बिताएर बस्यौं।' बुमरको इमरजेन्सी लाईट दुई दुई घण्टामा बल्ने गरेको शाहीले बताए।

सुरुङमा थुनिएकाहरुको उद्धारपछि सोमबार विपद् व्यवस्थापन समिति सङ्खुवासभाले पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरेको छ। उद्धार गरिएकाहरुको सामान्य उपचारपछि सोमबार सार्वजनिक गरिएको हो।

सुरुङबाट निस्केपछि पुर्नजन्म पाएकोमा निक्कै हर्सित बनेका उनीहरुले अँध्यारो सुरुङ भित्र बस्नु पर्दाको सम्पुर्ण अनुभव सञ्चारकर्मीहरुलाई सुनाए। राती सुरुङ भित्र काम गरिरहेको बेला अचानक पहिरोले प्रवेश मार्ग बन्द भएपछि सुरुमा उनीहरु निक्कै आत्तिएको बताए। पहिरो खसेपछी पनि सानो प्वाल भएकाले उक्त प्वालबाट निस्कन प्रयास गरिएको थियो । तर निरन्तर पहिरो खसेपछी प्वाल झनै सानो भएको प्रदिपले बताए । सुरुसुरुमा बाहिर निस्कन सकिने सम्भावनाको निक्कै खोजी गरे पनि असम्भव भएपछि उद्धारको पर्खाईमा बस्नुको बिकल्प नरहेको उनीहरुले बताए।

उनीहरुको उद्धार कार्यमा भिमकाली गुल्म हेदाङ्नाबाट १८ जना, बराहदल गुल्म खाँदबारीका १७ जना, जिल्ला प्रहरी कार्यालयका २९ जना, सशस्त्र प्रहरी बलका २५ जना सुरक्षाकर्मी सहित सुरुङ मार्ग ठेकेदार कम्पनी जेपी ग्रुपको २ ओटा, एपेक्स कन्स्ट्रक्सन कम्पनीको १ र रौताहा कन्स्ट्रक्सन कम्पनीको दुई ओटा इस्काभेटर प्रयोग गरिएको थियो। सुरुङ भित्र फसेकाहरुको उद्धारमा सहयोग गर्ने सबैलाई विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले धन्यवाद दिए।

मकालु गाउँपालिका ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्ग सहित पूर्वाधारको काम सुरु गरीएको छ। निर्माण सुरु गरिएको सुरुङ मार्ग ३० मिटर लामो रहेको आयोजनाले जनाएको छ। नौं सय मेगावटको अरुण तस्रो जलविद्युत आयोजना सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ।

 

प्रकाशित: ४ असार २०७५ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App