१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

मस्कोको व्यस्त सडक पेटीमा हिँडिरहेका पैदलयात्रुलाई शनिबार साँझ ठक्कर दिएको ट्याक्सी । तस्बिर : एजेन्सी

मस्को– विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

गर्मीयामको साँझमा क्रेमलिन नजिकै राजधानी मस्कोको मध्यभागतिर स्थानीयवासी र विदेशी फुटबल खेल समर्थक घुमिरहेका बेला जथाभावी ट्याक्सी कुदाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

‘पैदलयात्रुको भीडमाथि जथाभावी ट्याक्सी कुदाउने ट्याक्सी चालकको लाइसेन्स क्रिगिजस्तानबाट जारी भएको पाइएको छ,’ मस्कोको ट्राफिक व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । प्रहरी हिरासतमा रहेका चालकले आफूले नियतवश पैदलयात्रुमाथिको भीडमा ट्याक्सी नकुदाएको बताएका छन् । चालकको भनाइको फुटेजलाई मस्को प्रहरीको वेबसाइटमा राखिएको छ।

‘ट्याक्सीमा केही अप्रत्याशित घटना भएको रहेछ । चालकले ट्याक्सीमाथिको नियन्त्रण गुमाएका रहेछन्,’ मस्कोका मेयर सेर्गेइ सोवयानिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ट्राफिक कोडको उल्लङ्घन गरेको शंकामा आपराधिक अनुसन्धान सुरु गरिएको मस्को प्रहरीले बताएको छ ।

घटनामा प्रहरीसहित सात जना घाइते भएका छन् । मस्कोको सिटी स्वास्थ्यकेयर विभागले सुरुमा घटनामा परी आठ जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको बताएको थियो । उक्त विभागले घाइतेमध्ये सात जना सामान्य अवस्थामा रहेको तर एक महिलाको अवस्था भने जटिल रहेको बताएको थियो ।शनिबारको घटनामा आफ्ना दुई नागरिक सामान्य घाइते भएको मस्कोस्थित मेक्सिकन दूतावासले बताएको छ । घाइते अन्यमा एक जना युक्रेनी, दुई जना रुसी र दुई जना अजरबैजानका नागरिक भएको रुसी रिया न्युज एजेन्सीले आपतकालीन सेवाका स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

विश्वकप फुटबल आयोजना भइरहेको देशको राजधानीमै भएको घटनाको सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा पहेंलो रंगको ट्याक्सीले ट्राफिक लाइन पार गरेर पैदलयात्रुले भरिएको फुटपाथमा पुगेको देखिएको छ ।
ट्याक्सी फुटपाथमा लगभग १० मिटर परसम्म पुगेर पैदलयात्रुलाई हानेको र ट्याक्सीको बनेटले केही पैदलयात्रुलाई पर लगेको बताइएको छ । सडक छेउमा राखेको ट्राफिक संकेतमा ठोक्एिपछि मात्रै ट्याक्सी रोकिएको रोयटर्सले जनाएको छ ।

नजिकै बसेका मानिसले ट्याक्सीभित्र रहेका चालकलाई चालकतर्फको ढोकाबाट बाहिर निकाल्न खोज्दा कालो ट्राउजर र कालै टिसर्ट लगाएका चालक ट्याक्सीबाट उफ्रिएर भागेको र उनलाई ती मानिसले लखेटिरहेको भिडियो फुटेजमा देखिएको छ ।
 

 

प्रकाशित: ४ असार २०७५ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App