१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दैनिक डेढ लाख जरिवाना तिर्दै सडकका ठेकेदार

नगरकोट - तोकिएको समयमा सडक नबनाएबापत पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरवेटी शारदाप्रसाद अधिकारीले दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिरिरहेका छन्।

अधिकारी अध्यक्ष रहेको अरावती–सैलुङ जेभीले ठेक्का लिएको कमलविनायक–नगरकोट सडक सम्झौता अनुसार सम्पन्न नगरेपछि जुन १४ (चार दिन) देखि सडक विभागले दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिराइरहेको हो ।तेस्रोपटक थपिएको सडक बनाउने अन्तिम म्याद पाँच दिनअघि (जुन १३ मा) सकिएको थियो । विभागबाट उक्त कम्पनीले सडक बनाउन ५ जुन २०१४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिसम्ममा ४४ प्रतिशत मात्र काम सकिएको छ ।

करिब १६ किलोमिटर लामो कमलविनायक–नगरकोट सडकलाई दुई लेन (७ मिटर पिच) को बनाउन अरावती–सैलुङ जेभीले २७ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्का कबोल गरेको रकममध्ये ठेकेदारले हालसम्म १४ करोड रुपैयाँ लिइसकेका छन् । उच्च तहका राजनीतिक व्यक्तिसँगको पहुँचका कारण उक्त सडक खण्डको म्याद थप्ने क्रम जारी छ ।विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले उक्त सडक निर्माण कार्य पूरा हुन नसक्दा सर्वसाधारण निकै समस्यामा परेको उल्लेख गर्दै दैनिक डेढ लाख रुपैयाँ जरिवाना लिएर कामलाई तीव्रता दिइएको बताए । ‘हाम्रो उद्देश्य जसरी पनि सडक बन्नुपर्छ भन्नेतिर केन्द्रित छ,’ उनले भने ।

सडक निकै जीर्ण भएका कारण पछिल्लो समय नगरकोट जाने पर्यटकको संख्या घटिरहेको छ भने स्थानीयबासी धुलो र खाल्टाखुल्टी सडकको सास्ती खेप्न बाध्य छन् । सडक समस्याका कारण पर्यटकको संख्या घट्दा बैंकबाट ऋण लिएर होटल, रेस्टुरेन्ट चलाउँदै आएका व्यवसायीले आर्थिक अवस्था खराब हुन पुगेको गुनासो गरिरहेका छन्।

सडक विस्तारले पर्यटक संख्या बढ्ने आशामा रहेका व्यवसायीले सडक मर्मतका लागि पटकपटक विभिन्न निकायसँग आग्रह गर्दा कुनै नतिजा निस्कन सकेको छैन । उक्त सडक आयोजनाका प्रमुख नरेन्द्र कोइरालाले ढिलो काम गरेका कारण अरावती–सैलुङ जेभीलाई यसअघि सात लाख २५ हजार रुपैयाँ तिराइसकिएको बताए । ‘केही महिनाअघि सात लाख २५ हजार रुपैयाँ जरिवाना तिराउँदासमेत कामले तीव्रता नलिएपछि दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिराउन थालेका हौं,’ कोइरालाले भने ।

विभागले दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेपछि ठेकेदारले निर्माण कार्यलाई तीव्रता दिएको उनले बताए । कोइरालाका अनुसार ठेकेदारले आउँदो मंसिरसम्म जसरी पनि काम सम्पन्न गर्ने कबोल गरिरहेकाले जरिवाना लिएर भए पनि एकपटकलाई म्याद थप गर्ने तयारी छ।

स्थानीयबासी भने ठेकेदारको काम गराइको शैली हेर्दा आउँदो मंसिरसम्म सम्पन्न हुन सक्नेमा विश्वस्त छैनन् । चार वर्षमा ४४ प्रतिशत बनाउने ठेकेदारले पाँच महिनामा ५६ प्रतिशत कसरी सक्ला भन्ने आशंका उनीहरुमा छ । अझै पनि ठेकेदार कम्पनीले दैनिक ५०–६० जना कामदार मात्र लगाएको भन्दै स्थानीयले सरोकारवाला निकायको ध्यान आकर्षित गरेका छन् ।

आयोजना प्रमुख कोइराला यसअघि समयमै काम सम्पन्न नहुनुमा कहिले निर्माण सामग्रीको अभाव, कहिले रूख कटानको समस्या त कहिले ठेकेदारको ढिलासुस्ती मुख्य कारण रहेको बताउँछन् । विद्युत्का खम्बा हटाउन पनि उत्तिकै समस्या रहेको उनको भनाइ छ । विद्युत् प्राधिकरणले कमलविनायक–नगरकोट सडकका खम्बा हटाउन दुई करोड रुपैयाँ मागिरहेको बताइएको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि सुदन गौली धेरै टाढाबाट निर्माण सामग्री ल्याउनुपरेकाले काम ढिला भएको बताउँछन् । ‘ठेक्का लिने बेला नगरकोटनजिकै इन्द्रावती खोलाबाट निर्माण सामग्री निकाल्ने भनिएको थियो,’ उनले भने, ‘पछि इन्द्रावती खोलाको निर्माण सामग्री गुणस्तरीय नहुने भनियो । अनि पोखरा र हेटौडाबाट निर्माण सामग्री ल्याउनु पर्दा ढिलो भएको हो।’उक्त सडक खण्ड निर्माणबाट कमाइ नहुने दाबी गर्दै उनले इज्जतका लागि भए पनि मंसिरसम्म काम सक्ने ठोकुवा गरे । यो कामको ठेक्का ४१ प्रतिशत कममा लागेको थियो । गौलीले केही दिनमै सडक निर्माणका लागि जनशक्ति दोब्बर पारिने समेत बताए ।

 

प्रकाशित: ४ असार २०७५ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App