१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हेटौंडामा चल्यो साझा यातायात

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा ल्याईएको नगर बस सेवाको शुभारम्भ गर्दै मेयर हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एवम् प्रमुख लोकेन्द्र श्रेष्ठ लगायत । तस्बिर : नागरिक

मकवानपुर– प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा नगर बस सञ्चालनमा ल्याईएको छ। हेटौंडा बजार र आसपासका बासिन्दालाई सहज र सर्वसुलभ दरमा यातायात सेवा प्रदान गर्ने उदेश्यले बस सञ्चालन गरिएको हो।

उपमहानगरपालिकासंगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले शनिबारबाट औपचारिक रुपमा एकै रंग र क्षमताका ११ वटा बस सञ्चालनमा ल्याएको हो। साझा यातायातको औपचारिक रुपमा उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यात्रुलाई सम्मान र मुस्कानसहितको सेवा दिन निर्देशन दिए। साना सवारी साधन अटो, मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुलाई आरामदायी र सुरक्षित यात्रा सेवा दिन निजी कम्पनीसंगको समन्वयमा बस सञ्चालनमा ल्याइएको मेयर महतले बताए। हेटौंडाका १९ वटै वडाका नागरिकलाई सुरक्षित र सुलभ दरमा यात्रा गराउनु उपमहानगरपालिकाको दायित्व भएको भन्दै उनले बस सेवालाई थप बिस्तार गर्न पहल गरिने बताए।

हेटौंडाको मुख्यचोक बुद्धचोकबाट मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एवम् प्रमुख लोकेन्द्र श्रेष्ठ, हेटौंडाका वडाअध्यक्षहरु लगायतलाई बसमा यात्रा गराएर उद्घाटन गरिएको थियो।

मकवानपुर साझा यातायात प्रालिका अध्यक्ष भेष खड्गीले हेटौंडेली यात्रुहरुलाई सुबिधा दिनका लागि आरामदायी र सस्तो भाडा दरमा बस सेवा दिइने बताए। आफूहरु फाइदाका लागि मात्र भन्दा पनि सेवा दिन बस सञ्चालन गरेको दाबी गर्दै उनले चाँडै २० वटा बस सञ्चालनमा ल्याइने बताए।

नगर बस सेवा हेटौंडा बजार क्षेत्र, हेटौंडा उपमहानगरपालिकाको भित्री सडक, हटिया, हर्नामाडी, बसामाडी तथा मनहरी लगायतका क्षेत्रमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ। आरामदायी सिट रहेको मिनी बसमा महिला कण्डक्टर राखेर नम्र स्वभावका साथै यात्रुको मर्यादामा ध्यान दिइने अध्यक्ष भेष खड्गीले दाबी गरे। साझा यातायातले सबै रुटमा बिद्यार्थी र बृद्धबृद्धालाई सहुलियत दिने गरि भाडादर पनि स्थानीय पत्रिका मार्फत् सार्बजनिक गरिसकेको छ। हेटौंडाका १० जना व्यवसायीको ३ करोड ५० लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको बसबाट ५० जनाले रोजगारी पाएका छन्।

उपमहानगर क्षेत्रमा चल्नका लागि २ सय ५० वटा जति अटो मयुरी सञ्चालन गर्न अनुमती दिएपनि हेटौंडामा अहिले १ हजार ३ सय भन्दा बढी अटो, मयुरी सञ्चालनमा रहेको अनुमान छ। जसका कारण हेटौंडाको मुख्य चोक, सडकका साथै पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजमार्गको सडकमा समेत ट्राफिक जाम र समस्या देखिन थालेका छन्। यता, हेटौंडामा सञ्चालित साना सवारी साधन अटो, मयुरी धनी तथा चालकले यात्रुहरुसंग तोकिए भन्दा बढी भाडा लिएको आरोप खेप्दै आएका छन्। बैशाखबाटै नगर बस सेवा सञ्चालन गरिने हेटौंडा उपमहानगरपालिकाले तयारी गरे पनि केही ढिलाई गर्दै बस सेवा सञ्चालन भएको हो।

प्रकाशित: ३ असार २०७५ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App