१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थानीय चल्ला उत्पादनलाई ‘सोलार इन्क्युबेटर’

ग्रामीण कुखुरा फर्ममा हेम्पसायर रातो र कालो अस्ट्रालोप ।तस्बिर : नागरिक

बनेपा- नेपालमा पहिलोपटक भित्र्याइएको सोलार पोल्ट्री इन्क्युबेटरबाट ‘ग्रिड’ नपुगेका गाउँमा समेत ग्रामीण कखुरा (स्थानीय) का चल्ला आवश्यकता अनुसार निकाल्न सम्भव हुने भएको छ ।

महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले परीक्षणका रुपमा सो इन्क्युबेटरबाट ग्रामीण कुखुराको चल्ला निकाल्न सफल भएपछि यस्तो सम्भावना उजागर भएको हो ।‘हामीले गाउँबाट संकलित ‘फर्टाइल’ अण्डालाई इन्क्युबेटरमा राखेका थियौं । २१ दिनसम्म के होला कसो होला भन्ने चिन्ता थियो । तर, २१ दिनबाट धमाधम चल्ला निक्लन थाल्यो,’ संस्थाकी सचिव निर्मला श्रेष्ठले भनिन् ।

उक्त मेसिनबाट स्थानीय कुखुरासहित आवश्यकता अनुसार हाँस, टर्की, लौकाट, बट्टाईजस्ता पन्छीका चल्ला उत्पादन सम्भव भएको छ । ‘हाललाई लोकल कुखुराका चल्लामा जोड दिएका छौं । हामीले सय चल्ला निकाल्ने इन्क्युबेटर परीक्षण गरेका हौं । क्रमशः दुई सय र पाँच सय चल्ला निकाल्न सकिने मेसिन पनि ल्याउने सोच राखेका छौं,’ श्रेष्ठले भनिन्।

हाल चल्तीका ह्याचरीहरु सबै व्यावसायिक भएकाले उनीहरुले धेरै संख्यामा ब्रोइलर, लेयर्स तथा गिरीराजा चल्ला उत्पादन गर्दै आएकाले ग्रामीण किसानले थोरै संख्यामा चल्ला किन्ने अवस्था नरहेको उनको भना छ । ‘एक त उनीहरुका चल्ला कमर्सियल हिसाबले पाल्नुपर्ने हुन्छ । गाउँलेलाई लोकल जातको चल्ला चाहिने रहेछ । सरकारी फार्मबाहेक ग्रामीण जातका चल्लाको उत्पादन अन्यत्र नहुँदा कखुरीले ओथारो बसेरमात्रै चल्ला कोरल्ने अवस्था थियो,’ श्रेष्ठले थपिन् ।

पछिल्लो समय स्थानीय कुुखुराको मासु र अन्डाको माग बढिरहेको उनको भनाइ छ । सानो ठाउँमा, खेर गएका खानेकुरा, साग र घाँस खुवाएरसमेत पाल्न सकिने तथा ग्रामीण जीविकोपार्जनमा असाध्य सहयोगी पाएकोले यो अभियान ल्याएको श्रेष्ठले बताइन् ।
बनेपा, नाला क्षेत्रका महिलालाई सहकारीतामार्फत उद्यमशील बनाउने अभियानमा जुटेकी उनले कृषि उद्यमअन्तर्गत पहिलो चरणमा स्थानीय कुखुराको चल्ला उत्पादन अभियान थालिएको बताइन् ।

‘महिला उद्यमी उपभोक्ता सहकारी संस्था सहकारीमा आवद्ध सदस्यलाई सुरुमा चल्ला वितरण गर्छौं । ती क्षेत्रका सदस्यको समूह बनाएर समूहलाई तालिमसहित इन्क्युबेटरसमेत उपलब्ध गराउँदै जानेछौं,’ श्रेष्ठले भनिन्, ‘हाललाई काभ्रे, सिन्धुपाल्चोक, कैलाली, मकवानपुर, चितवनबाट सहकारीमा आवद्ध दुई सय पाँच महिलालाई सहभागी बनाउनेछौं । किनकि यो इन्क्युबेटरबाट बिजुली नपुगेका गाउँमा समेत चल्ला उत्पादनमा सहज हुने भएको छ।’

अहिले गाउँघरमा पालिएका कुखुराहरु धेरै अगाडि नार्क र सरकारी फार्मबाट उत्पादन भएका न्यू हेम्पसायर रातो र कालो अस्ट्रालोप जातका हुन् । ‘अब हामी नार्कमै पुगेर यी जातका प्यारेन्ट नपाए पनि पहिलो पुस्ताको चल्ला ल्याएर त्यसबाटै भए पनि लोकल चल्ला उत्पादनमा निरन्तरता दिनेछौं । यस्तै, माग अनुसार हाँस, टर्की, बट्टाई, लौकाट र गिरिराजाका अण्डा राखेर इन्क्युबेटरबाट चल्ला निकाल्न सकिने कम्पनीबाट जानकारी पाएका छौं,’ श्रेष्ठले भनिन् ।

ग्रामीण किसानलाई लोकल चल्ला पाल्नमा अभ्यस्त बनाइसकेपछि औषधीय गुण भएको कुखुरा पाल्न र अण्डा उत्पादन गर्न सहकारीले मद्दत गर्ने योजना राखेको उनले बताइन् । ‘मुटु तथा दमका रोगीका लागि औषधीय गुणले भरिपूर्ण मानिएको कडकनाथ जातको कालो कुखुरासमेत भारतबाट ल्याएर चल्ला निकाल्ने सोचमा छौं । यस कुखुरा र अण्डाबाट किसानले धेरै राम्रो मूल्य पाउने छन्,’ श्रेष्ठले भनिन्, ‘स्थानीय सरकारले पनि गरिबीको रेखामुनि रहेका नागरिकलाई यस्तो कुखुराका लागि अनुदान दिएर स्वरोजगार बनाउन सक्छन्।’

चितवनको सिद्धबाबा प्रांगारिक कृषि उद्योग प्रालिले ग्रिड नपुगेको क्षेत्रका ग्रामीण किसानलाई लोकल चल्ला उपलब्ध गराउने उद्देश्यले भारतको कोचिनबाट सोलार पोल्ट्री इन्क्युबेटर झिकाएको कम्पनीका अध्यक्ष वासुदेव सापकोटाले बताए ।भारतको कोचिनस्थित लाइफवे सोलार डिभाइसेज प्रालिले तयार पारेको सोलार इन्क्युबेटरको प्रविधिलाई सन् २००७ मै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मद्रासले सफल साबित गरिसकेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

त्यसलगत्तै नमक्कल कृषि विश्वविद्यालय र आचार्य एनजी रंगा कृषि विश्वविद्यालयमा फिल्ड ट्रायल गरिँदा ८५ देखि ९० प्रतिशतसम्म चल्ला उत्पादनमा सफल भएको उल्लेख छ ।‘नेपालमा हामीले पहिलो पटक यो सोलार इन्क्युबेटरलाई ल्याएका हौं । पहिलो परीक्षण पनि बनेपामा गरेका छौं । ७० प्रतिशत चल्ला निक्लेको खबर छ । पहिलोपटक प्रयोग भएकाले किसान अभ्यस्त भइनसकेको हुन सक्छ । तर पनि उत्साहित भएका छौं,’ सापकोटाले थपे ।

सोलार प्रविधिको इन्क्युबेटर गाउँमा सञ्चालन गर्न सजिलो, कहिल्यै बिजुली नजाने हुँदा अण्डा नबिग्रने उनको भनाइ छ ।
नेपालमा हालै भित्र्याइए पनि सोलार पोल्ट्री इन्क्युबेटरहरु अन्य देशमा धेरै अगाडिदेखि नै निर्यात भइरहेको उनको भनाइ छ । ‘संयुक्त राष्ट्र संघ (युएन)को अफ्रिकन गरिबी निवारण कार्यक्रमका लागि हाम्रोको सप्लायर कम्पनीले सोलार पोल्ट्री इन्क्युबेटर जिम्बावेमा निर्यात गर्दै आएको छ,’ उनले थपे ।

 

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App