१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बुढानिलकण्ठमा तामाङ साहित्य गोष्ठी

तामाङ भाषा र साहित्यमा क्रियाशील संस्था तामाङ डाजाङको तामाङ साहित्यिक गोष्ठी तथा ग्योइकाइ गेताङ बुढानिलकण्ठमा गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – १ स्थित जय भद्रकाली आधारभूत विद्यालयमा शनिवार कार्यक्रम भएको हो।

तामाङ डाजाङको नियमित मासिक ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) को यो एक सय ७६ औं श्रृङ्खला हो । कार्यक्रममा तामाङ भाषाका स्रष्टाहरुले कविता, गजल, विभिन्न गीत, मौलिक फापारे गीत सुनाएका थिए । बुढानिकण्ठका स्थानीय कलाकारले टुङना, डम्फु र बाँसुरीको धुन र तामाङ सेलो नृत्य समेत प्रस्तुत गरेका थिए।

स्रष्टाहरु अर्जुन ग्लान, फूलकुमार बम्जन, सजना गोले, इश्वर थोकर, कविराज काल्तान, प्रेमलाल दोङ, ङेमा गोले लगायतका तामाङ भाषामा कविता सुनाए । तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, गायक सत्तलसिंह योन्जन, च्याङबा योन्जन, संगीता थिङ, कृतधावा घिसिङले फापारे गीत गाए । बुढानिलकण्ठ निवासी ७८ वर्षकी कान्छी तामाङले मौलिक फापारे गीत र ताम्बा गीत प्रस्तुत गरेकी थिइन्।  

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उत्तम खरेलले मातृभाषा सिक्न बालबालिकालाई प्रोत्साहन गर्न स्थानीय तामाङ जातिलाई आग्रह गरे । उनले भने ‘हामी अहिले छोराछोरीलाई आफ्नो भाषाभन्दा पनि अंग्रेजी भाषा सिकाउन प्रेरित गर्छाैं तर त्यो गलत हो ।

किनकि नेपालमा रहेको आदिवासी जनजातिको पहिचान भनेको भाषा हो । भाषा जोगाउन यो सिकाउने संस्कार बसाल्नु जरुरी छ ।’ विभिन्न जातिका मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि नगरापालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।तामाङ भाषाविद् अमृत योन्जन तामाङले मातृभाषाको प्रवर्द्धनका लागि स्थानीय स्रष्टाको भूमिका महत्वपूर्ण हुने बताए ।  तामाङभाषी साहित्यकारहरुको संस्था तामाङ डाजाङले २०५९ सालदेखि हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ गर्दै आइरहेको छ । तामाङ बसोबास गर्ने विभिन्न जिल्ला र गाउँमा गरिएको साहित्य यात्रा पनि गर्ने गरेको छ । साहित्य यात्राकै निरन्तरताको रुपमा बुढानिलकण्ठमा कार्यक्रम गरिएको डाजाङका अध्यक्ष सञ्चु ब्लोनले बताइन् ।  
 

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App