१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘काठमाडौं भाग्य खोज्ने ठाउँ हो’

कमल सौराग, गायक

तपाईँलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । यहाँ धेरै रमणीय ठाउँहरू देख्न र घुम्न पाइन्छ । नेपालभित्र शान्त र वातावरणीय हिसाबले पनि पोखरा घुम्नलायक सहर मानिन्छ।

पोखरा छिरेपछि चारैतिर सुन्दर ठाउँ देखिन्छन् । यद्यपि पोखरा कुनै भौतिक पूर्वाधार निर्माणले सुन्दर भएको होइन, प्रकृतिले नै यो ठाउँ सजिएको छ । नेपालभित्र पनि सुन्दर सहर छन् भन्ने नमुना पनि पोखरा नै हो । यहाँबाट माछापुच्छ्रे हिमाल हाँसेको देख्न पाइन्छ।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
मैले यो ठाउँलाई अलि फरक रूपमा चिन्छु । काठमाडौं भाग्य खोज्ने ठाउँ हो । स्वप्नजीविहरूको संघर्षशील ठाउँ हो । अनेकौं समस्या झेल्दै अरुसँग प्रतिस्पर्धा गर्दै लक्ष्य पूरा गर्न लड्ने साझा थलो हो । मन हुने र कर्म गर्न सक्नेलाई काठमाडौंमा अनेक सुविधा र क्षेत्रहरू पनि छन्।

सहरलाई कुरूप बनाएको चरम नमुना नै यहाँका संरचना हुन् । सहरका संरचनाहरूमा मौलिकता र एकृपता छैन । अहिले यहाँ भइरहेको भौतिक विकास र पूर्वाधारको काम देख्दा वाक्क लाग्छ । विकास निर्माणका काम गर्दा सहरको भविष्य सोचिएको छैन । आज सहरमा सडक बनाउँदा भोलि यो समस्या आउँछ भनेर सोचिएको छैन । आजभन्दा ५० वर्ष पहिले विकास गर्दै आएका सरकारी निकायले एकछत्र नियम लागू गरेको भए आज सहर यति बिग्रने थिएन।

कलाकारिताको दृष्टिकोणले काठमाडौं कस्तो ठाउँ मानिन्छ ?
सयौं कलाकारले कलाकारिता देखाउने ठाउँ हो । आफूमा भएको कलाकारिता फक्राउने र फुलाउने ठाउँ हो । नेपालको कलाकारितालाई यो स्थानसम्म पु¥याउन काठमाडौंले महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ सबै सेवा सुविधा छन् । र, ठाउँ पनि फराकिलो नै छ । केन्द्रमा कलाकारिता गरेपछि आफूलाई निखार पार्न सकिन्छ जस्तो लाग्छ।

नेपालबाहिर कतिको घुम्नुभएको छ ?
विदेश त्यति घुमेको छैन । भारतको नयाँ दिल्लीलगायत अन्य सहर धेरैपल्ट पुगेको छु । हामीले छिमेकी मुलुक भारत हेरेर पनि विकासको मापन गर्न सकिन्छ । त्यहाँका सहर हेर्दा हाम्रो देशका सहर विकासको कसीमा पछि परेको भान हुन्छ । काठमाडौंकै कुरा गर्ने हो भने सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ । सरकारी निकायमा बसेर काम गर्ने जिम्मेवार नहुँदा यस्तो भएको हो।
घुम्न मन लागिरहने सहर कुन हो ?
पोखरा, बुटवल, नेपालगन्ज, भैरहवा, पाल्पा, लमजुङ, स्याङ्जाका केही ठाउँसँग परिचित छु । यी ठाउँहरूमा गइरहन मन लाग्छ । कार्यक्रमकै सिलसिलामा धेरै जिल्लाका सहर पुगेको छु । मेरो जन्मभूमि अर्घाखाँची र त्यहाँको प्राकृतिक सुन्दरता पनि उत्तिकै सुन्दर लाग्छ । अर्घाखाँची अनेकौं महत्व बोकेका जिल्ला हो।

सहर अव्यवस्थित हुनुको कारण के होला ?
सोझो भाषामा व्यक्त गर्दा नेताहरूले काम गरेनन् । जसले सहरी विकास र पूर्वाधारको क्षेत्रमा काम गर्नुपर्ने थियो, त्यो निकायले विकासतर्फ चासो दिएन । सहरवासीमा पनि जनचेतना भएन । सहरको विकासमा दुरदृष्टि राख्ने क्षमता भएका नेताहरू आएनन् । नेता र सरकारी निकायका उच्च कर्मचारीहरू पारदर्शी भएर काम नगरेकाले नेपालको विकास हुन नसकेको हो । नेताहरू आफूलाई फाइदा हुने काममा मात्रै हात हाल्छन् । जनपक्षीय भएर काम गर्दैनन् । सरकारी निकायमा सुशासनको कमी छ।


काठमाडौंको पछिल्लो समस्या के देख्नुभएको छ ?
यहाँका केही सडक हेर्दा विकासको छनक देखिएको छ । कोटेश्वर–कलंकी सडक, कलंकीको अन्डरपास निर्माण, चक्रपथ व्यवस्थित निर्माण, मेलम्ची आयोजनाको काम हेर्दा विकास हुन्छ कि भन्ने देखिन्छ । तर, पनि सरकार र आम नागरिक यहाँका सम्भावना र अवसर खोज्न लागेका छैनन् । सहरमा बस्नेहरूले यहाँको सम्भावना खोज्नुको साटो उल्टै दोहन गर्न लागेका छन्।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको हावापानी साह्रै राम्रो लाग्छ । यससँगै हरेकखाले सेवा सुविधा पाउनु र जताततै मठ–मन्दिर हुनु पनि यहाँको राम्रो पक्ष हो । अमूल्य मौसम र वातावरणीय हराभराले संसारको ध्यान नेपालतर्र्फ खिँचिएको छ । यहाँका सांस्कृतिक क्षेत्र देखेर विदेशीहरू लोभिएका छन् । तर, हामीले यो देशको महत्व बुझेनौं।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
म २०५८ सालमा काठमाडौं छिरेको थिएँ । काठमाडौं नर्छिदासम्म काठमाडौं कस्तो होला भन्ने मनमा कौतुहल हुन्थ्यो । जब काठमाडौं देखे र राम्ररी चिने, तबदेखि यो ठाउँ कठोर रहेछ भन्ने लाग्न थाल्यो ।माया र ममता भन्ने चिजबाट सहर टाढा रहेछ । सहरका मानिसहरू अलि निर्दयी र स्वार्थी रहेछन् । गाउँको माया सहरमा पाइँदो हो त आज सहर कति आत्मीय लाग्थ्यो होला । गाउँका मानिसहरू आएर कति खुसी हुन्थे होला।

यहाँको नराम्रो पक्ष ?
यहाँको प्रदूषण र सडकको अवस्था सम्झँदा काठमाडौं दिक्कलाग्दो छ । प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकदेखि यहाँ बस्ने धेरैजसो आजित छन्।

सहरवासीका बानी कस्तो लाग्छ ?
सहरमा बस्नेहरू सुने पनि नसुनेझै गर्छन् । चेतनशील र शिक्षित भए पनि अशिक्षितजस्तो स्वभाव देखाउँछन्। त्यसैले सहरवासीमा चेतना छैन भन्ने लाग्छ । घरभित्रको फोहर सडकमा मिल्काउँछन्, चाहिने कुरा एक भएर जुट्न सक्दैनन्, निजी स्वार्थको लागि अरुलाई अवरोध खडा गरिदिन्छन् । सहरवासीका यस्तै बानी मन पर्दैन।

तपार्इँ कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सफा, सुविधायुक्त, शान्त र हराभरा सहरको कल्पना गर्छु । अर्को कुरा, सहर भनेको समान हक–अधिकार भएको ठाउँ हो । सबै सुविधामा सबैको समान हक हुनुपर्छ । विकास निर्माणमा सबैको चासो जोडिनुपर्र्छ । सहरको इलाका सुरक्षित र मौलिकता बोकेको हुनुपर्छ । चौडा सडक, एकैनासे मौलिक शैलीका घर, पार्क, हरियाली सहरको स्वरूप हो ।

सरकारले कसरी काम गर्दा सहरको विकास होला ?

सरकारले सहरका सम्भावना खोज्नुपर्छ । हाम्रा सहरको इतिहास, चाडपर्व, मौलिकताको हिसाबले नेपालका सहर धेरै अगाडि छन् । तर, आधुनिकताको हिसाबले अन्य देशका सहरभन्दा हामी पछि छौं । सरकारले काम गर्ने हो र गर्न चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ । त्यसका लागि सरकारले भौतिक निर्माणलाई पनि ख्याल राख्नुपर्ने हुन्छ।

उपत्यकाभित्र कतै घुम्न निस्कनुभयो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यति हिँडिँदैन । कहिलेकाहीँ फुर्सदको बेला नगरकोटलगायत क्षेत्रतिर जान्छु।

पछिल्लो समय घुमेको सहर कुन हो ?
केही समयअघि नेपालगन्ज पुगेको थिएँ । यो सहर पनि अहिले व्यवस्थित बनेको छ।

सहरी बनोट र भौतिक निर्माण पक्ष कस्तो लाग्छ ?
हाम्रा सहरका संरचनामा एकरूपता छैन । भवनहरूमा मौलिकता छैन । सबैतिर मनपरी छ।

मन भएर पनि घुम्न नपाएको ठाउँ ?
मलाई सबैको सपनाको सहर अमेरिका घुम्ने रहर छ ।

सहरको मनपर्ने खानेकुरा ?

प्रायः सबैखाले खानेकुरा मिठो लाग्छ । त्यसमा पनि छोयला मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App