१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

काठमाडौं – सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

सरकारले अघिल्लो साता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए। यो गत पाँच वर्षमा सबैभन्दा बढी हो। जनसंख्या बर्सेनि बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ। भएका दरबन्दी पनि खाली छन्।

स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको छ।

मन्त्रालयका अधिकारीका अनुसार गत वर्ष तत्काीलन स्वास्थ्यमन्त्री गगन थापाले रिक्त दरबन्दी पूर्तिका लागि लोकसेवामार्फत पहल गरेका थिए। कतिपय ठाउँमा करार नियुक्तिसमेत गरिएको थियो। थापाले त्यति बेला देशभरका स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने अभियान थालेका थिए। त्यति बेला १ सय ७५ चिकित्सक लोकसेवा पास गरेर नियुक्त भएका थिए भने १ सय ३० चिकित्सकलाई करारमा नियुक्ति गरिएको थियो।

पछिल्लोपटक मन्त्रालयले करार नियुक्तिसमेत गरेको छैन। स्वास्थ्यसेवाअन्तर्गत स्थायी तथा करार चिकित्सकको परिचालन स्वास्थ्य मन्त्रालयले गर्छ। सरकारी छात्रवृत्तिमा पढेर आएका चिकित्सकले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने प्रावधान छ। यस्ता चिकित्सकको परिचालन स्वास्थ्यसेवा विभागले गर्छ।

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका नायब सुब्बा गायत्रीप्रसाद अधिकारीका अनुसार स्वास्थ्यसेवाअन्तर्गत ८ सय १५ मेडिकल अफिसर (आठौं तह) र ६ सय हाराहारीमा विशेषज्ञ (नवौं, दसौ, एघारौं) तहका चिकित्सकको दरबन्दी छ। महाशाखाअनुसार कति दरबन्दी रिक्त छ भन्ने यकीन तथ्यांक छैन।

तीबाहेक प्रत्येक वर्ष ६ सयको हाराहारीमा छात्रवृत्तिमा पढेका चिकित्सक आउँछन्। विभागका उपसचिव महेश पाण्डेले चिकित्सक कम हुनुको कारण थाहा नभएको बताए। स्वास्थ्य मन्त्रालय चिकित्सक सेवा महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले करार नियुक्ति नहँदा डाक्टरको संख्या कम भएको हुनसक्ने बताए।

स्वास्थ्यले रिक्त दरबन्दीको विवरण पठाएपछि लोकसेवाले आफ्नै प्रक्रियाबाट डाक्टर नियुक्ति गर्छ। यो वर्ष पनि १ सय १८ चिकित्सक लोकसेवाबाट नियुक्ति भएर आएका थिए। नेपाल मेडिकल काउन्सिलका अनुसार यही अवधिमा देशभर २ हजारभन्दा बढी चिकित्सक थपिएका छन्। सरकारी सेवामा भने वर्षौंदेखि मुस्किलले दुई हजार चिकित्सक कार्यरत छन्। काउन्सिलका अनुसार यो वर्षमात्रै विभिन्न विषयमा नौ सय चार विशेषज्ञ चिकित्सक थपिएका छन्। गत वर्ष काउन्सिलमा २ हजार १ सय ४४ नयाँ चिकित्सक दर्ता भएकामा ६ सय ७२ विशेषज्ञ थिए । मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको कुल संख्या २१ हजार ४ सय १३ छ, जसमा ६ हजार १ सय ३७ विशेषज्ञ छन्।

सरकारले नीति तथा कार्यक्रममार्फत हरेक गाउँपालिकामा १५ बेडको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकले संयीय स्वरुपका आधारमा गाउँपालिका स्तरमा विशेषज्ञ सेवा पु-याउन ३ हजार हाराहारीमा डाक्टर नपुग्ने देखाएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७५ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App