१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नामले झुक्याउला है !

काठमाडौं– झण्डै १२ वर्ष पछि फिल्म ‘जय भोले’मार्फत फिल्म निर्देशनमा फर्किएका अशोक शर्मा यो फिल्मको छायांकनमा झापामा व्यस्त रहँदा अर्को फिल्म ‘जय शम्भु’ घोषणा भयो ।

अशोकले माघ २६ मा फिल्म निर्माण र निर्देशनको घोषणा गरेको झण्डै दुई साता पछि अर्थात फागुन १३ गते रुपेश तामाङको निर्देशनमा ‘जय शम्भु’ घोषणा गरियो । नामै एउटै जस्तो भएपछि भोलि प्रचारको समयमा दर्शक झुक्किने पक्का छ ।  इलाम र झापामा छायांकन सकिएर फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भइसकेको छ । यता ‘जय शम्भु’ चाहिँ फिल्मको सुटिङको काम सकेर पोष्ट प्रोडक्सनमा छ । फिल्मको नाम अगाडि ‘जय’ राखेर निर्माण गरिएको यी दुई फिल्म पहिलो भने होइनन् । यसअघि फिल्म ‘जय बाबा पशुपतिनाथ’, ‘जय शिव’ र ‘जय पर्शुराम’ पनि बनिसकेका छन्।

फिल्म निर्माणको गति  तीव्र भइरहँदा पछिल्लो समयमा फिल्म निर्माता उस्तै उस्तै सुनिने शब्द राखेर फिल्म बनाइरहेका छन् ।  नेपालमा बनिसकेका र बनिरहेका फिल्मको नामलाई स्मरण गर्ने हो भने झट्ट सुन्दा एउटै हुन कि भन्ने भ्रम दर्शक र फिल्मकर्मीलाई प्रष्ट देखिन्छ । आर्यन सिग्देलले निर्माण गरेको ‘कायरा’ र नम्रता श्रेष्ठको ‘जाइरा’ उस्तै सुनिने नामका उदाहरण हुन् । दुवैको नाम सुन्दा भोलि रिलिजको समयमा दर्शक ‘कायरा’ हेर्ने  ‘जाइरा’ हेर्ने दुविधामा हुनेछन्।  

निर्देशक कमल एक्चै मगरको फिल्म ‘शीरफूल’ र पत्रकार फूलमान बलको फिल्म ‘नीरफूल’को नाममा पनि दर्शक झुक्किए अचम्म लाग्ने छैन । कारण दुवै फिल्ममा अगाडिका दुई अक्षर मात्र फरक छन् । तर फूलमान बललाई दर्शक नै झुक्किएलान् जस्तो चाहिँ लाग्दैन । ‘पहिलो कुरा त हाम्रो नाम नै मिल्दैन । त्यसकारण दर्शकहरू झुक्किनु होला जस्तो लाग्दैन,’फूलमान भन्छन्,‘हाम्रो फिल्मले मानिसको दुःख र पीडालगायतको विषयलाई बोलेको छ । फिल्मको जनरा नै फरक छ । फिल्म शीरफूल नामले पनि संस्कृतिपरक फिल्म हो कि जस्तो लाग्छ । नाममा उस्तै हो कि जस्तो लागे पनि विषयबस्तु फरक छ । त्यसकारण पनि दर्शक पक्कै झुक्किनु हुन्न ।’ यी दुवै फिल्म रिलिजका लागि पोष्टप्रोडक्सनमा छन्।

झट्ट सुन्दा नै दर्शकको ध्यान जाओस् भन्ने उद्देश्यले फिल्मकर्मीले पछिल्लो समय उस्तै उस्तै सुनिने  नाम राख्न थालेका छन् जसले भोलिका दिनमा दर्शक झक्किने सम्भावना बढेको छ ।

निर्माता भुवन केसीको ‘करोडपति’ र दीपेन्द्र के खनालको ‘धनपति’, दीपक रौनियारको ‘सेतो सूर्य’ र दीपकप्रसाद दाहालको ‘रातो सूर्य’ले दर्शक नझुक्केलान् भन्न सकिन्न । यादव भट्टराईको ‘झोला’, रामबाबु गुरुङको ‘झोले’, ‘मिष्टर झोले’ र कमल दाहालको ‘झेली’, दीपेन्द्र के खनालको ‘पशुपतिप्रसाद’ र दिनेश राउतको ‘प्रसाद’, आर राजवंशीको ‘शेरबहादुर’ र भोमन कटुवालको ‘झमकबहादुर’ नाम पनि झट्ट सुन्दा उस्तै उस्तै लाग्छन् ।
यी नाम मात्र मिल्दाजुल्दा लाग्दैनन्।

तुलसी घिमिरेको ‘लाहुरे’ र सुनिल रावलको ‘लाउरे’, राजकुमार शर्माको ‘धन सम्पत्ति’ र सुब्रत आचार्यको ‘सुश्री सम्पत्ति’, दीपक रायमाझीको ‘युगदेखि युगसम्म’ र दीपेन्द्र के खनालको ‘द युगदेखि युगसम्म’, दीपेन्द्र के खनालकै ‘धर्मा’ र विश्वदीप घिमिरेको ‘दी कर्मा’, अनिश कोइरालाको ‘जाली रुमाल’ र तुलसी घिमिरेको ‘कुसुमे रुमाल’, रेशराज आचार्यको ‘बन्धन’ र किशोर रानाको ‘बन्धकी’, किशोर रानाकै ‘राँको’ र नारायण पुरीको ‘आगो’, दयाराम दाहालको ‘दौतरी’ र रोज राणाको ‘दोस्ती’, युवराज लामाको ‘देश परदेश’ र राजु गिरीको ‘देश परदेश’, शोभित बस्नेतको ‘कर्णवीर’ र गोविन्दसिंह भण्डारी ‘रणवीर’, अनिल संग्रौलाको ‘मालती’ र गणेशदेव पाण्डेको ‘मालतीको भट्टी, युवराज लामाको दुलाहा राजा दुलही रानी’ र शोभित बस्नेतको ‘दुलही रानी’, किशोर रानाको ‘घामछाँया’ र दीपेन्द्र लामाको ‘घामपानी’, मह सञ्चारको ‘फिलिम’ र विश्व बस्नेतको ‘चलचित्र’, उगेन छोपेलको ‘नेपाली बाबु’ र शोभित बस्नेको ‘बाबु कान्छा’ पनि मिल्दा जुल्दा नाम भएका फिल्ममा पर्दछन्।

यी फिल्मबाहेक हरिवंश आचार्यको ‘तँ त साह्रै बिग्रिस नी बद्री’ र जयकिशन बस्नेतको ‘तँ त साह्रै सप्रिस नि बद्री’, शिव रेग्मीको ‘आफ्नो मान्छे’ र ऋषि लामिछानेको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, श्रीकृष्ण श्रेष्ठ अभिनित ‘बुहारी’ र बाबुराम ढकालको ‘दुलही’, मञ्जुकुमार श्रेष्ठको ‘दैव सञ्जोग’ र बेदप्रसाद भुर्तेलको ‘सञ्जोग’, प्रदिप श्रेष्ठको ‘मेरो जीवनसाथी’ र दिवाकर भट्टराईको ‘मेरो मनको साथी’, भुवन केसीको ‘सुपरस्टार’ र महेन्द्र बुढाथोकीको ‘स्टार’लगायतका फिल्महरू पनि सुन्दा उस्तै सुनिने नाम हुन् ।उद्दव अभिदितको ‘कालापानी’ र रिमेश अधिकारीको ‘नालापानी’, दीपक रायमाझीको ‘डेस्टिनेसन काठमाडौं’ र नविन सुब्बाको ‘गुडबाई काठमाडौं’, शिवजी लामिछानेको ‘लालसलाम’ र लक्ष्मण सुवेदीको ‘लालजोडी’ पनि झुक्किने नामका फिल्म हुन्।

नाम राख्नलाई नेपाली शब्दकोष त रित्तिएको छैन तर नेपाली फिल्मका लागि भने रित्तिए जस्तै छ । यसैले निर्माता-निर्देशक सुन्दा उही लाग्ने नाम लिएर फिल्म बनाइरहेका छन् । फिल्म राम्रो भए नामले मात्रै त केही हुनेवाला थिएन तर फिल्मकर्मीलाई यो सत्य कसले बुझाइदिने ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App