१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

न्यायिक पहुँचका लागि 'समुदायमा अदालत'

खोटाङ – न्यायिक पक्रियामा नागरिकको पहुँच वृद्धिका लागि खोटाङमा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरिएको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङसँगको सहकार्यमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले शनिबार समुदायमा अदालत कार्यक्रम गरेको हो। जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको न्यायिक सार्वजनिक सम्वाद कार्यक्रममा अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहका प्रक्रिया एवं अदालतप्रति समुदायको जिज्ञासाबारे छलफल गरिएको छ।

न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रक्रियालाई जनतासम्म पु-याएर न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन ‘समुदायमा अदालत’ कार्यक्रम आयोजना गरिएको उच्च अदालत जिराटनगर अस्थायी इजलास ओखलढुंगाका अधिकृत दिपक धितालले जानकारी दिए। ‘समुदायलाई अदालत र न्यायिक प्रक्रियाबकारे जानकारी दिएर अदालत र नागरिकबीच दोहोरो सञ्चार गराउन कार्यक्रम गरिएको हो,’ इजलास अधिकृत धितालले भने, ‘अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्ने र अदालतप्रति रहेको भ्रम निवारण गरेर अदालतप्रति जनविश्वास अभिवद्धि गर्ने हाम्रो लक्ष्य हो।’

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले सहभागीलाई अदालतबाट प्रवाह हुने विशेष सेवाअन्तर्गत बाल इजलास सेवा, मेलमिलाप सेवा, असमर्थ पक्षका लागि निःशुल्क वैतनिक कानुन व्यवसायीको सेवा, एकघन्टे सेवा लगायतका विषयमा जानकारी दिएको छ। यस्तै, सहभागीलाई पेसी सूची, मुद्दाको प्रक्रियागत विवरण, निवेदनका ढाँचा, एसएमएस सेवा, अनलाइन तारिख लगायतका अदालतको इ–सेवाका बारेमा समेत जानकारी गराइएको छ। हरेक वर्ष तीन/तीन महिनामा चार पटक सार्वजनिक सम्वाद गर्नुपर्ने कार्यक्रमअन्तर्गत अस्थायी इजलास ओखलढुंगाले खोटाङमा न्यायिक सम्वाद गरेको हो। सहभागीले हिंसा, बलात्कार, गुण्डागर्दी, अंश, बहुविवाह लगायतका न्यायिक पक्रियाका विषयमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका मुख्य न्यायाधीश टेकराज नेपालसमक्ष जिज्ञासा राखेका थिए।

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App