२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

धेरै सफल, थोरै असफल

काठमाडौं– राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा गरेका छन् । त्यस्तै प्रदर्शनीका क्रममा आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कमजोरी पनि प्रसस्तै भएको समीक्षकहरुको टिप्पणी छ।

उनीहरूका अनुसार यसवर्षको कला प्रदर्शनी गतवर्षको तुलनामा केही सुधारिएको थियो । कला प्रदर्शनी गर्न सरकारले ३२ लाख बजेट दिएको छ । सो अनुसारको व्यवस्थित कला प्रदर्शनी भने पारखीले हेर्न नपाएको गुनासो गर्दै आएका छन्।

‘कलाकृतिमा पहिलेभन्दा गुणस्तरियता छ,’ कला समिक्षक रमेश खनालले भने, ‘नयाँ कलाकारले पनि मौका पाएका छन् ।’ उनका अनुसार कन्टेम्पोरेरी आर्टको क्षेत्रमा नयाँ अवधारणाको विकासको झल्को कला प्रदर्शनीले दिन्छ । यसपाला पुरस्कृत गरिएका कलाकृति पनि गतवर्षको तुलनामा स्तरिय रहेको उनले टिप्पणी गरे।

कला समीक्षक मुकेश मल्ल राष्ट्रियस्तरको कला प्रदर्शनी हुनु नै ठूलो कुरा भएको ठान्छन् । यस वर्षको सहभागिता राम्रो लागेको उनले बताए।कला प्रदर्शनीमा नयाँ नयाँ अनुहारले मौका पाएको प्राज्ञ ज्योति प्रकाश विकको अनुभव छ ।  ‘कतिपय चित्रहरू यति राम्रा छन् कि अचम्मै लाग्छ,’ विकले भने, ‘प्रदर्शनीमा त्यस्तो कला हेर्न पाउँदा हामीले पनि केही सिक्ने अवसर पाएका छौं।’

कला प्रदर्शनी गर्न सरकारले ३२ लाख बजेट दिएको छ । सो अनुसारको व्यवस्थित कला प्रदर्शनी भने हेर्न नपाएको पारखीले गुनासो गर्दै आएका छन् । तर प्रदर्शनीमा सहभागी कलाकृति अघिल्लो सालका भन्दा स्तरीय रहेकोमा धेरै सहमत छन् ।

कला सिकारु रविन श्रेष्ठले कला प्रदर्शनीमा थरिथरिका कला हेरेर आफूले भोलिको बाटो पहिल्याउन कोशिस गरिरहेको सुनाए । उनीजस्ता दर्जनौ नयाँ कलाकार राष्ट्रिय कला प्रदर्शनीमा केही सिक्ने हुटहुटी लिएर पुग्ने गरेका छन् । आफूभन्दा केही अगाडि बढेका कलाकारका सुन्दर सृजना देखेर उनीहरू हौसिएका पनि छन् । तर पुराना कलाकारका कला स्थापित गर्ने मामलामा भने आयोजक चुकेको नयाँ पिढीको ठम्याइ छ।  

कला समीक्षक मदन चित्रकार कलाकारको सहभागिता राम्रो रहेपनि कलाकृतिको गुणस्तरियता झल्काउने काममा आयोजकले त्रुटी गरेको बताए । उनले भने झैं कला प्रदर्शनीका क्रममा देखिएका प्रशस्त कमजोरी आयोजक स्वयंको आँखाबाट छिपेको छैन ।  कला प्रदर्शनीको मुख्य अंशका रुपमा विवरणात्मक पुस्तिका क्याटलग यसवर्ष पनि प्रकाशन हुन सकेन ।

गतवर्ष प्रदर्शनी गर्न नै ढिलाई भएकाले क्यालग निर्माण नगरेको आयोजकको जवाफ थियो । यसवर्ष आयोजक ललितकला प्रज्ञा प्रतिष्ठानले कला प्रदर्शनीको जानकारी दिने भित्ते विवरणमा औपचारिक रुपमै यस विषयमा क्षमा मागेको छ । समीक्षक चित्रकारले दुइटा गल्ती औंल्याउँदै भने ,‘२३ वर्षदेखि चल्दै आएको कला प्रदर्शनीलाई आठौं भनेर भनिएको छ । अनि त्यस्तो महत्वपूर्ण क्याटलग निकाल्न सकेको छैन ।’ कला प्रदर्शनीमा चित्र झुण्ड्याउनु ठूलो कुरा नभएको भन्दै उनले कला प्रदर्शनीको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधी प्रतिष्ठानका पदाधिकारीले गरेको आरोप लगाए । ‘त्यत्रा पदाधिकारी छन् एकजनाले जिम्मा लिए पुग्ने काम गर्न नसक्नु लज्जास्पद हो,’ उनले थपे।

उनले झैं गर्नुपर्ने निरन्तरको काम पनि प्रतिष्ठानले गर्न अल्छी गरेको समीक्षक मुकेश मल्लले बताए । चित्रलाई पुरस्कृत गर्ने र छनौट गर्ने विषयमा समेत आपसी सहकार्य नदेखिएको मल्ल बताउँछन् । ‘कलाकृति छनौट गर्ने औपचारिक मापदण्ड नै प्रतिष्ठानले स्थापित गर्न नसकी मनोमानी तरिकाले छनोट गरिएको छ’ मल्लले भने, ‘क्षणिक मापदण्डका आधारमा जथाभावी गर्नुभन्दा जिम्मेवार बन्नु पथ्र्यो ।’ कुन कला कुन विषयमा हो भन्ने सम्म अझै तय गर्न नसकेको उनले दाबी गरे । सृजनात्मक कलाभित्र असरल्ल अनेकथरीका कलाकृतिको भिडले पनि त्यो देखाउने उनले दर्शाए ।

थाहा नभएको विषयमा विज्ञसँग सल्लाह गरेर काम गर्न नसक्नु अर्को कमजोरी रहेको उनको भनाइ थियो । उनका अनुसार पहिले पहिले राष्ट्रिय कला प्रदर्शनीमा सहभागी हुँदा मात्र कलाकारले सम्मानित महसुस गर्थे । ‘अचेल पुरस्कृत हुँदा पनि पहिले जस्तो महत्व छैन,’ उनले भने । गुणस्तरियताको सवालमा पनि पहिलेका चित्र हेर्दैमा भव्य लाग्थे अचेलका चित्रमा त्यो थाहा पाउन छनौट समितीलाई हम्मे हम्मे पर्ने गरेको उनले अनुभव गरेका छन्।

 प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले गतवर्ष झैं ढिला नगरी समयमै कला प्रदर्शनी गर्न सकेकोमा गर्व गरिन् । ‘कलाकृति पोहोरका भन्दा राम्रा आएका छन् ,’ उपाध्यायले भनिन् , ‘नयाँ पुस्तालाई प्रदर्शनीले महत्व दिएको छ ।’ उनले प्रिन्ट मेकिङतर्फ भने सोचेजस्तो कलाकृतिहरू नआएको बताइन् ।

क्यालगसहितको जानकारीपत्र निर्माण नहुनमा भने भने उनले कमजोरी रहेको स्विकारिन् । ‘सुस्माजीको पिताको निधनले उहाँले काम गर्न सक्नु भएन,’ उनले भनिन्, ‘अर्कोलाई जिम्मा दिंदा ढिला भैसकेको थियो ।’ ढिलै भएपनि केहीदिनमा क्याटलग आउने आश्वासन उनले दिइन् । कला प्रदर्शनीमा ४०१ कलाकारका ४३६ कलाकृति प्रदर्शनीका लागि राखिएका छन् । वैशाख ५ गतेदेखि सुरू भएको कला प्रदर्शनी २० गतेसम्म चल्ने छ ।

प्रकाशित: १३ वैशाख २०७५ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App