१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कडा चट्टान बाधक

 

पोखरा – पछिल्लो समय भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य जमिनको भित्री सतह कडा खालको भेटिए पछि सुस्तता आएको छ।

कडा चट्टानजस्तो सहत खन्न माटो जस्तो सहज नहुँदा कामको गतिमा सुस्तता आएको हो ।
सरकारको राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक अन्तिमदेखि ‘अर्थवर्क’ (माटो काट्ने र सम्याउने) काम भइरहेको छ । भित्री सतह चट्टान जस्तै कडा फेला परे पछि अर्थवर्कको कामले गति लिन नसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।

‘विमानस्थल निर्माणमा अर्थवर्क महत्वपूर्ण काम मानिन्छ । तर, त्यही काम ढिलो हुनेगरी भित्री सतह निकै नै कडा भेटिएको छ,’ उनले भने, ‘कडा चट्टानजस्तो भूमिगत सतहको एक लेयर नै  भेटियो । त्यसले गर्दा माटो काट्न समस्या भएको छ ।’उनका अनुसार अहिलेसम्म (झन्डै पाँच महिना)मा साढे ६ लाख घनमिटर माटो काट्ने र भर्ने काम भएको छ । ‘सबैगरी झन्डै साढे १८ लाख घनमिटर माटो काट्नुपर्छ।

त्यस्तै २५ लाख घनमिटर माटो भर्नुपर्छ,’ उनले भने, ‘माटो भर्न समस्या होइन, भित्री सतह कटिङ गर्नै कठिन छ ।’ उनका अनुसार अहिले अर्थवर्कको करिब ३५ प्रतिशत मात्र काम भएको छ । ‘साह्रै नै समस्या भएमा विष्फोटक पदार्थ विष्फोट गराएर भएपनि भूमिगत सहतलाई गति दिनुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यसका लागि निर्माण कम्पनीले परीक्षण विष्फोटका लागि अनुमति मागेको छ ।’ विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइ र ६० मिटर चौडाइ (ढलसहित) हुनेछ।

खन्ने क्रममा कम्तिमा एक मिटर गहिराइसम्मको माटो निकाल्नुपर्ने मुनकर्मीले बताए । ‘अहिले पनि ढुंगा फुटाउने ब्रेकरले माटो खनेका छौं । माटो खन्नकै लागि ब्रेकर आवश्यक होइन । तर, निकै नै कडा भएकोले ब्रेकर प्रयोग गरेको हो,’ उनले भने, ‘ब्लास्ट गर्दा पनि सहज नभए यही ब्रेकरले नै काम चलाउनुपर्छ । ढुंगा फुटाउने ब्रेकरको भरमा माटो खनेका छौ । चट्टान नै भेटिएको होइन, तर, कडा माटोको लेयर छ।’

उनका अनुसार चालु आर्थिक वर्षभित्र अर्थवर्कको करिब ८० प्रतिशत काम सक्ने योजना भएपनि भित्री खण्ड कडा भेटिए पनि लक्ष्य पूरा गर्न गाह्रो छ । अहिले पनि २० वटा एक्साभेटर, त्यत्तिकै संख्यामा डोजर, ३० वटा ट्रिपर र केही रोलर मेसिन खटिएका छन् । अबको करिब एक वर्षभित्र अर्थवर्कको काम सकेर विमानस्थलको स्वरुप देखिने लक्ष्यका साथ काम गरिरहेको उनले बताए।

मुनकर्मीका अनुसार करिब ६० प्रतिशत खण्डमा भित्री सतह निकै कडाखाले रहेको अनुमान छ । ‘आयोजना डिजाइन गर्दा नै भित्री खण्डको अवस्था थाहा हुनुपर्ने हो । तर, फरक फरक ठाउँमा खनेर हेर्ने हुँदा त्यो बेला यसबारे थाहै भएनछ,’ उनले भने, ‘पहिला पनि जमिन खनेर हेरेको हो।

तर, खनेको ठाउँमा त्यो अवस्था देखिएको थिएन । बल्ल अहिले फेला परेको छ ।’
उनका अनुसार पानी हाल्दा नरम हुने खालकोे माटो भित्री खण्डमा छ । तर, पानी नहुँदा निकै नै कडा चट्टान जस्तो हुने रहेछ । चुनसहितको माटोले साना ढुंगालाई बाधेर राख्दा त्यसले कडा रुप लिएको उनले बताए । ‘सतही रुपमा माटो भरेर हुने होइन । विभिन्न लेयरमा भर्दै जाने हो । त्यही भएर खन्ने क्रममा सतह कडा भेटिएको छ,’ उनले भने । उनका अनुसार अहिले दैनिक पाँचदेखि १० हजार घनमिटर माटो झिक्ने काम भइरहेको छ।

‘माटो झिक्दै भर्दै जाने हो । खनेर निकालिएको सबै माटोले विमानस्थलको धावनमार्ग सहितका पूर्वाधारका लागि सम्याउन पुग्दैन,’ मुनकर्मीले नागरिकसँग भने, ‘त्यही कम्तिमा सात लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्छ ।’ विमानस्थलका लागि अवरोध पुर्‍याउने डाँडाबाट खनेर आवश्यक माटो ल्याइने उनले बताए । ‘साढे १८ लाख घनमिटर माटो खनेर निकालिन्छ । तर, भर्नका लागि करिब २५ लाख घनमिटर माटो चाहिन्छ,’ उनले भने, ‘अहिलेसम्मको सात प्रतिशत काम भएको अनुमान छ । यसलाई पनि हामीले सन्तोषजनक काम भनेका छौं।’

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच सहमति भएको थियो । विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ।

प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । सरकारले सन् २०२१ जुलाईसम्म विमानस्थल निर्माण सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिएको छ । एक्जिम बैंकले विमानस्थल बनाउन दिने ऋण यसअघि नै अनुमोदन गरिसकेको छ ।
एक्जिम बैंकले पठायो कन्सल्टेन्ट
चिनियाँ लगानीकर्ता एक्जिम बैंकले विमानस्थलको काम हेर्नका लागि छुट्टै कन्सल्टेन्ट पठाएको छ । चिनियाँले पठाएको आइपिपिआर इन्टरनेसनल इन्जिनियरिङ कन्सल्टेन्सीले अहिले पोखरामै रहेर निर्माण चरणको अध्ययन गरिरहेको छ । मुनकर्मीका अनुसार आइपिपिआरले विमानस्थल निर्माण कार्यको अध्ययन, गुणस्तर मापनलगायत काम हेरेर बैंकलाई जानकारी गराउनेछ । ‘आइपिपिआर एक्जिम बैंकको प्रतिनिधिका रुपमा रहने कन्सल्टेन्सी हो । आफूले लगानी गरेको ठाउँको कामको प्रगति विवरण अध्ययनका लागि यो कन्सल्टेन्सीलाई पठाएको हो,’ उनले भने ।
डिजाइन पुनरावलोकन गरिँदै
मुनकर्मीका अनुसार निर्माण कम्पनी सिएएमसीइले पेस गरेको डिजाइनलाई अहिले प्राधिकरणले पुनरावलोकन गरिरहेको छ । कम्पनीले अहिलेसम्म धावनमार्गको ‘अलाइनमेन्ट’ सम्बन्धी डिजाइन पेस गरिसकेको छ । अरु बन्ने भवन र फ्लाइट प्रोस्युडर डिजाइन स्वीकृत हुन बाँकी रहेको उनले बताए । फ्लाइट प्रोस्यूडर डिजाइन गर्दा जहाजको आकाशको बाटो, पोखरा उपत्यकाभित्रको वरिपरिका बाधा अवरोधबारे विस्तृतमा उल्लेख हुनेछ । ‘धावनमार्गको रिभ्यू पूरा भएको छ । बाँकी डिजाइन बाँकी नै छ,’ उनले भने, ‘धावनमार्ग छेउछाउँको ढल नालाको डिजाइन हुँदैछ।’

चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको छ।

‘विमानस्थल वरिपरि दुई लेन फराकिलो १० किलोमिटर सडक बन्नेछ । जुन खुला सडकको रुपमा उपयोग हुनेछ,’ उनले भने, ‘त्यसका लागि आवश्यक जग्गाको करिब डेढ अर्ब रुपैयाँ मुआब्जा पनि चालु आर्थिक वर्षभित्रै वितरण भइसक्नेछ।’

 

प्रकाशित: १६ चैत्र २०७४ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App