१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जो सहकारीले घरबार बिहिन भए

बाँके- सुर्खेतबाट बसाईसराइ गरेर आएका मीन बहादुर डाँगीले ६ वर्ष अघि नेपालगन्ज फुल्टेक्रामा घर किनेका थिए। बैदेशिक रोजगारका लागी साउदी अरब जानु अघि उनको सपना थियो नेपालगन्जमा एउटा घर किन्ने।

घर किनेपछि नेपालमै व्यावसाय गरेर बस्ने योजना थियो। ६ वर्ष विदेशमा कडा मेहनत गरेर जोडेको रकमबाट मीनले चारकोठाको एक तले घर किनेर खुसीका साथ नयाँ काम गर्ने योजना बनाइरहेको थिए। करिब २४ लाखमा घर किनेपछि उनले बिदेश नजाने निर्णय गरे। नेपालमै केहि व्यवसाय गर्ने योजना बन्यो मीनको।

विदेशमा हुँदा होटलमा काम गरेको अनुभवले मीन नेपालगन्जमा होटल गर्ने निर्णयमा पुगे । होटल गर्नका लागी बैकबाट ऋण लिए । ऋण लिएको रकमले होटल खोल्न नपुग्ने भएपछि उनले सहकारीबाट धेरै ऋण पाउने लोभमा १० लाख रकम बाँके बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत गरे। तर उनले रकम बचत गरेको केहि सातामै संचालक फरार भए । सहकारीबाट धेरै ऋण पाइन्छ भन्ने लोभले मीन अहिले घरबार बिहिन भएका छन्। बिदेशमा मेहनत गरेर कमाएर जोडेको सबै सम्पक्ती गुमाए । सहकारीलाई विश्वास गरेर बचत गर्दा सबै सम्पत्ति गुमेको बताउँछन् मीन।

बैंकबाट लिएको ऋण तिर्न नसक्दा घर लिलाम भैसक्यो मीनको। आफुले मेहनत गरेर जोडेको सम्पती लिलाम भएपछि मानसिक तनाबमा बाचिरहेका छन उनी। श्रीमती र आमाका साथमा अहिले उनी फुल्टेक्रामै डेरा लिएर बस्ने गरेका छन्। दैनिक गुजारा चलाउनको लागी भुजई गाउँको एउटा खाजा पसलमा काम गरिरहेका छन । रकम बचत गरेको बाँके बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विरुद्ध उनले प्रहरीमा उजरी पनि दिए । तर उनले आफनो रकम पाउन सकेका छैनन्। मीनले आफु ठगिएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दरखास्त दिएका थिए । उनले बाँके बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकराज डाँगी, सहकारीका संस्थापक अध्यक्ष पवन बोहरा, संस्थाका कार्यकारी प्रमुख खिमु श्रेष्ठ, ऋण प्रबन्धक सुशिल श्रेष्ठ लगायतका विरुद्धमा प्रहरीमा जाहेरी दिएका थिए।  

मीनले होटल व्यावसाय गर्ने भनेर प्रभु बैकबाट १० लाख ऋण लिए । १० लाख ऋण लिएको रकमबाट व्यावसाय गर्ने योजना थियो उनको । योजना बनाइरहेका बेला बाँके वचत तथा ऋण सहकारी संस्थाका प्रनितिधिले मीनलाई सुरुआतमा १० लाख बचत गरे पछि ३० लाखसम्म ऋण दिने प्रलोभन देखाए।

सहकारीको प्रलोभनमा परेर फुल्टेक्राको घर धितो राखेर निकालेको १० लाख रकम उनले बाँके बचत तथा सहकारीमा जम्मा गरे। सहकारीको सदस्य बनेर उनले २०७२ साल ६ महिना १२ गते ३ लाख चल्ती र ७ लाख बचत खातामा रकम जम्मा गरे। रकम जम्मा गरेको दुइ साता पछि ऋण लिन सहकारी पुग्दा सहकारीमा कर्मचारी थिएनन्। कर्मचारी नभएपछि फर्किएका मीनले छिमेकी मार्फत बाँके बचत तथा ऋण सहकारीका संचालकहरु फरार भएको खबर पाए। सहकारी संचालक फरार भएपछि उनले प्रभु बैकबाट लिएको ऋण तिर्न सकेनन। उनको घरजग्गा लिलाम भयो।

सहकारीलाई विश्वास गर्दा कमाएको सबै सम्पक्ति गुमेको बताउँछन मीन। उनले भने, ‘धेरै पढेको छैन। विदेशमा कमाएको पैसाले नेपालमै केहि गर्छु भनेर सोचेको थिए। तर सहकारीले ठग्दा सबै सम्पत्ति गुम्यो। राम्ररी निद्रा लाग्दैन। अब के गर्ने भनेर सोच्न पनि सकिरहेको छैन। दैनिक खर्च चलाउन पनि कठिन भैरहेको छ।

 सहकारीका संचालकलाई अदालतले कारबाही गर्‍यो। तर मैले मेरो रकम अझै पाएको छैन ।’ सहकारी सदस्यको करिब ५ करोड रकम हिनामिना गरेको आरोपमा बाँके बचत तथा ऋण सहकारी संचालकलाई अदालतले दण्डित गरिसकेको छ।

सहकारीबाट पीडित भएका सदस्यको रकम फिर्ता  गर्न र सहकारीलाई संचालन गर्नेको लागी अदालतले सहकारी विभाग काठमाडौंलाई पत्राचार गरिसकेको छ। सहकारी संचलनको लागी प्रक्रियाको बारेमा विभागले अध्ययन गरिरहेको छ । तर सदस्यहरुको रकम कसरी फिर्ता गर्ने, संचालन कसरी गर्ने भन्ने बारेमा कुनै आदेश नआएको बताउँछन नेपालगन्ज स्थित सहकारी डिभिजन कार्यालयका सहायक निरीक्षक जीवानन्द ढुंगाना। उनले भने, ‘५ करोड भन्दा माथिको रकम सहकारी विभागले हेर्ने गर्छ । अहिले यो बारेमा सहकारी विभागले अध्ययन गरिरहेको छ। कसरी सहकारीलाई संचालन गर्ने । पीडित सदस्यलाई कसरी रकम फिर्ता गर्ने भन्ने बारेमा । तर सहकारी संचालनका लागी नयाँ ऐन बनिसकेकोले निर्णय गर्न केहि समय लागेको हुन सक्छ।’  सहकारी ऐन कमजोर भएकोले पनि आम जनता सहकारीबाट ठगिने गरेको ढुगानाको बुझाई छ। उनले थपे, ‘सहकारी ऐन २०४८ अनुसार सहकारी डिभिजनलाई कारबाही गर्ने अधिकार थिएन । मात्र सुझाव र निर्देशन दिन सक्ने प्रावधान थियो । सहकारीले केहि गलत गरेपनि डिभिजन कार्यालयले १५ सय रुपैयाँ जरिवाना गर्न पाउने अवस्था थियो । तर अहिले सहकारी स्थानीय तहमा गैसकेकोले संचालनमा धेरै सहज हुनेछ।’

सहकारी ऐन २०७४ अनुसार समस्या र विवादमा परेको सहकारीलाई संचालन गर्नेको लागी सहकारी समिति गठन गरेर काम गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ । स्थानीय सहकारी समितीले सहकारीलाई १० लाख सम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको बताउँछन ढुगाना । नयाँ ऐन अनुसार बाँके बचत तथा ऋण सहकारीको समस्या समाधान गर्न खोजिएकाले केहि समय लागेको निरिक्षक ढुगानाले बताए।

 

प्रकाशित: १४ चैत्र २०७४ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App