१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरमा पार्टीका झोला बोक्ने मात्रै भए’

रेखा शाह, गायिका

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं राम्रो लाग्छ । काठमाडौंसँग जस्तो गहिरो प्रेम मेरो अरु कुनै सहरसँग छैन । यो सहर मलाई ज्यादै मनपर्छ । 

उपत्यका बाहिरका सहर कस्तो लाग्छ ?
म नेपालका थोरै मात्र ठाउँ पुगेकी छु । यहाँका धेरैजसो ठाउँ र सहरमा सहजै पुग्न मुस्किल छ । गाउँको त कुरै छाडौँ, यहाँका सहर नै अविकसित छन् । सहरको विकास निर्माण अराजक र अव्यस्थित छ । देश सुहाउँदो विकास निर्माणका काम भएका छैनन् । विकसित नभएकाले म नेपालका धेरै ठाउँ गएकी छैन । तातोपानी, पोखरा, लुम्बिनी र आफू जन्मेको ठाउँ धादिङ लगायत हुन्, म पुगेका ठाउँ । यीबाहेक अरु ठाउँ पनि घुम्ने रहर छ । उपत्यकाबाहिर राम्रो र काठमाडौंभन्दा अलि व्यवस्थित लाग्ने पोखरा पनि हो । पोखरा मलाई सुन्दर लाग्छ । आन्तरिक र बाह्य पर्यटकसम्मको एउटा सपनाको सहर बनेको छ, पोखरा । ध्यान नदिने हो भने पछि गएर पोखरा पनि काठमाडौं जस्तै कुरूप बन्न सक्छ । मलाई नेपालका पूरै सहर घुम्ने र ती सहरको मौलिकता जान्ने रहर छ । 

विदेशका कति सहर घुग्नुभएको छ ? 
हङकङ, मलेसिया, दुवै, कतार, अमेरिका, बैंककलगायत देश पुगेकी छु । अमेरिकाको धेरै सहर पुगेँ– न्युजर्सी, ओहियो, मिरिल्यान्ड धेरै राम्रो लाग्यो । ओहियोमा शरणार्थीहरू राखिएको थियो । त्यहाँ पनि निकै व्यवस्थित थियो । त्यस्तै, सानो सहर भए पनि हङकङ धेरै राम्रो छ । दुबईको आबुधाबी पनि पछिल्लो समय चम्किएको सहर हो । सिंगापुर र मलेसियाका ६ वटा भन्दा बढी सहर घुमेँ । 

विदेशका सहर कस्तो लाग्यो ?
विदेशका सहर धेरै नै राम्रो लाग्यो । ती सुन्दर र मनमोहक छन् । मानव जीवनमैत्री छन् । त्यहाँको सरकारले झन्झट व्यहोर्छ, तर नागरिक कसैले पनि अप्ठेरो व्यहोर्नुपर्दैन । सरकारले बनाएको नियम नागरिकले मानेका हुन्छन् । कसैले सहरमा नियम मिच्छ भने त्यसलाई सरकारले तुरुन्तै कारबाहीको दायरामा ल्याउँछ। 

विदेशका सहर व्यवस्थित, सुन्दर र शान्त छन् । नियमले चल्नेहरूलाई सहरमा कुनै पनि समस्या छैन । विदेशी सहर व्यवस्थित हुनुको मुख्य कारण नीति–नियमको पालना हुनु हो । हाम्रोमा भएका नियमलाई कुल्चिने परम्परा छ । 

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
बन्न त सक्छन्, तर कसले बनाइदिने ? यो पो प्रश्न छ । सहरको विकासका लागि काम गर्ने जुन निकाय हो, त्यो निकायले काम गरेन । राजनीति क्रान्तिबाट विकासको क्रान्ति गर्छु भन्नेहरू पैसाको लालच र चाकडीबाजमा फसे । अरु देशमा विकास गर्न राजनीति गरिन्छ, हाम्रोमा सत्तामा गएर कार्यकर्ता पाल्ने र आफन्त भर्ती गराउन राजनीति गर्ने चलन छ । जबसम्म यस्तोखाले चलन र परम्परा हट्दैन, तबसम्म विकास हुँदैन । गर्ने हो भने हामीलाई प्रकृतिले यति धेरै वरदान दिएको छ, जसबाट हामी संसारमै चिनिन सक्छौँ ।

मरुभूमिका देशहरूले प्लेनबाट माटो लगेर हरियाली बनाए । अरु देशबाट हरेक सामान खरिद गरेर सुविधासम्पन्न बनाए । तर हामीकहाँ सबैथोक हुँदाहुँदै पनि विकास भएन । यो एकदमै दुःखको कुरा हो । यहाँ बनाउनै नसक्ने के नै छ र ? विकासमा तगारो पु¥याउने कारण पनि केही छैन । विकास नहुनुको मुख्य कारण अस्थिर सरकार हो । हाम्रा नेताले देशलाई समृद्धि भन्दा पनि पार्टीलाई कसरी बढाउने भन्नेतर्फ लागे । विकास गर्नुपर्छ भन्ने कुरालाई चासो दिएनन् । हामी जनता पनि होसियार भएनौँ । प्रजातन्त्रले हामीलाई बोल्न र हरेक क्षेत्रमा सहभागी हुन सक्ने अधिकार दिएको छ । तर, त्यसको प्रयोग गर्न सकेनौँ । यो देशमा प्रजातन्त्र र लोकतन्त्र नआएको पनि होइन, तर सबै तन्त्रलाई पार्टीहरूले आफूअनुकूल बनाए । 

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
यहाँको सरकार अस्थिर छ । दुई–चार महिनाभन्दा बढी सरकार टिक्दै टिक्दैन । नेताहरू पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन् । प्रजातन्त्र आएपछि झन् छाडातन्त्र भयो । प्रजातन्त्रले त सबैलाई जिम्मेवार पो बनाउनुपर्ने हो, हामी केको जन्जिरमा फस्यौँ ? सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर व्यवस्थित हुन सक्छ । नीति–नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो । अर्को कुरा हरेक निकायका व्यक्ति जिम्मेवार हुने, कर्मचारी र कार्यकर्ता पार्टीको झोला मात्रै नबोक्ने र आफूलाई दिइएको जिम्मेवारी निभाउने हो भने सहरको विकास हुन्छ । 

विदेश र हाम्रो देशका सहरबीच के भिन्नता  पाउनुभयो ? 
विदेशका सहर धेरै व्यवस्थित छन् । त्यहाँ हरेक ठाउँका नीति–नियम पालना गरिएका हुन्छन् । नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन् । कसैले सहरको फोहोर देखिसहन्न । तर, हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन् । 

हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
सरकारकै कमजोरीले सहरको रूप बिग्रिएको हो । नागरिक र सरकार दुवै मिलेर सहरको विकासमा जुटेको भए हाम्रा सहर पनि आज गौरव गर्न लायक बन्थे होला । सहरको विकासमा सबैले आफूले सक्ने योगदान दिने हो र मिलेर अघि बढ्ने हो भने सहरको विकास हुन सक्छ ।

तपाईंको सपनाको सहर ?
मेरो सपनाको सहर सुन्दर, व्यवस्थित र बाहिरबाट आउने मान्छेले पनि वाह भन्ने खालको होस् । सबैखाले सुविधा सहजै पाउन सकियोस् । स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधायुक्त भयो भने सबैलाई सहरमा बसेको महसुस हुनेछ । हामीलाई त प्रकृतिले नै धेरै कुरा दिएको छ । तर त्यसलाई व्यवस्थित पार्ने निकाय भएन । सहरका सडकमा तारैतार झुन्डिएको र स्ट्रिट विनाका ट्राफिक लाइट देखिन्छन् । सहरका घर पनि गन्जागोल छन्, त्यसैले टाउन प्लानिङ गर्नुपर्छ । 

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
उपत्यका धेरै सुविधा भएको ठाउँ हो । स्वास्थ्य, शिक्षाका हिसाबले यो सहर राम्रो छ । उच्च शिक्षाका लागि देशै भरबाट यही सहरमा आउँछन् । मलाई यहाँको मनपर्ने पक्ष मौसम र पुराना मठ–मन्दिर हुन् । 

मननपर्ने पक्ष ?
सहरको खानेपानीमा ढल मिसिएको छ । सडकको अवस्था बिजोग छ । सडक विभागले भत्काउने मात्रै होइन, बनाउने काम पनि गर्नुप¥यो । 
सहरको धुलो र प्रदूषणले मानिस धेरै रोगी र अस्वस्थ भए । केही दिनअघि मात्रै अमेरिकाबाट मेरो साथी आउनुभएको थियो, यहाँको धुलोमैलो देखेर उहाँ जिल्ल पर्नुभयो । अब हामीले विदेशीलाई सहरमा यही धुलो मात्रै देखाउने हो ? 

तपाईंले काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
म अहिले ४० वर्षकी भएँ । २०४७ सालमा म पहिलोपल्ट बुबासँग काठमाडौं आएकी थिएँ । त्यतिबेला म काठमाडौंसँग अपरिचित थिएँ । अहिले काठमाडौंलाई राम्ररी बुझ्न र चिन्न पाएँ । 

उपत्यकाभित्र आकर्षण लाग्ने कुरा ? 
उपत्यकाको आकर्षण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन् । यी धरोहरले नेपाललाई नै चिनाउँछन् । तर, भूकम्पका कारण हाम्रा केही धरोहर ढले । तिनको पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन । 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
बनिसकेको संरचनालाई भत्काएरै बनाउन पनि सम्भव छैन । सरकारले सहरको मापदण्ड पहिले नै बिगारेको छ । बाबुराम भट्टराईको पालामा सडक साँघुरा नपारिएका भएर अहिले पनि उपत्यका त्यस्तै हुन्थ्यो होला । सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ । सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिकदारी हटाउन जरुरी छ। 

सहरवासीको बानी कस्तो लाग्छ तपाईंलाई ?
हामी सहरवासी जिम्मेवार छैनौँ । विकासका हरेक कुरामा पछि हट्ने र आफूलाई फाइदा हुने काम मात्रै गर्छौं । एक दिन सहरको सफाइका निम्ति समय निकाल्न सक्दैनौँ । 

उपत्यकाभित्र कतै घुम्न जानुपर्याे भने ?
भक्तपुर जान्छु । किनभने, त्यहाँसम्म जाने बाटो अलि राम्रो छ । त्यहाँका साना खाजा घर मनपर्छ । म त्यति घुम्न भ्याउँदिनँ । 

पछिल्लो समय घुमेको सहर ?
केही समयअघि दिल्ली गएकी थिएँ । दिल्लीमा व्यवस्थित सपिङ मल छन् । 

मन भएर पनि घुम्न नपाएको सहर ? 
फ्रान्सको पेरिस जाने मन छ । अर्को ठाउँ सबैले सपनाको सहर मान्ने स्विट्जरल्यान्ड पनि पुग्न मन छ । 

यहाँको मनपर्ने खानेकुरा ?
मलाई चिल्लोपिरो त्यति मनपर्दैन । यहाँका टिपिकल खाना मनपर्छ । नेवारी खाजा र खाना धेरै मीठो लाग्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २८ फाल्गुन २०७४ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App