१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘भुइँखाट सप्तरंगी फूलको सुवास’

काठमाडौं–बाल्यवस्थादेखि नै साहित्य लेखनमा लगाव राख्ने मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहका कक्षा २-३ मा पढ्दा नै पत्रिकामा कविता छापिन्थे । जागिरे पितासँग पत्र आदानप्रदान भइरहँदा उनले बुवाकै कारण भाषाको व्याकरण जाने।

‘बुवा अस्वस्थ हुँदा उहाँको स्वास्थ्य लाभको भगवानसँग प्रार्थना गर्दछु भन्दै पत्र पठाउँदा बुवाले त्यसको प्रतिउत्तरमा प्रार्थना यसरी लेख्नुपर्छ भनेर पठाउनु भएपछि मैले भाषाको शुद्धताको कुरा जानें,’आफ्नो सातौं कृति ‘भुइँखाट’ शनिवार सार्वजनिक गर्दैगर्दा उनले बाल्यकाल सम्झिए,‘सानैदेखिको साहित्यिक लगावले नै अहिले म कथाकारका रुपमा सबैमाझ चिनिएको छु ।

नेपाल प्रहरीका जागिरे कथाकार महेशविक्रमले आफूलाई साहित्यकारले ‘पुलिस’कै रुपमा चित्रण गरेकोमा भने चित्त दुखाए । ‘जो कोही मानिसले अर्को मानिसको बाहिरी आवरणलाई मात्र चिन्दछ। उसको भित्री आत्मालाई कहिल्यै पनि चिन्ने प्रयास गर्दैन्,’महेशविक्रमले घरको उदाहरण सुनाए,‘मलाई घरमा श्रीमतिले तपाईलाई पुलिसले साहित्यकारका रुपमा चिन्छन् । तर साहित्यकारले पुलिसकै रुपमा चिन्छन् किन यस्तो ?’ भनेर प्रश्न सोधिरहन्छिन् । तर म आत्मादेखि नै साहित्यकार हुँ ।’

महेशले नयाँ पुस्तक ‘भुँइखाट’ सप्तरंगी फूलको सुवासको प्रतीक रहेको बताए । ‘यो पुस्तकभित्र पाठकले विभिन्न स्वादका रंगहरु पाउनुहुनेछ । नारी पीडा, देशको कथा, विदेशी भूमिको कथालाई पढ्न पाउनुहुनेछ,’उनले भने,‘मेरा यसअघिका कृतिलाई जस्तै यो नयाँ कृतिलाई पनि पाठकले अवश्य मन पराउनुहुनेछ ।’    उनले प्रत्येकको जन्मबाट नयाँ कथा सुरुवात हुने  जनाउँदै उसको मृत्युले कथा ननासिने दाबी गरे।

पुस्तकलाई प्राडा अभि सुवेदी र पुस्तकका टिप्पणीकार लेखकद्वय नारायण ढकाल र नयनराज पाण्डेसँगै लेखक शाहले सार्वजनिक गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै टिप्पणीकार ढकालले आफू शाहको पहिलो कृति ‘सटाहा’मा वर्णन गरिएको थारु समुदायको मूल्य, मान्यता र संस्कृतिले अविभूत भएको बताए । ‘त्यसरी अविभूत हुने क्रमले ‘भुइँखाट’सम्म आइपुग्दा पनि निरन्तरता पाएको छ,’उनले भने,‘मलाई सानैदेखि पुलिससँग एक किसिमको घृणा लाग्थ्यो।

२०१५ सालतिर निर्वाचनको बेला आमा भोटर लाइनमा बस्दा म कसोकसो लाइन भित्र पसेछु । त्यो बेला मलाई प्रहरीले निकै खेदायो । त्यसपछि यता प्रहरीसँग मेरो सम्बन्ध त्यति सुमधुर हुन सकेन ।’ उनले आफूले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई महेशविक्रमसँगको भेटले केही हदसम्म ओझेलमा पारेको बताए।

अर्का टिप्पणीकार नयनराजले महेशका कथाहरूमा परिवेश, विषयगत विविधता पाइएको बताए। ‘पुस्तकमा लेखकले मधेश, हिमाल, पहाडदेखि पश्चात्य जगतका  कथा र पात्रहरू ल्याएका छन् । लेखकले सयमक्रमलाई पछ्याउँछन् । समयसँग संवाद गर्नु उनको विशेषता हो,’उनले भने,‘विज्ञानका जटिल कथालाई पनि पुस्तकमा लेखकले सहज रुपमा प्रस्तुत गरेका छन् । पुस्तकमा अपराध र राजनीतिकको फ्युजनलाई पनि पाठकले कथाका रुपमा पढ्न पाउनेछन् । प्राडा अभिले अहिले कथानक संकटमा चुनौती भनेको ‘पोस्ट ट्रुथ’भन्दा  कथा अलग हो भनेर चिनाउने रहेको बताए।

लेखक महेशविक्रमका यसअघि ‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ कृति प्रकाशित भइसकेका छन् । सङ्ग्रहमा जम्मा ८ कथा समावेश छन् । पुस्तकलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो।

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App